काठमाडौं । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा काठमाडौंको मूलपानीस्थित बाल गीताञ्जली स्कुलमा विद्यालयस्तरीय कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यपोस्टका सम्पादक कृष्ण ढुङ्गेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रमको सञ्चालन संयोजक मनोज अधिकारीले गर्नुभएको थियो ।
प्रतियोगितामा आयुष अधिकारी प्रथम, सृजन खड्का द्वितीय, दीप पाण्डे तृतीय तथा अर्पण उप्रेती सान्त्वना स्थान हासिल गर्न सफल हुनुभयो । विजयी तथा सहभागी विद्यार्थीहरूलाई पुरस्कार र मायाको चिनोस्वरूप ‘भानुभक्तीय रामायण’ प्रदान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि कृष्ण ढुङ्गेलले यस्ता साहित्यिक कार्यक्रमले विद्यार्थीहरूको अन्तर्निहित प्रतिभा उजागर गर्नुका साथै व्यक्तित्व विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताउनुभयो ।
विद्यालयका प्रिन्सिपल महेन्द्रराज घिमिरेले विद्यार्थीहरूको प्रतिभा पहिचान, सिर्जनशीलता अभिवृद्धि तथा चौतर्फी बौद्धिक विकासका लागि आगामी दिनमा पनि यस्ता रचनात्मक तथा साहित्यिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

.jpg)