चितवन । पत्रकार तथा आख्यानकार बसन्त पराजुलीको उपन्यास ‘बखान’ लाई ‘सहिद शिवप्रसाद पौडेल स्मृति राष्ट्रिय पुरस्कार’ प्रदान गरिएको छ । साहित्य संगम चितवनद्वारा भरतपुरमा आयोजित कार्यक्रममा पराजुलीलाई नगद २० हजार रुपैयाँ, दोसल्ला तथा सम्मानपत्रसहित सम्मान गरिएको हो ।
संस्थाका उपाध्यक्ष चिराग भण्डारीका अनुसार उक्त पुरस्कारबाट यसअघि १४ जना स्रष्टा सम्मानित भइसक्नुभएकाे छ । कार्यक्रममा उदय अधिकारीले सहिद शिवप्रसाद पौडेलको जीवन र २०३७ सालको विद्यार्थी आन्दोलनमा भएको बलिदानको स्मरण गर्नुभयो ।
कार्यक्रममा वक्ताहरूले ‘बखान’ले स्थानीय विषयवस्तुलाई राष्ट्रिय विमर्शमा ल्याएको उल्लेख गर्दै कृतिमा चितवनको सामाजिक यथार्थ सशक्त रूपमा चित्रित भएको धारणा राख्नुभयाे । कर्ण बानियाँले वास्तविक घटनालाई आख्यानीकरण गर्दै पत्रकारिता र साहित्यबीचको सशक्त संयोजन देखिएको टिप्पणी गर्नुभयो ।
त्यसैगरी बालकृष्ण थपलिया, प्रकाश चापागाईलगायतले कृतिको प्रशंसा गर्नुभएकाे थियाे । सम्मान ग्रहणपछि लेखक पराजुलीले यसले आफ्नो लेखनलाई थप परिष्कृत बनाउन प्रेरणा दिएको बताउनुभयो ।
साहित्यकार अनिल शर्मा ‘बिरही’ले ‘बखान’ ले विगतका बलिदानलाई वर्तमानसँग जोड्दै यसको ऐतिहासिक महत्व उजागर गरेको धारणा राख्नुभयो ।

