साहित्यपोस्ट डट कम

बज्जिका पाण्डुलिपि पुरस्कार अजयकुमार झालाई, दुई नयाँ पुरस्कार स्थापना हुने

बज्जिका पाण्डुलिपि पुरस्कार अजयकुमार झालाई, दुई नयाँ पुरस्कार स्थापना हुने

रौतहट । बज्जिका भाषामा स्थापित ‘विश्व–सञ्जय बज्जिका पाण्डुलिपि पुरस्कार, २०२६’ महोत्तरीका साहित्यकार अजयकुमार झालाई प्रदान गरिएको छ । उहाँको पाण्डुलिपि ‘दृष्टिकोण’लाई उत्कृष्ट ठहर गर्दै बज्जिका साहित्य सङ्गम रौतहटले पुरस्कार प्रदान गरेको हो ।

पुरस्कारअन्तर्गत झालाई प्रमाणपत्रसहित उहाँको कृतिका ५१ प्रति पुस्तक प्रदान गरिएको छ । सर्लाहीका समाजसेवी महानन्द झाद्वारा स्थापित ‘विश्व–सञ्जय बज्जिका साहित्य कोष’बाट प्राप्त रकममार्फत कृति प्रकाशन गरिएको आयोजकले जनाएको छ ।

सङ्गमले गत वर्ष बज्जिका भाषामा लेखिएका साहित्यिक, समालोचनात्मक वा अनुसन्धानात्मक कृतिका पाण्डुलिपि आह्वान गरेको थियो । एक महिनाको अवधिमा विभिन्न तीन विधाका पाँच पाण्डुलिपि प्राप्त भएका थिए । तीन सदस्यीय स्वतन्त्र निर्णायक समितिले साहित्यकार झाको ‘दृष्टिकोण’लाई पुरस्कारका लागि छनोट गरेको हो ।

गरुडा नगरपालिका–५, महम्मदपुरस्थित गोपाल सेवा समितिको भवननजिक आयोजित कार्यक्रममा बज्जिका साहित्य समाज सर्लाहीका अध्यक्ष रामचन्द्र महतो कुशवाहा, बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्ण, प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्मा, भारतीय बज्जिका साहित्यकार मणिभूषणप्रसाद सिंह ‘अकेला’, अनिता–शिव प्रतिष्ठान रौतहटका अध्यक्ष शिवचन्द्र साह तथा विश्वराज अधिकारी र सञ्जय साह मित्रले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गर्नुभएको थियो ।

कार्यक्रममा अमेरिकामा रहँदै बज्जिका भाषामा साहित्य सिर्जना गरिरहेका विश्वराज अधिकारीले कोष, पुरस्कार स्थापना, निर्णय प्रक्रिया र व्यवस्थापनबारे जानकारी गराउनुभयो । सङ्गमकी सचिव सङ्गीता सहनीले स्वागत मन्तव्य राख्नुभएको थियो भने उपाध्यक्ष रेणु गुप्ता र सदस्य सहनीले सहभागीलाई गमछा ओढाएर सम्मान गर्नुभएको थियो ।

प्रमुख अतिथि कुशवाहाले पुरस्कारले बज्जिका भाषा र साहित्यको विकासमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो । भारतीय साहित्यकार मणिभूषणप्रसाद सिंह ‘अकेला’ले नेपाल–भारतबीचको बज्जिका साहित्यिक सम्बन्ध विस्तार हुँदै गएको उल्लेख गर्दै नेपालमा अन्तर्राष्ट्रियस्तरका पुरस्कार स्थापना हुनु महत्त्वपूर्ण उपलब्धि भएको धारणा राख्नुभयो ।

कार्यक्रममा भारतका रामकिशोर सिंह ‘चकवा’, अवधेश तृषित, कामेश्वर मिश्र ‘घुमक्कड’ र प्रवीणकुमार मिश्रलगायतले रचना वाचन तथा मन्तव्य प्रस्तुत गर्नुभएकाे थियाे। पाँच भारतीय साहित्यकारलाई ‘अन्तर्राष्ट्रिय बज्जिका दूत सम्मान, २०२६’ प्रदान गरिएको थियो ।

त्यसैगरी प्रतीक दैनिकका प्रधानसम्पादक जगदीशप्रसाद शर्मा, बज्जिकाञ्चल मिडिया प्रालिका प्रमुख राजुकुमार श्रीवास्तव, बज्जिका साहित्य समाज सर्लाहीकी उपाध्यक्ष शैलियादेवी ठाकुर, बारा चिउँटाहाका प्रधानाध्यापक दिनेशप्रसाद साह र अनलाइनमार्फत बज्जिका कार्यक्रम सञ्चालन गर्दै आएका सञ्जय महतो राजलाई पनि ‘अन्तर्राष्ट्रिय बज्जिका दूत सम्मान, २०२६’ प्रदान गरिएको थियो ।

बज्जिका साहित्य सङ्गम रौतहटका अध्यक्ष किशुनदयाल श्रीकृष्णको सभापतित्वमा सम्पन्न कार्यक्रममा मोरङ, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका भाषासेवी तथा साहित्यकारको सहभागिता थियो । भारतको बिहारस्थित सीतामढी, मुजफ्फरपुर र वैशालीबाट पनि साहित्यकारहरू सहभागी हुनुभएकाे थियाे ।

दुई नयाँ पुरस्कारको घोषणा

पुरस्कार ग्रहण गर्दै साहित्यकार अजयकुमार झाले बज्जिका भाषा र साहित्यको सेवा गर्ने व्यक्तिलाई पुरस्कृत तथा सम्मानित गर्न नयाँ पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभयो ।

त्यसैगरी बज्जिकाञ्चल मिडिया प्रालिका प्रमुख राजुकुमार श्रीवास्तवले आफ्नो पत्रिकाको वार्षिकोत्सवका अवसरमा वितरण गर्ने गरी बज्जिका पत्रकारिता पुरस्कार स्थापना गर्ने घोषणा गर्नुभयो। दुई नयाँ पुरस्कार स्थापनाको घोषणालाई सहभागी भाषा तथा साहित्यसेवीले स्वागत गर्नुभएकाे थियाे।

बज्जिका भाषा र साहित्यका क्षेत्रमा यसअघि तुलसी साहित्य पुरस्कार, अनिता–शिव अन्तर्राष्ट्रिय बज्जिका सर्वोच्च कृति पुरस्कार–सम्मान तथा कवि सदानन्द अन्तर्राष्ट्रिय बज्जिकासेवी पुरस्कारलगायत पुरस्कार स्थापना भइसकेका छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.