साहित्यपोस्ट-नपढी सुखै छैन...

वैरागी काइँलालाई ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ अर्पण

वैरागी काइँलालाई ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ अर्पण

अर्जुन प्रधान

काठमाडौं । वरिष्ठ साहित्यकार, कवि, मुन्धुम संस्कृतिविद् तथा नेपाली साहित्यका विशिष्ट साधक वैरागी काइँला (तीलविक्रम नेम्बाङ) लाई ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ प्रदान गरिएको छ । नगद ६ लाख रुपैयाँ राशिसहितको उक्त पुरस्कार काठमाडौंस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानको सिद्धिचरण सभाहलमा आयोजित विशेष समारोहमा अर्पण गरिएको हो ।

विश्व भुटानी साहित्य सङ्गठन (वि.भू.सा.सं.)को छैटौँ अन्तर्राष्ट्रिय सृजनात्मक अनुष्ठानले नेदरल्यान्ड्सको द हेगमा गरेको घोषणाअनुसार पुरस्कार समर्पण गरिएको हो ।

स्वीकारोक्ति फाउण्डेसनका केन्द्रीय अध्यक्ष तथा ‘स्वीकारोक्ति दर्शन’का प्रतिपादक डेन्जोम साम्पाङ राईको सभापतित्वमा सम्पन्न कार्यक्रममा वरिष्ठ समालोचक प्रा.डा. वासुदेव त्रिपाठी प्रमुख अतिथि रहनुभएको थियो ।

समारोहमा वक्ताहरूले वैरागी काइँलाले नेपाली कविता, मुन्धुम अध्ययन, भाषा, संस्कृति तथा आदिवासी ज्ञान–परम्पराको संरक्षण र प्रवर्द्धनमा पुर्‍याउनुभएको योगदानको उच्च प्रशंसा गर्नुभएकाे थियाे। फाउण्डेसनले उहाँको दीर्घ साहित्यिक साधना, सांस्कृतिक योगदान तथा भाषिक–सांस्कृतिक पहिचानको संरक्षणमा पुर्‍याएको योगदानको कदरस्वरूप पुरस्कार प्रदान गरिएको जनाएको छ ।

फाउण्डेसनका साहित्य तथा प्रकाशन विभाग प्रमुख दिपा राई पुनले वैरागी काइँलाको साहित्यिक, अनुसन्धानात्मक तथा सांस्कृतिक योगदानले नेपाली साहित्यलाई नयाँ बौद्धिक आयाम दिएको बताउनुभयो ।

कवि, गीतकार तथा अनुवादक विप्लव प्रतीकले ‘स्वीकारोक्ति दर्शन’लाई व्यक्ति र समाजको रूपान्तरणसँग जोडिएको चिन्तनका रूपमा व्याख्या गर्दै वैरागी काइँलालाई गरिएको सम्मान नेपाली साहित्यप्रतिको समर्पणको सम्मान भएको धारणा राख्नुभयो ।

अध्यक्ष डेन्जोम साम्पाङ राईले ‘स्वीकारोक्ति सिद्धि पुरस्कार’ साहित्य, अनुसन्धान, संस्कृति र सामाजिक चिन्तनका क्षेत्रमा दीर्घकालीन योगदान पुर्‍याउने व्यक्तित्वलाई प्रदान गरिने बताउँदै वैरागी काइँलाको चयन उहाँको जीवनभरको साधना र योगदानको मूल्याङ्कनका आधारमा गरिएको स्पष्ट पार्नुभयो ।

कार्यक्रममा स्वीकारोक्ति फाउण्डेसनले अघि सारेको ‘स्वीकारोक्ति दर्शन’बारे पनि छलफल गरिएको थियो । फाउण्डेसनका नेपाल शाखा अध्यक्ष डा. भक्त राईले यस दर्शनलाई विश्वव्यापी अभियानका रूपमा विस्तार गर्ने योजना रहेको जानकारी दिनुभयो ।

समारोहमा ‘Glimpses of Nepali Literature and Culture’ पुस्तकको विमोचन, सम्मानपत्र वितरण तथा विभिन्न साहित्यिक गतिविधि पनि सम्पन्न भएका थिए । कार्यक्रममा भारत, अमेरिका लगायत विभिन्न देशका साहित्यकार तथा फाउण्डेसनका पदाधिकारीहरूको सहभागिता रहेको थियो ।

साझा गर्नुहोस्:

यो पढेर तपाईंलाई कस्तो महसुस भयो?

आफ्नो विचार राख्नुहोस्!

अहिले नै लगइन गरेर तपाईंको प्रतिक्रिया दिनुहोस् र संवादमा सहभागी बन्नुहोस्।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.