साहित्यपोस्ट डट कम

‘बहादुरपुरको दन्त्यकथा’ले बनाएको इन्द्रेणी

‘बहादुरपुरको दन्त्यकथा’ले बनाएको इन्द्रेणी

सरस्वती चौधरीको निर्देशन र विजय विस्फोटको अनुवादमा बङ्गाली मूलका भारतीय नाटककार बादल सरकारद्वारा लिखित नाटकको नेपाली प्रस्तुति ‘बहादुरपुरको दन्त्यकथा’ नयाँ बानेश्वरस्थित थापा गाउँको मण्डला थिएटरमा हेर्ने अवसर मिल्यो।

अतिथिको रूपमा हातमा टिकट लिएर आफ्नो सिटमा बस्न पाउँदा नपाउँदै मञ्चमा एउटा अनौठो खालको सेट डिजाइन वा मञ्च सज्जा देखा पर्‍यो । आवश्यकभन्दा अग्लो र गोलाकार खुड्किला उक्लेर जानु पर्ने अप्ठ्यारो देखिने भर्‍याङ छ आँखैअगाडि । अनि यही भर्‍याङको टुप्पोमा एउटा पहेँलो र सेतो रङमा बनिएको सिंहासन बुझाउने कुर्सी छ । जम्माजम्मी एक पटक प्रयोगमा आउँछ यो कुर्सी । आवश्यकभन्दा धेरै फैलिएको छ दरबारको अग्र भाग झल्काउने मञ्च सजावट ।

यस्तो लाग्छ – मानौँ यो साँघुरो मञ्चमा कसैले सकी नसकी यस सेटलाई बलजफती कोचेको छ । कलाकारहरूले प्रस्तुतिको दौरानमा प्रयोग गर्ने र प्रयोग नगर्ने प्रप्सहरू वा मञ्च सज्जा उत्तिकै बरावर सङ्ख्यामा देख्न पाइन्छ । यसरी ज्यादै प्रयोगमा नआउने प्रप्सहरू मञ्चमा सजिएको हेर्दा सेट डिजाइनमा नै केही त्रुटि छ कि जस्तो लाग्छ । तर कथाले मागेको सेट खासमा यस्तै हुनुपर्ने रहेछ भन्ने थाहा पाउँदा प्रस्तुतिले एउटा गति लिइसक्छ ।हुम बिसीले यस पालि पनि गतिलो बाजी मारेका छन्, यो सट डिजाइन मार्फत ।

कथा एउटा पुरानो दरबारको छ । यो आवश्यकताभन्दा ठूलो छ त्यसैले आर्थिक रूपले व्यवस्थापन गर्न नसकिने गरी टाट पल्टेको छ । यसको मालिक भूपति उमेरले युवा नै छन् तर आफ्नो जीविका उधारोमा चलाउनु पर्ने बाध्यतामा अल्झिएका छन् । त्यसो त उनी इमानदार छन् । आँखै अगाडि एउटा लेजर बुक राखेका छन् । तिर्नु पर्ने रिनको रकम साहुलाई भन्दा पनि उनलाई नै कण्ठस्थ छ । भूपतिले बोझिल मानेको उसको दरबार हामी सबैले जीवनमा मुक्त पाउनु पर्ने बस्तु हो भन्ने कुरा दर्शकलाई लाग्छ । यही जीर्ण अवस्थामा रहेको दरबारमा प्रत्येक रात एउटा अतृप्त आत्मा कालिदासको विश्वप्रसिद्ध कृति मेघदूतबाट संवाद गाउन आइरहन्छ । भूपति भन्छ –यो उसको दाइ रघुवीरको आवाज हो । जिउँदो जाग्दो पात्र जस्तै यो भुतपात्र पनि प्रभावकारी भूमिकामा छ, यस नाटकमा ।

यही माहौलमा महल किनबेचका घटना चल्न थाल्छन् । उधारोमा कारोबार पुनः चल्न थाल्छ । यस्तै पुराना दरबार किनेर आफ्नो शान सौगात बढाउने तीव्र चाहना भएका व्यापारीहरू जुँगाको बखान गर्न आइपुग्छन् । नाटक उत्कृष्टमा पुगेको क्षण फेरि एक पटक रघुवीरको प्रेत आत्मा देखा पर्छ । कल्पना नै गर्न नसकिएको समस्याको समाधान एकाएक सम्भव भएर जान्छ ।

बाहिर पुसको चिसो सिरेटो चलिरहेको छ । हलभित्र दुई घण्टासम्म चलेको प्रस्तुतिले निकै बेरसम्म पनि छोड्दैन । प्रवीण खतिवडाको अभिनयले छोडेको छाप मनमा गहिरो बसिसकेको रहेछ भन्ने यो दर्शक थाहा पाउँछ ।

संस्कृत भाषाका सुप्रसिद्ध कवि कालिदासका कविताको वाचन प्रवीणको स्वरमा जीवन्त सुनिन्छ । दरबारमा प्रेत भएर मध्यरातमा कालिदासका कविता वाचन गर्दै सबैको सातो खाने रघुवीर दाइको भूमिकामा देखिएको एक निमेषमा नै प्रवीण फेरि आर्थिक अभावले आक्रान्त भूपति सिंहको भूमिकामा उत्तिकै जीवन्त रूपमा देखिन्छन् । आफ्नो इच्छा बमोजिम रातको बाह्र बजे मात्र देखापर्ने प्रेत रघुवीर दाइको आवश्यकता पर्न जान्छ । भूपति भाइ प्रवीण आफ्नै रघुवीरदाइ प्रेतलाई एक पटक फेरि आइदिन अनुरोध गर्दै बेतोडले दरबारका विभिन्न खण्ड दौडिन्छन् । एउटा भूमिकामा देखा परेको प्रवीण आफैँले खेल्ने अर्को भूमिकाको पात्र खोज्न निस्कन्छन् । दोहोरो भूमिकामा देखिएको प्रवीणले यी भीमकाय भूमिकालाई बडो सकुशल ढङ्गमा निभाएका छन् ।

नाटक यही क्षण उत्कृष्टमा पुग्नु, सङ्गीत र प्रकाशको संयोजन यही क्षण बडो सुन्दर ढङ्गमा हुनु अनि प्रवीणको कुशल अभिनय यहीँ देखिनु, यो संयोग मात्र होइन । प्रवीण लगायतको टिमले एउटा अठोट र सामर्थ्य लिएर बनाएको यो रचना हो भन्ने खुल्दै जान्छ । रङ्गमञ्चको जादू यही क्षण बोध हुन्छ । माथि नेपथ्यमा नाटकलाई हातका औँलाले तलमाथि दाहिने देब्रे चलाइरहेका राजकुमारले यो प्रस्तुतिमा आफ्नो निशानी छोडेका छन् । उनले चलाएको प्रकाश संयोजनले नाटकको मूल स्पन्दनलाई झनै जीवन्त बनाएको छ ।

त्यसैले सही कलाकारलाई सही भूमिकामा प्रस्तुत गर्दै निर्देशक चौधरीले नाटक निर्देशनमा मार्नुपर्ने पहिलो बाजी जितिन् कि जितिनन् भन्ने निर्णय अन्ततः दर्शकले नै गर्छन् । त्यसमा पनि उनले आफैँले खेलेको सुकुमारी छन्द नामकी युवतीको भूमिका पनि तारिफयोग्य छ । चञ्चले मनकी छन्दामा धनी परिवारकी एउटी युवती मात्र होइन, उनी आफ्नै नाम जस्तै कालिदासले रचेको छन्द कविता र यसको वाचनले छाडेको प्रभावमा ओतप्रोत हुन्छिन् । यस मनस्थितिलाई उनले स्वाभाविक ढङ्गमा उतारेकी छिन् । पात्रले खोजेअनुसार आँखामा आँखा जुधाएर संवाद गर्ने तर त्यही कारणले बिस्तारै लजालु हुँदै संवादमा हराउँदै जाने, आमाअगाडि आफ्नो व्यक्तित्व गुमाउने छोरी पात्रको अभिनय उनले स्वाभाविक ढङ्गमा उतारेकी छन् ।

यसको ठीक उल्टो स्वभावकी आमा पात्र (धनाढ्य र कुलिन परिवारकी कडा स्वभावकी अधबैँसे नारी) को रूपमा सरिता गिरीको भूमिका प्रभावकारी देखिन्छ । आफ्नो हैकम अरूमाथि आरोपित गर्ने मिसेज बस्नेत पात्रलाई मञ्चमा उतार्न सरिताले शब्द केलाई–केलाई उच्चारण गर्ने र केही अंग्रेजी शब्दलाई प्रस्ट उच्चारण गर्ने संवाद शैली प्रयोग गरेकी छन्, जुन प्रयोग सफलसिद्ध भएको छ । चोरी औँलाको सटीक प्रयोग, अरूको संवेदनालाई खासै महत्त्व नदिने पात्रलाई देखाउन अपनाइएको अलग्ग पहिरन, बस्ने कुर्सी र संवेदनाशून्य अनुहारजस्ता शैलीहरूले उनलाई अरू पात्रभन्दा फरक र प्रभावशाली बनाएका छन् । आफूबाहेक अरू सबैलाई हेप्ने स्वभावलाई मञ्चमा मूर्त रूपमा उभ्याएझैँ प्रस्तुत गर्ने गिरीको अभिनय शैली प्रशंसनीय छ ।

त्यस्तै, अग्लो र बाक्लो जीउडाल भएका दीपल बरालको अभिनयले प्रस्तुतिलाई थप उचाइ दिएको छ । भूपति मित्रको घरमा पाहुना बनेर आउँदा परिस्थितिवश म्यानेजरको भूमिका निभाउनुपर्ने जिम्मेवारी अचानक उनमाथि आइपर्छ, र एउटै जुँगाको भरमा म्यानेजरदेखि भूपतिको हितैषी मित्र सञ्जुसम्मको यात्रामा उनी देखिन्छन् । बरालको काँधमा आएको यो भूमिकाले प्रस्तुतिलाई भरपूर मनोरञ्जन दिएको छ; यो उनको अहिलेसम्मकै उत्कृष्ट अभिनय मान्न सकिन्छ । प्रवीण, सरिता र कमलसँग उनको केमिस्ट्री पनि राम्रोसँग जमेको छ ।

आवश्यकताले भन्दा पनि अरूको शेख मार्न धन सम्पत्ति जोड्न अत्यन्तै लालायित धनीपात्र मिस्टर बस्नेतको भूमिकामा कमल नेपालको अभिनय जोडदार छ । भग्नावशेष दरबारलाई काम नलाग्ने बस्तु भन्दा पनि यसको खरिद गर्दा एउटा गतिलो बाजी जित्ने अवसरको रूपमा ग्रहण गर्ने पात्रलाई जीवन्त बनाउन कमलले प्रयोगमा ल्याएको विस्फारित आँखा, अदृश्य शक्तिले उत्तेजित हुने बानी, अलिअलि बेहोसीमै बस्न अनि निर्णय गर्न रुचाउने स्वभाव तारिफयोग्य छन् ।

गाउँघरमा पसल चलाउने साहुजीहरूको भूमिकामा देखा परेका पात्रहरू हेर्दाहेर्दै महलका कर्मचारीको हुन थाल्छन्, रामभजन कामत, आदित्य नारायण र चन्द्र नेपाली । त्यस्तै गरी आर्थिक अभावले टाट पल्टेको महलका निम्सरो कामदार मनोहरको भूमिकामा देखिएको घनश्याम जोशी एक्कासि खानदानी मिजासका व्यक्तिको रूपमा देखा पर्न थाल्छन् मानौँ यो विरासत धान्ने जिम्मा उनको मात्र हो । यी पात्रहरूको जीवनमा आइपरेको नाटकीय परिवर्तनले नाटकलाई थप मनोरञ्जन दिन्छ । चन्द्र नेपालीले दोहोरो भूमिकालाई सकुशल ढङ्गमा उतारेका छन् ।

आर्थिक रूपमा टाट पल्टिएको महलको खरिद–बिक्री प्रक्रिया अघि बढ्दै जाँदा भूपतिको जीवनमा संकट थप गहिरिँदै जान्छ, जहाँ अतृप्त आत्माले कहिले काम बिगार्छ त कहिले सपार्छ । यही अलौकिक हस्तक्षेप प्रस्तुतिको सबभन्दा बेजोड पक्ष बनेको छ । पात्रहरूको मञ्च अवतरण सशक्त ढङ्गले अघि बढिरहँदा राजकुमार पुडासिनीको प्रकाश संयोजन उत्तिकै प्रभावशाली रूपमा साथ दिन्छ । प्रेम, प्रतिशोध, लोभ, वफादारी र प्रतिस्पर्धाजस्ता अनेक तहका कथाहरू इन्द्रेणीझैँ फैलँदै अन्त्यतिर पुग्दा मञ्चमै इन्द्रेणी देखाइन्छ, जसले सबै पात्रको जीवनमा नयाँ आशा ल्याउँछ । जीवन सुन्दर छ भन्ने दर्शन र राजकुमारको कलात्मक प्रकाश संयोजनको समागमले यो प्रस्तुति आधुनिक मञ्चमा प्रकाशलाई एक सशक्त विधाका रूपमा स्थापित गरेको अनुभूति गराउँछ ।

अन्त्यमा बादल सरकारले यस नाटकमा एउटा अतृप्त भड्किरहेको आत्माको मुखमा कालिदासको मेघदूतका संवाद राखिदिएर नाट्य विधानमा केही हलचल ल्याएका थिए । प्राचीन कालका नाटककार र उनको विश्वप्रसिद्ध पङ्क्तिको यो हास्यरस प्रधान प्रयोग वैचारिक आधारमा भन्ने हो भने यो एउटा हलचल हो । थर्ड थिएटरको नाममा नयाँ नाट्य प्रस्तुति र नाट्यशैलीको प्रादुर्भाव गरेर समाज सुधारक क्रान्तिकारी नाट्य सर्जकको रूपमा चिनिएका सरकारको वैचारिक रूपले अधिनाटकीय चेतना प्रबल रहेको नाट्यकृति हो । विजय विस्फोटले भावानुवाद गरेको यस नाटकलाई कलाकारहरूले स्वाभाविक सुनिने बोलीचालीमा ढालेका छन्, अनि अनावश्यक रूपमा कमेडी नबनाई सरकारको साहित्यिक दक्षताको सम्मान पनि गरेका छन् ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.