‘बगावतनामा’मा कतै दमन, उत्पीडन, निराशा, अन्यायप्रति आक्रोश छ त कतै समानता र विभेदप्रति विद्रोह छ । प्रेमप्रति अनुराग र जीवनप्रति मोह छ, देशप्रति प्रेम छ । कवितामा आँशु छचल्किएका छन् । दुःख कारुणिक बनेका छन् ।
…
साहित्यका विभिन्न विधाहरूमध्ये एउटा विधा कविता हो । मूलतः कवितालाई गद्य र पद्य गरी दुई भागमा विभाजन गरिन्छ । छन्दमा लेखिएका कवितालाई पद्य र छन्दमा नलेखिएका कवितालाई गद्य कविता भनिन्छ । बगावतनामा, छन्दमा नलेखिएका कविताहरू (गद्य) को सङ्ग्रह हो । यस सङ्ग्रहमा लधु रुप (फुटकर कविता) अन्तर्गतका लामाछोटा गरी जम्मा ४० ओटा कविताहरू सङ्ग्रहित छन् ।
संरचनाका दृष्टिले सङ्ग्रहको सबैभन्दा छोटो ‛कविताः एक शोक’ पत्र’ जम्मा ६, सबैभन्दा लामो ‛शङ्खघोष’ ७५, ‛दमिनीको दैलो’ ७२, ‛आऊ, मलाई सम्भोग गर’ ७१ लाइनसम्मका सबै कविताहरूलाई एकमुष्ट राखेर हेर्दा शुरुका ‛मुना कविता’ अन्तर्गतका ९ वटा छोटा, ‛दृश्य परिदृश्य’ अन्तर्गतका ५ र ‛प्रेमाङ्कुरण’ अन्तर्गतका ६ वटा केही लामा र ‛विद्रोहको रङ्ग’ अन्तर्गतका २० कविताहरू लामा छन् ।
सङ्ग्रहित लामाछोटा जस्ता कविता भए पनि सबै कविताहरू लघु रुपका (फुटकर) कविता नै हुन् । पढ्दा कतै दमनप्रति विद्रोह देखिन्छ त कतै विभेदप्रति गुनासो भेटिन्छ । निराशामा आशाको अभिलाशाका झिल्काहरू कवितामा छरपस्ट छिरलिएका छन् । प्रेम, वियोग, सामाजिक न्याय, विद्रोह आदि विषयहरू समेटिएका छन् । बगावतनामा विविध विषयलाई एकीकृत गरिएको कविता सङ्ग्रह हो ।
बगावतनामा
जसरी वस्तुको आकृति दृष्टिकोणले निर्धारण गर्छ, त्यसरी नै कविताको अर्थ कवितामा अन्तरनिहित भावले निर्धारण गर्छ । व्यक्तिको दृष्टिकोण अनुसार कविताले अर्थ बोकेको हुन्छ । कविताको अर्थ लगाउन सजिलो छैन र हुँदैन पनि । जहाँ अर्थको पछि पनि अर्थ हुन्छ, हृदयमा भावको गहिरो प्रभाव पर्छ त्यहाँ लयको लालित्यमा कविता सल्बलाउँछ ।
कवितालाई अन्य विधाबाट छुट्याउने प्रमुख तत्त्व लय हो । कविता बुझ्नका लागि कविको जस्तै मुटु हुनुपर्छ । सबै कविता सजिला हुँदैनन्, अविधामा भन्दा लक्षणा र व्यञ्जनामा लेखिएका कविताहरू असजिला हुन्छन् । कविताले देश, काल, परिवेश र वातावरणअनुसार भाव बोकेको हुन्छ । भाव अनुसार अर्थिएको हुन्छ । मुटु र विज्ञाताअनुसार कविताको भाव पहिचान हुन्छ । अर्थ निर्धारण हुन्छ । एउटा सशक्त कविताका दुई अनुच्छेदलाई वास्तविक रूपमा विश्लेषण गर्दा सिङ्गै पुस्तक तयार हुन सक्छ । कवि वर्डस्वर्थ भन्छन्, ‟अनुभूतिको स्वस्फूर्त अभिव्यक्ति नै कविता हो ।” कवयित्रीका रूपमा रिमा केसीले गरेको कविताको अनुभूति नै बगावतनामा हो । बगावतनामा नै बगवतनामामाथि बनाइएको अवधारणा हो ।
कवयित्री आफैँ भन्छिन्, “बगावतनामा केवल शब्दहरूको सङ्ग्रह हैन । यो युगौँदेखि समयले थिचिराखेको दमन, उत्पीडन, निराशा, अन्याय, अत्याचार, असमानता र मौनताप्रति उठेको सामुहिक चिच्चाहट हो । यसमा मानव जीवनका सम्पूर्ण आयाम प्रकृति, प्रेम, जीवन मृत्यु, आक्रोश, आँशु, हाँसो, दुःख, अभाव र बाध्यता जस्ता यावत पक्षहरूलाई पनि समेट्ने कोसिस गरेकी छु ।” के कवयित्रीले भनेझैँ बगावतनामा सङ्ग्रहमा सङ्ग्रहित कविताहरू त्यस्तै छन् त ? फ्रान्सेली चिन्तक रोलाँ वाट (सन् १९१५-१९८०) ले सन् १९६७ मा एक वैचारिक लेख ‛लेखकको मृत्यु’ प्रकाशित गरेका थिए । कविता सङ्ग्रहमा सङ्ग्रहित पहिलो कविता ‛कविताः एक शोक पत्र’ रोलाँ वाटबाट प्रभावित भएको देखिन्छः
ऊ शब्दमा हाँस्थ्यो
भावमा रमाउँथ्यो
अक्षर जन्माउँथ्यो
कवितामा सपना देख्थ्यो
जुन दिन जन्मियो कविता
त्यही दिन मृत्यु भयो उसको ।
कविता जन्मेपछि रचनाकारको मृत्यु हुन्छ । कविता बुझ्ने, यसको अर्थ लगाउने र भावको पहिचान गर्ने जिम्मा पाठकको हो र पनि कवयित्रीले बगावतनामा जे भनेकी छन् त्यसै आधारमा कवितालाई हेरौँ ।
दमनमाः बगावतनामाको चिच्चाहट
शाब्दिक अर्थमा हेर्दा कुनै व्यक्ति, जाति, लिङ्ग, समूह वा आन्दोलनलाई बल प्रयोग गरेर दबाउने काम, अत्याचार अथवा मान्छेले आफ्नो इच्छा, आवेग वा इन्द्रियहरूलाई नियन्त्रण गर्ने वा दबाउने कामलाई दमन भनिन्छ । सङ्ग्रहमा सङ्ग्रहित ४० थान कविताहरूमध्ये ‛चिया मजदुर’, ‛प्रश्नको कठघरामा’, ‛अन्तिम लडाई’ र ‛आमा खाने माकुराहरूको नाममा’ कविताका माध्यमबाट राज्यबाट मजदुर, शासकबाट सार्वभौम नागरिक, प्रेमीबाट प्रेमिका अनि पुरुषबाट महिला कुनै न कुनै रुपमा दमनमा परेको, दमन गरिएको अर्थात दबाइएको कुरालाई कविताका मध्यमबाट विद्रोहको चिच्चाहट गरिएको छ ।
विभेदमाः बगावतनामाको गुनासो
जात, लिङ्ग, धर्म, भाषा, वर्ण, उमेर, शारीरिक अवस्था वा अन्य कुनै आधारमा व्यक्ति वा समुदायलाई फरक व्यवहार गर्ने कार्य विभेद हो । बगावतनामा सङ्ग्रहित कविताहरूमध्ये ‛दमिनीको दैलो’, ‛आमाहरूको देश’, ‛अभ्यर्थना’ जस्ता कवितामा जात तथा लिङ्गका आधारमा गरिएको विभेद र यसले पारेको प्रभावलाई प्रस्तुत गरिएको छ । यी कविता उत्पीडनका आवाज र जातीय तथा लैङ्गिक विभेदका उदाहरण हुन् । कवितामा जातका आधारमा गरिएको विभेदप्रति गुनासो छ । लिङ्गका आधारमा हुने भेदभावप्रति असहमती छ । अवसर प्राप्त नहुँदा भतेर चल्ने, भोट चाहिने बेलामा समानता हुने, समानताका कुरा गर्ने सत्ताप्राप्ति पछि विभेद गर्ने प्रवृतिप्रति विद्रोहको आवाज उठाइएको छ । समाजमा अझै पनि मन्दिर पसेको कसुरमा सुनार र वि.क.हरूले सजाय पाउने गरेका छन् । छोरीहरू स्वतन्त्र भएर जन्मन सकेका छैनन् ।
लेख्नु छ एउटा यस्तो कविता
जहाँ स्वतन्त्र जन्मिन सकुन् छोरीहरू
स्वतन्त्र हुर्कन र बाँच्न सकुन्
फक्रिन पाउन् खुशीले रहरका कोपिलाहरू
चलाउन् आमाहरूले देश
बनाउन् राष्ट्रलाई न्यायपूर्ण
साथ दिउन् बाबुहरूले
समानताको तुलो बनेर हमेशा
सुर्यास्तसँगैं अस्ताओस् विभेदको अँध्यारो युग ।
(आमाहरूको देश)
नारीहरूलाई देश सञ्चालनका लागि आह्वान गरिएको छ । पुरुषहरूलाई साथ दिनका लागि आग्रह गरिएको छ । के पुरुषबिना नारी अगाडि बढ्नै नसक्ने हुन् त ? कविताले प्रश्न खडा गरेको छ । यति हुँदा हुँदै पनि कविताले समानताको आवाज उठाएको छ । विभेदप्रति विद्रोह गरेको छ । राज्य सञ्चालनमा महिलाहरूको बाहुल्यता नगन्य छ । जात र लिङ्गका आधारमा गरिने विभेदले व्यक्तिको शारीरिक, मानसिक र भावनामा चोट पुर्याएको छ । विभेदका कारणले मान्छेलाई मान्छे भएर बाँच्न गाह्रो भएकोमा गुनासो गरिएको छ ।
निराशामाः बगावतनामाको अभिलाशा
कविता सङ्ग्रहका केही कविताहरूमा निराशाका झिल्काहरू देखिन्छन् तर ती झिल्काहरू राँको बन्न नपाउँदै आशा बनेर जागेका छन् । ‛जिन्दगीः एक एस्ट्रे’, ‛चिहान’, ‛खाली पाना’, ‛आदत’, ‛आमा, देश र लठ्ठी’, ‛हत्यारा’ आदि कविताहरू निराशाका झिल्काहरू झिल्किएका कविता हुन् । जसरी ठुटाहरू (चुरोटका) निमोठिन्छन् सकिएपछि त्यसरी नै मानिसका सपनाहरू निमोठिन्छन् जल्नुअघि (जिन्दगीः एक एस्ट्रे) ठुटाहरू निमोठिनु र सपनाहरू निमोठिनु कवितामा आशाको अभाव हुनु हो । उदासीनताको गहिरो अवस्था हो । आदत कवितामा पनि निराशाका भावहरू छन् । आदत कविताले देश अनि समाजमा व्याप्त दासताको आदत, बेइमानीको आदत, चाकडीको आदत, धोकाधडीको आदत, लुटको आदत जस्ता आदतहरूको कारण उत्पन्न निराशालाई उठाएको छ । ‛आमा, देश र लठ्ठी’ कवितामा निराशाका भावहरू छचल्किएका छन् । विदेशीएका छोरा, रित्तिएका गाउँ, बाँझा खेतबारी अनि खुम्चिएका देशका सिमानाले सन्तोष हुने अवस्था छैन । कवितामा निराशाका भावहरू मात्रै छैनन् निराशाभित्र आशाको अभिलाषा राखिएको छ । हत्यारा र खालीपाना आशाका अभिलाशा पोखिएका कविता हुन् । निराशाभित्र आशाको अभिलाषा राखे पनि नराखे पनि कविमा आशाहीनता, हतास वा उदासीको गहिरो अवस्था रहिरहेको अवस्था छैन । उनमा विद्रोहको चेतना घनिभूत भएर आएको देखिन्छ ।
अन्यायमाः बगावतनामाको न्याय र समानता
‘बगावतनामा’मा सङ्ग्रहित कविताहरूमा न्यायपूर्ण समाजको कल्पना गरिएको छ । ‛आमाहरूको देश’, ‛पर्खाइ’, ‛प्रश्नको कठघरामा’, ‛दमिनीको दैलो’, ‛आँखा’, ‛यस युगकी द्रौपती’ आदि कविताहरू अन्यायमा न्याय र समानता खोजिएका कविताहरू हुन् । कवितामा नारी र पुरुष एक अर्काका परिपूरक छन् । हिजो नारीहरूलाई वस्तुका रूपमा प्रयोग गरिन्थ्यो र आज पनि गरिन्छ । हिजो बम्बैको कोठीमा बेचिने गरेका नारीहरू आज निकम्पा सरकारको कारण खाडीतिर बेचिन बाध्य भएका छन् भन्दै नारीमाथि गरिने अन्याय, अत्याचरप्रति विद्रोह गरिएको छ । अनेकतामा एकता अनि असमानतामा समानता खोजिएको छ ।
प्रेममाः जीवनको उज्यालो
प्रेम के हो ? प्रेम एक दृष्टिकोण हो, यो एक अनुभूति हो । प्रेमका बारेमा अर्थ खोज्ने हो भने दर्शन आउन सक्ला । प्रेम र मायामा फरक देख्नेहरू पनि छन् । संसारका कविता सङ्कलन गर्ने हो भने ९५ प्रतिशत भन्दा धेरै प्रेमका कविता भेटिन सक्छन्, त्यता नजाऔँ । सङ्ग्रहमा सङ्ग्रहित कविताहरूमध्ये सबैभन्दा बढी प्रेम र जीवनका बारेमा रचना गरिएका कविताहरू छन् । यसो त जहाँ जीवन हुन्छ त्यहाँ प्रेम हुन्छ । ‛आऊ हामी प्रेम गरौँ’, ‛गाढा रङ्ग’, ‛प्रेमः एक निकोटिन’, ‛याद’, ‛सम्झना’ प्रेमका बारेमा रचिएका कविता हुन भने मभित्र, शङ्खघोष, रङ्ग, प्रकृति र जीवनगीत जीवनका बारेमा रचना गरिएका कविता हुन् । प्रेममा प्रणय खोजिएको छ । बिन्तीभाउ गरिएको छ । प्रेमको आदतले सामिप्य खोजेको छ । वियोगमा विगतका सम्झनाहरू याद बनेर आएपछि पर्खाइ गाह्रो भएको छ । सङ्ग्रहमा सङ्ग्रहित प्रेमका कविताहरू बेजोड छन्, चट्याङ बनेर बज्रिएका छन् । मुटु हल्लाउने खालका छन् । पढेपछि पाठकलाई घण्टी ट्याङ्ङ पछि पनि र्याड्डङको अवस्थामा झन्न्न पार्ने खालका छन् । जीवनका कविताहरू दर्शनले खिपिएका छन् । प्रेममा जीवनको उज्यालो देखिएको छ । जीवनभित्र प्रेमको दियो चम्केको छ ।
मृत्युमाः आक्रोश र आँशु
कवितामा जीवन मात्रै हैन जीवन सँगसँगै मृत्यु बोलिएको छ, आँशु पोखिएको छ । ‛म मरेको दिन’, ‛मसानघाट’, ‛कालिगण्डकी कविता’ मृत्युका बाछिटाले भिजेका कविताहरू हुन् । मृत्युलाई उत्सवका रूपमा स्वीकार गर्नेहरू पनि छन् । जीवन जस्तै मृत्यु शाश्वत छ । मृत्यु सहज हैन भन्नेहरू पनि छन् । मृत्यु अन्तिम सत्य हो । कविले मृत्यु बोल्ने पक्षमा आफूलाई ज्यादै तिखारेको देखिन्छ । मृत्यु स्वीकार्नुको विकल्प छैन । कवितामा मृत्युप्रति आक्रोश पोखिएको छ । आँशु छचल्किएको छ र पनि आत्मालाई केन्द्रमा राखिएको छ । शरीर र आत्माका बारेमा दर्शन बोलिएको छ । ‛पीआर प्रेम’, ‛बदनाम आइमाइको विद्रोह-घोष’, ‛आँखा’, ‛उग्रकाली’, ‛सृष्टिको प्रयोगशाला’, ‛विसर्जित संवेदना’ जस्ता कविताहरूमा प्रेम, असमानता, विभेद र वियोगप्रति विद्रोह गरिएको छ । आक्रोश पोखिएको छ ।
सडकपेटीमा निस्फिक्री सुतिरहेको कुकुरले
माया गर्छ मलाई
तर लाग्छ
सहरमा ओहोरदोहोर गर्ने मानिसहरू पत्थर हुन् ।
(बदनाम आइमाइको विद्रोह-घोष)
कवितामा मान्छेले मान्छेलाई गर्ने व्यवहारप्रति गुनासो छ, आक्रोश छ । मानविय समवेदनाहरू हराउँदै गएको यथार्थप्रति चिन्ता छ । मान्छे पत्थर भएको छ । पत्थरको चरित्र पग्लनु हैन । नपग्लने हृदयमा प्रेम हुँदैन मानवता हुँदैन, सहानुभूति रहँदैन । मानिस पशु जत्तिकै मायालु हुन सकेको छैन । उसको हृदय शून्य भएको छ ।
अन्त्यमा, बगवतनामा कविता सङ्ग्रह गमलामा फुलाइएको र टेबलमा सजाइएको फूल हैन । यो फरक फरक जात, रङ्ग र ढंगले फुल्ने फुलहरूले बनाइएको बगैँचा हो । एउटा वृक्षको एक फूलले त अलौकिक सौन्दर्य दिएको हुन्छ भने समग्र बगैँचाको के कुरा गर्नु ! फूलको होस् या कविताको अवधारणा आफैँमा निरपेक्ष हुन्छ । व्यक्तिपिच्छे फरक हुन्छ । दृष्टिकोण सापेक्ष हुँदैन । बगावतनामा सङ्ग्रहित सबै कविताहरू बगैँचामा फुलेका सुन्दर फूलहरू हुन् । फूलहरू आकर्षक भए झैँ कविताहरू सुन्दर छन् । कविताले जीवनका यावत विषयहरूलाई समेटेको छ, जीवन बोकेको छ । मृत्यु बोलेको छ । प्रकृति सल्बलाएको छ ।
बगावतनामामा कतै दमन, उत्पीडन, निराशा, अन्यायप्रति आक्रोश छ त कतै समानता र विभेदप्रति विद्रोह छ । प्रेमप्रति अनुराग र जीवनप्रति मोह छ, देशप्रति प्रेम छ । कवितामा आँशु छचल्किएका छन् । दुःख कारुणिक बनेका छन् । कवितालाई यसका तत्त्व, स्थापित वाद या दर्शन, यसमा प्रयोग गरिएका विम्ब, प्रतीक, अलङ्कार आदिका आधारमा गुण र दोष केलाएर निफन्नु, छान्नु र खार्नुभन्दा पनि समग्रमा कविता राम्रा छन् । कविता सङ्ग्रका लागि खर्च गरेको पैसा र समयप्रति पाठकले पछुतो मान्ने अवस्था छैन ।

