बाबुराम आचार्यको १३९औँ जन्मजयन्तीको अवसरमा उहाँले नेपालको इतिहास लेखनमा पुर्याएको योगदानबारे चर्चा गरिएको छ। बाबुराम आचार्य स्मृति प्रतिष्ठान र नेपाल प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा फागुन २९ गते काठमाडौंमा आयोजित ‘बाबुराम आचार्य र नेपालको इतिहास’ विषयक विचार गोष्ठीमा वक्ताहरूले आचार्यको योगदानको चर्चा गर्नुभएकाे हाे।
कार्यक्रममा प्रा.डा. विणा पौड्यालले व्यक्ति नै प्रमाणका रूपमा उभिएको उदाहरण दिनुपर्दा बाबुराम आचार्यको नाम आउने बताउनुभयाे। आधुनिक नेपाली इतिहासका ‘भिष्मपितामह’का रूपमा चिनिने आचार्यले नेपालको प्रामाणिक इतिहास लेखनको सुरुवात गरेको उहाँको भनाइ थियो। सगरमाथाको नामाकरणमार्फत नेपाललाई विश्वमा चिनाउन आचार्यको भूमिका रहेको उहाँले उल्लेख गर्नुभयाे।
प्रा.डा. दयाराम श्रेष्ठ ‘सम्भव’ले बाबुराम आचार्यलाई नेपाली इतिहासका विश्वकोशका रूपमा चित्रित गर्नुभयाे। इतिहास अध्ययनलाई राजनीतिमा मात्र सीमित नराखी सांस्कृतिक, आर्थिक, सामाजिक र साहित्यिक आयामबाट पनि अध्ययन गर्नुपर्ने आवश्यकता औँल्याउँदै आचार्यले यी क्षेत्रहरूमा पनि खोज र व्याख्या गरेको बताउनुभयाे। प्रमाणको स्वीकार गर्दा भावनामा नबग्ने र सैद्धान्तिक आधार खोज्ने दृष्टिकोण आचार्यमा रहेको उहाँले उल्लेख गर्नुभयाे ।
नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले बाबुराम आचार्यको स्मरण केवल कर्मकाण्डी रूपमा भइरहेको टिप्पणी गर्दै राज्यले लगानी गरेर इतिहास अनुसन्धान केन्द्र स्थापना गर्नुपर्ने बताउनुभयाे। नेपालको इतिहासको वस्तुगत अध्ययन र लेखनमा आचार्यको योगदान उल्लेखनीय रहेको उहाँको भनाइ थियो। प्रा.डा. सुरेन्द्र केसीले आफू संयोगवश बाबुराम आचार्य स्मृति प्रतिष्ठानको कार्यवाहक अध्यक्ष बनेको उल्लेख गर्दै बजेट र सहकार्यको अभावका कारण अपेक्षित काम गर्न नसकिएको बताउनुभयाे। भाषा, साहित्य र संस्कृतिको इतिहासमा परिणाममुखी अध्ययन आवश्यक रहेको उल्लेख गर्दै नेपालको इतिहासको व्यापक अनुसन्धान आवश्यक भएको उहाँको भनाइ थियो ।
भारतको कोलकाताबाट आउनुभएकाे साहित्यकार नारायणप्रसाद हुमागाईंले कोलकातामा नेपाली साहित्यको वर्तमान अवस्था र प्रवृत्तिबारे चर्चा गर्नुभयाे। नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य–सचिव धनप्रसाद सुवेदीले कार्यक्रममा सहभागीहरूलाई धन्यवाद दिँदै स्मृति प्रतिष्ठानसँग निरन्तर सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयाे । साथै भाषा, साहित्य र संस्कृतिको क्षेत्रमा तीन तहका सरकारको अधिकार क्षेत्र स्पष्ट हुनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयाे।
प्रज्ञा प्रतिष्ठानकी प्राज्ञ कौशिला रिसालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सञ्चालन भने बाबुराम आचार्य स्मृति प्रतिष्ठानका महासचिव बाबुराम आचार्यले गर्नुभएकाे थियाे।

