अहिलेको प्रविधि युगमा ज्ञान, सूचना र अवसरको दायरा अत्यन्तै विस्तृत र असीमित भएको छ । जिज्ञासा मेट्ने, सिक्ने, बुझ्ने र अनुभव गर्ने थुप्रै डिजिटल माध्यम सहज रूपमा उपलब्ध छन् । इन्टरनेट, सामाजिक सञ्जाल र विभिन्न शैक्षिक प्लेटफर्मले ज्ञानलाई हातैमा पुर्याइदिएका छन् । तर यति धेरै अवसरका बीचमा एउटा अत्यन्त महत्त्वपूर्ण पक्ष हामीले बिर्सनु हुँदैन – बालबालिकामा स्वतन्त्र रूपमा पढ्ने बानी र पुस्तकप्रतिको गहिरो लगाव विकास गर्न सहयोग गर्नु अभिभावक र विद्यालय दुवैको प्रमुख दायित्व हुन आउँछ ।
आजको आधुनिक जीवनशैली तीव्र र व्यस्त बन्दै गएको छ । परिवारका सदस्यहरू आआफ्नो काम र जिम्मेवारीमा व्यस्त हुँदा घरभित्रको भावनात्मक वातावरणमा परिवर्तन आएको छ । पहिले जसरी हजुरआमाको कथाले भरिएको प्रेमिलो छहारीमा हुर्किने अवसर आज धेरै बालबालिकाले पाउँदैनन् । परिणामस्वरूप बालमस्तिष्कमा एक प्रकारको एक्लोपन, भावनात्मक खालीपन र अस्थिरता देखिन थालेको छ । यस्तो अवस्थामा उमेरअनुसारका साहित्यिक पुस्तकले बढ्दै जाने उमेर समूहका बालबालिकाका लागि “जेनेरेशन ग्याप”लाई सहजीकरण गर्नसक्छ । किनभने बालबालिकालाई केवल पाठ्यपुस्तकमा सीमित नराखी उमेर अनुसार रुचि, कल्पनाशक्ति र भावनात्मक विकासलाई समेट्न उनीहरूलाई साहित्यतर्फ आकर्षित गर्नु आजको आवश्यकता हो । सानै उमेरदेखि नै बालबालिकालाई पुस्तकहरू केवल ज्ञानका स्रोत मात्र होइनन्, ती साथी, मार्गदर्शक र सामाजिक सम्बन्ध सिकाउने सहारा पनि हुन् भन्ने कुराको मार्गदर्शन र सही वातावरण दिनसकेको खण्डमा गलत सङ्गतको प्रभाव र नराम्रा क्रियाकलापबाट उनीहरूलाई टाढा राख्न पनि सकिन्छ । त्यसैले सही पुस्तकको सङ्गतले बालबालिकामा सिर्जनात्मकता, संवेदनशीलता र सोच्ने क्षमता विकास हुन्छ । यसरी उनीहरूले पुस्तकलाई बोझ होइन, साथीका रूपमा स्वीकार गर्न थाल्छन् ।
यस सन्दर्भमा, ‘वसन्त गाउँ’ किशोर–किशोरीलाई लक्षित गरेर लेखिएको एक सशक्त बालउपन्यास हो । यस उपन्यासका लेखक प्रकाश रम्घली हुन् भने सम्पादक सरस्वती सरस हुन् । यसको केन्द्रिय पात्र प्रबल हो, जो वसन्त गाउँमा बस्छ र आफ्नो गाउँसँग अत्यन्त गहिरो भावनात्मक सम्बन्ध राख्छ । उपन्यासको शुरुवातमा गाउँको प्राकृतिक सौन्दर्य, हरियाली, शान्त वातावरण र सरल जीवनशैलीको अत्यन्त मनमोहक चित्रण र वर्णन गरिएको छ । यसले पाठकलाई आफ्नै स्मृतिको कुनै सुन्दर गाउँतर्फ फर्काइदिन्छ । यो उपन्यास केवल कथात्मक मनोरञ्जनमा सीमित छैन, बरु एउटा जीवन दर्शनको क्यानभास हो, जसमा ग्रामीण जीवनका यथार्थ, बालमनोविज्ञान, समसामयिक विषय र सामाजिक संरचना सबै पक्षलाई सन्तुलित रूपमा प्रस्तुत गरिएको छ । सरल भाषा र सहज शैलीका कारण यो उपन्यास झर्को नलाग्ने गरी पढ्न सकिन्छ र पाठकलाई अन्त्यसम्म बाँधेर राख्छ ।
प्रबलको जीवनमा हजुरआमाको भूमिका अत्यन्त महत्त्वपूर्ण छ । ती दुईबीचको सम्बन्ध निकै आत्मीय छ । बुबा वैदेशिक रोजगारीका लागि विदेशिएका कारण परिवारमा एक प्रकारको खालीपन देखिन्छ । आमा आफ्नो जिम्मेवारी र पीडाबीच सन्तुलन मिलाउन संघर्ष गरिरहेकी हुन्छिन् । यस्तै अवस्थामा हजुरआमाको उपस्थितिले घरलाई भावनात्मक रूपमा जोडेर राखेको हुन्छ । हजुरआमाले सुनाउने कथाहरू केवल मनोरञ्जनका साधन होइनन्, ती नै प्रबलको कल्पनाशक्ति, नैतिकता र सोच विकासका आधार बनेका हुन्छन् । बालबालिकाले सुन्ने वा सुनाइने कथाहरूको अप्रत्यक्ष रूपमा बालबालिकाको चरित्र निर्माणमा कस्तो छाप पार्छ भन्ने कुरालाई भन्न खोजिएको छ । उपन्यासमा हजुरआमा र नातिको सम्बन्धलाई अत्यन्त गहिरो र प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ । उनीहरूको सम्बन्ध ‘चौतारी’ जस्तै शीतल, आरामदायी र आश्रयदायी छ, जहाँ जीवनका थकाइहरू मेटिन्छन् । कथा पढ्ने र सुन्ने बानीले बालमनलाई जिज्ञासु बनाउँदै बौद्धिक स्तरलाई फराकिलो बनाउन सहयोग गर्छ । यही कुरा यस उपन्यासमा हजुरआमाका कथाहरूले प्रबलको चरित्र निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेको प्रसङ्गले देखाउँछ ।
राम्रो शिक्षा लिने उदेश्य लिएर प्रबल आमासँग शहर जान्छ । उतैको विद्यालयमा पढ्न थाल्छ । शहरको जीवनशैली, भीडभाड र फरक वातावरणले उसलाई शुरुमा असहज बनाउँछ । गाउँको खुला वातावरण, साथीहरू र हजुरआमाका कथाहरूको सम्झनाले उसलाई निरन्तर सताइरहन्छ । यसले बालबालिकामा जरा र पहिचानप्रतिको गहिरो भावनात्मक सम्बन्ध कति बलियो हुन्छ भन्ने कुरा दर्शाएको छ ।
तर यस उपन्यासले केवल विछोडबाट जन्मिएको खालीपन मात्र होइन, बालमनोविज्ञानका आधारमा सिकाइका रङ्गहरूलाई पनि जीवन्त रूपमा पोत्न सफल भएको छ । भनिन्छ नि, छुट्नु र छाडिनुले जीवनलाई अझ परिस्कृत बनाउँदै लैजान्छ, तर त्यसलाई बुझ्ने हाम्रो दृष्टिकोण भने सकारात्मक हुनुपर्छ । शहरमा बिरामी पर्दा घरबेटी आमाले गरेको स्याहार सुसारले गाउँ र शहर सम्बन्ध प्रतिको प्रबलको दृष्टिकोण परिवर्तन गर्छ । उसले बुझ्छ कि मानवीय संवेदना स्थान, वर्ग वा परिस्थितिभन्दा ठूलो हुन्छ । यसले सहानुभूति र मानवताको गहिरो सन्देश दिन्छ । यस उपन्यासमा चित्रण गरिएका कतिपय घटनाहरुले महत्त्वपूर्ण सन्देश दिइरहेका हुन्छन् । जस्तै, ‘केक काट्ने संस्कार’ सम्बन्धी प्रसंगले सांस्कृतिक सचेतना र मौलिक पहिचानको प्रश्न उठाउँछ । यसमार्फत प्रबलले आफ्नो संस्कृति र बाह्य प्रभावबीचको भिन्नता बुझ्न थाल्छ । यसले आजको पुस्तामा बढ्दै गएको सांस्कृतिक द्वन्द्वलाई पनि सङ्केत गर्छ ।
कथाको अर्को महत्त्वपूर्ण पक्ष वैदेशिक रोजगारीको प्रभाव हो । बुबा विदेश जाँदा परिवारमा आर्थिक सुधार भए पनि भावनात्मक दूरी बढ्छ । जुन अहिले धरै घरका समान कथा पनि हुन् । प्रबलकी आमा आफ्ना श्रीमान अभावको पीडा गीतमार्फत व्यक्त गर्छिन्, जसले उनको संवेदनशील मनस्थिति देखाउँछ । यसले वर्तमान नेपाली समाजको यथार्थलाई अत्यन्त नजिकबाट चित्रण गर्छ । रोजगारीका लागि विदेशमा रहेका परिवारका सदस्यहरु को मनोदशालाई समेत केही हदसम्म सम्बोधन गर्न सकेको छ । हजुरआमा यस उपन्यासको नैतिक आधार पनि हुन् । उनी देशप्रेम, स्वावलम्बन र आफ्नै भूमिमा बसेर केही गर्नुपर्छ भन्ने विचारलाई प्रतिनिधित्व गर्छिन् । उनका विचारहरू केवल व्यक्तिगत अनुभव होइनन्, बरु सामाजिक चेतनाको स्वर हुन् । हजुरआमाको मृत्युपछि उत्पन्न हुने शून्यता र जीवनप्रतिको गहिरो चिन्तनले कथालाई अझ भावनात्मक र यथार्थपरक बनाएको छ । यसले पाठकलाई जीवन, सम्बन्ध र सम्झनाको मूल्यबारे सोच्न बाध्य बनाउँछ ।
प्रबल एक संवेदनशील, प्रकृतिप्रेमी र सोचशील पात्रका रूपमा विकसित हुन्छ । उसलाई एकान्त र प्रकृतिको सामिप्यता अत्यन्त प्रिय लाग्छ । वसन्त गाउँ उसको लागि केवल ठाउँ होइन, आत्माको शान्ति हो ।
समयसँगै प्रबलको जीवनमा ठूलो परिवर्तन आउँछ । ऊ शिक्षित र जिम्मेवार व्यक्ति बनेर आफ्नो गाउँमै फर्किन्छ । पछि उसले दुईवटा पुस्तक प्रकाशित गर्छ, जसमा एउटा हजुरआमाका कथाहरूको संग्रह हुन्छ । यसले स्मृति, परम्परा र ज्ञानलाई पुस्तान्तरण गर्ने महत्त्वपूर्ण सन्देश दिन्छ ।
अन्ततः यस उपन्यासले राष्ट्रप्रेम, पारिवारिक मूल्य, सांस्कृतिक पहिचान, बालमनोविज्ञान र सामाजिक यथार्थलाई एकै ठाउँमा जोडेर प्रस्तुत गरेको छ । प्रबलको जीवनमार्फत लेखकले आजको पुस्तालाई आफ्नै जरा नबिर्सन, संवेदनशील बन्न र जिम्मेवार नागरिक बन्न प्रेरित गरेका छन् ।
यो उपन्यासलाई अनावश्यक लामो बनाइएको छैन । घटना वर्णनमा संक्षिप्तता छ जसले पाठकलाई आवश्यक कथावस्तु मात्रै प्रस्तुत गर्न सफल भएको छ । कथासहायक चित्रहरूले पुस्तकलाई शब्दमा मात्र सिमित नराखी आकर्षित बनाएको छ । त्यस्तै संवादहरू सन्तुलित र लक्षित पाठकसमूहले बुझ्न सक्ने खालका छन् ।

