साहित्यपोस्ट डट कम

बा र हजामको कथा

बा र हजामको कथा

म महिनामा कुनै पनि बिदाको दिन कपाल कटाउने समय तालिका मिलाउने गर्दछु । यसका लागि टोल वरिपरि खुलेका थुप्रै कपाल काट्ने दोकानहरूमध्ये आफूलाई पायक पर्ने र खाली दोकान छानेर छिर्ने गर्दछु । कपाल काट्ने भन्नेमात्र हो । टाउकोमा रहेका कपालमध्ये दुई तिहाइ खाली भई चिल्लो तालु भइसकेको छ । सार्वजनिक जीवनमा ढाकाटोपी र विभिन्न आधुनिक टोपीहरू लगाएर मानिसका आँखा छल्ने प्रयास गर्छु तर वास्तविकता लुक्दैन । कपाल जति बाँकी भए पनि टोपी लगाउँदा दायाँबायाँ बेढङ्गले बढिरहने, सेतोकालो मिसिएर ठाडो भइरहने कपालले अरूका नजरमा अल्छी र लापरवाहीको ट्याग नलागोस् भनेर पनि महिनामा एकपटक कपाल मिलाउने बाध्यता आइलागेकै छ । जब कपाल काट्ने कुर्सीमा बस्छु, वरिपरिका मानिसहरू मेरो मूर्खता देखेर मुसुमुसु हाँस्ने गर्छन् । यति कपाल काट्नलाई पनि रकम त हामीले जति नै तिर्न पर्छ बिचरालाई घाटा लाग्छ भन्ने सोचेर होला ।

आज पनि समयतालिका अनुसार कुनै एक दुकानमा मलाई पस्नु नै थियो । नजिकको दोकानमा अलिक भीडभाड देखेपछि थोरै टाढाको दुकानमा पुगेँ । आफूभन्दा अघि एकदुई जना क्यूमा भए पनि त्यसै दोकानमा कपाल कटाउने मन भयो । उक्त दोकानभित्र छिर्नेबित्तिकै तीनजना कपाल काटिरहेका व्यक्तिहरूमध्ये एकजनाले मलाई नमस्कार गर्दै भने– “बस्नुस् न अङ्कल ।” निकै परिचित भावमा गरिएको आग्रह थियो । शुरुमा त यसलाई मैले सामान्य पेशागत धर्म ठानेर खाली रहेको कुर्सीमा बसेर पत्रिका पढ्न थालेँ । ऊ निकै बोलकी स्वभावको थियो । उसले मतिर हेर्दै भन्यो– “अङ्कलले मलाई त चिन्नुहुन्न होला ? तर म त अङ्कललाई राम्रोसँग चिन्छु नि !” उसको हाउभाउ मुखाकृति, लवज, व्यक्तित्व सबैलाई हेर्दा ऊ तराईबासी हो भनेर ठोकुवा गर्न सकिन्थ्यो । त्यतातिरबाट मलाई यसरी चिन्ने र अङ्कल भन्ने खासै व्यक्ति नरहेकाले केही अचम्म पनि लाग्यो । उसले फेरि थप्यो – “म त तपाईंको भतिज सुरेशजीको सानैदेखिको साथी हो नि ! तपाईंकोमा निकै पटक आउने जाने गरेको छु ।” उसले भनिरहँदा पनि उसलाई मैले यसअघि भेटेको कुनै ताजा स्मृति दिमागमा आएन तैपनि उसप्रति ध्यानाकर्षण गर्दै “हो र ? मैले याद नगरेको हुन सक्छ ”, मात्र भनेँ । उसले कपाल काट्दै गरेको ग्राहकको कपाल काटिसकेपछि मलाई कुर्सीमा बस्न आग्रह गर्यो ।

ऊ एकोहोरो बोलिरहेको थियो । उसले बोलेका हरेक शब्दहरू मेरा बाप्रति कृतज्ञता जाहेर गर्ने खालका थिए । ऊ मेरो बासँग बिताएका धेरै अविस्मरणीय पलहरू रोचक ढङ्गबाट प्रस्तुत गरिरहेको थियो । अर्काे महिनाको अन्तमा बा बितेको पनि आठ वर्ष पूरा हुँदै थियो । प्रसङ्ग आउँदा सन्तानको रूपमा बालाई सम्झनेबाहेक परिवारभित्रै पनि बाका बारेमा कुराकानी कम हुन थालेको थियो तर उसले बोलेका हरेक शब्दले मेरो बाप्रति उसको आदर, सम्मान र आत्मीयता झल्किइरहेको थियो । जनकपुरमा अलग्गै परिवेशमा हुर्केको नातिको उमेरको सामान्य मधेसी केटोले आफ्नो कामको सिलसिलामा बालाई भेटेको थियो । व्यापारिक जीवनमा धेरै हन्डर, सफलता र असफलताको इतिहास बनाइसकेका मेरा बा त्यतिबेला बिहानदेखि बेलुकासम्म पूरै समय खाली हुनुहुन्थ्यो । बिल्कुलै नयाँ बस्दै गरेको बस्तीमा मैले एकतले घर निर्माण गरेर बसोबास थालेको वर्ष दिन नपुग्दैको कुरा थियो त्यो । वरिपरि धेरै पसलहरू पनि खुलिनसकेको अवस्थामा कपाल काट्न खोलिएको पहिलो दोकानमा बाले दिन काट्ने र कुराकानी गर्ने गरेको कुरा उसले मलाई बताएपछि मात्र थाहा भयो । किनकि त्यतिबेला म बिहान कलेज पढाउने दिउँसो अफिसको काम गर्ने र बेलुका पनि ढिलो फर्कने भएकोले बुबाको दैनिकीका बारेमा मलाई कमै जानकारी हुने गर्दथ्यो ।

कपाल काटेर नुवाइधुवाई गरी निर्धारित कार्यक्रममा निस्किएँ, दिनभर मतलब भएन । जब बेलुका घर फर्किएँ । पहिलो तलाको भित्तामा झुन्ड्याइएको बासँगै बसेर खिचेको आफ्नो तस्बीर र औँला ठडाएर आफूतिरै हेरेझैँ लाग्ने बाको अर्काे तस्बीरमा आँखा ठोकिए । खै किन किन आज मलाई बासँग आँखा जुधाइरहन आफैँलाई सङ्कोच लागेजस्तो भयो । एउटा कपाल काट्ने मधेशी केटोले बाँसँगको सामीप्यका बारेमा कति आत्मीयता दर्साइरहेको थियो । बा बितेको आठ वर्षसम्म पनि बाको स्मृतिलाई शब्द–शब्दमा जीवन्त राखेर हार्दिकता साथ सुनाइरहेको थियो तर मैले भने त्यतिबेला बालाई उज्यालोमा कमै भेटेको थिएँ । उसले जति कुराकानी त जीवनभरी पनि गरेको थिइनँ होला । उसले जसरी बाको बारेमा बताइरहेको थियो, त्यो देख्दा लाग्थ्यो उसले बासँग बिताएका हरेक दिनका यादहरू वर्णन गर्न उसलाई एक दिन पूरै लागोस् । हुन पनि बाको बोल्ने ठट्यौली शैली र व्यक्तित्व मोहनी लगाउने खाले थियो । घरका मानिसलाई अनुशासनमा राख्न उहाँले निभाउनुपरेको भूमिकाकै कारण बा हामीलाई कडा लागेको हुनुपर्छ । बाल्यकालका केही घटना र परिदृश्यका कारण हामी बासँग डराउँथ्यौ तर आफ्ना ग्राहक, समकक्षी र जुनसुकै उमेर समूहसँग पनि उत्तिकै नजिकिने खुबी बासँग थियो ।

अरू बेला पल्टनेबित्तिकै भूस हुने म आज रातभर निदाउन सकिनँ । उसले भनेका प्रत्येक शब्द कानमा नै गुन्जिरहेका थिए । बालाई प्यारालाइसिस हुनुभन्दा चार वर्ष अघिदेखि नै सामीप्य रहेको र बा बिरामी भएपछि त झन् बढी झाङ्गिएको रैछ दुईबीचको सम्बन्ध । बाले आफ्नो शरीरको मसाजका लागि आफैँले किनेर ल्याएको एउटा तकिया अहिलेसम्म केटोले पसलमा सुरक्षित राखेको थियो । म र मेरा परिवारले बाको स्मृतिका के के चिज राखेका छौँ ? मलाई हेक्का छैन । शरीर विर्सजन गर्ने बेलामा नै बाका लुगाफाटा, औषधी, कागजपत्र सबै मिल्काएर आएको भन्थे । बाले जीवनभर आफैँसँग राख्नुभएका मूल्यअङ्कित सम्पत्तिबाहेक अरू के पो नै राखियो होला र ? तर ऊसँगको करिब एक घण्टाको बसाइ र उसले बताएको कुराले बाको तलतल लाग्ने बनाइदिएको थियो । मलाई बाको सम्पत्तिभन्दा बासँग बिताएका अमूल्य पलहरूलाई सधैँ स्मृतिमा राख्ने भोक लाग्न थालेको थियो । ऊसँग भएका बाका यादहरूलाई आफ्नै बनाएर छातीमा टाँस्ने लोभ जागेको थियो । म उसलाई यो कुराको महसुस हुन नदिई ऊबाट ती सबै खोसेर आफ्नो बनाउन सपना देख्न थालेको थिएँ । त्यसैले मलाई मेरो चिन्डा टाउकाको वरिपरि जिंगरिंग परेका रौँ छिटै बढे हुन्थ्यो, मैले ऐना हेर्दा मलाई कपाल काट्न दौडाइहाल्ने बनाइदिए हुन्थ्यो भन्ने लाग्न थालेको थियो ।

बा मेरो सपनामा पनि आकलझुकल देखिनुहुन्थ्यो तर यो महिना बा अरू महिनाभन्दा बढी सपनामा देखिनुभयो । सपनामा बा जीवनकालमा देखेको बाभन्दा मौन देखिनुहुन्थ्यो । मसँग कुरा गर्न नचाहेकोजस्तो, अरू कोहीसँग बात मार्न हतारिएकोजस्तो, मदेखि केही कुरा लुकाइरहेजस्तो महसुस गर्दै बिउँझन्थेँ म । बिउँझेपछि बासँग कुरा नभएकोमा पछुतो मान्थेँ । बाका आफ्नै ६ भाइ छोरा थिए । छोराहरूसँग गफिएर लामो समय बिताउन नसकेका वा नपाएका बा एउटा कपाल काट्ने केटोसँग कति मजाले झुम्मिनुभएको रहेछ । हामी छोराहरूले पनि बासँग गफ गरेर लामो समय बिताउन सकिन्छ भन्ने विषय खासै सोचेनौँ । आँखै अगाडि बा हुँदा पनि उहाँका सङ्घर्ष र भोगेका जीवन र भावनाका बारेमा समय दिएर सुन्ने चासो राखनौँ । हामीले अपाङ्ग बालाई मसाज गर्दा अलिकति राहत होला कि भनेर सोच्न सकेनौँ । बालाई एक्लै उहाँको ओछयानसम्म खाना र खाजा पुर्यायौँ तर समय निकालेर बासँग बसेर खाजा खाने, उहाँका रमाइला कुरा सुन्ने सोच बनाएनौँ । यस्तै कुराले मन विचलित बनाइरह्यो ।

कता–कता मलाई आरिस लाग्न थालेको थियो त्यो कपाल काट्ने केटोदेखि । बा सपनामा पनि त्यसैलाई भेट्न हतारिएका होलान् भनेर । कामको व्यस्तताकै बीच अरू बेलाभन्दा कम समयको अन्तरमा बिहानको खाना खाएसी दोकानमा ग्राहकको भीड अलि कम हुने अनुमान गरी म उसकोमा पुगेँ । उसले टाढैबाट नमस्कार गर्यो । म एक्लो ग्राहक थिएँ । उसले कपाल काट्ने व्यवस्था मिलाउन थाल्यो । म सिटमा बस्दै गर्दा नै उसले सुनाइहाल्यो– “अङ्कलको हिँडाइ जति हेरे पनि बुबाकै जस्तो देखिन्छ । उहाँ पनि टाढाबाट हेर्दा आकाशतिर हेरेजस्तो लाग्ने नि ! सिँढी उक्लिन तक्लिफ हुँदा मैले नै तानेर बसाउँथे । उसको अवलोकन र ठम्याइको मसँग कुनै जवाफ थिएन किनकि यो कुरा त मलाई परिवारमा निकै पहिलेदेखि नै भन्ने गरेका थिए ।

मलाई आज कपाल मिलाउनेभन्दा पनि उसको थप कुरा सुन्न मन लागिरहेको थियो । उसले बा प्यारालाइसिस हुनुभन्दा अघि उसलाई नजिकैको खाजाघरमा लगेर खाजा खुवाएको प्रसङ्ग निकाल्दा निकै खुशी भएको थियो । बाको लोभलाग्दो जुँगा मिलाउँदा बाले गर्ने गरेको ठट्टा, कपालमा कालो लगाउँदा बाले तेस्रो बिहे गर्ने हो म भनेको कुरा निकै रमाइलो मानेर सुनाइरहेको थियो । त्यतिबेला बा नियमित उसको आउने हैन कपाल र दारी कटाउन कहिलेकाहीँ आउनुहुन्थ्यो तर निकै रमाइलो गर्ने गरेको स्मरण सुनायो । ऊसँग भेटिएको केही वर्षपछि बालाई गाउँको घरमा जाँदा अकस्मात् हार्टअट्याक भयो । आमाले काठमाडौँको न्यूरो अस्पताल ल्याइपुर्याउन एक घण्टा ढिला भाको भए बाको दश वर्ष आयु छोटिन्थ्यो । यसलाई बा बिरामी भएको दिनसमेत थाहा रै’छ । अस्पताल पनि भेट्न गएको कुरा उसले सुनायो । बाको उपचारपछि एउटा गोडा नचल्ने भयो । लाठीको सहाराले घिस्रेर हिँड्नुपर्ने बाध्यतापछि बाको दैनिकी आफ्नै आँगन र उसको दोकानसम्म सीमित भएको थियो ।

उसले सुनाएका धेरै प्रसङ्ग छन् । त्यसमध्ये उसलाई घत परेको र रमाइलो लागेको कुरा उसले खुब हाँस्दै सुनायो । एकपटक बुबा जापान जानुभएको थियो नि अङ्कल । मैले भनेँ, “हो २०११ तिर ।” त्यतिबेला फर्केर आएपछि एक दिन बुबाले मलाई अङ्कमाल गरेर यस्तो भन्नुभयो– हेर केटा म त जापानमा सुनामी आउनुभन्दा पहिले नै फर्केर आएँ नि ! म त बाँचेँ नि ! त्यो सुनामीभन्दा म बाठो हो । त्यो आउनुभन्दा पहिले नै म फर्कें देखिस् ? म अझै सय वर्ष बाँच्ने हो भनेर निकै खुशी भएर फलफूल किनेर सबैलाई बाँड्नुभयो । त्यति खुशी मैले बुबालाई अरू बेला देखेको थिइनँ । उसले निकै रोचक पाराले बुबा नै अगाडि भएझैँ एकै श्वासमा भनी सिध्यायो ।

उसले कपाल काटेर सक्न लागेको थियो तर मलाई भने अझै उसका कुराहरू सनेर बस्न मन थियो । म आज फुर्सदिलो नै थिएँ । अक्सर म दारी हजामकोमा काट्ने गर्दिनँ । मसाज त झन् गर्दै गर्दिनँ तैपनि आज उसको समय किन्ने उद्देश्यले “दारी काट्छु आज” भनेँ । उसले अर्काै प्रसङ्ग निकाल्यो । बा लाठी टेकेर हिँड्ने समयतिर एकपटक नेपाल बन्द, हडतालको माहोल थियो । यस्तै आन्दोलन हेर्न भनेर एक दिन ऊ र बा मूल सडकतिर गएको प्रसङ्ग उसले बेलीबिस्तार लगायो । अङ्कल जब हामी चोकमा मात्र पुगेका थियौँ । भागदौड मच्चिइगो । पुलिसले आन्दोलनकारीलाई लखेट्न थाल्यो । म र बा अलिक टाढै थियौँ । पहिले त म डरले भागिसकेको थिएँ तर पछि फर्केर हेर्दा बुबा त भुइँमा ढलिसकेका रहेछन् । उनलाई त अरूले कुल्चिएर दौड्न शुरु गरिसकेछन् । बुबाको लाठी पनि नजिक थिएन । त्यो देखेर म त पागल भइहालेँ । दौडेर बुबालाई छोप्न लाको पुलिसले एक लाठी ढाडमा बजाइहाल्यो । त्यतिबेला बुबाले ठूलो स्वरमा अपाङ्गलाई हेप्छस् भनेर पुलिसलाई कराउनुभयो अनि पुलिसले कुट्न पाएन । मैले बुबालाई बुईमा बोकेर माथिसम्म ल्याएँ । बुबाले मलाई अँगालो मारेर रुनुभयो । यो कुरा हाकिमलाई (मलाई बुबा अरूसँग कुरा गर्दा हाकिम भन्नुहुन्थ्यो) नभन है ! किन जानुभा’को भनेर कराउँछ भन्नुभयो । मैले अरूलाई भनेको थिइनँ तर यतिका वर्षपछि अङ्कललाई सुनाउन पाएँ । उहाँ निकै दयालु र रसिलो मान्छे । उसले यति भनिरहँदा मेरा आँखाबाट खसेका आँसु उसले बेरिदिएको रुमालमा खसिरहेको थियो ।

मैले सोधेँ– बाले घर र परिवारको कुरा केही गर्नुहुन्थ्यो होला नि ! उसले थप्यो– त्यस्तो धेरै घरको कुरा गर्नुभा’को याद छैन । आफ्नो ६ भाइ छोराहरू नै आफ्नो धन हो भन्नुहुन्थ्यो । अँ उहाँ मेरो दोस्तको (उसको समकक्षी बुबाको नाति) खुब कुरा गर्नुहुन्थ्यो । शिवरात्रीमा जन्मेकोले शिवजस्तै छ । भनेर खुब हाँस्नुहुन्थ्यो । आफूले सङ्घर्ष गरेको र उमेरमा जुवा खेल्दाका कुराहरू भनेर खुब हँसाउनुहुन्थ्यो । जुवामा अरूसँग सापटी लिएर हारेपछि पसलको सामानसमेत बुझाएको कुरा सुनाउनुहुन्थ्यो । बुबा र म गफ गरेर बस्दा कोही ग्राहक आइपुग्यो भने पहिले उसको काम सकेर कुरा गरौँला भन्नुहुन्थ्यो । ग्राहक, सर्प र बाघ कुरेर बस्दैन । त्यसैले उनीहरूलाई बेलैमा ध्यान दिनुपर्छ भन्ने उहाँको उपदेश म जहिले नि सम्झन्छु । मलाई कुनै ग्राहकले मधेशी भनेर हेप्यो भने निकै रिसाउनुहुन्थ्यो । कहिलेकाहीँ ग्राहकहरू रिसाएर फर्कन खोजे भने पनि हँसाएर रुकाउनुहुन्थ्यो । घरबाट आउँदा कहिले स्याउ, सुन्तला वा केही न केही बोकेरै आउनुहुन्थ्यो । हामी बाँडेर खान्थ्यौँ । कहिले समोसा, डुनोट ल्याएर चिया मगाएर सँगै खान्थ्यौँ । खाली समयमा मलाई यहाँ दुखेको छ । मसाज गर्देऊ भन्नुहुन्थ्यो । आफ्नै हिसाबले पैसा दिनुहुन्थ्यो तर मैले बुबासँग कहिले पनि काम गरेको हिसाब मागिनँ । जे दिनुभयो त्यही लिएँ ।

मेरो प्रगतिमा बुबा जति खुशी भएको मानिस अरू देखेको छैन अङ्कल । कहिलेकाहीँ भीड हुँदा कति व्यापार भयो भनेर सोध्नुहुन्थ्यो । मैले पनि केही नलुकाई जस्ताको तस्तै यति आम्दानी भयो भन्थेँ । त्यो सुनेर बुबा निकै खुशी हुनुहुन्थ्यो । यो त हाकिमको भन्दा पनि बढी भयो भन्दै हँसाउनुहुन्थ्यो । त्यतिबेलै सशस्त्र प्रहरीमा हजामका लागि विज्ञापन खुलेको थियो । मलाई त्यो निवेदन दिन बुबाले धेरै प्रेरित गर्नुभयो । जागिरले जीवन सजिलो हुन्छ । व्यापार त जाने अपार नजाने बर्बाद भन्नुहुन्थ्यो । मैले सशस्त्रमा काम पाएको उहाँले थाहा पाएपछि निकै खुशी हुनुभयो । मलाई धाप मार्दै अब बुढेसकालमा तैँले पेन्सन पाउँछस् । बुढेसकालको चिन्ता गर्नुपर्दैन । बिहान बेलुका पसलमा बस्नू, एउटा काम गर्ने भाइबहिनी ल्याउनू । आफू जागिरमा पूरै ध्यान दिनुपर्छ भनेर अर्ती दिनुभयो । उहाँले अफिसमा गर्ने काम र पसलमा गर्ने काम फरक हुन्छ । माथिका मानिसलाई रिझाउन राम्रो व्यवहार र काम गर्नुपर्छ भनेर अर्ती दिनुहुन्थ्यो । जुन मैले अहिलेसम्म पनि पालना गरिरहेको छु । बुबा बित्नुभन्दा अघि एक दुई महिनादेखि नै आफूलाई गाह्रो महसुस भएको र नियमित हिँड्न नसकेको कुरा भनिरहनुभएको थियो । करिब एक हप्ताजति बुबा दोकानमा नआएपछि मैले पनि चासो लिएको थिएँ । बुबालाई अस्पताल लगिएको खबर सुनेकै बेलुकीतिर बुबा बित्नुभएछ । म निकै दुखी भएँ । केही रातसम्म त बुबासँगै बात मारेको मात्र सपना देखेँ अङ्कल । दोकानमा एक्लै बस्दा पनि बुबा आइहाल्नुहुन्छ कि भन्ने झल्को आइरहन्थ्यो । मैले उहाँसँग व्यापार र जीवनको धेरै कुरा सिकेँ । दोकानमा आउने सबै मानिसहरूसँग मेरो राम्रो सम्बन्ध छ । सबैले मीठो बोल्नुहुन्छ । देशको मन्त्री र उच्च ओहोदाका मानिसहरूको पनि सेवा गरेँ, गरिरहेछु अङ्कल तर उहाँजति आफ्नो र शुभचिन्तक अरू भेटेको छैन ।

उसको कुरा सुनेर मसँग प्रतिक्रिया जनाउने कुनै शब्द नै थिएन । बुबाले सक्रिय जीवनकालमा आफ्नो क्षेत्रको साम्राज्य हासिल गरेको कुरा उसलाई बताएँ । हामी त बुबाको क्षमता, साहस र अनुभवको तुलनामा एउटा चोइटोमात्र भएको सत्य पनि सुनाएँ । उसले भनेका कुरा कतै अभिलेख बनाएर राख्न पाए नि हुने भन्ने सोच्दै दोकानबाट बाहिरिएँ ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.