नेपालमा प्रजातन्त्र आउनुअघि नै विक्रम सम्वत् २००३ सालतिर भीमानमा एउटा घटना घट्यो । जर्नेल माधवशमशेर राणाले भीमानका पृथ्वीविलास कोइरालालाई ‘तिमी तुरुन्तै रानीचुरी दरवारमा उपस्थित हुनू” भन्ने आदेश जारी गरेछन् । कमला नदीको किनारमा अवस्थित छ– भीमान । भीमानको शिरमाथि बसेको चुरेको एक सुन्दर थुम्को हो— रानीचुरी । रानीचुरीको थुम्कामा जर्नेल माधवशमशेरको दरबार छ । जर्नेलको आदेश पाएर त्यही दरवारमा उपस्थित भएका पृथ्वीविलासलाई जर्नेल माधव शमशेरले एकाएक सोधेछन्— “भन पृथ्वीविलास, तिम्रो रुचानी मौजाको बीस बिगाहा धनहर खेतको मोल कति हो ?”
बाटो हिँड्दै गरेको कुनै बटुवाले पृथ्वीविलासलाई यो प्रश्न सोधेको भए कुरा अर्कै हुन्थ्यो होला । जग्गा किन्न घरैमा आएको कुनै सामान्य ग्राहकले यो प्रश्न गरेको भए पनि कुरो अर्थोकै हुन्थ्यो होला । तर उनलाई यो प्रश्न सोध्ने मान्छे कोही सामान्य नागरिक थिएन; बरु ठिङ्ग्रो–मुङ्ग्रो सबैको अधिकार पाएको बडाहाकिम राणा-शासकले सीधै गरेको प्रश्न थियो यो ।
शासक राणाको प्रश्न सुनेर बाजे झसङ्ग भएछन् ।
त्यो प्रश्न सोधिएको क्षण शायद बाजेले आफ्नो परिवार सम्झे होलान् । दूधमुखे बच्चाहरुको खाने मुख सम्झे होलान् । परिवारको भविष्य सम्झे होलान् । सम्झँदा सम्झँदै मुख मलिनो भयो होला । मुटु हल्लिएर थर्र काँपे पनि होलान् । मनमा आँधी पनि उठ्यो होला तर राणाले ताकिसकेको खेत दिन्नँ भन्ने आँट कसले गर्ने ?
निरुत्तर निहुरिएर उभिइ मात्र रहेका पृथ्वीविलासलाई माधवशमशेरले आदेश दिएछन्— “तिमीले भोग गरिआएको रुचानी मौजाको बीस बिगाहा धानखेत आजदेखि रानीचुरी दरवारको भयो । त्यसबापत आठ हजार कम्पनी असर्फी गनिदिएको छु । असर्फीको यो थैलो बोक र घर जाऊ ।”
सुन फल्ने खेतको सट्टामा पाएका केही आठ हजार असर्फी बोकेर बाजे रानीचुरीबाट लुरुलुरु घर फिरेछन् ।
घर पुगेर बाजेले आफ्नी पत्नीलाई घटनाको सबै बेलीबिस्तार लगाएछन् र ती असर्फीहरू आफ्नी पत्नी पद्मादेवी कोइरालाका हातमा हालिदिएछन् । जमिन गुमाएको पीडाले पृथ्वीविलास कति गुम्सिएका थिए होला । गुम्सिनु त मर्नुभन्दा पनि खतरनाक कुरा हो । त्यो पीडाले पद्मादेवीलाई झन् गहिरो गरी दुखायो होला । उनीहरू पीडामा छन् भनेर समय पनि रोकिएर बसेन । ऊ त समय थियो, आफ्नै गतिमा बग्थ्यो, र बग्दै पनि गयो । पद्मादेवी पनि भारी मन लिएर भान्सामा पसिन् होला । शायद भाँडाको भात र उनको मनको पिरोलो पनि सँगैसँगै छड्किए होलान् ।
भात पाक्यो । परिवारका सबै सदस्य भान्सामा जम्मा भए । पद्मादेवीले क्रमशः सबैका लागि भात पस्किँदै गइन् । पति पृथ्वीविलासका लागि भात पस्किने वेला पद्मादेवीले भात होइन, विद्रोह पो पस्किदिइछन् । एक थाल असर्फी पस्केर पृथ्वीविलासका अगाडि राखिदिँदै भनेकी थिइन् रे— “ल आजदेखि यै खानोस् । भात खाने खेत त राणालाई बुझाइहाल्नुभो ।”
त्यो क्षण पृथ्वीविलास कति मर्माहत भए होला; त्यो उनलाई मात्रै थाहा हुने कुरा भयो । तर उनी भने पत्नीसँग कुनै प्रतिवादै नगरी, एकैशब्द पनि नबोली र पैसाका नाममा एक कौडी पनि नबोकी जुरुक्क उठेछन् । एकसरो लुगामा मात्रै, फगत् रित्तै, आँगनको घोडा चढेर साँझको अँध्यारोमा घरबाट हिँडेछन् । २००३ सालमा त्यसरी हिँडेका बाजे कहाँ गए ? कस्तो जीवन बाँचे ? कति बाँचे ? कहिले मरे ? यसको जवाफ समयकै गर्तमा अनुत्तरित भएर बसेको रहेछ । शायद अब यी प्रश्नको जवाफ कसैसित हुने पनि छैन ।
आजभन्दा झण्डै आठ दशकअघि घटेको यो घटनाको एक मात्र जीवित साक्षी र सिनेमाको कथाभन्दा पनि रहस्यमय लाग्ने यो सत्य–घटनाको मुख्य तर मौन द्रष्टाको रूपमा रहेको रानीचुरीको दरबार हेर्न हिँडेका छौँ । आज २०८३ जेठ २ गते बिहानको ठीक पाँच बजेको छ । भर्खरै मात्र मिर्मिरे उज्यालो क्रमशः फक्रँदै छ— यो भीमानको धरतीमा । चराहरू ब्युँझिसकेका छन् । बाटाको दायाँ–बायाँ रहेका बाँसझ्याङमा, आँप, लिची, कटहर र खन्युँका रुखहरुमा वास बसेका चराहरू चर्याङ–चुरुङ चर्याङ–चुरुङ गर्दैछन् । कुनैले लामो–लामो लयमा राग अलाप्तै छन् भने कुनैले छोटो र छरितो चिर्बिराहटको सुर हाल्दै छन् । यसैबीच ककुँ–याँयुँ ककुँ–याँयुँ गर्दै लामो स्वरमा कराएको आवाज पनि सुनिँदैछ ।
“ए, यो त मयूर कराएको आवाज होइन र ? यो वनमा मयूर पनि छन् ?” जिज्ञासा प्रकट गर्छु म ।
“मयूर मात्रै होइन नि, यस ठाउँमा त मिर्ग, हरिण, चित्तलहरू पनि आइरहन्छन् । वेलाबखत त चितुवा पनि डुल्छन् ।”
“तीसको दशकताका वन फँडानीका कारण चुरेका थुम्काहरू करीव-करीव नाङ्गै भइसकेका थिए । चालीसको दशकपछि मात्र सामुदायिक वनको योजना कार्यान्वयनमा ल्याइयो । त्यसपछि बल्ल यहाँको चुरेले पनि चोला फेर्यो । चराचुरुङ्गी र वन्यजन्तुको आगमन बढ्दै गयो ।”
झिसमिसेमै उठेर हामीलाई बाटो देखाउन हिँडेका सुवास देवकोटा र अनिता कोइराला पालैपालो हामीलाई अर्थ्याइरहेका छन् ।
शहीद ऋषि देवकोटाका छोरा हुन्— यी सुवास । अनि अनिता चाहिँ शहीद रघुनाथ कोइरालाकी छोरी हुन् । सुवास र अनिता एउटै भूमिका सन्तान हुन् दुवै । देशको प्रजातान्त्रिक परिवर्तनका लागि समाज ब्युँझाउने क्रममा आफ्नै जीवनको आहूति दिने श्रद्धेय शहीदहरूका सन्तान हुन् उनीहरू । खोज पत्रकारिता र समाजसेवामा संलग्न सुवास गाउँमै अडिएका छन् अनि जन्मिएकै माटाको सेवामा समर्पित छन् । अनिता काठमाडौँमा बसेर नेपाली साहित्यको सेवा गरिरहेकी छन् ।
यही गाउँकी यिनै अथक र सिर्जनशील चेली अनिताकै व्यवस्थापनमा हामी केही थान साहित्यकारहरू भीमान घुम्न आएका छौँ । शीतल गिरी, प्रतीक ढकाल, गीता रेग्मी, मन्दिरा मधुश्री, भारती न्यौपाने, डा सावित्री श्रेष्ठ, दीपक अर्याल, दीपक श्रेष्ठ खोलाघरे साहिँलो र कुनाघरे काँइलोलगायत करीब तीन दर्जन साहित्यकारहरू र भीमानका समाजसेवी अगुवाहरू एउटै लयमा पाइला चाल्दैछौँ ।
कमला नदीको किनारबाट क्रमशः उकालोतिरै उकालिएर अहिले हामी रानीचुरी दरबार परिसरमा आइपुगेका छौँ । बर्खा नलाग्दै भित्रिएको मनसुनले रानीचुरीलाई हराभरा बनाएको छ । अहिले पनि सिमसिम पानी पर्दैछ । छाताले टाउको त ओतायो तर जिउ ओताउन सकेन । चिप्लो बाटामा लड्दैपड्दै हिँडेर आएका हामी यतिखेर रानीचुरी दरबार क्षेत्रमै छौँ । यो तत्कालीन समयको दरबारक्षेत्र भए पनि अहिले यहाँ दरबारको नामोनिशान छैन । वनमाराले ढाकेको जमिन छ । कतैकतै पुराना इँटाका टुक्राहरू भने छरिएका देखिँदैछन् ।
तिनै राणा खलकका तर्फबाट रानीचुरीको रेखरेख गर्न बसेका रहेछन्, कारिन्दा खड्गबहादुर तामाङ । हामीले खड्गजीलाई सोध्यौँ— “दरबार भनिएको ठाउँमा दुई/चार टुक्रा इँटाबाहेक केही पनि छैन त । यत्रो ऐतिहासिक दरवारको अस्तित्व नै मेटिने गरी त्यस्तो के भयो र यहाँ ?”
“यहाँ अढाइतले पाँचवटा ठूल्ठूला भवनहरू थिए । तिनै भवनलाई जर्नेल माधव शमशेरको दरवार भनिन्थ्यो । ती भवनभन्दा अगाडिपट्टि नानीगञ्ज भनिने एउटा लामो घर पनि थियो । ती सबै संरचना माओवादीको द्वन्द्वकालभन्दा अघिसम्म जस्ताको तस्तै थिए । माओवादीले दरवारमा झण्डा गाडेर कब्जा जमाएपछि कसो भयो भयो हजुर । हेर्दाहेर्दै दरबार त सपना हराएजसरी हरायो । यहाँ आउने, हेर्ने अनि इतिहास नमासौँ कि भनेर माओवादीहरूसँग बोल्ने कसको हिम्मत हजुर ?”
यहीँकी स्थानीय एक पाकी महिला लीलाकुमारी घिसिङलाई मैले सोधेँ—“तपाईंले त जर्नेल माधवशमशेरको दरबार देख्नुभयो होला, हैन ?”
“देखेँ । दरबारको मात्रै के कुरा, मैले त जर्नेल माधवशमशेरलाई पनि देखेकी हुँ । माधवशमशेर सात सालमा हिँनेको हो । उसको मान्छेहेरू चैँ सत्र अठार सालसम्म यहीँ बसेको थ्यो ।”
समयको क्रम अघि बढ्दै जाँदा लोकले इतिहास पनि खोज्छ । रानीचुरी दरबार क्षेत्रको आधाउधी जमिन त जर्नेल माधवशमशेरका छोरा सुवर्णशमशेरले बेचिसकेकै रहेछन् । अब बाँकी रहेको जमिनको पनि दक्षिणतर्फ भने डोजर लगाएर सम्याइएको रहेछ । शायद कुनै संरचना बनाउने योजना रहेको छ होला । त्यसको शिरमाथि ढल्नै लागेको भीमसेनको मन्दिर रहेछ ।
हामी भीमसेनको जीर्ण मन्दिरमा पनि गयौँ । शहीद ऋषि देवकोटाका छोरा सुवास देवकोटाले हामीलाई बताए— “जर्नेल माधवशमशेर धनकुटाका तत्कालीन बडाहाकिम पनि थिए । योगमायालाई पहिलो पटक आत्मदाह गर्नबाट रोक्ने प्रशासक उनै माधवशमशेर थिए । योगमायाको आत्मदाहसम्बन्धी प्रसङ्गमा उनको पनि नाम आउँछ । माधवशमशेरले धनकुटा जाने–आउने क्रममा धनुषाको सीतामढीदेखि कमलाखोँचसम्म ठाउँ–ठाउँमा मौजाहरू जोडेका थिए । सोही क्रममा बीचको दूरीमा पर्ने यो ठाउँमा आरामभवनका रूपमा विक्रमको १९९८ सालमा उनले यो दरबार बनाएका हुन् । भीमसेन थान पनि त्यसै ताका बनाएका हुन् । त्यो वेला यस दरबारमा झण्डै सय जना कर्मचारीहरू बस्थे । विधायिकी अधिकार प्रयोग गर्ने भारदारीसभादेखि न्यायिक निकाय र सुरक्षा संयन्त्रसम्म यहीँ थिए । बडाहाकिमको मनोरञ्जनका लागि १२ जना नर्तकी नानीहरू र कलकत्ताबाट झिकाएर ल्याइएका ५ जना गाना बजाना गर्ने उस्तादहरू राखिएको थियो । साजसज्जा र शृङ्गारसमेत गरी कुल १९ जनाको त मनोरञ्जन दिने टिम मात्रै थियो । थुनुवा राख्ने जेल पनि बनाइएको थियो । जिआइ पाइपसहितको खानेपानीका संरचनाहरू बनाइएको थियो । सात सालको परिवर्तनपछि माधवशमशेर यहाँबाट हिँडे । सम्पत्ति उनकै नाममा रह्यो । समय क्रममा भग्नावशेषसमेत नभेटिने गरी उनको दरबार लुटियो ।”
म रानीचुरीमै उभिएर हेर्दैछु, राणाकालीन रानीचुरीको प्रचण्ड तेज अहिले निभेको अगुल्टोझैँ भएर भुइँमा पछारिएको छ । दुई/चार टुक्रा इँटा र वनमाराले ढाकेको केही जमिनमा रूपान्तरित भएको छ । हो, राणा र रैतीका बीचको पर्खाल ढल्नु जरुरी नै थियो, ढल्यो तर इतिहासरूपी दरबारलाई ढालिनु हुन्नथ्यो । इतिहास नढलेको भए देख्न पाइन्थ्यो, लेख्न पाइन्थ्यो । तर “शक्ति बन्दुकको नालबाट जन्मिन्छ” भन्नेहरूको एकछत्र राज भएका वेला यस्तो बुद्धिको कसरी अपेक्षा गर्न सकिन्थ्यो र ? पुराना राणाहरूलाई नयाँ राणाहरूले विस्थापन गरिसकेका रहेछन् । पुराना सामन्तहरूका ठाउँमा नयाँ सामन्तहरू आइसकेका रहेछन् । र, भावनात्मक रूपमै भन्दा पनि ‘रानीचुरी’ त अब ‘रेनुचुरी’ हुने संघारमा उभिइसकेको रहेछ । यही भएर हामीले त्यो इतिहास बोकेको राणाकालीन दरबार देख्न पाएनौँ; त्यो उभिएको जमिन मात्र देख्यौँ । त्यो समयतिर कान थापेर कुनै नर्तकीको पाउजेवको झन्कार सुनेनौँ; बरुवर्तमानतिरै आँखा ओछ्याएर समयले समयमाथि नै पोतेको कालो अँगार हेर्यौँ । र, आँखाले हेर्न गएको दरबारलाई कानले सुनेर मात्र पुनः भीमान फर्कियौँ ।
बिहानको खाना खाएपछि भीमानकै गौरनटोलका स्थानीय वासिन्दाको सक्रियतामा साहित्यिक कार्यक्रम तय गरिएको छ । कार्यक्रममा भ्रमण टिमका तर्फबाट मलाई भीमान क्षेत्रको कृषि र यसको सम्भावनाबारे बोल्ने दायित्व दिइएको छ । म हिजैदेखि कृषि चिन्तनमा डुबिरहेकी छु । कमलामाई नदीको सभ्यताले जन्माएको भीमानको पवित्र माटो जुन माटोलाई कुनै समयमा दनुवार र माझी जातिको रगत र पसिनाले मात्र एकलौटी र अहोरात्र पूजा गर्ने सामर्थ्य राख्तथ्यो । अन्य जातिका मानिसहरू त भीमानमा दिनभरिका लागि खेती गर्न मात्र आउँथे र राति वास बस्न चुरेको डाँडामै पुग्थे । उनीहरूका लागि मलेरियाबाट बच्ने एक मात्र उपाय यही नै थियो— बेंशीमा रोप्ने, लेकमा लुक्ने । उनीहरू त २०२८ साल मा औलो उन्मूलन भएपछि मात्रै स्थायी रूपमा बस्ने गरी चुरेबाट भीमान आए । तर माझी र दनुवार जातिका मानिसहरू भने मलेरियासँग जुध्दै भिड्दै भए पनि पहिलेदेखि नै यहीँ बसेका थिए ।
माझी अर्थात् भूमिका सेवकहरू ! नदीको सभ्यतासँगै जोडिएको प्रकृति–पूजक जाति ! तिनै जातिका प्रतिनिधि रनबहादुर माझीसँग हिजो लामो भलाकुसारी गरेकी थिएँ । त्यो कुमअराकानीकै क्रममा मैले उनलाई सोधेकी थिएँ— “तपाईं बालखै छँदा यहाँका माझीहरूको आर्थिक अवस्था कस्तो थियो ? र, अहिले कस्तो छ त ?”
“हामी त्यस समयमा पेट पाल्नकै लागि अरूको खेतबारीमा काम गर्थ्यौं । सम्पत्तिका नाममा हामीसँग एउटा छाप्रो र त्यसको बलेसी मात्रै हुन्थ्यो । रोजगारीको नाममा कुल्लीको काम गर्न कोही कोही बम्बई दिल्लीसम्म पुग्थे । अधिकांश माझीहरू माछा मार्ने खाने । अर्काको घरमा बनीबुतो गर्ने खाने काम मात्र गर्ने गर्दथे ।”
“समय बदलिँदै गयो । औलो उन्मूलन भएपछि क्षेत्री–बाहुनहरू स्थायी रूपमै बस्ने गरी भीमानमा आए । बाटो–घाटो बन्न थाले । माझीका लागि पनि रोजगारीका बाटा खुले । पाखुरामा जाँगर हुने सबैले आफ्नै गाउँठाउँमा पैसा आउने काम पाए । कोही खलाँसी बने । कोही डाइबर, लेबर बने । आँगनमा इस्कुल खुल्यो । हाम्रा छोराछोरी पनि इस्कुल जान थाले । अहिले हाम्रा गाउँका माझीका छोराछोरी कोही मास्टर भएका छन् । कोही खर्दार सुब्बा भएका छन् । कोही विदेशमा पुगेर कमाइरहेका छन् । पहिला घर र बलेसीभन्दा पर हाम्रो केही पनि थिएन । अहिले खेतबारीका मालिक भएका छन् ।”
अहो, माझीको जीवन परिवर्तनलाई कति गहिरो गरी नियालेका रहेछन् रनबहादुर दाइले । मैले उनको प्रथमदृष्टिको व्यक्तित्व हेरेर सामान्य स्तरकै उत्तरको अपेक्षा गरेकी थिएँ । माझीको जीवनलाई हेर्ने उनको समष्टिगत र व्यष्टिगत दृष्टिकोण देखेर मै छक्क परेँ ।
“यहाँ पहिला अवलम्वन गरिने खेती प्रणाली र अहिलेको खेतीप्रणालीमा के कस्ता अन्तर छन् त दाइ ?” मैले पुनः प्रश्न गरेँ ।
“त्यो वेला र अहिलेको वेलामा खासै फरक छैन । त्यो वेला पनि दुई बाली धान र एक बाली मकै लगाउने चलन थियो, अहिले पनि त्यही नै छ ।”
रनबहादुर दाइको जवाफले मलाई एकछिन त अवाक् जस्तै बनायो । म सोचमग्न भएँ र यही उत्तरमा आधारित भएर भीमानको माटो र कृषि विकासका सम्भावनाबारे खोजी गरेँ । अनि मूल कार्यक्रममा पनि सोही कुराको फेहरिस्त प्रस्तुत गरेँ—
“आदरणीय भीमानवासी आमा–बुवा, दाजु–भाइ तथा दिदी–बहिनीहरू !
म यहाँ साहित्यकारको नाताले भन्दा पनि लामो समयदेखि कृषिक्षेत्रमा कार्यरत रहेकी कर्मचारीका नाताले बोल्न उभिएकी छु । कमलानदीको पवित्र सभ्यताले मगमगाएको भीमानको भूमिमा उभिएर यहाँहरूमाझ बोल्न उभिँदा म स्वयम् गौरवान्वित भएकी छु ।
चुरे र महाभारतबाट बग्ने भेलसँगै बगेर आउने मलिलो माटोले सधैँ उर्वर तुल्याइरहेको भीमानलाई कमला नदीले वर्षैभरि सिँचिरहन्छिन् । कमला यस भूमिकी जीवनरेखा हुन् । यस क्षेत्रमा धान, गहुँ, मकै, कोदोजस्ता अन्नबालीका अलावा, भुइँकटहर, रुखकटहर, आँप, लिची, कागती र केराजस्ता फलफूल र तरकारी खेती सफलतासाथ गर्न सकिन्छ । राजधानी जोड्ने सडकले छोएको भूमि हो भीमान । सदरमुकामकै नजिक रहेको भीमानका खेतबारीमा वर्षैभरि तरकारी बालीको खेती गर्न सकिन्छ । त्यसका लागि तपाईंहरूका हातमा जाँगर र तत्परता हुनुपर्छ ।
एक कट्ठा जग्गामा करीव चार क्विन्टल धान उत्पादन हुन्छ । जसको प्रतिक्विन्टल सरदर मूल्य चार हजारका दरले हिसाब गर्ने हो भने जम्मा सोह्र हजार बराबरको धान उत्पादन हुन्छ । त्यही एक कट्ठा जमिनमा गोलभेँडा लगाउने हो भने एकबालीमै करीब एक हजार किलो गोलभेँडा फलाउन सकिन्छ । प्रतिकिलो तीस रुपैयाँमा मात्रै बेच्ने हो भने पनि तीस हजारको गोलभेँडा उत्पादन गर्न सकिन्छ । तरकारी र फलफूल बालीले अन्नबालीले भन्दा धेरै गुणा फाइदा दिन सक्छ । व्यावसायिक कृषिका लागि गुणस्तरीय मल, बीउ, सिँचाइको सुविधा र उत्पादन बेच्ने बजारजस्ता सुविधा हुनु अनिवार्य छ । भीमानमा देशकै राजधानी र अन्य ठूला शहरहरूका बजार–सञ्जालसँग जोड्ने सुविधासम्पन्न सडक छ । गरागरासम्म पानी पुर्याउने कुलो छ । ठाउँठाउँमा सरकारकै लगानीमा बनाइएका कृषि उपजलाई केही दिनका लागि सुरक्षित भण्डारण गर्ने शीतभण्डारहरू छन् । अब भीमानवासीले व्यावसायिक र समृद्ध कृषि प्रणालीको सामूहिक सपना देख्नुपर्छ । परम्परागत कृषि प्रणालीबाट फड्को मारेर कृषि सभ्यताको नयाँ मानक निर्माणमा होमिनुपर्छ । कृषिलाई पर्यटनसँग र पर्यटनलाई कृषिसभ्यतासँग जोड्नुपर्छ । यहाँका प्रत्येक बस्तीमा होमस्टे बनाउनुपर्छ । मलाई लाग्छ, होमस्टे समाजवादको सबैभन्दा सुन्दर र व्यवहारिक कार्यक्रम हो । यसले प्रत्येक सेवा प्रदायकलाई लाभांश वितरण गर्छ । भीमानवासीले पनि यही कार्यक्रममार्फत् पर्यटकहरू भित्र्याउनुपर्छ । पर्यटकलाई यहाँका माझी र दनुवार जातिको रैथाने परिकारमा आकर्षित गर्नुपर्छ । माछाको झोल, माछाकै सुकुटी, सिद्राको अचार, घुँगीको अचार, गँगटाको तरकारी, कोदाको रोटी खुवाएर पैसा कमाउनुपर्छ । दनुवार जातिको रैथाने खाना ढिक्री, घुघर, महुवा रोटी खुवाएर पर्यटकलाई पल्काउनुपर्छ । यहाँका प्रत्येक आमा दिदीबहिनीका हातले आफैँ आयआर्जन गर्नुपर्छ । हुने खाने, पढेलेखेका अगुवाहरूले नेतृत्व लिनुपर्छ । समाजसेवीहरूले गाउँलेलाई बाटो देखाउनुपर्छ । र, सिङ्गो भीमानवासीले आर्थिक फड्को मारेर जुरुक्क उठ्नुपर्छ । त्यसका लागि एक कृषि प्राविधिकका नाताले मैले गर्नुपर्ने सबै किसिमका सहयोग गर्न म तयार छु । तपाईंहरू समृद्धिको यात्रामा निस्कन तयार हुनुहोस् ।“
मैले यस्तै–यस्तै मन्तव्य व्यक्त गरेँ । मैले भावना व्यक्त मात्रै गरेको होइन, भविष्यमा जुनसुकै वेला भीमानले मसँग सहयोगको अपेक्षा गरेमा सहयोग गर्न तयार हुने सङ्कल्प गरेकी हुँ । मलाई यो पवित्र भूमि टेक्ने र देख्ने अवसर जुराइदिने भीमानकी एक जिउँदी छोरी तथा साहित्यकार अनिता कोइरालालाई मनमनै मुरीमुरी धन्यवाद दिन्छु । आयोजक संस्था स्रष्टा पदयात्रा नेपालको सिङ्गो टिमप्रति पनि विशेष आभार व्यक्त गर्छु ।
मैले यसरी मन्तव्य टुङ्ग्याएँ । घाम चर्को लागेका छन् र हामी वरपीपलको छाया पर्ने ठाउँमा बसेका छौँ ।
अहिले प्रतीक ढकाल दाइ भीमानको पर्यटकीय सम्भावनाका बारेमा बोल्दै हुनुहुन्छ । छक्क परेर सुन्दैछु, दाइका अनौठा कुराहरू । भन्दै हुनुहुन्छ— ‟विश्वविजयी बनेर हिँडिरहेको ‘कहिल्यै सूर्यास्त नहुने’ तत्कालीन बेलायती साम्राज्यको अभेद्य शक्तिलाई धर्तीमा पहिलोचोटि घुँडा टेकाएर पछारेको यही सिन्धुली जिल्लाले नै हो । तर खोइ यो गर्विलो इतिहासको प्रचार–प्रसार ? आफूसँग कुनै हिमाल नभए पनि प्राकृतिक प्रोजेक्टर बनेर पूर्वी नेपालका सबै हिमाल सररर देखाउन सक्ने क्षमता भएको जिल्ला पनि सिन्धुली नै हो । खोइ, तपाईंहरूले आफ्नै क्षमता चिनेको ?”
प्रतीक दाइले बोल्नुअघि साहित्यकार दीपक अर्यालले भीमानमा इन्जिनियरिङ क्षेत्रको सीप आर्जन गर्न सकियो भने के कस्तो फाइदा लिन सकिन्छ र इन्जिनियरिङ क्षेत्रको सीप आर्जन गर्न चाहने भीमानवासी दाजुभाइ दिदीबहिनीलाई म हरहिसाबले सहयोग गर्न तयार छु भन्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यसपछि शीतल गिरी दाइ बोल्नुभयो । स्थानीय तहका पदाधिकारीहरू बोल्नुभयो । कार्यक्रम पुस्तिकामा यस्तै लेखेको देखेँ । शहीद रघुनाथ कोइरालाकी धर्मपत्नी श्री कालिकादेवी कोइरालाको अध्यक्षतामा सम्मन्न कार्यक्रमको समापनचाहिँ शहीद रघुनाथ कोइरालाका छोरा तथा अनिता बहिनीकै दाइ उत्तम कोइरालाले गर्नुहुने भयो । सबैले बोलिसक्ता अपराह्नको पाँच बज्यो । आजको निर्धारित कार्यक्रम सकिए पनि हाम्रो भीमान बसाइ सकिएको छैन । भोलिको दिन पनि भीमानलाई नै समर्पित गरेर मात्र हामी ‘एक–बस’ साहित्यकारहरू काठमाडौँ फर्कनेवाला छौँ ।

