घडीमा रातको ठीक ९: ३० भएको छ । कपन शान्तिनगर टोलमा छु । कपन माइती घर । सडकको आडैमा उभिएका छौँ गाडीको प्रतीक्षामा । आँखै अगाडि देख्छु उमेरले सत्तरी काटिसकेका दुई वृद्ध आमा, टुसुक्क टुलमा बसेका । अरू पनि छन् उमेरको विविधता लिएर हिँडेका भक्तालुहरू । हृदयमा भक्ति र संस्कारको चहकिलो बत्ती बालेर हिँडेका छन् । आमाहरू ऊर्जाको बलियो गोडा लिएर यो भीडमा देवघाट हिँड्न आँट गरेको देख्दा आनन्द लाग्छ । एकादशी कीर्तन महिला समूहका सदस्यहरूको योजनामा म पनि सामेल भएकी छु, पाहुनाका रूपमा ।
हामी समयका यात्री मात्र रहेछौँ । हाम्रो भविष्य हाम्रो हातमा पक्कै छैन भन्ने आज बोध भएको छ । आमा बिरामी हुनुभएकाले बस्ने गरी कपन आएकी हुँ । बिहान गोपी मैनाली सरको कथा कृतिमा समीक्षात्मक टिप्पणी दिन अनामनगरमा थिएँ । साँझ साथी भूपालका छोराहरूको व्रतबन्धमा । यी कार्यक्रम योजनाबद्ध नै थिए । तर देवघाट जाने योजना मनमा कतै थिएन ।
योजनाविहीन यात्रा बडो रोमाञ्चक हुँदैछ । बनाएका थियौँ हामीले पनि प्रयागराज जाने योजना त ! तर आमा बिरामी हुनुभयो अचानक । महाकुम्भ मेला जाने कि भनेर भाउजूले कुरा उठाउनुभएको थियो । १४४ वर्षपछि मात्र यो अद्भूत योग मिलेको छ भनेर फुकेका छन् समाचारका च्यानलहरूले । भीड उस्तै डरलाग्दो छ प्रयागराजमा । मन चौचौ नगरेको पनि होइन महाकुम्भमा जान । तर सम्भावनाका सबै ढोकामा बन्द भएपछि आशा मारेर बसेका थियौँ नन्दभाउजू नै ।
कपन आए पछि मनले कल्पियो, “प्रयागराज जान नपाए पनि देवघाट जान पाए त … ।” तर निश्चित सिट सङ्ख्या । समूहका सदस्यहरू प्राथमिकतामा परेकाले रहर गरेर पनि सम्भव भएन जाने । भाउजू आशावादी बन्दै आशा ( पोख्रेल ) दिदीलाई फोन घुमाउनु हुन्छ । घरी सुनिता माइजूलाई । बिना दिदी भन्नुहुन्छ , “हिँड् कान्छी म टुलमा बसेर पनि मेरी कान्छी बहिनीलाई सिटमा लैजान्छु । आखिर अब निदाउने होइन । जसरी तसरी गइन्छ । लुगा ठीक पार … ।” मन्जु भाउजू पनि सिट भरिएको जानकारी दिनुहुन्छ । बिना दिदीको कुरा सुनेर आश पलाउँछ । आमालाई सोध्छु । आमा भन्नुहुन्छ, “गाह्रो गरी जानुपर्दैन । एउटा सीटमा तीन जना बस्ने भनेका छन् । म ठीक भएपछि तँलाई लिएर जान्छु …।” आमाको आत्मविश्वास देखेर छक्क पर्छु । ८४ वर्षिय आमा ढाडको हड्डी भाँचिएर तीन महिना ओछ्यानमा आराम गर्नुपर्ने जानकारी डाक्टरले दिएको छ तर आमाको मन हिमाल चढ्न पनि तयार छ । देवघाट जाने वाञ्छा अचानक मेरो हृदयमा उठ्न पो थाल्यो, छक्क लाग्छ । भाउजूले आफ्नो सामान ठिक्क पार्नुभएको छ । ढोकै नजिक देख्छु यात्रीका झोलाझाम्टा । मन कुँडिन्छ आफू जान नपाउँदा ।
दाजु र म पार्टीमा गयौँ । साथीहरूको जमघट रमाइलै छ । भिमानदेखि रानिबास जम्मा भएका छौँ सरस्वतीनगरमा । फर्किने बेला भाउजूको फोन आयो । साथी रूपा र म आउँदै छौँ । भाउजू भन्नुहुन्छ, “चाँडो आइस्यो मैयाँ हजुरलाई आरामले सिट मिल्यो … ।” म छक्क परेकी छु दुई घण्टा अगाडि सीट खाली नभएको रिजर्भ बस कसरी अहिले खाली भयो त !
घर पुगेपछि भाउजू भन्नुहुन्छ, “तीन जनालाई ज्वरो आएर नजाने भए … लु हजुरलाई जुरायो … ।” भाउजूकै लुगा फाटो पोके पारेर हिँड्न तयार छु तीर्थयात्रामा ।
बिरामी आमा सोध्नुहुन्छ, “पैसा छ त … ?” मैले छ भनेँ । शायद आमाले पत्याउनुभएन अनि मैले झिकेर आमालाई पैसा देखाएँ । आमा ढुक्क हुँदै अझ थप रू ७०० आफ्नो तर्फबाट दिँदै भन्नुहुन्छ, “बाटोमा केही खानू । यी यो बिस्कुट पनि हाल बाटोमा खान हुन्छ … ।” आमा भनेको आमा नै हो ! सन्तानको कति माया !
अचम्म लागेको छ । कस्तो संजोग रहेछ मेरो । कति हेरेँ हेरेँ, मोबाइलको पर्दाबाट प्रयागराजमा स्नान गर्दै गरेका करोडौँ भक्तजनलाई ।
“गाडी आयो । गाडी आयो लु चडौँ … ।” समस्वरमा सबै कल्याङ्मल्याङ गर्न थाले ।
रातिको १० बजे हाम्रो गाडी हिँड्यो देवघाटको पवित्र भूमिलाई शिरनत गर्न । आरामदायी छ सिट । सबै सिट भरिए । पछाडिको लामो सिटमा तीनजना बडो आरामले बस्नुभयो । रातिको यात्रा बिना जाम कुदेको छ गाडी सररर । १०:३० मा हामी गुर्जुधारा आइपुगेका छौँ । घरतिर पुलुक्क हेरेँ, घर आरामले निदाइसकेको थियो । सडकबाटै देखिन्छ घर निदाएको पनि । हिँड्नु अगि घरमा पनि जानकारी दिएकी थिएँ । यात्रा कसरी बन्यो सन्देह पक्कै उठ्यो होला । तर सत्य, सत्य नै हुन्छ जे सोचे पनि ।
टिमटिम गरेर परपरसम्म बलेका बत्ती हेर्दैछु गाडीको झ्यालबाट । चिसो चिसो छ माघे रात । रातिको बाटो रहस्यमयी लाग्छ । आकाशमा अनेकौँ तारा चमचम गर्दैछन् । केही महिनादेखि आकाशमा नौलो दृश्य देखिएको छ । ग्रह खुल्ला आँखाले देख्न सकिन्छ । ग्रह गोलाकार रूपमा देख्न सकिन्छ । चन्द्रमा नजिक छन् बृहस्पति ग्रह । मंगल ग्रह पनि रातो रातो देखिन्छ ।
आकाशले बेग्लै सौन्दर्य बोकेर मलाई नै हेर्दैछ । पहाड, भीर, पखेरा, खोला, बाटो सबै उस्तै देख्छु । कतै छैन धूलो । कतै छैन धूलोको पाउडर लगाएर उभिएका कुरूप वृक्ष । कतै देखिँदैन रङ्गीन वातावरण । मलाई रङ्गहीन दृश्य बडो प्रीतिकर लाग्दैछ । बडो आनन्द लाग्छ सबै समान भएर उभिएको देख्दा । गम खान्छु आखिर हामी सबै एकै त हौँ नि ! हाम्रो असली गन्तव्य पनि त एउटै हो । तर पनि रङको भेदले हामीलाई कति फरक पार्छ ।
देख्छु खोला, जङ्गल, आकाश, धर्ती सबै एकै रङमा रङ्गिएका छन् । सबै सबै शान्त प्रतीत हुन्छन् । दिउँसो हिँड्दा हेर्न नसकिने प्रदुषित दृश्य राति बडो सुन्दर देखिएको छ । अहिले पनि धूलो त उडेको छ । तर झ्यालबाट बाहिर हेर्दा सम्पूर्ण जगत ध्यानस्थ लाग्छ । बाटो निर्माणाधी अवस्थामा छ । धूमिल बाटो पनि सुन्दर देखिएको छ रजनीको काखमा ।
झ्यालबाट हेर्दैछु सत्सङको असर । धूलो हावाको साथमा मिलेर उड्दा गगन मार्गतिर जाँदैछ । धूलो पनि पवनको सङ्गमा माथि माथि पुग्दैछ । सोच्छु यही धूलो बाटोमा जमेको पानीमा मिसिए किचड बनेर कति तुच्छ हुने थियो । आह ! सत्य भनेका रहेछन् ज्ञानीजनले । सोच विचार गरेर कसैको साथमा सामेल हुनुपर्छ । साथी चयन गर्दा विचार पुर्याउनै पर्छ । धूलो र हावा । धूलो र पानी ।
मुग्लिनमा चिया खान भनेर ओर्लिएका छौँ । घडी हेरेँ रातको ठीक २: ३० भएको छ । मुग्लिन राति निदाउँदैन । रात, रात जस्तो छैन यहाँ । होटलमा पाक्दैछ चिया र कफी । कामदारहरू सबै ऊर्जाशील छन् । तीर्थयात्रा लेखेको गाडीहरू लस्करै छन् । हामीले पनि चिया खायौँ तर गाँडको औषधि जस्तो । चिया पनि किन त्यति नमीठो । सम्झिएँ श्रद्धाविहीन व्यापारको नीति लिएर बसेका व्यापारिहरूलाई । झलक्क स्मरण भयो वैष्णोदेवी जाँदा त्यो उकालोमा खाएको मीठो चिया र कफी । कति प्रेम, श्रद्धा र स्नेहले व्यापार गरेका थिए ती डाँडाका व्यापारीहरूले । त्यो यात्रामा यात्री गनिसाध्य थिएनन् तर कतै पनि थिएन अराजक व्यवहार र व्यापार ।
मान्छे ईश्वरसँग भन्दा अगाडि आफैँसँग डराउनुपर्छ । मुग्लिनका व्यापारी देखेर छक्क लाग्छ । काउन्टर अगाडि हनुमानजीको फोटोमा लड्डु कोच्याएर मात्र धर्म त हुँदैन होला । राति दुई बजे चिया खान ओर्लिएका तीर्थयात्रीलाई कम्तीमा चिया जस्तो चिया त खुवाउनु पर्छ नि ! आखिर पैसा त तिरेरै खाएका छौँ । चिया खाएर अमिलो मन लिएर हामी पुनः गाडीमा उक्लियौँ ।
राति नहिँडेको लामो समय भएछ मलाई रातको सौन्दर्यले मोहित पर्दैछ । गाडीबाट देख्छु पूर्णिमाको चन्द्रमा । विभिन्न आकारमा चन्द्रमाले आफ्नो रूप फेरेको आभास हुन्छ । गाडीमा भजन कीर्तन निकै जमेको छ । मादलको तालमा हामी समस्वरमा भजन गाउँदै छौँ । निद्रा कतै छैन आँखामा ।
हामी त चितवन आइ पो सकेछौँ बिहान ३: ३० मा । गाडी रोक्किएको छ घ्याच्च । यात्री कोही निदाएका छन् । बिहानीको पर्खाइमा बस्ने भन्दैछन् कोही । सुनिता माइजू त्यहाँको वस्तुस्थिति बुझ्न गाडीबाट ओर्लनुभयो । मलाई पनि हिँड्न मन छ यही अँध्यारोमा । अनि मञ्जु भाउजूलाई हामी पनि जाऊँ भन्दै पछि लाग्छौँ । अमृतबेलामा गङ्गा तटमा ब्रह्मणीय ऊर्जा भेट्न सकिन्छ भन्छन् ज्ञानीजन । कताको जिली कताको गाँठी मलाई केही मेलोमेसो छैन । बिना दिदी र म मञ्जु भाउजूको पछि पछि हिँडेका छौँ । झोलुङ्गे पुल नजिक पुग्यौँ । “निकै तल आएछौँ हामी । गाडी अझ महेश आश्रमसम्मै जान्थ्यो । यी बुढाबुढीहरू कसरी हिँड्नु यो अँध्यारोमा बरू गाडी उतै लैजान भन्नुपर्छ” मञ्जु भाउजू बोल्दै हुनुहुन्छ । सिँढीको मार्ग हुँदै हामी हिँड्दैछौँ ।
हरिहचोक लेखेको देखियो । ४ बजे आइपुगेका छौँ यहाँ । ”प्रणवको व्रतमन यहीँबाट भएको हो नि” भाउजू मलाई देखाउँदै हुनुहुन्छ । म चारैतिर हेर्दैछु । दिदीको छोराको व्रतबन्ध यहीँबाट भएको थियो । म आउन पाएकी थिइनँ ।
फराकिला छन् सडक । तीर्थालुहरूको चहलपहल छ । अलि माथि आएपछि महेश आश्रम मार्ग लेखिएको देखियो । हामी उतै मोडियौँ । रजनीले छोडेकी छैनन् अझ । झोला झाम्टा मन्दिरको आडैमा राखेर हामी फ्रेस हुन गयौँ । फर्किएर आउँदा पनि अँध्यारो गाडा नै छ । शिवको मन्दिर हो भन्ने लाग्दैछ मलाई । अरूलाई हामी लिएर आउँछौँ भन्दै सुनिता माइजूहरू जानुभयो ।
देवघाटको भूमिमा मलाई त आरामले ध्यानमा बस्न मन लाग्यो । मन्दिर नजिकै छ ध्यान गर्ने ठूलो हल । सबैजना सेतो खास्टोले मुख छोपेर ध्यानको अभ्यास गर्दैछन् । मन्दिर वरिपरि परिक्रमा गर्नेहरू चाहिँ मन्त्रोचारण पनि गर्दैछन् । म पनि मन्दिरको एउटा कुनामा आँखा बन्द गरेर बसेकी छु । कल्याङ्मल्याङ् हुन थालेपछि म पनि उठेँ । रहस्यमयी लाग्दैछ सम्पूर्ण वातावरण । मन्दिरको परिक्रमा गर्दै चारैतिर हेर्दैछु । युवा योग साधनामा तल्लीन हुँदै गरेको देखेर श्रद्धाले भरिएकी छु ।
अझ अर्को भवनमा पुग्छु, देख्छु डाक्टर स्वामी रामानन्द गिरीको ठूलो तस्बीर । छक्क परेकी छु । धैरै अगाडिदेखि उहाँलाई युटुबबाट हेर्थेँ । सुन्थेँ उहाँका वेदान्तका प्रवचन । उहाँ ब्रह्मलीन भइसक्नु भएछ । उहाँ बस्ने आसन देखेर म श्रद्धाले भरिएँ । आसन नजिकै गएर प्रार्थना गर्दै शिरनत गरेँ ।
खुल्ला छ अगाडिको परिसर । भवनहरू लहरै छन् । यज्ञकुण्ड नजिकैको अर्को मन्दिरले पनि मलाई तान्दै छ । पहिलोचोटि देख्दैछु शिव लिङ्ग नै छानो बनाएर निर्माण गरेको भवन । कुन देवताको मन्दिर होला … ? यो किसिमको संरचना निर्माण गर्ने विचार कसको मस्तिष्कमा आयो होला ? यो मन्दिरको रहस्य के होला … ? सोच्दै थिएँ । चेतना भाउजूले बोलाउनुभयो ।
सबैजना जम्मा भइसकेछौँ । अनि विलम्ब नगरी लाग्यौँ सङ्गमतिर । बाटोभरि छन् मान्छे नै मान्छे । हराउँछु कि भनेर कहिले दगुरेकी छु । कहिले लम्किएकी छु ।
सिद्धेश्वर मन्दिर परिसर निकै उज्यालो छ । माइकिङ बजिरहेको छ । दान दिनेहरूको नामावली सुनाउँदै छन् । स्नान गरेर आएपछि दर्शन गर्ने भन्दै हामीचाहिँ सिद्धेश्वरबाट ओरालिएका छौँ । सिढीँको बाटो हुँदै अब हामी नदी किनारमा आइपुगेका छौँ । मान्छे धमाधम नुहाउँदै छन् । हुस्सुले ढाकेको छ नदीतटलाई ।
नजिकैको भूगोल पनि केही देखिएको छैन । माइकको आवाज चर्को छ । दानको महिमा घन्केको छ बिहानै । सबैजना जम्मा हुँदा मिर्मिरे उज्यालो होला होला जस्तो देखिन्छ तर मौसम नै प्रतिकुल छ । लुकामारी खेल्दैछ बादल हामीसँग । खोलापारि बत्ती बलेको देखिन्छ, फेरि एकैछिनमा छोप्छ । चिसो स्याँठ स्वाट्ट आएर कक्ररक्क पार्छ । यस्तै मौसममा हामी स्नान गर्न तयार भएर भगिरथीको नजिक जान्छौँ । म त झ्वाम्मै पस्छु त्रिवेणीमा । मज्जाले पौडिन्छु । डुबुल्की पनि सात आठ पटक नै लगाउँछु ।
चेतना भाउजू सम्झाउनुहुन्छ, “सुनु, सुभम र ज्वाइँको नाममा पनि डुबुल्की लगाइस्यो है ! मैले जाने जति सबै प्रार्थना गरेर पुनः सबैको नाम स्मरण गर्दै महाकुम्भस्नान गर्छु । सरिताबाट बाहिर निस्किएपछि अहिले त जाडोको अनुभव नै भएको छैन । पाखामा निस्किएर लुगा फेर्दा उज्यालो पनि पोखियो तर अहिले कुहिरो बाक्लै छ । अब पो देख्छु वारि-पारि गर्ने बोटहरू । पल्लो किनारमा पनि भक्तालुहरूको भीड उस्तै छ ।
हामी पूजा आराधना गर्दै सङ्गममा दीप प्रज्वलन गर्छौँ । दान पेटीमा सकेजति दक्षिणा खसाल्छौँ । मन्दिर निर्माणको पवित्र उद्देश्य लिएर दानको महिमा सुनाउँदै छन् । भक्तालुहरूलाई दानका लागि आह्वान गरिएको छ । बाटामा बसेकाहरूलाई पनि सकेको दान दिएका छौँ । देवघाट लेखेको भित्तोलाई फोटोमा समेट्न दिँदैन कुम्भस्नान गर्न आएको कुहिरोले ।
हामी अब पुनः सिँढीको मार्गबाट माथि उक्लन्छौँ । माथि गलेश्वर बाबाको समाधी स्थलको दर्शन गरेर नजिकैको भण्डारमा गएर तातो चिया पनि पिउँछौ । सिद्धेश्वर महादेवको मन्दिरमा झिलिमिली बत्ती देखेर झोला झाम्टा थन्क्याएर आउँला भन्दै हामी महेश आश्रमतिर लाग्छौँ । रातिको अनिदो भएर हो कि ज्यान त अहिले फतक्क गलेको छ । प्यागोडा शैलीमा निर्माण गरिएको सुन्दर मन्दिर उज्यालोमा अझ भव्य देखियो । आनन्ददायी धरामा हामी उभिएका पो रहेछौँ ।
महेश संस्कृति गुरुकुलमा २५० विद्यार्थी अध्ययनरत रहेछ्न् । कक्षा ६ देखि आचार्यसम्मको अध्ययन यहाँ हुँदो रहेछ । डाक्टर रामानन्दले २०५० सालमा स्थापना गर्नुभएको । महेश आश्रममा बस्ने, खाने र पढ्ने पूरै निःशुल्क रहेछ । गौशाला सञ्चालन गरेका छन् यहाँ । महेश आश्रममा आनन्दको अनुभव गर्दैछु ।
महाकुम्भस्नान गरेर आएपछि मेरा आँखा त्यसै त्यसै बन्द हुन खोज्दै छन् । विद्यश्वर मन्दिरको पश्चिम कुनामा गएर साधना गर्न थाल्छु । केहीबेर पछि चेतना भाउजू मलाई उठाउन आउनुहुन्छ, “पूजा गर्ने बेला भयो । होम हाल्ने समय भयो । मन्दिर परिसर कति भव्य देखिएको छ उठेर हेरिस्यो न चारैतिर । कल्पना, रेखा र मैले त हजुर ध्यानमा बस्दा फोटो पनि खिचिसक्यौँ । अहिले हजुरसँग पनि खिच्ने ।”
भाउजूको कुरा सुन्दै म पनि उहाँसँगै अगाडि बढ्छु । यज्ञशालाभित्र होम हाल्न तयारी अवस्थामा बसेका छौँ । कर्मकाण्ड अध्ययन गरेका बटुकहरू नै हाम्रा पुजारी छन् आज । निकै राम्रोसँग पाठ गर्दैछन् । संस्कृति मन्त्रोच्चारण कति श्रुतिमधुर सुनिएको छ । कति पवित्र छ यहाँको वातावरण । साना साना बटुकहरू शान्ति पाठ गर्दै आए यज्ञशालामा । मौन क्षेत्र भनेर लेखिएको छ तर सबैको मुख खुल्लै छ ।
गोदान, पूजापाठ, होम, गरेपछि सवालाख बत्ती प्रज्ज्वलन गर्दै हामीले पूर्णपात्रो र पुजारीलाई दक्षिणा दिएर आजको कार्य सम्पन्न गर्यौँ । माघ महिना देवघाटको पावन भूमि अझ भीमा एकादशीको महत्त्वपूर्ण तिथि । भक्तालुहरू आउने क्रम जारी नै छ । भोक पनि प्रचण्ड भएर जागेको छ । घडीमा १२ बजिसकेकाले म त सोझै आश्रमको भण्डारामा गएँ । आजको खाना खाने व्यवस्था यहीँ छ । आज एकादशी परेकाले च्याँख्लाको भात, फर्सी र बन्दाको मिश्रित तरकारी र मोही रहेछ । खान लिएर धमाधम खाएँ ।
प्रायः म पनि आश्रम नजिक जाने गर्दछु । व्यवस्थापन कति गाह्रो हुन्छ बुझ्छु । आर्थिक सेवा र दानबाट आएको रकमले सम्पूर्ण आश्रम संचालित हुन्छ । आर्थिक सेवाबाट उठेको अर्थले नै सबै कुराको अर्थ राख्छ । यति सचेत हुँदा हुँदै पनि खाना राखेका भाँडा देखेर मनचाहिँ दिङमिङ गर्दैछ।
स्मरण नगरौँ भन्दा पनि सुख पाउँदिनँ । आँखा अगाडि नाच्न थाल्छ अमृतसरको स्वर्ण मन्दिर । स्वर्ण मन्दिर परिसरको लङ्गर । अहो ! कति सफा । कति सुग्घर । हजारौँ मान्छे एकैचोटि खान बस्दा पनि कति उच्चकोटीको व्यवस्था । खाना वितरण गर्ने, खाना खाने भाँडा कति सफा । भुइँ उस्तै टलटल टल्केको । फोहोर कतै छैन । सेवामा जुटेका मान्छेहरू पनि कति उज्याला । अनुहारमा कतै छैन अहंकारको बादल । अपरिचित पनि सबै परिचित नै लाग्छन् । सेवाको भावले सबै आलोकित छन् ।
महेश आश्रममा पनि मात्र भान्साको सरसफाइमा उचित व्यवस्था भए, सुनमा सुगन्ध हुने थियो । खाना आगोमै पकाए पनि त्यो कालो झ्याङा बाहिर ल्याएर सबैले देख्ने गरी खान नपस्किए कस्तो हुन्थ्यो होला । एकै किसिमका उज्याला भाँडामा खाना राख्दा कति राम्रो देखिन्थ्यो । लाग्यो वस्तुभाउलाई दिने कुँडोको भाँडाबाट हामी खाना खाँदैछौ । आश्रमको ध्यान नपुगेको हो कि ! या यो कुराबारे थाहै नभएको हो । आत्मज्ञान केन्द्र सामाखुसीमा पनि मैले भोजन गरेकी छु । मानव धर्मसेवा आश्रममा पनि मैले खाना खाएकी छु । तर कुनै दिन सिकायत भएन । सरसफाइमा उच्च चेतना । सफा हुने जत्रो भीडमा पनि । आश्रमको व्यवस्थापनमा नकारात्मक भएर सिकायत गरेको मैले पक्कै हैन । ध्यान दिनसक्ने ठाउँमा किन ध्यान गएन भनेर मात्र मैले यो कुरा लेखेकी हुँ । प्रायः आश्रममा भान्साको व्यवस्थापन र सरसफाई देखेर मैले शिर झुकाएकी छु । कामना गर्छु अर्कोचोटि आउँदा भान्साको सरसफाइ र सेवामा विशेष ध्यान जाओस् ।
भण्डाराबाट खाना खाएर आएकी छु । गुरुको आसनमा वर्तमान समयका गुरु रमणानन्द गिरी बस्नुभएको छ । भनिन्छ समयको राजा, समयको गुरु र समयको वैद्य नै महत्त्वपूर्ण हुन्छन् । फलदायी हुन्छन् । मेरो हृदयले डाक्टर रामानन्द गिरीको त्यो दिव्य मुहारको स्मरण गर्छ । मेरो मनको अवस्था देखेर त्यो तेजिलो मुहार चारैतिरबाट हाँसिरहेको झैँ लाग्छ । दिव्य आत्माको दर्शन गर्न मन हतारिन्छ । मेरो मार्गदर्शक भन्नुहुन्छ, “जसले अरूको गुरुमा आफ्नो गुरुलाई देखेर श्रद्धाले शिर झुकाउँछ ऊ सदैव आनन्दमा रमण गर्छ ।” मैले त्यहाँ पनि चारैतिर मेरो गुरुलाई नै देखेँ । आश्रम पनि मेरै आश्रम हो लाग्यो । त्यहाँ भेटिएका सबै सबै गुरुदाजुभाइ, गुरुदिदीबहिनीहरू नै लागे ।
आँखा अगाडि देखेको शिवलिङ्गको छानो भएको मन्दिरको रहस्य बुझ्न गुरु निकट जान्छु । मेरो प्रश्नमा मन्द मन्द मुस्कुराउँदै गुरु भन्नुहुन्छ, “हाम्रा आदरणीय गुरु, शिवका परम भक्त हुनुहुन्थ्यो । उहाँको स्मरण गर्दै हामीले त्यो गुरु मन्दिर निर्माण गरेका हौँ … ।” बोल्दा बोल्दै अरू पनि त्यहाँ आइपुग्नुभयो । नजिकै हुनुहुन्थ्यो त्यहीँका अध्यापक फणिन्द्र प्रसाद पौडेल । उहाँ यहीँको विद्यार्थी पनि हुनुहुँदो रहेछ । उहाँबाट जानकारी लिने हेतुले भित्रको कोठामा हामी गयौँ ।
“आर्यावर्तको शिरमा सर्वोच्च शिखर सगरमाथा सुशोभित छ । नेपाल आफैँमा तीर्थस्थल हो । यहाँको धूलोमा, जलका प्रत्येक कणमा ईश्वरीय तत्त्व समाहित छ । खप्तडबाबा, शिवपुरीबाबा र स्वामी विशुद्धदेवहरूले यही भूमिमा आएर परमआनन्द प्राप्त गरेर यहीँ नै लौकिक जीवन समापन गरेको उदाहरण हामीसँग छ । नेपाल देवभूमि हो । थाहा छ कि छैन हजुरहरूलाई ? देवघाटको पुरानो नाम देवता पनि रहेछ । बोलिचालिमा बिस्तारै देवता भन्न छोडेर देवघाट भनिएको रहेछ । गर्भमा शालिग्राम लिएर हिँडेकी कृष्णागण्डकी र दामोदर कुण्डबाट आएकी त्रिशुलीको सङ्गमलाई हरिहर क्षेत्र भनिन्छ । गण्डकीमाहात्म्यमा देवघाटलाई आदि प्रयाग पनि भनिएको छ ।
वैदिक सनातन धर्म र संस्कृतिको संरक्षण एवं सम्वर्द्धन गर्नका लागि वि सं २०५० सालमा डाक्टर स्वामी रामानन्द गिरीले स्थापना गरेको महेश सन्यास आश्रमले नेपाल संस्कृत विश्वविद्यालयसँग अनुमति लिएर कक्षा ६ देखि १० र उच्च शिक्षामा आचार्यसम्म (स्नातकोत्तर) अध्ययन अध्यापन गर्दै आएको छ । सनातनदेखि चल्दै आएका सनातनका सुगन्धलाई विश्वमाझ पुर्याउने । नयाँ पुस्तालाई आफ्नो संस्कृतिसँग परिचित गराउने उद्देश्य लिएर ३५० जनालाई यहाँ राखेर उच्च गुणस्तरको शिक्षा प्रदान गर्दै आएको छ । यहाँ नि:शुल्क खाना, बास र शिक्षा प्रदान गरिन्छ । वैदिक सनातन धर्मको गहिरो अध्ययन, पूर्वीय दर्शन, वेद, उपनिषद् आदिको अध्ययन हुने जानकारी पाएर म दङ्ग परेकी छु ।
मलाई पनि बडो रहर छ वैदिक सनातन ज्ञान प्राप्त गर्ने । संस्कृत सिक्ने, संस्कृत भाषाको अध्ययन गर्ने । अमूल्य सनातन धर्मको गहिरो रहस्य बुझ्ने । उच्च संस्कार सम्पदा बोकेको सनातन धर्म र संस्कार कति वैज्ञानिक छ भनेर अध्ययन गर्न बडो रहर छ । हाम्रो गौरवपूर्ण संस्कृतिको रहस्य बुझेर अपार आनन्द प्राप्त होस् भन्ने लाग्छ । पूर्वीय दर्शनको मर्म बुझ्न पाए कति कृत कृत हुने थिएँ । मैले हामी हिन्दु किन हौँ भन्ने बारेमा बुझ्न शशि थरुरको “मै हिन्दु क्यु हुँ” भन्ने पुस्तक पढेकी थिएँ । म चकित भएकी थिएँ हिन्दु हुनुको विशालता बुझेर । यसरी गुरुकुलमा अध्ययन गर्न पाए कति लाभान्वित हुने थिएँ म पनि । धन्य हुन् ती अभिभावक जसले आफ्ना सन्तानलाई यहाँ पढ्न पठाएका छन् ।आफ्ना सन्तानलाई हाम्रो अनुपम संस्कार र संस्कृतिको जगेर्ना गर्नुपर्ने बोध गराएका छन् ।
संसार एआईको जमानामा कुद्दै छ । तर युगौँयुगदेखिको एउटा प्रश्न अनुत्तरित नै छ । त्यो प्रश्नको जवाफ केवल सनातन सभ्यताले नै तृप्त पार्छ । म को हुँ भन्ने प्रश्नको उत्तर भेट्न सकेको छैन विज्ञानले । आखिर हामीले आफैँलाई बुझ्न चिन्न कति आवश्यक छ भन्ने कुरा आजको यो भागदौडको अशान्त दुनियाँमा कति खट्किँदै छ हामीले अनुभव गर्दैछौँ । म को हुँ भन्ने प्रश्न आज पनि उत्तिकै सान्दर्भिक र महत्त्वपूर्ण छ ।
जबसम्म मान्छेले आफैँलाई चिन्न सक्दैन तबसम्म यी सांसारिक समस्या उस्तै रहन्छ । पूर्वीय वाङ्मयको अध्ययन कति आवश्यक छ भन्ने बोध विश्वले स्वीकारिसकेको छ । वेद, वेदान्तको अध्ययन कति महत्त्वपूर्ण छ भन्ने बोध पक्कै गर्नेछ समयले । आजको युवालाई आफ्नो संस्कृतिसँग जोड्न पाए कति राम्रो हुन्थ्यो ।
मलाई विद्यश्वर शिव मन्दिरका बारेमा जान्न मन थियो । बडो सुन्दर काष्ठकलाले सुशोभित मन्दिरमा नौलो ऊर्जा प्राप्त गरेकी छु । विद्याको केन्द्र भएकाले यहाँ इष्टदेवका रूपमा विद्यश्वर मन्दिरको निर्माण गरिएको रहेछ । साधक, भागवत् तत्त्वका अनुसन्धान दातालाई पक्कै आकर्षित गर्दछ यो मन्दिरले । फणिन्द्र पौडेल सर भन्दै हुनुहुन्छ, “देवघाट धाम संसारकै दुर्लभ र पवित्र तीर्थ हरिहर क्षेत्र, आधि प्रयाग देवघाट धाम, महेश आश्रममा आउनुभयो हामी हजुरहरूलाई हृदयतः स्वागत गर्दछौँ …।” समय निकै घर्किसकेको छ । हामीलाई काठमाडौँ फर्किनु छ आजै । मनले कल्पिन्छ यहाँ त दुईचार दिन आएर बस्नुपर्ने रहेछ । महेश आश्रम निकै ठूलो क्षेत्रफलमा फैलिएको देख्दैछु । गौशला पनि रहेछ । तरकारी उत्पादन पनि यहीँ गरिँदो रहेछ तर दुःखको कुरा के भने, यति पवित्र उद्देश्य लिएर सञ्चालन भइरहेको यो आश्रम केवल सेवा र सहयोगले मात्र चलेको रहेछ । राज्य पक्षबाट यहाँ कुनै आर्थिक सहयोग नआउने सुन्दा नमज्जा लाग्यो । हरेक दिन ३०० जनाभन्दा बढीले त यहाँ भोजन नै गर्ने रहेछन् । यहाँ आउने तीर्थालुलाई पनि एक रातको बास र तीन छाकको खाना निःशुल्क उपलब्ध गराइने रहेछ । घुम्नुपर्ने अरू आश्रम पनि नजिकै थिए तर यो समय नै छैन आफ्नो अधिनमा । हरिहर सन्यास आश्रमले बिहानै हामीलाई स्वागत गरेको थियो । यो आश्रममा पनि संस्कृतिमा माध्यमिक तहसम्मको अध्ययन हुने रहेछ । गलेश्वर आश्रम पनि उतिक्कै महत्त्वपूर्ण रहेछ । सिद्धेश्वर महादेवको मन्दिरलाई पनि एक घण्टा बसेर हेर्ने धोको छ । महेश आश्रमबाट प्रसाद लिएर म बिदा भएँ तर मनभरि यो पावन धरालाई हृदयमा बोकेर हिँडेकी छु पुनः दुईचार दिन बस्ने गरी आउने वाचा गर्दै । अर्कोचोटि आउँदा देवघाटको चप्पा चप्पा घुम्ने योजना पनि बनाउँदै हामी गाडीमा उक्लियौँ ।

