साहित्यपोस्ट डट कम

अष्ट्रेलियामा युगकवि सिद्धिचरण विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

अष्ट्रेलियामा युगकवि सिद्धिचरण विषयक वक्तृत्वकला प्रतियोगिता सम्पन्न

युगकवि सिद्धिचरण श्रेष्ठ विषयक वक्तृत्वकला प्रतियोगिता अष्ट्रेलिया महादेशमा सम्पन्न भएको छ । युगकवि सिद्धिचरण प्रतिष्ठान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) केन्द्रीय बालसमिति र अनेसास न्यूसाउथ वेल्स च्याप्टरको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

शनिबार सम्पन्न प्रतियोगितामा मेलबर्न, सिड्नी, पर्थ लगायत स्थानमा बसोबास गर्ने १८ जना बालबालिकाले सहभागिता जनाउनुभएकाे थियाे । १८ वर्षमुनिका सहभागीहरूले नेपाली र अंग्रेजी दुवै भाषामा आफ्ना वक्तव्य प्रस्तुत गर्नुभएकाे थियाे । कार्यक्रम अनेसासको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

कार्यक्रममा गीतकार राजेन्द्र रिजाल प्रमुख अतिथि तथा अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले विशेष अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्याे । महासचिव राजु सिटौला ले प्राविधिक सहयोग प्रदान गर्नुभएकाे थियाे भने कार्यक्रम सञ्चालन विष्णु घिमिरे ले गर्नुभएकाे थियाे । अनेसास न्यूसाउथ वेल्सका अध्यक्ष डा. प्रकाश पौडेल ले स्वागत मन्तव्य राख्नुभएकाे थियाे ।

अनेसास केन्द्रीय बालसमितिका संयोजक सुरेन उप्रेती को अध्यक्षतामा सम्पन्न कार्यक्रममा निर्णायकको भूमिकामा तीर्थराज पाण्डे, कुशुम ज्ञवाली र टिका लम्साल रहनुभएकाे थियाे ।

प्रतियोगितामा प्रसन्न बाबु तिवारी प्रथम, सनाया श्रेष्ठ द्वितीय र आश्मा ताम्राकार तृतीय हुनुभएकाे छ । विजेतालाई नगदसहित प्रमाणपत्र प्रदान गरिने तथा अन्य सहभागीलाई प्रमाणपत्र अनेसास न्यूसाउथ वेल्स च्याप्टरको आगामी कार्यक्रममा वितरण गरिने जनाइएको छ ।

कार्यक्रममा युगकविको चर्चित गीत ‘मेरो प्यारो ओखलढुंगा’ (स्वर: नारायण गोपाल) समेत प्रस्तुत गरिएको थियो । साथै युगकविकी नातिनी सितु श्रेष्ठ ले आफ्ना स्मृतिहरू साझा गर्नुभयाे ।

विशेष अतिथि वाग्लेले युगकविको योगदान र संघर्षलाई स्मरण गर्दै साहित्यमार्फत सामाजिक परिवर्तनको आवश्यकता औँल्याउनुभयाे भने प्रमुख अतिथि रिजालले कविता वाचन गर्दै उहाँको योगदानको चर्चा गर्नुभयाे ।

कार्यक्रमको समापन गर्दै अध्यक्ष उप्रेतीले नेपाली भाषा–साहित्य सिक्नु पहिचान जोगाउनु भएको उल्लेख गर्दै आगामी मे १५ मा उत्तर अमेरिकामा पनि यस्तै प्रतियोगिता आयोजना हुने जानकारी दिनुभयाे ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.