साहित्यपोस्ट डट कम

अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’लाई ‘साहित्यपोस्ट काव्य पुरस्कार– २०८२’

अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’लाई ‘साहित्यपोस्ट काव्य पुरस्कार– २०८२’

काठमाडौं । साहित्यपोस्टले प्रदान गर्दै आएको ‘साहित्यपोस्ट काव्य पुरस्कार–२०८२’ कवि अस्मिता विष्टलाई प्रदान गरिएको छ । उहाँको कवितासङ्ग्रह ‘ब्ल्याकहोलमा गीतहरू’ उक्त पुरस्कारका लागि छनोट भएको हो ।

असार १५ गते धान दिवस तथा दहीचिउरा खाने दिनको अवसर पारेर ग्रिनलिफ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा अस्मिता विष्टलाई नगद ५० हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गरिएको हो ।

यसअघि ‘साहित्यपोस्ट नवरत्न–२०८२’ अन्तर्गत काव्य विधामा राकेश क्रान्तिकारीको ‘अनाम प्रेमिका’, दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ र अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ अन्तिम सूचीमा परेका थिए । तीमध्ये ‘ब्ल्याकहोलमा गीतहरू’ उत्कृष्ट घोषित भएको हो ।

सोही अवसरमा ‘साहित्यपोस्ट नवरत्न–२०८२’ अन्तर्गत अन्तिम सूचीमा परेका काव्य विधाका राकेश क्रान्तिकारी, दोस्ताज र अस्मिता विष्टलाई सम्मानसमेत गरिएको थियो ।

पुरस्कृत कृतिको घोषणा सल्लाहकार सम्पादक त्रिभुवनचन्द्र वाग्लेले गर्नुभएको थियो ।

प्रधानसम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन तैंतैं धितालले गर्नुभएको थियो भने स्वागत मन्तव्य राख्दै सम्पादक कृष्ण ढुङ्गेलले साहित्यपोस्टका गतिविधि तथा पुरस्कारको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।

साहित्यपोस्टले हरेक वर्ष पहिलो पुस्तक प्रकाशन गरेका नवोदित स्रष्टालाई ‘साहित्यपोस्ट नवरत्न’ सम्मान तथा उत्कृष्ट कृतिलाई विधागत पुरस्कार प्रदान गर्दै आएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.