साहित्यपोस्ट डट कम

अस्मिता विष्ट, खगेन्द्र गिरी र विराट अनुपमलाई साहित्यपोस्ट पुरस्कार

अस्मिता विष्ट, खगेन्द्र गिरी र विराट अनुपमलाई साहित्यपोस्ट पुरस्कार

काठमाडौं । साहित्यपोस्टले प्रदान गर्दै आएको ‘साहित्यपोस्ट पुरस्कार २०८२’ बाट काव्यतर्फ अस्मिता विष्ट, आख्यानतर्फ खगेन्द्र गिरी र गैरआख्यानतर्फ विराट अनुपम पुरस्कृत हुनुभएको छ । उहाँहरूले जनही ५० हजार रुपैयाँ नगदसहित सम्मानपत्र प्राप्त गर्नुभएको छ ।

‘साहित्यपोस्ट काव्य पुरस्कार २०८२’ अस्मिता विष्टको कवितासङ्ग्रह ‘ब्ल्याकहोलमा गीतहरू’, ‘साहित्यपोस्ट आख्यान पुरस्कार २०८२’ खगेन्द्र गिरीको कथासङ्ग्रह ‘भग्न प्रेमशाला’ तथा ‘साहित्यपोस्ट गैरआख्यान पुरस्कार २०८२’ विराट अनुपमको अनुसन्धानात्मक कृति ‘पहिलो आमनिर्वाचन २०१५’ लाई प्रदान गरिएको हो ।

असार १५ गते धान दिवस तथा दहीचिउरा खाने दिनको अवसर पारेर ग्रिनलिफ रेस्टुरेन्टमा आयोजित कार्यक्रममा पुरस्कार तथा ‘साहित्यपोस्ट नवरत्न–२०८२’ सम्मान प्रदान गरिएको हो ।

समारोहमा ‘साहित्यपोस्ट नवरत्न–२०८२’ अन्तर्गत अन्तिम सूचीमा परेका नौ जना नवोदित लेखक तथा कविलाई सम्मान गरिएको थियो । सम्मानित हुनेमा काव्यतर्फ राकेश क्रान्तिकारी, दोस्ताज र अस्मिता विष्ट, आख्यानतर्फ खगेन्द्र गिरी, प्रकाश पन्थी र लक्ष्मण वियोगी तथा गैरआख्यानतर्फ विराट अनुपम, भीम न्यौपाने र मीना खड्का रहनुभएको थियो ।

पुरस्कारका लागि यसअघि ‘साहित्यपोस्ट नवरत्न–२०८२’ अन्तर्गत प्रत्येक विधामा तीन–तीन कृति अन्तिम सूचीमा परेका थिए । काव्यतर्फ राकेश क्रान्तिकारीको ‘अनाम प्रेमिका’, दोस्ताजको ‘एकदिन मानिसहरू फर्किनेछन्’ र अस्मिता विष्टको ‘ब्ल्याकहोलमा गीतहरू’ प्रतिस्पर्धामा थिए ।

आख्यानतर्फ खगेन्द्र गिरीको ‘भग्न प्रेमशाला’, प्रकाश पन्थीको उपन्यास ‘महबी मिका’ र लक्ष्मण वियोगीको कथासङ्ग्रह ‘सत्यम्’ अन्तिम सूचीमा परेका थिए । गैरआख्यानतर्फ विराट अनुपमको ‘पहिलो आमनिर्वाचन २०१५’, भीम न्यौपानेको आत्मकथा ‘बादलमुनिको बागलुङ’ र मीना खड्काको ‘मेरो स्कुल’ छनोटमा परेका थिए ।

पुरस्कृत तीन कृतिको घोषणा सल्लाहकार सम्पादक त्रिभुवनचन्द्र वाग्लेले गर्नुभएको थियो ।

सोही कार्यक्रममा ‘साहित्यपोस्ट एप’मा सर्वाधिक पढिएका पुस्तकका लेखकलाई लेखकस्व (रोयल्टी) प्रदान गरिएको थियो । लेखकस्व प्राप्त गर्नेमा लीलबहादुर क्षेत्री, नारायण ढकाल, कृष्ण धरावासी र भागीरथी श्रेष्ठ रहनुभएको थियो ।

प्रधानसम्पादक अश्विनी कोइरालाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन तैंतैं धितालले गर्नुभएको थियो । स्वागत मन्तव्य राख्दै सम्पादक कृष्ण ढुङ्गेलले साहित्यपोस्टका गतिविधि तथा पुरस्कारको उद्देश्यबारे जानकारी गराउनुभएको थियो ।

साहित्यपोस्टले हरेक वर्ष नवोदित लेखकलाई काव्य, आख्यान र गैरआख्यान विधामा पुरस्कार प्रदान गर्दै आएको छ । ‘साहित्यपोस्ट नवरत्न’मार्फत पहिलो पुस्तक प्रकाशन गरेका प्रतिभावान् लेखक तथा कविलाई प्रोत्साहन गर्दै उत्कृष्ट कृतिलाई विधागत पुरस्कार प्रदान गर्ने परम्परालाई यस वर्ष पनि निरन्तरता दिइएको हो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.