काठमाडौं । लेखक अशोक सिलवालको कृति ‘एभरेस्ट’ माथि केन्द्रित डिस्कोर्स कार्यक्रम काठमाडौंमा सम्पन्न भएको छ। शब्द, हिमाल र जीवनलाई एकै सूत्रमा गाँसेर आयोजना गरिएको उक्त डिस्कोर्स नयाँ स्वाद र शैलीको भएको सहभागीहरूले बताउनुभएकाे छ।
थापागाउँस्थित कुन्ज थिएटरमा सम्पन्न कार्यक्रममा विश्लेषक डम्बर खतिवडाले डिस्कोर्सको ओपनिङ गर्नुभयो। लेखकको लेखन यात्रालाई क्रमशः उधिन्दै खतिवडाले अशोक सिलवाललाई ‘एभरेस्ट’का लेखकका रूपमा उभ्याएपछि कार्यक्रम पूर्ण रूपमा ‘एभरेस्ट’माथि केन्द्रित भयो।
डिस्कोर्सकै क्रममा लेखक सिलवालका सात वर्षीय छोरा त्रिशानले ‘लेकका हामी केटाकेटी’ गीत गाएपछि दर्शकदीर्घाबाट उठेको तालीको गडगडाहटले थिएटर नै सगरमाथातिर पुगेको अनुभूति दिलाएको थियो।
कार्यक्रममा लेखककी टिनएज छोरी अदितीले ‘राइटिङ अब्जर्भर’को रूपमा आफ्ना अनुभूति सुनाउँदा हल भावुक बनेको थियो। मालिशा शर्मालगायत सहभागीहरूले पुस्तकप्रति विदेशी पाठकका समीक्षा वाचन गर्नुभएकाे थियाे भने जेन–जी सभ्यता नेपालले पाठक प्रतिक्रियाहरू प्रस्तुत गर्नुभएकाे थियाे ।
संस्कृतिविद् डा. निर्मला पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा इन्दिरा न्यौपाने, शकुन्तला देवकोटा, मनोज केसी, कमल ढकाल र शेखर खरेलले ‘एभरेस्ट’का विविध आयाममाथि रोचक विमर्श प्रस्तुत गर्नुभएको थियो।
यसअघि ‘एन अनफिनिस्ड स्टोरी’ उपशीर्षकसहित प्रकाशित सिलवालकृत ‘एभरेस्ट’ ८ हजार मिटरभन्दा अग्ला धौलागिरी, अन्नपूर्ण र मनास्लु हिमशिखरलाई पृष्ठभूमि बनाएर माछापुच्छ्रेको काखस्थित इन्टरनेशनल माउन्टेन म्युजियममा विमोचन गरिएको थियो। त्यसअघि यो पुस्तक लाङटाङ क्षेत्रको करिब ४ हजार मिटर उचाइमा रहेको अन्तिम गाउँ क्यान्जिनमा सार्वजनिक गरिएको थियो।
“किताब संसारशीर सगरमाथाआधारित भए पनि यो भुईँतिरको यात्रा हो,” लाङटाङ सद्भावना दूतसमेत रहेका सिलवाल भन्छन्, “… अनि भावना र भूगोलको।”
‘एभरेस्ट’ अशोक सिलवालको पाँचौँ कृति हो। डकुमेन्ट्री निर्देशकसमेत रहेका नेपाल गाइड सिलवालका यसअघि ‘कलम’, ‘लेखक दुनियाँ’, ‘श्रीलंका स्मृति’ तथा अध्यात्मकेन्द्रित कैलाश पुस्तक ‘अप्प दीपो भवः’ प्रकाशित छन्।
डिस्कोर्स कार्यक्रमकै क्रममा लेखक सिलवालले महिला पर्यटन व्यवसायी सञ्जालकी अध्यक्ष जया बराल, सचिव सुष्मा तामाङ तथा सदस्यहरू लक्ष्मी कार्की, गीता शर्मालगायत नवनिर्वाचित कार्यसमितिलाई सम्मान गर्नुभयो। साथै ‘एभरेस्ट’का बुक डिजाइनर नगेन्द्र लामालाई पनि विशेष सम्मान प्रदान गरिएको थियो।

