सिर्जना र समालोचना एकअर्काका पूरक हुन्; सिर्जनाविना समालोचना सम्भव हुँदैन र समालोचनाविनाको सिर्जना पनि पूर्ण रूपमा फस्टिन सक्दैन । राम्रो समालोचनाले कृतिको मूल्याङ्कन, व्याख्या र प्रसार गर्दै यसको लोकप्रियता र पठन संस्कार बढाउन महत्त्वपूर्ण योगदान पुर्याउँछ ।समालोचनाका नाममा पाठकीय टिप्पणी. सतही अध्ययन, भाव पक्षको मात्र उल्लेख, चाहिँदोभन्दा बढी प्रशंसा, कृतिभन्दा कृतिकारको बढी प्राथमिकता दिनु आदिजस्ता प्रशस्त देखिन्छन् । अझ अभिनन्दन ग्रन्थको नाममा व्यक्तिस्तुति, प्रशस्ति प्रशस्त मात्रामा पाइन्छन् । कृतिकार पाठकपरक, जीवनीपरक समालोचकाल सही दिशा निर्देश गर्दैनन् । कृतिमा के छ होइन, कसरी कृति बनिएको छ, त्यसका सान्दर्भिक साङ्केतिक, शैली, संरचना, भाषापक्ष आदि कुरा पनि देखाइनुपर्छ । कृतिको गुणदर्शन मात्र नभएर दोषदर्शन पनि गराउन सक्नुपर्छ ।
सन् २०२५ मा प्रकाशित आशा लामा मुखियाको ‘अध्ययन अनुभूति’ नेपाली समालोचनामा एउटा उल्लेखयोग्य पुस्तक बनेको छ । यसमा रहेको राजु प्रधान हिमांशुको गहन भूमिकाले पुस्तकीय महत्त्व दर्शाएको छ । यसमा ‘रामकृष्ण शर्मा, असीत राई, गोपासिंह नेपाली’ लगायतका चर्चित साहित्यकार तथा उहाँहरूको कृति बारेलेखिएको अठारवटा समीक्षात्मक लेखहरू छन् ।
समीक्षक मुखिया साहित्य अध्येता हुन्, कृति पढेर त्यसबाट उब्जेका मानसिक प्रभावलाई समीक्षाका रूपमा उतारेकी छन् । लाग्छ, यी कृतिहरू पढेर उनको समीक्षकीय चेतना ब्युँझिएको छ, समीक्षणको चेतना जागेको छ । सम्भवत्- ती कृतिबारे अन्यत्रबाट कसैले समीक्षा गरिदिएका छैनन् र अब बरू मै समीक्षा गर्नेछु भन्ने लागेर कर्तव्यले जुर्मुराएकी हुनसक्छ ।
उनी एक वरिष्ठ, दक्ष, उत्कृष्ट, उत्तम समालोचक भन्नुचाहिँ अतिवाद हुन्छ । यसो गरे नचाहिँदो फुर्काउनुसरह समीक्षकको अपमानसरह नै हुन्छ ।यसमा उनको समीक्षकीय शक्ति र सीमा दुवै छन् । उनले त आफुले पाएका कोसेली पुस्तक, केही लेखिदिने अनुरोधलाई टार्न नसकेको, कृति पढ्दा आफुलाई परेको प्रभाव र बुझाइलाई पाठक सामु राखिदिएकी हुन् । यस हिसाबले उनी इमानदार लेखक हुन् । उनीभित्रको केही लेखिदिने मानसिक औडाहाको तुष्टी हो । पुस्तकको नाम नै अध्ययन अनुभूति राखिएको छ जसले सोधै प्रभाववादी समालोचनालाई सङ्केत गरेको छ । यसको भूमिकामा राजु प्रधान हिमांशु र लेखिका आफैंले सङ्केत गरेका छन् । यसका साथै यसमा धेरै सीमा रहेका छन् ।
यस्ता केही सिर्जनात्मक कृतिहरू कोसेली पाएर खरसाङकीलामालाई अवश्य नै मनमा पोलेको हुनपर्छ । मलाई पुस्तक उपहार दिन्छन् अनि केही त लेखिदिनुहोला भन्ने आग्रह पनि राखेकाले उनीभित्र त्यसलाई राम्रोसँग पढेर केही लेखिदिएर अदाय गरेको कुरा पनि बुझिन्छ । केही त लेखिदिनै पर्ने चेतना घच्घचाएर केही लेखिदिन लागेकीहुन् । उनी मूल रूपमाखाँटी समालोचक होइनन् तर उनलाई यतापट्टि लाग्न पनि ती पुस्तक दिनेहरूले घचघच्याएर उनीभित्रको दृष्टा लेखकलाई ब्युँझाएकी हुन् । त्यस कृतिभित्रका वस्तुलाई जतिसक्दो केलाउने प्रयास गरेका छन् । यसमा समालोचनाको सिद्धान्त व्याख्या गर्नु भन्दा व्यवहारिक पक्षलाई उतारेकी हुन् ।
‘अध्ययन अनुभूति’ रहेका कुनै समीक्षाहरू अन्वेषपरक, कुनै सर्वेक्षणपरक, कुनै व्यक्ति मूल्याङ्कनपरक, कुनै व्यक्ति संस्मरणपरक, कुनै पाठपरक, कुनै पुस्तक निरूपण रहेका छन् । यसमा रहेका लेखहरू कुनै समालोचनाको समालोचना, कविता कथा उपन्यास, नाटक विधामा केन्द्रित रहेका छन् । समग्रमा भने लेखकपरक रहेका छन् । स्रष्टाको मूल्याङ्कन र समीक्षण गर्न आशा लामा मुखियाको कलम दौडेको छ ।
यसमा रहेका केही लेखहरू निकै गहिरिएर अध्ययन समीक्षण गरिएको छ । यसमा लेखिका निकै सचेत रहेकी छन् । पहिलो लेख ‘रामकृष्ण शर्मा संक्षिप्त अध्ययन’मा समालोचक शर्माको सामान्य परिचय प्रस्तुत गरिएको छ । यसमा शर्माको जन्म, शिक्षा दीक्षा, पुरस्कार र सम्मानहरू, कृतिहरूको सूची, साहित्यिक-राजनैतिक व्यक्तित्व, कविताकारिता, गोर्खा पत्रिका सम्पादन, केही पुस्तकहरू उल्लेख गरिएको छ । यसमा रामकृष्ण शर्माका निबन्धमा आत्मपरकता, संस्मरणात्मकता, अनुसन्धानात्मकता, पत्रात्मकता, व्याङ्ग्यात्मक लेखन-शैली र “त्यस समयका साहित्यको मर्म नबुझी साहित्यकार बन्न खोज्नेहरूलाई कटाक्ष गरिएको” भन्ने कुरा उल्लेख गरिएको छ । रामकृष्ण शर्माको समालोचनाबारे रत्नध्वज जोशी, कृष्णचन्द्रसिंह प्रधानका मन्तव्यका साथै रामकृष्ण शर्माकै विचारलाई अघि सारिएको छ । रामकृष्ण शर्माको न्यायधीश बनेको र त्यसबाट सेवानिवृत्त भएर स्वतञ्त्र मञ्च बुलेटिन निकालेको कुराको पनि चर्चा गरिएको छ । यसलाई सामान्य परिचय अङ्कन मान्न सकिन्छ ।
‘असीत राई विश्लेषणात्मक दृष्टिकोण’मा असीत राईको कथाकारिताबारे पनि गहन अध्ययन गरिएको छ । यसमा उनको व्यक्तित्व, कृतित्व योगदान आदि अङ्कन गरेर मूल्याङ्कन गरिएका साथै चारवटा कथासङ्ग्रहबारे समीक्षात्मक अध्ययन गरिएको छ । राईका चारवटा कथासङ्ग्रह, सोह्रवटा उपन्यास, तीनवटा साहित्येतिहास एउटा नाटक, एउटा जीवनीपरक लेखसङ्ग्रह प्रकाशित गरेका छन् । यसमा राईको ‘बसन्त राग’ र ‘अरूले नचिनेको म’ दुई कथासङ्ग्रहका केही कथाहरूको वस्तुसार र सामान्य परिचर्चा गरिएको छ । यी कथाहरूका शिल्पकारिता, सांस्कृतिक चेतना, आञ्चलिकता, पत्रात्मक शैली, आदिका बारेमा संक्षिप्त चर्चा गरिएको छ । यसमा असीत राईका कथाहरूमा उनकै उपन्यासहरूमा पाइने प्रगतिवादी- विसङ्गतिवादी प्रवृत्ति पाइनेवा नपाइने कुराको जानकारी दिइएको छैन ।
‘साहित्य वाटिकामा हस्त नेचालीका नाटक सुगन्ध’ नामक लेखमा साहित्यकार हस्त नेचालीको संक्षिप्त जीवनी, लेखन यात्रा आदिको चर्चा गर्दै उनको नाट्यकारितामाथि अध्ययन गरिएको छ । अझ रेडियो नाटकका बारेमा हस्त नेचालीका केही रेडियो नाटकको समीक्षा गरिएको छ । समीक्षकका अनुसार हस्त नेचालीले तयार पारेका र आकाशवाणी खरसाङबाट प्रशारित भएका अनन्त प्रतीक्षा, विसर्जन, दुई प्रतिज्ञा, सङ्गम, हारजित, आत्मसमर्पण, फूलमायाको सपना, निर्णय, सृजना, जीवनदान, लुटिएको संसार, कृष्णदेव राय, बुद्ध पूर्णिमा, होली रङ्गहरूको त्यौहार, मुकुन्द इन्दिरा, राष्ट्रीय एकता, शिल्पी सरदार पटेल, गौरीको संसार, एक टुक्रा जमिनको माया आदि ध्वनि नाटक वा रेडियो नाटक लेखनको उल्लेख गरिएको छ ।
यसमा रहेको एउटा अति उल्लेखनीय समीक्षा भने गोपालसिंह नेपालीको हिन्दी र नेपाली कविताहरूको चर्चा रहेको छ । यसमा गोपालसिंहको संक्षिप्त जीवनी, उनको हिन्दी पत्रकारिता, काव्यकारिता, उनका कवितामा पाइने छायावादी चेतना, प्रकृति सौन्दर्य चेतना, स्वतञ्त्रता चेतना, राष्ट्रिय भावनाको चेतनाबारे व्याख्या गरिएको छ । भारतमा अङ्ग्रेजहरूको शासनकालमा देशवासीको स्तन्त्रता र देशप्रेमको भावना नेपालीले आफ्ना गीत र कवितामा अभिव्यक्ति दिएका छन् । जीविकाका निम्ति उनी बम्बई गएर हिन्दी सिनेमाका निम्ति चारसयभन्दा बढी गीतहरू लेखेका थिए र तत्कालीन ठुला गायक-गायिकाहरूले विभिन्न चलचित्रमा उनका गीतहरू गाएका थिए भन्ने तथ्य प्रकाश पारिएको छ । यसका साथै नेपाली कविता रचनाबारे पनि चर्चा गरिएको छ । उनको बारेमा थाहा नहुने पाठकका लागि यस लेखले धेरै जानकारी दिन्छ । यस लेखलाई शोधमूलक लेखका रूपमा लिन सकिन्छ ।
अर्को लेख ‘सुरेन्द्र थीङकृत पानीको मरूभूमिलाई नियाल्ने जमर्कोमा’ थीङको लामो कवितासङ्ग्रह पानीको मरूभमिको समीक्षा गरिएको छ । यसमा रहेका तीन लामा कविताहरूमा आदिवासी पीड़ा, पानीको मरूभूमि र पर्दा शीर्षकका रहेका छन् । यसमी तीनैवटा लामाकवितामा पाइने मूल स्वरलाई खोज्ने काम गरेकी छन् । आदिवासी घोडा तीस पृष्ठको रहेको र यसमा जातीय अस्मिता, स्वत्त्वको चेतना उद्भाषित भएको चर्चा गरेकी छन् । यसमा प्रकृति पर्यावरणको चिन्ता आदिको पनि चर्चा भएको पाइने कुरा उल्लेख गरिएको छ ।
यसमा रहेको अर्को लेख ‘भवजीत तामाङको सरोगेट मदर- विवेचनात्मक पठन’मा दार्जिलिङका एक साहित्यकार भवजीत तामाङको कथासङ्ग्रह सरोगेट मदरको वस्तुगत विवेचना गरिएको छ । यसमा भवजीत तामाङका बारेमा सामान्य परिचय, व्यक्तित्व र कृतित्वबारे प्रकाश पारेर सरोगेट मदर कथासङ्ग्रहमा जम्मा एघारवटा कथाहरूको बारेमा संक्षिप्त चर्चा गरिएको छ ।
त्यसैगरी ‘डा. गोकुल सिन्हाकृत बसुधैव कुटुम्बकम्- पाठकीय दृष्टि’ लेखमा डा सिन्हाको व्यक्तित्व र कृतिका बारे प्रकाश पारिएको छ । यसमा सिन्हाकोअनुवाद कार्यको सामान्य चर्चा गरेर उनको बसुधैव कुटुम्बकम्-मा जम्मा एघारैवटा कथाको संक्षिप्तमा भए पनि समीक्षा गरिएको छ । समीक्षकले डा सिन्हाको विशेषगरी आमा कथामा रहेका विषयवस्तु र कथासार उल्लेख गर्दै त्यसबारे केही समीक्षा गरिएको छ । यसबाहेक अन्य कथाका बारेमा पनि संक्षिप्त रूपमा भए पनि चिह्रारी गरिएको छ । समीक्षकले बसुधैव कुटुम्बकमका आधारमा डा. गोकुल सिन्हाका कथामा सामाजिक जीवन जगतसित सम्बन्धित यथार्थवादी, प्रयोगवाद र भौतिकवादको सम्मिश्रण अनि विशेषतः मनोविश्लेषणात्मक, भावात्मक, वर्णनात्मक, चित्रात्मक, विचारमूलक तत्त्वहरू प्रविष्ट छन् ।
लेख ‘साहित्यका अथक पथिक एम पथिक’मा दार्जीलिङ पुलबजारका एम पथिकको व्यक्ति परिचयका साथै उनको व्यक्तित्व र कृतित्वबारे संक्षिप्त रूपमा भए पनि समीक्षा गरिएको छ । यसमा पथिकलाई एक कविका रूपमा, एक कथाकारका रूपमा, एक नियात्राकारका रूपमा एक निबन्धकारका रूपमा, एक समालोचकका रूपमा, संस्कृतिविद्का रूपमा, संवाद र संस्मरण लेखकका रूपमा र एक मौरी विशेषज्ञ लेखकका रूपमा चिनाइएको छ । एम पथिक पनि युगसचेत साहित्य सर्जक हुन् । यसमा एम पथिकलाईएक मौन साहित्य साधक, शिष्ट- शान्त व्यक्तित्व रबहुविध विधाका सर्जक भनी मूल्याङ्कन गरिएको छ ।
‘पूर्ण बान्तवाका कथाहरूमा एकैक्षण’मा दार्जिलिङका वरिष्ठ कथाकार पूर्ण बान्तवाको कथासङ्ग्रह पूर्ण बान्तवाका कथाहरूको समीक्षा गरिएको छ । यसमा रहेका जम्मा सोह्रवटा कथाहरूबारे संक्षिप्त परिचय दिएकतको छ । यस समीक्षाका आधारमा पूर्ण बान्तवा एक स्वच्छन्दतावादी र यथार्थवादी प्रवृत्तिका कथाकार हुन् भन्ने सूचना पाइन्छ । उनका कथामा यथार्थवाद, आञ्चलिकता, नारी महिमा, देशप्रेम, नरनारीका नैसर्गिक प्रेम, गरीबी, जातीय र माटोप्रेम आदि जस्ता विषयवस्तु पाइन्छन् भन्ने कुराको उल्ल्ख गरिएको छ ।
अर्को लेख अनूदित आँखा यी धन्य छन्– लाई हेर्दा- मा भारतका वर्तमान प्रधान मन्त्री नरेन्द्र मोदीको गुजराती कवितासङ्ग्रह आँख आ धन्य छे (२००७) को डा दिनेश शर्माको नेपाली अनुवाद आँखा यी धन्य छन् –को अनुवादकलामाथि संक्षिप्त परिचयात्मक चर्चा गरिएको छ । मूल रूपमा देहरादूनका डा दिनेश शर्माले नेपाली भाषा साहित्य प्रेमभावले हिन्दीमा अनुवाद गरिएको आँख ये धन्य है- को द्वितीयस्रोतको माध्यमबाट नेपाली अनुवाद गरिएको कुरा उल्लेख गरिएको छ । मूल गुजरातीको हिन्दी अनुवाद डा अंजना संधीरको पुस्तकका आधारमा डा दिनेश शर्माले नेपाली अनुवाद गर्दा मूल भावलाई जतिसक्दो यथावत राखेर पनि नेपाली ठेट शब्दको प्रयोग गरी सफलतापूर्वक अनुवाद कार्य गरिएको कुरा उदाहरण र उद्धरणसहित अंकन गरिएको छ । यद्यपि नेपाली शब्द हुँदाहुँदै हिन्दीका शब्द पनि प्रयोग भएको कुरा पनि उल्लेख गरिएको पाइन्छ । देहरादूनबाट पनि नेपाली साहित्यको सानो प्रयत्नलाई उल्लेखनीय नै मान्नपर्दछ ।
पुस्तकको एघारौं लेख सङ्गीतकार, गीतकार, गायक विनोद स्याङ्देनको सम्झनामा- मा दार्जिलिङका एकसमयका चर्चित गायक विनोद स्याङ्देनका गीत गायनकला र गीत रचना कलाबारे मूल्याङ्कन गरिएको छ । यसका विनोद स्याङ्देनका केही लोकप्रिय गीतहरू पनि राखिएका छन् । यस लेखलाई साहित्यभन्दा पनिगीतसङ्गीत समीक्षामा राख्न सकिन्छ ।
अर्को लेख ‘गोपाल योञ्जनका सङ्गीत सृजनावृत्तमा अन्य गीतकार’- मा पनि वाग्गेयकार गोपाल योञ्जनका साथै उनका दौंतरी गीत-सङ्गीतकर्मीहरूबारे प्रकाश पारिएको छ । यसमा गोपाल योञ्जनबारे दार्जिलिङ मिरिकको गोपाल योञ्जन प्रतिष्ठानबाट प्रकाशित तथा सुरेन्द्र थीङद्वारा सम्पादित गोपालाञ्जली-को पनि समीक्षा गरिएको छ । यसमा गोपाल योञ्जनका गीतहरू, उनका गीतकार र गायकहरूको चर्चा गरिएको छ । उनका बारेमा गीतकार नगेन्द्र थापाको संस्मरण पनि प्रस्तुत गरिएको छ ।
अर्को लेख सुदर्शन- को छासमिस मासमिस:पाठकीय मन्तव्य– खरसाङका हास्यवङ्ग्य लेखक सुदर्शन प्रधान- अम्बटेको जीवनी सङ्ग्रह छासमिस मासमिस प्रकाशित बएको र यसको सामान्य समीक्षा गरिएको छ । यस पुस्तकमा जम्मा चौधवटा रचनाहरूमा केही ख्यातिप्राप्त र सामान्य व्यक्तिहरूको परिचय प्रस्तुत गरिएको कुरा उल्लेख पाइन्छ । अम्बटेको छासमिस मासमिस पुस्तकका लेखका शीर्षक हेर्दा मात्र पनि यो पुस्तक सामान्य परिचयपरक नभएर रोचक संस्मरण, चरित्रचित्रण, हास्य- व्यङग्यको पुट भएको प्रतीत हुन्छ र आशा लामा मुखिया पनि यस पुस्तकको राम्रोसँग परिचय गरिएकी छन् ।
अर्को लेख निरङ्कर थापाकृत ‘मोह-रङ्ग-पाठकीय मन्तव्य’- मा खरसाङका एक कथाकार निरङ्कर थापाको मोह-रङ्ग कथासङ्ग्रहको वस्तुपरक समीक्षा गरिएको छ । यस कथाङ्र्गमा जम्मा १२७ पृष्ठर चौधवटा कथाहरू सङ्ग्रहीत रहेको कुरा प्रकाश पार्दै समीक्षकले प्रत्येक कथाको मूल प्रवृत्ति र कथावस्तु सार प्रस्तुत गरेकी छन् । निरङ्कर थापाको यस कथासङ्ग्रहका कथाहरूमा सामाजिक जनजीवनमा आधारित यथार्थवाद, सूक्ष्म मनोविश्लेषण, भावात्मक प्रणय अनुराग, सामाजिक विसङ्गतिका जीवन दर्शन, सामाजिक कुरीतिप्रति व्यङ्ग्य प्रहार आदि प्रवृत्ति र विषयवस्तु पाइन्छन् भन्दै मूल्याङ्कन गर्ने प्रयास गरेकी छन् ।
अर्को लेख अशोक रोकाकृत ‘छोडीजाने माया सम्झिरहने मन : पाठीय मन्तव्य’- मा डुवर्सेली नेपाली कथाकार अशोक रोकालाई एक सफल कथाकारका रूपमा चिनाएर उनको पछिल्लो कथाङ्ग्रह ‘छोडी जाने माया सम्झिरहने मन’को समीक्षा गरिएको छ । यस कथासङ्ग्रहमा जम्मा १५० पृष्ठ र चौधवटा कथाहरू रहेका छन् तथा यसमा रहेका कथाहरूमा सामाजिक विषयवस्तुमा आधारित रहे पनि मनोवैज्ञानिक विश्लेषण, वैचारिक कलह र जातीय अस्तित्व चेतना आदि पाइन्छन् भन्ने कुरा औंल्याइएको छ । यसमा कथाको शिल्पकारिता भनेर समीक्षा गर्नुखोज्दा पनि कथाका शिल्प-संरचना पक्ष होइन तर वस्तु पक्षकै समीक्षा गरिएक छ ।
एक मुक्त मुनाल पढेपछि- मा खरसाङकी कथाकार छिमी अङ्मु लामाको कथासङ्ग्रह एक मुक्त मुनालको समीक्षा गरिएको छ । २०२४ मा सर्वियाको कुस्टेनडर्फमा आयोजित अन्तराष्ट्रीय चलचित्र अनि सङ्गीत महोत्सवमा विश्वभरिबाट ५३६ चलचित्रमध्ये १७ वटा मात्र मनोनित हुँदा खरसाङको विवेक राईकोलघु चलचित्र शान्ति पनि मनोनित भएको थियो र त्यस लघुचलचित्र चाहिँ छिमी अङ्मु लामाको बालुवामा छोडिएका अतीतका पाइलाहरू- भन्ने कथामा आधारित रहेको तथ्य प्रकाश पारिएको छ ।
हस्ताक्षर संवाद-भित्र– सुभद्रा बमजनले लिएका अन्तर्वार्ताहरूको संगालो हस्ताक्षर संवाद-मा जम्मा तीसजना सर्जक र अन्य व्यक्तित्वहरूको अन्तर्वार्ता लिएको कुरा उल्लेख पाइन्छ । अन्तर्वार्ता संगालो समीक्षा गर्नु पनि कठिन काम हो, जो आशा मुखिया लामाले गरेकी छन् । यसमा रहेका सबल र केही दुर्बल पक्षको पनि उल्लेख गरिएको छ । स्रष्टाको व्यक्तित्व र कृतित्वलाई प्रकाश पारिने खालका र कतिपय ओझेलमा परेका लेखकलाई गरिएको प्रनहरू रहेका कुरा उल्लेख गरिएको छ । यी अन्तर्वार्ताका प्रश्नोत्तरको माध्यमबाट नै पाठकले धेरै घटना र प्रसङ्ग, इतिहास. सामाजिक राजनैतिक परिवेशको धेरैथोर जानकारी पाइन्छ ।अध्ययन अनुभूतिमा रहेको अन्तिम लेख ‘आर पी लामा साहित्य धरातलका सशक्त माइलखुट्टी- मा दार्जिलिङका साहित्यकार रामप्रसाद लामा (आर पी लामा) को साहित्यिक योगदानको समीक्षण र मूल्याङ्कन गरिएको छ । यसमा उनको लोकसाहित्यको अध्ययन, सर्वेक्षण र अनुसन्धाताका रूपमा फोकस गरिएको छ ।
आशा लामा मुखियाको यस पुस्तकभित्रका आलेखमा मूलतः दुई कुरा पाइन्छन्- आधाभाग लेखक परिचय र आधाभाग कृति परिचय । यी आलेखहरूलाई हामी मूलतः चारवटा प्रवृत्तिलाई खुट्याउन सकिन्छ-१. प्रभाववादी समालोचना, ख.जीवनीपरक समालोचना, ग. मूल्याङ्कनपरकघ. गीत-सङ्गीत चर्चा । यसमा रहेका प्रत्येक लेखमा प्रत्येक लेखकले आफ्नो कृतिमा प्रयोग गरेका अङ्ग्रेजी शब्दको सूची प्रस्तुत गरिएको छ ।
यस समीक्षात्मक ग्रन्थलाई पुस्तक समीक्षा मान्न सकिए तापनि कुनै कुनै लेख भने सामान्य पुस्तक निरूपण जस्तो मात्र पनि पाइन्छ । यस पुस्तकले लेखक परिचय पक्षमाथि जोड दिनुका साथै भावपक्षमा सामान्य चर्चा गरिएको छ । प्रायः सबै लेखमा लेखक परिचय र जीवनी, कृतिभित्रका एकेकवटा लेखहरूको संक्षिप्त चर्चा , समीक्षित कृतिमा प्रयुक्त अङ्ग्रेजी र केही ठेट नेपाली शब्दको सूचीकृत गरिएको छ । यसमा रहेका शीर्षक रखाइमा नै केही पाठकीय मन्तव्य भन्ने पदावली प्रयोग हुनाले कृति पढेर त्यसबाट उब्जेका प्रतिक्रिया व्यक्त हुनाले यस पुस्तकलाई पाठक प्रतिक्रिया हुन् । यसमा अधिकांश कथासङ्ग्रहहरूको समीक्षामा लेखिकाको रूचि लिएको पाइन्छ ।
अध्ययन अनुभूति कृतिभन्दा कृतिकारतिर बढी ढल्किएको छ । लेखकसित व्यक्तिगत चिनजान रहेको हुनाले तिनको कृतित्वभऩ्दा व्यक्तित्व र व्यक्तिगत सूचनातिर लेखन बढी पर्नगएको छ, वैयक्तिक मूल्याङ्कन र प्रेमाग्रह रहेको देखिन्छ । यसमा भावपक्षमाथि केन्द्रीत रहेको पाइन्छ । स्रष्टाका कृतिको स्वभाव, प्रवृत्ति र रूपरेखाको सामान्य पठन गरिएको छ । लेखकप्रति मूल्याङ्कनका गर्दा तिनीप्रति, सद्भाव, आत्मीय सम्बन्ध, भक्तिभाव र अनुरागको प्रभाव रहेको छ । यसमा विश्लेषणगत न्यनता, समीक्षणगत सीमितता र असन्तुलित व्याख्या आदि जस्ता कमजोरी रहेका छन् ।
जे होस्, अध्ययन अनुभूति लेखकहरूको सिर्जना पढेर समीक्षात्मक प्रतिक्रिया दिने कर्तव्यचेतले गर्दा कर र रहर लागेको जस्तो छ । लेखकहरूप्रति व्यक्तिगत आत्मीयता, कृति मूल्याङ्कन गरिनु उनक अभीष्टता हो । यसमा सबल र दुर्बल दुवै पक्ष पाइन्छन् । यद्यपि यस पुस्तकको कमजोरी पक्ष केलाउनु भन्दा लेखकको कृतिको मूल्याङ्कन, निरीक्षण, समीक्षण, सर्वेक्षण र आलोकित पार्ने महत् उद्देश्य रहेको बुझिन्छ । पुस्तक पठनीय र सङ्ग्रहनीय छ ।

