गत मेको १२ तारिखका दिन सिद्धार्थ कला ग्यालरीमा पौभा चित्रकलाको एउटा सामूहिक कला प्रदर्शनी भयो । यो कला प्रदर्शनी आगामी मेको २५ सम्म रहने छ । मूलतः यी चित्रहरू एउटा कला कार्यशालासँग प्रत्यक्ष रूपमा जोडिएका छन् । कला–कलाकार नामक एउटा कलाकारको समूहले यो कला कार्यशालाको आयोजना गरेका हुन् । यो कार्यशाला अनि प्रदर्शनी गर्नुमा विशेष गरेर कला–कलाकार बाहेक काठमाडौं आर्ट ग्यालरी, ड्रइङ रुम, द प्रेसियस आर्ट्स आदि को पनि सहयोग रहेको थियो । यो कला प्रदर्शनीको नाम चाहिँ आरम्भ राखिएको छ । मूलतः यी कलाहरू लर्निङ बेस्ड प्रोसेसमा सिर्जना भएका हुन् । अर्थात् बनाउँदै सिक्दै कलाको निर्माण भएको हो भन्ने अर्थ निस्कन्छ । मूलतः यो एक प्रकारको कला कै वर्कशप नै हो ।
आयोजकका अनुसार यो वर्कशप अनि प्रदर्शनी विशेष गरेर नन–आर्टिस्ट, कलालाई माया गर्ने आम मान्छेहरूका लागि पनि गरिएको हो । जसले हाम्रो मौलिक धरोहर पौभा कला बुझून् । अनि माया पनि गरून् । अर्थात् पौभा कलामाथि रहेको मिथकीय संरचनामा सचेतना जागोस् । धार्मिक कलामाथि पनि आस्था र प्रेम पनि जागिरहोस् भन्नाका खातिर पनि यो अलि अनौठो कार्यक्रम भएको रहेछ । अर्को तर्फ नव–युवा कलाकारहरूलाई पनि एउटा अवसर होस् भन्ने चाहना पनि आयोजकमा रहेछ । यसो हुँदा पनि यहाँ विद्यार्थी कलाकारका चित्रहरू बढी मात्रामा परेका छन् ।
कला कार्यशालाको सन्दर्भमा पेड वर्कशप क्लास नाम दिइएको यो कला वर्कशप मूलतः क्लासको रूपमा थियो । जहाँ गुरु–चेलाको सिकाइ संरचना हुने गर्दछ । कलाका वर्कशपहरूमा सामान्यतया गुरु–चेला हुने गर्दैनन् । कसैले कसैलाई सिकाउँदैन । बरु हेरेर, अनुभव गरेर एक अर्काका कलागत अंकन पद्धतिलाई ग्रहण गर्ने प्रक्रिया रहेको हुन्छ । यसैले गर्दा पनि यो अलि अनौठो देखिएको हो । यहाँ यही सिद्धार्थ ग्यालरीको परिसरमा कला कोर्न सिकाएको सन्दर्भ मात्र देखिँदैन । अलग्गै अन्त कतै कलाकार सुरज र सरुले आफ्नै कला स्पेसमा अर्थात् ड्रइङ्ग रुममा (कला सिकाउने कोचिङ्ग क्लास) सिकाएको सन्दर्भहरू पनि आउने गर्दछ । यस अर्थमा उनैका विद्यार्थी कलाकारहरूका कलाहरू पनि यहाँ प्रदर्शनमा रहेका छन् ।
यहाँ सिद्धार्थ ग्यालरीको परिसरमा भएको सन्दर्भमा चाहिँ पौभा चित्रमा विशिष्ट स्थान बनाइसकेका प्रख्यात कलाकार उदयचरण श्रेष्ठ स्वयं गुरुको रूपमा रहेका थिए । सहभागीहरूको रूपमा अलि परिपक्व भइसकेका पौभा चित्रकारहरू थिए । जसलाई पौभा कलामा पनि विशेष मुखाकृतिको बारेमा उनले सिकाएका थिए । उनले यस्तै–यस्तै मुहारलाई मात्र फोकस गरेर छोटो–लामो समयका लागि उदयले सिकाउँदै पनि आएका छन् । पौभा चित्रको त्यो पनि मुहार आकृतिलाई विधिवत् कसरी बनाउन सकिन्छ ? कसरी बनाउनुपर्छ भनी सिकाएका थिए । यति मात्र होइन, उनले परम्परागत धर्म, कलामा मोटिफका रूपमा प्रयोग हुने प्रतीकहरूको अनि यसको ऐतिहासिक पृष्ठभूमिलाई पनि अवगत गराउँदै सिकाएका थिए । देवी–देवताका मुख–आकृतिमा परम्परागत प्रतीकात्मक विम्बहरूको प्रतिनिधित्व कसरी हुने गर्दछन् ? देखि लिएर आइकोनोग्राफी, तालमान, धर्मको दर्शन अनि कलाका आधारभूत तत्त्वहरू आदि लाई विस्तारमा पढाएको कुरा हाम्रो कुराकानी हुँदै गर्दा विस्तारमा उनले सुनाएका थिए । हामीबीच यसबारे लामै कुराकानी भएको थियो । सबै कुरा राख्न यहाँ सम्भव भएन । सामान्यतया परम्परागत धार्मिक चित्रहरू बनाउन सिकाउँदा बढी जसो प्राविधिक पक्षलाई मात्र सिकाउने परम्परा छ । यसबाहेक अन्य धेरै कुराहरू पेड वर्कशप क्लासमा सिकाउँदा पनि यसले कलामा पार्ने प्रभाव जीवन्त भएर देखा पर्छ भन्ने उनको सोच रहेको रहेछ ।
१५ दिनसम्म चलेको यो कक्षामा मात्र १० जना कलाकारहरू सहभागी भएका थिए । यसैमा पनि पाँच जना कलाकारहरूका चित्रहरू मात्र यो कला प्रदर्शनीमा समावेश गरिएको थियो ।
उदयचरणसँग लामो कुराकानी हुँदा उनले पौभा चित्रको विशेष गरी पौभा चित्रमा मुख–आकृति अति महत्त्वको रूपमा देखा पर्छ भन्ने सन्दर्भ निकाल्दै उनले विशेष गरेर मुख आकृतिमा देखाइने भाव–अभिव्यञ्जनालाई शान्त, रौद्र वा डरलाग्दो अनि मिश्रित रूपलाई समावेश भएको बताएका थिए ।
यसबाहेक यो कला प्रदर्शनीमा सरु प्रजापति अनि सुजित महर्जनले सिकाएका कलाकारका चित्रहरूलाई समावेश गरिएको थियो । केही स्वतन्त्र रूपमा काम गरिरहेका कलाकारहरू पनि यसमा समावेश भएका थिए । यो कला प्रदर्शनीमा अनुभवी इन्स्ट्रक्टर अनि सिकारु कलाकार पनि एकै ठाउँमा हुँदा पनि यो कला प्रदर्शनी अलि खास देखिन गएको थियो । यसप्रकार सबै मिलाएर सहभागी कलाकारहरूको सङ्ख्या चालिस पुगेको थियो । परम्परागत कलामा गुरु–चेलाको सम्बन्ध अर्थ र महत्त्वका साथ एक अलग्ग प्रकारले हुने गर्दछ । अनि चेला कलाकारहरूले आफ्ना गुरुको नाम आदरभावले लिने गर्दछन् । अनि गौरवका साथ लिने गर्दछन् । यो पुरानो परम्पराले गर्दा पनि यो हाम्रो परम्परागत पौभा कलालाई यसको गहन एस्थेटिक्सका साथै भक्तिभावका साथ पनि हेरिने गरिन्छ ।
पौभा चित्र आफैँ भने झन्डै एक हजार वर्षदेखि अनवरत रूपमा नेपाली समाजमा अवस्थित छ । अविच्छिन्न रूपमा संलग्न भई आएको यो हाम्रो आफ्नै मौलिक कला मात्र होइन, समुदायको जीवन पनि हो । अर्थात् घरपरिवार सबैजसो संलग्न भएर बनाउने, दिनचर्यासँग गाँसिएको कला पनि हो । अहिले चाहिँ बिक्री पनि हुने हुँदा राम्रो आयको स्रोत पनि हो । विदेशमा समेत नेपाली कला भन्नेबित्तिकै यही कलालाई चिन्ने गरिन्छ । पौभा चित्र बनाउने आफ्नै विधिविधान छ, निश्चित रूपमा अनुशासनबद्ध भएर पालना गर्नुपर्ने यथेष्ट नियमहरू छन् । उदयचरणकै अनुसार पनि यस्ता देवी–देवताका चित्रहरूमा हस्तमुद्रा, आयुधहरू, आसन अनि वर्णलाई विशेष धार्मिक दर्शन, मान्यतासँग गाँसेर लेख्ने गरिन्छ । यसर्थ यो आइकोनोग्राफी नितान्त भिजिबल हुन जरूरी छ । अर्थात् बाह्य आँखाले स्पष्टसँग देखिने गरी यसलाई अंकन गरिनुपर्छ ।
सबैजसो पौभा चित्रहरू हिन्दू वा बौद्ध धर्मका देवी–देवतासँग अनि यसको रिलिजियस टिचिङसँग नजिकबाट गाँसिएको देखिन्छ । अनि संस्कृति र संस्कारसँग पनि नजिकबाट गाँसिएको हुनाले पनि यो कला आज पनि जीवन्त भएर बाँचेको छ । देवी–देवताहरूलाई केन्द्रमा राखेर सिर्जना गरिएका यस्ता चित्रहरूमा विशेष गरी धार्मिक गाथाहरू, लोकगाथा वा किंवदन्ती एउटा आधारभूमि हुने गर्दछन् । यस्तै प्रकारले बुद्धका जीवनी आदिलाई चित्रण गरिएको हुन्छ । अनौपचारिक रूपमै भए पनि यो कला बनाउन सिकाउने प्रक्रिया सदियौँदेखि आजका दिनसम्म पनि पालना गर्दै आइएको देखिन्छ । यो कलाको वर्कशप आफैँ पनि यसैको सानो रूप हो ।
यो कला प्रदर्शनीमा, सुजित महर्जन, सरु प्रजापति, आलिसा श्रेष्ठ, अनिकेत सिंह, अनिल बुद्धाचार्य, आशिष शाक्य, आस्मा कान्त, वर्षा लेखी, विकेश शाक्य, दुर्गा बजगाईं, गणेश विश्वकर्मा, जेनी महर्जन, इलिजा शाक्य, गगनकुमार ज्यापु, क्रिस्टिना डंगोल, लसता शाक्य, लक्ष्मी तामाङ, मनामिका मैनाली, मेरी धिताल, नादिम महर्जन, नरेन्द्र मल्ल, निशा तुलाधर, पलेश्वाँ लामा, प्रसुन कुमार, रोमा लिम्बु, रुविना प्रजापति, श्रीया मानन्धर, श्रेया तामाङ, स्याम तामाङ, स्नेह वज्राचार्य, सोनिसा महर्जन, श्रीप्रिया श्रेष्ठ, सुदन सिंह ठकुरी, सुजना सिंह, सुस्मिता श्रेष्ठ, मनोज सिङ्खवाल, प्रयाङ्का डंगोल, सुवोध शाक्य, स्वर्णिम शाक्य र सुन्दर श्रेष्ठ आदि छन् ।
अलिकता कलाको सन्दर्भ
यो कला प्रदर्शनीमा बौद्ध वा हिन्दू देवी–देवताहरू आ–आफ्नै आयुध, आसन अनि वर्णका साथ शास्त्रीय धार्मिक दर्शन अनुसार भेषभूषा, गरगहना आदि बाट सुसज्जित भएका देखिन्छन् । एउटै कलाकारको जस्तो कि सुजितले गणेश पनि अनि शाक्यमुनि बुद्ध पनि बनाएका छन् । अर्थात् कुनै पनि कलाकारले आफूलाई मन लागेको देवी–देवताहरूलाई चित्रण गर्ने छुट हुँदा पनि यसले धर्मका साथसाथै कलाकारको मनभित्रको रोजाइलाई पनि अगाडि ल्याएको देखिन्छ । यो समसामयिक सोचले यस्ता परम्परागत कलामा पाएको प्रवेशले पनि थोरै यी कलाहरू आधुनिक रूपमा देखिन्छन् । उहिले–पहिले यस्ता कलाहरू धार्मिक पण्डितहरूको निर्देशनमा कलाकारले अनुशासनबद्ध भएर यस्ता चित्रहरू बनाउन पर्दथ्यो । यसकारण पनि यस बेलाका चित्रहरू र अहिले बनाएका चित्रहरू बाह्य आँखाले हेर्दा एकैजसो देखिए तापनि संयोजन, रङको सन्दर्भमा धेरै अलग्ग देखा पर्दछन् ।
लसताले ह्विल अफ लाइफ बनाएका छन् । जहाँ पचासौँ स–साना क्रियाकलापहरू एउटा मण्डलामा आबद्ध भएर देखा पर्दछन् । हरेक अलग–अलग क्रियाकलापको एक अलग्गै कथा छ । अनि समग्रमा पनि यसले जीवनको चक्रलाई प्रतिनिधित्व गरिरहेको देखिन्छ । जहाँ देवी–देवताहरू प्रशस्त रूपमा देखा पर्दा सामान्य मान्छेहरू पनि आ–आफ्ना काममा व्यस्त भएका देखिन्छन् । देवले ब्रह्माण्डलाई बोकेको महसुस हुने यो चित्रमा भगवान बुद्ध लगायत अनेक देवीहरू अनेक पोस्चरमा देखिन्छन् । नरेन्द्र मल्लले पद्मपाणि लोकेश्वर बनाएका छन् । जहाँ देव शान्त मुद्रामा कलात्मक वस्त्र अनि गरगहनाले सुसज्जित भएको देखिन्छ । परम्परागत बादलहरूको एक अलग्ग संरचना देखिन्छ । निलो कमलको फूल र कोपिलाहरूले एक अलग्गै पाराले झकिझकाउ देखिँदा पनि यो उनको निजी शैलीलाई मुखरित गरेको देखिन्छ । उहिले पनि कलाकारलाई पृष्ठभूमिमा बुट्टाहरू बनाई मूल देवी वा देवतालाई अझ आकर्षक बनाउन छुट थियो । आज त स्वाभाविक हिसाबले अनुशासनबद्ध भएर एक अलग्ग संरचना बनाउन छुट भएको कारणले पनि कलाकार स्वयंको पनि मौलिक पहिचान बनाउन सजिलो भएको छ ।
आस्माको वज्रवराही, दुर्गाको पद्मपाणि लोकेश्वर, सरु प्रजापतिको आर्य मञ्जुश्री आदि पनि चाखलाग्दा प्रकारले बन्न गएको देखिन्छ । सरु आफैँ पनि इन्स्ट्रक्टर भएको कारणले पनि उनका कला अझ खारिएको देखिन्छ । सरुको अर्को काम सप्तलोचनी तारा अझ लोभलाग्दा पाराले बन्न गएको देखिन्छ । देवी ज्वालासहितको खड्ग अनि कलात्मक फूलको विम्ब लिएर स्वाभाविक मुद्रामा बसेका देखिन्छन् । मूल देवीलाई घेरेर बसेका अनेकौँ देवदेवीहरू आ–आफ्ना पोस्चरमा देखिन्छन् । फूलैफूलले चारैतिर सिङ्गारिएको देखिनु अनि हरेकजसो चित्रहरूलाई प्रतीकात्मक परम्परागत बादलका टुक्राहरूले घेरी बस्नु उनको खास विशेषता देखिन्छ । अझ खास कुरा त टाढा देखिएको चन्द्रमालाई समेत बादलको कलात्मक बुट्टाले घेरेर प्रस्तुत गरिएको देखिन्छ । सुजितको पाथ अफ इनिसिएसन अर्को गजबको चित्र यहाँ अवलोकन गर्न सकिन्छ । जसमा मूल देवका साथ अन्य पाँचवटा देवदेवीलाई आकर्षक ढङ्गले प्रस्तुत गरिएको देखिन्छ ।
प्रसुनको सरस्वती, श्रेयाको कुर्कुला, जेनी महर्जनको आर्य तारा, रोमा लिम्बुको गङ्गा, पलेश्वाँको चतुरभुजा महाङ्काल आदि चित्रहरूले पनि एउटा परम्परागत कलाको लय समातेको देखिन्छ । पौभा परम्परागत चित्रहरू सिक्दाखेरिको अवस्थामा रेखा अनि रङको अनि देवी–देवताका चित्र बनाउँदा इन्स्ट्रक्टरको निर्देशनलाई नै पछ्याउनुपर्ने हुँदा पनि यसमा व्यक्ति विशेषको कल्पनालाई त्यति समाउन सकिँदैन । मात्र शिल्प–दक्षतालाई केलाउने, हेर्ने कुरा हुँदा पनि यस्ता चित्रहरूमा लामो व्याख्या गर्न पनि आवश्यक देखिँदैन । अनिलको भैरव, गणेशको वसुन्धरा, आलिसाको प्रज्ञापारमिता आदि पनि यसै कला प्रदर्शनीमा अवलोकन गर्न सकिन्छ । लक्ष्मी तामाङको ग्रीन तारा अझ चहकिलो भएर देखा परेको छ । भिन्दै पोस्चरमा ढपक्कै गरहनाले ढाकेकी देवी फूललाई कलात्मक ढङ्गले समात्दै देखा परेको यो उनको चित्र आकर्षक रूपमा देखा परेको छ । उनी प्रोफेसनली कला बनाइरहेका कलाकार हुँदा पनि उनका कला अलग्गै स्तरमा देखिन्छन् । उनी मात्र होइन, यसरी प्रोफेसनली नै चित्रहरू बनाइरहने अरू कलाकारहरू जस्तै क्रिस्टिना डंगोल, नरेन्द्र मल्ल, गगनकुमार ज्यापू आदि पनि हुन् । यसकारण पनि गगनको आर्यतारा एक अलग्ग स्तरमा देखिन्छन् ।
कलाकार / कला समीक्षक

