साहित्यपोस्ट डट कम

‘अपूरो प्रेमका काव्यात्मक दस्ताबेज’

‘अपूरो प्रेमका काव्यात्मक दस्ताबेज’

तेह्रथुम जिल्लामा जन्मिएका कवि प्रतिबिम्ब सुमनले बाल्यकाल मोरङ जिल्लामा बिताए । तेह्रथुमका थुम्काहरू हुँदै मोरङका मैदानहरूमा किशोर समय बिताएका कवि प्रतिबिम्ब सुमन सपनाका पङ्ख पछ्याउँदै पछ्याउँदै काठमाडौँ र त्यसपछि सिमाना काटेर जापानसम्म पुगे ।

तराईका फराकिला फाँटहरूमा हावाका लहरसँगै कविता गुनगुनाई हिँड्ने सुमन अचेल जापानका गगनचुम्बी महलबीचका साँघुरा गल्लीहरूमा कविताभन्दा फरक जीवन बिताइरहेका छन् ।

कवि यतिबेला आफ्नो परिवार, आफन्त, सम्बन्ध र देशको माटोबाट टाढा छन् र त्यो रिक्तता उनी कवितामा व्यक्त गर्छन् । उनी भावनात्मक आत्मस्वीकार र मनोवैज्ञानिक विश्लेषणका कवि हुन् । प्रेम उनको लेखनको केन्द्रमा छ । प्रेमसँगै संयोग, वियोग अस्वीकृति र आत्मपहिचानको द्वन्द्व पनि उनको केन्द्रीय लेखन हो । कविताहरूमा त्याग र भ्रमको मनोविज्ञानलाई बडो संवेदनशील ढङ्गबाट प्रस्तुत गर्दै आफैँ हराइसकेको र प्रेममा बाँचिरहेको अवस्था बडो मीठो ढङ्गले प्रस्तुत गर्दछन् । उनका कविता पढिरहँदा अपूरो प्रेमका काव्यात्मक दस्ताबेज जस्ता लाग्छन् । सरल भाषा शैलीमा लेखिएका तर निकै सुन्दर प्रेममिश्रित तीन कविता आजको मुगलानी चराको १५ औँ शृङ्खलामा प्रस्तुत गर्दैछौँ ।

===

कविता १: अल्पविराम

अल्पविराम लागेको हो हाम्रो सम्बन्धमा,

पूर्णविराम हैन ।

पूर्णविरामले वाक्यलाई टुङ्ग्याइदिन्छ,

तर अल्पविरामपछि भने

वाक्यको अझै जीवन हुन्छ ।

प्रेममा जस्तै व्याकरणमा पनि कमजोर छौ तिमी,

अल्पविराम लगाउनु पर्ने ठाउँमा

पूर्णविराम लगाएर गयौ ।

म वाक्य हुँ ।

दुःख लाग्छ,

नलाग्नु पर्ने ठाउँमा पूर्णविराम छ ।

म स्विकार्छु,

वाक्य त पूर्णविरामपछि टुङ्गिन्छ,

तर यादहरू ?

===

कविता २ – तीन प्रश्न

मलाई सहारा मरुभूमिको तातो घामले पनि

त्यति पोल्दैन,

जति तिम्रो प्रेमले पोल्छ !

कुनै दिन मैले आँशुको मूल्य कति हुन्छ ?

भनेर सोधेँ भने,

तिमीले के उत्तर दिन्छौ ?

शायद भन्छौ होला,

– “एकदमै कम । कौडीको मूल्यभन्दा पनि ।”

म आएको थिएँ नि,

तिमीले प्रेमको मूल्य तोकेपछि

एक समुन्द्र आँशु बोकेर तिम्रो प्रेम किन्न !

तर बिडम्बना !

मेरो आँशुको मूल्य यति कम भइदियो कि,

तिम्रो महँगो प्रेम किन्नै सकिनँ ।

फेरि मैले पीडाको मूल्य कति हुन्छ ?

भनेर सोधेँ भने,

तिमीले के उत्तर दिन्छौ ?

शायद भन्छौ होला,

– “एकदमै कम । झरेको पातको भन्दा पनि ।”

पहेँलो भएर झरेको पात झैँ,

पीडैपीडा बोकेर तिम्रो जीवनबाट झरेको,

‘म’लाई पनि तिम्रो जीवनमा

सधैँभरि टाँसिने मन थियो नि,

तर मेरो जीवनको स्वरूप यति कुरूप भयो कि,

भर्खर पलाउँदै गरेको तिम्रो सुन्दर जिन्दगीमा टाँसिनै सकेन ।

ए ! साँच्ची !

तिमीलाई अन्तिम एक प्रश्न भन्दै,

कसैले प्रेमको मूल्य कति हुन्छ ?

भनेर सोध्यो भने के भन्छौ ?

यसको उत्तर त मलाई थाहा छ,

तिमीले अवश्य भन्ने छौ,

– “वेश्यालयमा बसेकी वेश्याको भन्दा कम ।

यो त फोगटमा पाइन्छ ।”

म तिमीसँग कसरी असहमति जनाऊँ ?

कसैले प्रेम फोगटमा पाउँछ ।

कसैलाई प्रेमले फोगटको बनाउँछ ।

मैले तिम्रो हुन के के गरिनँ ?

तिमीले जे भन्यौ त्यही गरेँ ।

जस्तो भन्यौ त्यस्तै गरेँ ।

कठपुतली !

कठपुतली जस्तै जीवनभर नाचिरहेँ तिम्रो इशारामा ।

म चाहन्छु माथिका तीन प्रश्न

तिमीलाई अरू कसैले सोधिदियोस् !

प्रश्न सोधेपछि उत्तर सुन्ने हिम्मत हुनुपर्छ

जो ममा छैन ।

म तिमीलाई अन्तिम प्रश्न सोध्न चाहन्छु,

अब म के गरौँ ?

हेर न,

तिम्रा यादहरू आउँछन्, नजाने गरी ।

तिमी गयौ यथार्थमा नफर्कने गरी ।

आज हेर न,

म तिम्रो हुने नाममा न आफू भएर बाँच्न सकेँ

न तिम्रो हुन ।

===

कविता ३ – सौगात

तिमीलाई सौगात खुब मन पर्छ,

खै के दिऊँ सौगात तिमीलाई ?

मसँग त सिर्फ टुटेको एक मुटु छ,

जो, धड्किरहन्छ तिम्रो नाममा ।

आजकाल,

मान्छेहरू खुब सौगात मन पराउँछन्,

सोचिरहेछु,

सौगात के दिऊँ म तिमीलाई ?

मसँग त केबल,

एक मुठी स्वास बाँकी छ,

जो, तिम्रो सम्झनामा

कहिले विलीन त,

कहिले बाहिर निस्कन्छ असामान्य तरिकाले,

मानौँ,

हाम्रो प्रेमलाई पनि दमले सताएको छ ।

वर्षौँ भयो सोचेको,

सौगात के दिऊँ तिमीलाई ?

मसँग मात्र आँशु बाँकी छ,

जो, अझैसम्म झरिरहन्छ तिम्रो नाममा ।

बाँकी,

मात्र एउटा थोत्रो जीवन छ,

तिमीले लत्त्याएको ।

जो, फसेको छ तिम्रो लागि झरेका,

आफ्नै आँशुका दलदलमा ।

आज त्यही,

थोत्रो जीवन सौगात स्वरूप दिन मन थियो तिमीलाई,

तर विडम्बना,

त्यस अगावै,

कसैले दिएछ तिमीलाई केही भ्रम र,

केही थान झुटो आश्वासन ।

मलाई थाहा छ,

तिमीलाई सौगात खुब मन पर्छ ।

कहिलेकाहीँ,

सौगात स्वरूप पाएको भ्रम असाध्यै प्रिय लाग्छ ।

नपत्याए त्यो कागलाई हेर त,

जो कोइलीको अण्डामा कति खुशीका साथ

ओथारा बसेको छ ।

आजकाल अक्सर यही सोचिरहन्छु,

मान्छेहरूलाई भ्रम खुब मन पर्छ,

सौगातमा पाएको ।

अब तिमी आफैँ भन न,

म तिमीलाई के सौगात दिऊँ ?

अब त मसँग सिर्फ दुईवटा आँखा

बाँकी छन् ।

जो कहिल्यै तिम्रो बर्बादी हेर्न सक्दैनन् ।

कृपया,

मिल्छ भने तिम्रो बर्बादी अघि नै,

यी आँखाहरू सौगात स्वरूप लैजाऊ न है ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.