काठमाडौँ । एपेक नेपालको २७औँ स्थापना वर्षका अवसरमा काठमाडौँमा द्विदेशीय काव्य गोष्ठी सम्पन्न भएको छ । बिहीबार आयोजित कार्यक्रममा हालै लोकार्पित अनूदित काव्यकृति ‘अनुभूति’ भित्रका कविताहरू कृतिमा समावेश कविहरूले वाचन गर्नुभएकाे थियाे ।
‘अनुभूति’ कृतिमा ३१ नेपाली कविका कविता हिन्दी भाषामा तथा ३१ भारतीय कविका कविता नेपाली भाषामा अनुवाद गरिएको छ । कार्यक्रममा नेपाली र भारतीय कविहरूले एक–अर्काको भाषामा अनूदित आफ्ना कविता वाचन गर्दै साहित्यिक आदान–प्रदानलाई सशक्त बनाउनुभएकाे थियाे ।
काव्यवाचन गर्ने कविहरूमध्ये स्नेह सायमी, डा. धनेश द्विवेदी, विनोद परासर, दीप दर्पण, राजकुमार श्रेष्ठ, भूपिन खड्का, गीता कार्की, गरिमा संजय, मणि लोहनी, मोमिला, शकुन्तला मित्तल, डा. वनिता शर्मा, डा. तूलिका सेठ, निमेष निखिल, भावना तिवारी, विमल वैद्य, किशोर श्रीवास्तव, चन्द्र गुरुङ, डा. कविता मल्होत्रा, शकुन्तला जोशी, उमा सुवेदी, मोनालिसा पंवार, अशेष मल्ल, नमिता राकेश, भोजराज न्यौपाने, ज्योति जंगल, उषा शेरचन, राजेन्द्र शलभ, प्रज्वल अधिकारी, सुधाकर पाठक, छविरमण सिलवाल, विश्वविमोहन श्रेष्ठ र लीला अनमोललगायत रहनुभएकाे थियाे ।
कार्यक्रममा अनुवादक रश्मी शर्माले अनुवादलाई जटिल तर सन्तोषजनक कार्य भएको उल्लेख गर्दै उक्त कृतिमा संलग्न हुन पाउँदा खुशी लागेको बताउनुभयो । हिन्दुस्तानी साहित्य अकादेमीका अध्यक्ष सुधाकर पाठकले प्रस्तुत कविताहरूमा गहिरो संवेदना अभिव्यक्त भएको उल्लेख गर्दै कार्यक्रमलाई महत्त्वपूर्ण साहित्यिक उपलब्धिका रूपमा चित्रण गर्नुभयो । उहाँले नेपालबाट नयाँ सिकाइ लिएर फर्कने र आगामी दिनमा थप सहकार्य गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।
यसै क्रममा हिमा रोकाको लघुकथाकृति ‘प्रतिज्ञा’ लाई हिन्दीमा अनुवाद गर्ने प्रस्तावलाई पनि पुनः उठाइएको थियो । एपेकका अध्यक्ष विश्वविमोहन श्रेष्ठले उक्त कृतिको हिन्दी अनुवादका लागि संस्थाको सहमति रहेको जानकारी दिँदै अनुवादको जिम्मेवारी पुनः रश्मी शर्मालाई दिइएको बताउनुभयो ।
एपेकका निर्देशक राजेन्द्र शलभले संस्थाले अनुवाद क्षेत्रमा थप सक्रियता बढाउने लक्ष्यसहित यस्तो कार्यक्रम आयोजना गरिएको स्पष्ट पार्नुभयो । कार्यक्रमकै अवसरमा ‘हिन्दुस्तानी भाषा भारती’ पत्रिकाको विमोचन समेत गरिएको थियो । उक्त पत्रिका हिन्दुस्तानी साहित्य अकादेमीद्वारा त्रैमासिक रूपमा प्रकाशन हुँदै आएको छ ।

