काठमाडौँ । किशोरकवि अनुप उप्रेतीद्वारा लिखित ‘प्रज्ञा’ महाकाव्य एक विशेष समारोहका बीच काठमाडौँमा लोकार्पण गरिएको छ । क्रियाशील सामाजिक सेवा तथा साहित्यिक सङ्गठन नेपाल (आस्लुन) को आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि छन्दसारथी काव्यकार रमेश खकुरेल, विशिष्ट अतिथिहरू प्रा.डा. देवी नेपाल, कवि प्रभा भट्टराई तथा स्रष्टाका पिता नवराज उप्रेतीले संयुक्त रूपमा कृतिको विमोचन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि रमेश खकुरेलले १९ वर्षको उमेरमै महाकाव्यजस्तो गम्भीर र विशाल काव्यविधामा प्रवेश गरी सफलतापूर्वक कृति तयार पार्नु अद्भुत उपलब्धि भएको बताउनुभयो । उहाँले शास्त्रीय छन्दमा कथा र कवित्वलाई संयोजन गर्ने स्रष्टाको क्षमताप्रति प्रशंसा व्यक्त गर्नुभयो ।
विशिष्ट अतिथि प्रा.डा. देवी नेपालले अनुप उप्रेतीको कविप्रतिभा, गहिरो चिन्तन, नम्रता र सिर्जनात्मक क्षमता उल्लेखनीय रहेको बताउँदै नेपाली साहित्यको इतिहासमा कम उमेरमै महाकाव्य लेख्ने स्रष्टाका रूपमा उनको विशिष्ट पहिचान स्थापित हुन सक्ने धारणा राख्नुभयो । उहाँका अनुसार आकारमा सानो देखिए पनि ‘प्रज्ञा’ महाकाव्यमा कथावस्तुको व्यापकता, चरित्र निर्माण, परिवेशको प्रस्तुति, छन्दविधानको सजग प्रयोग र नौ सर्गीय संरचनाले यसलाई पूर्ण महाकाव्यका रूपमा स्थापित गरेको छ ।
कृतिको समीक्षा गर्दै कवि प्रभा भट्टराईले स्रष्टा उमेरले युवा भए पनि ज्ञान र अभिव्यक्तिमा परिपक्व देखिएको बताउनुभयो । उहाँले नारी पात्रको सशक्त प्रस्तुति मार्फत समाज परिवर्तनको सन्देश दिइएको उल्लेख गर्नुभयो । समीक्षक डा. रमेश शुभेच्छुले लोककथात्मक शैलीमा कल्पनाशील कथालाई उच्च कवित्वमा प्रस्तुत गरिएको भन्दै कृतिको सफलताको प्रशंसा गर्नुभयो ।
काव्यस्रष्टा अनुप उप्रेतीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा किशोरकवि रविना कँडेलले कवितात्मक शैलीमा सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा स्रष्टाले आफ्ना मातापिता तथा गुरुजनप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि काव्ययात्रा निरन्तर अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा युनिग्लोब कलेजका शिक्षकहरू नेत्रबहादुर गुरुङ, डा. जीवन जीवन्त र यादव भण्डारीले शुभकामना मन्तव्य राख्नुभएको थियो भने कवि दिनेश पाण्डे र सुशील आचार्यले महाकाव्यांश वाचन गर्नुभएको थियो ।

