मन बेचैन भइरहेका समयमा पौरस्त्य दर्शनपरक सन्त, महन्त,साधु सन्न्यासीको प्रवचनले केही समय भए पनि शान्त रहन मद्दत गर्दछ । त्यस्तो शान्ति भलै दीर्घकालीन हुँदैन । दीर्घकालीन शान्ति अथवा मनको नियन्त्रण त्यति सहज कार्य होइन । भगवान् कृष्णले महाभारतको शुरुवाती समयमै अर्जुन व्यथित भएर गाण्डीव धनुष छोड्दा उनलाई सान्त्वना दिन उनका माध्यमबाट संसारलाई श्रीमद्भगवद्गीता जस्तो ज्ञानको अक्षय स्रोत प्रदान गरेका थिए । श्रीमद्भगवद्गीता विषयवस्तु वर्णनका दृष्टिले १८ अध्यायमा विभक्त छ । गीताको छैटौँ अध्यायमा आत्मसंयमका उपाय वर्णन पाइन्छ । गीता प्रश्नोत्तर शैलीमा छ । मुख्य प्रश्नकर्ता अर्जुन भए पनि भीष्म, सञ्जय र धृतराष्ट्र सहायक अथवा प्रसङ्ग अनुसारका प्रश्नकर्ताका रूपमा देखिन्छन् । यति हुँदाहुँदै पनि मुख्य प्रश्नकर्ता अर्जुन नै हुन् । उनका प्रश्न महत्त्वपूर्ण र सूत्रात्मक छन् । भगवान् योगेश्वर श्रीकृष्णले उत्तर व्यासशैलीमा विस्तृत रूपमा दिएका छन् । त्यही गीताको छैटौँ अध्यायमा मन नियन्त्रण गर्नु भनेको पवनलाई समात्नु बराबर हो र त्यसलाई कसरी नियन्त्रण गर्ने भनेर अर्जुन प्रश्न गर्दछन् । त्यसको उत्तरमा श्रीकृष्णले अभ्यास र वैराग्यभन्दा मन नियन्त्रण गर्ने अर्को उपाय छैन भनेका छन् । श्रीमद्भगवद्गीतामा यसरी अभिव्यक्त भएको छ :
चञ्चलं हि मन: कृष्ण प्रमाथि बलबद्दृढम् ।
तस्याहं निग्रहं मन्ये वायोरिव सुदुष्करम् ।।(६/३४)
श्रीभगवानुवाच
असंशयं महाबाहो मनो दुर्निग्रहं चलम् ।
अभ्यासेन तु कौन्तेय वैराग्येण च गृह्यते ।।(६/३५)
अहिलेका मान्छे बिरलै पाइन्छन्, योग अभ्यास र वैराग्यद्वारा मन नियन्त्रण गर्ने । बनावटी रूपमा गर्छु भन्नु र यथार्थमै गर्न सक्नुमा ठूलो अन्तर हुन्छ । यसको आशय योगसाधनाप्रति विमति कदापि होइन । योगसाधनामा त्यो शक्ति अवश्य छ तर वास्तवमै योगाभ्यास गर्ने मानव कम छन् । योगलाई अहिले शारीरिक अभ्यासका रूपमा मात्र विकास गरियो । योगले निर्देश गरेका आठओटै अङ्गको पालना भएको पाइँदैन । यहाँ मन बेचैन हुँदा कसरी क्षणिक नियन्त्रण गर्न सकिन्छ भन्ने विषयबाट विषयान्तर झन्डै झन्डै भइयो ।
नेपाली उपन्यास लेखनमा शारदा शर्माको ` ताप´ को वैभवशाली उपस्थिति छ । उनले दर्शनको प्रतिपाद्य विषयलाई सामाजिक घटनासँग तादाम्य गराएर रोचक ढङ्गले प्रस्तुत गरेकी छन् । दर्शन सबैका लागि प्रिय विषय होइन र हुन पनि सक्दैन । सबैजना दर्शनमा रुचि नराख्न सक्छन् । यसलाई स्वाभाविक मान्नुपर्ने हुन्छ । नेपाली साहित्यका अनेक विधामा दर्शनको प्रयोग भएको पाइन्छ । विशेष गरी लेखनाथ पौड्यालका कविता अथवा देवकोटाका काव्य र निबन्धमा दर्शनको प्रयोग प्रशस्त पाइन्छ । बालकृष्ण समले त आफ्ना कविता, काव्यमा नियमित आकस्मिकता भन्ने नवीनतम विचारलाई अभिव्यक्त गरेका छन् । कृष्ण गौतमको अद्वैत होस् अथवा ती दर्शनमा पौरस्त्य दर्शनमध्येको अद्वैत, वेदान्त दर्शनको प्रयोग भएका कृति विशेष रुचिकर हुन्छन् । दर्शन जस्तो शुष्क विषयलाई पनि साहित्यिक विधामा अनुकूल तरिकाले प्रस्तुत गर्न सक्नु साहित्यकारको खास सिर्जनशीलता हो । साहित्य नवीनताको प्रतीक हो । यसमा धेरै नेपाली स्रष्टाले न्याय गरेको पाइन्छ । यसको मूल कारण, हामी पूर्वीय भूमिमा रहेकाले पनि हुनसक्छ । यद्यपि दार्शनिक प्रयोगलाई पूर्व, पश्चिम उत्तर दक्षिण गरेर विभाजन त गरिन्छ तर यसमा मेरो व्यक्तिगत रुचि चाहिँ छैन । अध्ययनको सहजताका लागि यस्ता प्रयोग स्वीकार्य भए पनि ज्ञान विभाजन सम्भव छैन । ज्ञान विशुद्ध हुन्छ, त्यो जुनसुकै भूमिबाट आरम्भ भएको किन नहोस् । ज्ञानको पवित्रता स्वयम् श्रीमद्भगवद्गीतामा पनि उल्लेख छ ।
“नहि ज्ञानेन सदृशं पवित्रमिह विद्यते ।”हामी जसलाई पश्चिम भन्छौँ र दार्शनिक चिन्तनमा पूर्वका दृष्टिले कमजोर ठान्छौँ अपि तु त्यस्तो कदापि होइन । प्राचीन समयमा पूर्वीय भूमि ज्ञानका अनेक विधामा समृद्ध चाहिँ पक्कै थियो तर समयक्रमसँगै यता कमजोर बन्दै गयो पश्चिम समृद्ध हुँदै गयो । माथि नै उल्लेख भइसक्यो । मन बैचैन हुँदा मलाई दार्शनिक प्रवचनले केही क्षण भए पनि राहत दिन्छ । यसलाई दीर्घकालीन बनाउन गर्ने प्रयास आफ्नै हो । कतिपय सन्दर्भमा मनुष्यले आफ्नो जिम्मेेवारी आफैँ वहन गर्नुपर्छ तर अक्सर त्यस्तो हुन सक्दैन ।
पौरस्त्य दर्शनमा अद्वैत वेदान्त सबैभन्दा प्राचीन मानिन्छ । वेदस्य अन्त अर्थात् वैदिक संहिताको अन्तिम भाग नै वेदान्त हो । वैदिक संहिताभित्र वेद, ब्राह्मण, आरण्यक र उपनिषद् पर्छन् । उपनिषद्हरू वेदका अन्तिम भाग हुन् । पौरस्त्य दर्शनलाई अध्ययन सहजता र विषयवस्तुको बोध सहजताका लागि आस्तिक र नास्तिक गरी दुईमा मूलभूत रूपले विभाजन गर्ने गरिन्छ । नास्तिकभित्र वेदको स्वत: प्रमाणिकता अस्वीकार गर्ने चारवाक, बौद्ध र जैन दर्शन पर्दछन् । यिनले वेदवाणीलाई प्रमाण मानेका छैनन् । आस्तिक दर्शनमा साङ्ख्य, योग, न्याय, वैशेषिक, पूर्वमीमांसा ( कर्मप्रधान) र उत्तर मीमांसा ( ज्ञान प्रधान, वेदान्त दर्शन) पर्दछन् । वेदान्तका आधार ग्रन्थहरूमा उपनिषद्, श्रीमद्भगवद्गीता र ब्रह्मसूत्र मानिन्छ । यी तीन विषय नै वेदान्तको प्रस्थानत्रयी मानिन्छन् । यहाँ प्रसङ्ग अतिरिक्त उल्लेख गरिहालौँ । भारत वर्षका पछिल्लो युगका एक धाकड चिन्तक र वक्ता ओसोले धेरै विषयमा बोलेका छन् तर ब्रह्मसूत्रमाथि उनको धारणा पाइँदैन । उनले यसलाई शुष्क विषय भनेर नबोलेको भन्ने मैले कतै सुनेँ तर यसको प्रमाण चाहिँ उपलब्ध गराउन सक्दिनँ । साथै मेरो खोजमा, उनले ब्रह्मसूत्रमाथि बोलेको पाइएको छैन । उनले बोले पनि नबोले पनि ब्रह्मसूत्र वेदान्त दर्शनको आधार हो । यसका स्वरूप उपनिषद्हरूमा पनि प्राप्त गर्न सकिन्छ । वेदान्त दर्शन दार्शनिकहरूका लागि प्रिय विषयचाहिँ पक्कै हो । वेदान्त दर्शनलाई भेद र उपभेद गरेको देखिन्छ । प्राचीन वेदान्त दर्शनलाई यसरी विभाजन गरेको भेटिन्छ :
१. आद्य शङ्कराचार्य : अद्वैतवाद
२. भास्कर : भेदाभेद
३. रामानुज : विशिष्टाद्वैत
४. मध्व : द्वैतवाद
५. निम्बार्क : द्वैताद्वैत
६. श्रीकण्ठ : शैवविशिष्टाद्वैत
७. श्रीपति : वीरशैव विशिष्टाद्वैत
८. वल्लभ : शुद्धाद्वैत
९. विज्ञानभिक्षु : अविभागाद्वैतम्
१०. बलदेव; अचिन्त्यभेदाभेद:
यी प्राचीन वेदान्त र तिनका संस्थापक हुन् । माथि उल्लेख भएका आचार्यहरूले उपनिषद्, श्रीमद्भगवद्गीता र ब्रह्मसूत्रको भाष्य( व्याख्या) गरेका छन् । त्यही व्याख्यामार्फत नै आफ्नो वेदान्तको स्थापना गर्न सफल भए । यहाँ केवल शङ्कर वेदान्त र त्यसको प्रतिपाद्य विषय यथामति लेख्ने प्रयास गरिएको छ ।
भगवान् बादरायणले वेदको अन्तिम भाग उपनिषद्को अझ व्याख्या विश्लेषण गर्ने उद्देश्यका साथै वेदविरोधी मत खण्डनका लागि ब्रह्मसूत्र प्रतिपादन गरेका थिए । त्यसैको अद्वैतपरक व्याख्या नै शाङ्कर वेदान्तको आधार हो । शङ्कराचार्य पूर्व नै उनका गुरु गौडपादको मान्डूक्य कारिकाकामा यश दर्शनको शुरुवात गरेको पाइन्छ । त्यही बीजरूपलाई आचार्य शङ्करले अगाडि बढाएका हुन् । यति हुँदा हुँदै पनि अद्वैत वेदान्तका प्रतिपादकका रूपमा आचार्य शङ्कर प्रसिद्ध भए । यिनीद्वारा ब्रह्मसूत्रमाथि लेखिएको भाष्य शाङ्कर भाष्य हो । यसमा एकै वस्तुको सत्ता स्वीकार गरिन्छ । त्यो सत्ता ब्रह्मको हुन्छ । ब्रह्मबाहेक अरुको सत्ता स्वीकार गरिँदैन । ब्रह्मसूत्र नै अथातो ब्रह्मजिज्ञासा, अर्थात् यहाँबाट ब्रह्मसम्बन्धी जिज्ञासा, खोज, अन्वेषण आदि शुरुवात हुन्छ भनिएको देखिन्छ । शङ्कराचार्यका विचारमा ब्रह्म सर्वव्यापी, सर्वशक्तिमान् र सर्वज्ञ छन् । सबैका आधारका रुपमा वर्णित छन् । अनन्त, परिवर्तनहीन, स्वयम्भू, आत्मसुख, आत्मज्ञान, आत्मआनन्द स्वरुप छन् । ब्रह्मसत्ता नै वास्तविक हो । सत्य, ज्ञान र आनन्द ब्रह्मको स्वरूप रहेको उपनिषदमा वर्णन आउँदछ । ब्रह्म शब्द र मनको भन्दा परको विषय रहेको मानिन्छ ।
अद्वैत वेदान्तमा माया मिश्रित ब्रह्म, ईश्वरका स्वरूप हुन् । ईश्वर साकार हुन सक्दछ र ब्रह्म नै ईश्वरका रूपमा अवतरित हुन्छ भन्ने गरिन्छ । ब्रह्म र ईश्वरमा अभेद्यताको पनि सङ्केत पाइन्छ । अद्वैत वेदान्तमा ब्रह्मपछि माया तत्त्व आउँदछ । प्रेम र मायामा अन्तर हुने गर्दछ । प्रेम शाश्वत सत्य हो भने माया भ्रम हो । अद्वैत वेदान्तको माया नै अहिलेसम्म चलिआएको पाइन्छ । मायाको वशमा परेर नै जीवले आफूलाई ब्रह्मभन्दा पृथक् सोच्दछ । यसलाई अविद्या भनेको पाइन्छ । अविद्या हटेपछि मात्र जीव र ब्रह्मको एकत्व हुन्छ । यही अवस्था नै अद्वैत हो । जीव ब्रह्मभन्दा फरक कदापि होइन । यी दुईको एकत्व नै ब्रह्मतत्त्व हो ।
अद्वैत वेदान्तमा संसारलाई मिथ्या मानिएको छ । जसरी स्वप्न झुटो हुन्छ त्यसरी नै संसार पनि झुट हो । रातिका समयमा डोरी सर्पको भ्रम भएझैँ अविद्या, भ्रम र भ्रान्तिका कारण जीवले यस संसारलाई वास्तविक मान्न थाल्छ । जीव, ब्रह्म र जगतका विषयमा एक प्रसिद्ध भनाइ पाइन्छ :
ब्रह्म सत्यं जगन्मिथ्या जीवो ब्रह्मैव नापरः
अनेन वेद्यं सच्छास्त्रमिति वेदान्तडिण्डिमः॥ अर्थात् ब्रह्म सत्य हो, जगत् मिथ्या हो । जीव र ब्रह्ममा कुनै अन्तर छैन । यही सत् शास्त्र हो । वेदान्तले यसैलाई घोषणा गरेको छ । यस दर्शनको आलोचना गर्ने ठाउँ छन् । यदि वेदान्त दर्शन नै अन्तिम सत्य हुन्थ्यो भने अन्य विचारधाराको शुरुवात नै हुँदैन थियो । व्यक्ति फरक भएपछि चिन्तनमा पनि फरकपन पाउन सकिन्छ । चिन्तनमा नवीनता र मौलिकताले नै दर्शनमा पृथकता ल्याउँछ । जिज्ञासु स्वभावले दर्शनप्रति आकर्षण बढाउँछ भने त्यसमा नवीनता, तार्किकपन र मौलिकता भएका खण्डमा दर्शन बन्छ । अन्तिम सत्य के हो ? यसै भनेर किटान गर्न सकिँदैन । तैपनि विद्वान् र चिन्तकहरूका विचारलाई पढ्दा र मनन गर्न सक्दा रहस्य चाहिँ खुल्ने नै गर्दछन् । यी र यस्तै विशेषता बोकेको पौरस्त्य दर्शनमा वेदान्त दर्शनभन्दा पर अरु दर्शन छैनन् । यसमा सबै सनातन धर्मको रहस्य लुकेको पाइन्छ । मानव हित समेत अन्तर्निहित छ । दर्शनशास्त्रीहरूको उदात्त चिन्तनले राष्ट्रको चेतना अभिवृद्धि गर्न सहयोग पुर्याउँछ । आजको अत्यन्त भौतिकतामा रमाइरहेको समाज र लोभी, पापी, भ्रष्ट्रतामा लिप्त राजनीतिज्ञहरूले आध्यात्मिकता भरिएको अद्वैत वेदान्तको जगत् मिथ्या छ भन्ने भाव ग्रहण गरेका खण्डमा राष्ट्रको मुहार फेरिने सम्भावना अधिक हुन्छ । दर्शन, त्यसमा पनि अद्वैत वेदान्त दर्शनको मननले दीर्घकालीन शान्ति अनुभव गराउँछ । मनन गर्न नसके पनि केही समयको श्रवण र अध्ययनले क्षणिक नै सही शान्तिको अनुभूतिचाहिँ पक्कै गराउँछ । व्यक्तिगत रूपमा यस दर्शनप्रति पकड छैन तथापि यदाकदा उपनिषदहरू पढ्दा, श्रीमद्भगवद्गीताका श्लोक सुन्दा रत्यसको भावमा डुब्ने प्रयास गर्दा अद्वैत वेदान्त दर्शनहरूको शिरोमणि लाग्छ । वेदान्त दर्शनका अन्य शाखाहरूका विकासमा अद्वैत वेदान्तको महत्त्वपूर्ण योगदान देख्न सकिन्छ ।
विज्ञेषु किमधिकम् ।

