भनिन्छ – ढुङ्गे युगमा मानिसहरू स–साना समूह बनाएर बस्थे रे, एउटा हूल बाँधेर, एक जुट भएर जङ्गली जनावरसँग लड्न जान्थे रे अनि बिस्तारै–बिस्तारै जङ्गलमा राज गर्न थाले रे ! ब्रह्माण्डीय समयरेखा–सृष्टिकालक्रम अनुसार सत्ययुगदेखि कलियुगसम्म र ऐतिहासिक समयरेखा–मानव इतिहासको कालक्रम अनुसार ढुङ्गे युगदेखि आजको विज्ञान र प्रविधिको युगसम्म आइपुग्दा, युद्धले मानव सभ्यतामा ठूलो योगदान पुर्याएको देखिन्छ ।
हिन्दू पौराणिक इतिहासका दुई ठुला महाकाव्यहरू—रामायण र महाभारत – युद्धकै वरिपरि घुम्छन्, जसले मानव सभ्यताका लागि ठूला पाठहरू सिकाएका छन् । इतिहासलाई फर्केर हेर्दा युद्धले विनाश मात्र ल्याएको छैन, बरु मानव सभ्यतालाई नयाँ दिशामा अघि बढ्न बाध्य पनि पारेको छ । स–साना समूहबाटै एकताको मूल भावना र राज्यको उत्पत्ति, त्यसपछि शक्ति र परिवर्तनका लागि गरिएका क्रान्ति, यी सबै युद्धकै छद्म भेष त हुन् । शान्ति नै मानव सभ्यताको अन्तिम लक्ष्य भए पनि इतिहास र हिन्दू पौराणिक मान्यता दुवैले के स्वीकार गर्छन् भने, जब समाजमा विकृति र अन्यायको बोझ असह्य हुन्छ, तब युद्ध एउटा पीडादायी तर आवश्यक औषधिको रूपमा आउँछ, जसले पुरानो कसिङ्गरलाई सफा गरेर मानव सभ्यतालाई पुनः धर्म र न्यायको जगमा उभिन बाध्य पार्छ ।
अन्तर्राष्ट्रिय युद्धहरू (इजरायल–पलेस्टाइन, युक्रेन–रुस) तथा गृहयुद्धहरूले (सुडान, म्यानमार, सिरिया, यमन) विश्व अहिले आतङ्कित छ । यो आतङ्कको आगोमा होमिएर कति जनाले आफ्नो घर, परिवार गुमाए, यसको कुनै लेखाजोखा नै छैन । आफ्नो देशको रक्षार्थ सीमामा तैनाथ वीर भक्तहरू कहिले आफ्नो घर फर्कन्छन्, त्यसको कुनै टुङ्गो नै छैन । यो एउटा वियोग नै हो । सीमामा उभिएको सैनिकका लागि भोलि केवल पात्रोमा लेखिएको अर्को मिति मात्र हो; त्यो देख्न पाउने कि नपाउने भन्ने निश्चितता कसैसँग हुँदैन । हिमपातको कठोर चिसो, मरुभूमिको डढेलो जस्तै गर्मी, अविरल वर्षा वा अकस्मात् आइपर्ने मृत्युको छाया— यी सबैसँग उनीहरूको दैनिक साक्षात्कार भइरहन्छ । हरेक पाइलामा जोखिमसँग गरिएको यो एउटा मौन सम्झौता हो । घर फर्केर आफ्ना प्रियजनलाई अँगालो हाल्ने सपना बोकेर ड्युटीमा गएको सैनिक कहिलेकाहीँ आफ्ना खुट्टाले होइन, राष्ट्रिय झण्डाले ढाकिएको शवका रूपमा फर्किन्छ । त्यो दिन एउटा राष्ट्रले आफ्नो वीर सपूत गुमाउँछ, तर एउटा आमाले आफ्नो सन्तान, एउटी पत्नीले आफ्नो जीवनसाथी, एउटा बालकले आफ्नो अभिभावक र एउटा घरले आफ्नो सम्पूर्ण उज्यालो गुमाउँछ । छातीमा टाँसिएको पदकले सन्तानको टुहुरोपन मेटाउन सक्दैन, सम्मानका शब्दहरूले वृद्ध आमाबुबाको प्रतीक्षालाई अन्त्य गर्न सक्दैनन्, न त राष्ट्रले अर्पण गरेको श्रद्धाञ्जलीले जीवनसाथीको सुनसान जीवनमा हराएको साथ फर्काउन सक्छ । सैनिकको बलिदान केवल उसको व्यक्तिगत निर्णय होइन; त्यो उसको सम्पूर्ण परिवारले मौन रूपमा बोकेको साझा तपस्या हो । सैनिक एक्लै सीमामा उभिएको जस्तो देखिए पनि, वास्तवमा उसको पछाडि एउटा परिवार पनि त्यत्तिकै अडिग भएर आफ्ना इच्छा, सपना र खुसीहरू राष्ट्रको नाममा समर्पण गरिरहेको हुन्छ ।
युद्धको अर्को तीतो सत्य हो – मानसिक आघात ! युद्ध सक्किएपछि पनि यो ट्रमा रहिरहन्छ, त्रास रहिरहन्छ । केही दिनअघि सामाजिक सञ्जालमा एउटा भिडियो धेरै भाइरल भएको थियो । त्यस भिडियोमा बालबालिकाहरू गुडिया, तकिया वा अन्य वस्तुलाई सेतो कपडाले बेरेर शवझैँ काँधमा बोकेर अन्त्येष्टि गरिरहेको अभिनय गर्छन् । कतै एम्बुलेन्स, अस्पताल वा उद्धार कार्यको खेल खेलिरहेका देखिन्छन् । कोही बम विस्फोटबाट जोगिन भागिरहेको अभिनय गर्छन् भने कोही भग्नावशेषभित्र जीवित मानिस खोज्ने प्रयास गरिरहेका हुन्छन् । उनीहरूको खेलमा रमाइलोपनभन्दा बढी युद्धको भय, मृत्युको साक्षात्कार र बिछोडको यथार्थ मिसिएको देखियो । युद्धग्रस्त क्षेत्रका बालबालिकाका हृदयविदारक दृश्यहरू बारम्बार देखिन थालेका छन् । सेतो कपडामा बेरिएको एउटा गुडिया उनीहरूका लागि केवल खेलौना हुँदैन; त्यो उनीहरूले देखेको कुनै बिछोडको सम्झना हुन सक्छ । भग्नावशेषमा साथी खोज्ने अभिनय केवल कल्पना होइन; त्यो उनीहरूको स्मृतिमा अझै जीवित रहेको कुनै वास्तविक दृश्यको प्रतिध्वनि हुन सक्छ । बालबालिकाले आफूले भोगेका सबै पीडा शब्दमा भन्न सक्दैनन्, तर उनीहरूको खेलले धेरै कुरा बोलिरहेको हुन्छ । कहिलेकाहीँ खेलमै उनीहरूको मौन चिच्याहट सुनिन्छ, र त्यही युद्धले एउटा बालमनमाथि कति गहिरो छाप छोडेको छ भन्ने सबैभन्दा सत्य कथा सुनाइरहेको हुन्छ ।
शायद यही, युद्धको सबैभन्दा ठूलो क्रूरता हो—यसले बालबालिकाबाट जीवन लिँदैन मात्र, बाल्यकाल पनि खोसिदिन्छ । जब खेलमा रमाइलोपनको ठाउँ मृत्युले लिन्छ, तब बुझ्नुपर्छ कि युद्धले केवल शहरहरू ध्वस्त पारेको छैन; यसले एउटा पुस्ताको इतिहासलाई पनि भग्नावशेषमा बदलिदिएको छ ।
युद्धको इतिहास पढ्दा हामी प्रायः विजय र पराजय, सीमा र सन्धि, शक्ति र राजनीतिका कथाहरू भेट्छौँ । तर इतिहासका पानामा दर्ज नभएका असंख्य कथाहरू पनि छन् —ती कथाहरू, जसमा न कोही विजयी हुन्छ, न कोही पराजित नै; हुन्छन् त केवल आफ्नो घर गुमाएका मानिसहरू, आफ्ना प्रियजन गुमाएका परिवारहरू र आफ्नो बाल्यकाल गुमाएका बालबालिकाहरू । वास्तवमा युद्धको सबैभन्दा गहिरो घाउ रणभूमिमा होइन, मानिसको अन्तर्मनमा कोरिन्छ । बन्दुकका आवाज एक दिन मौन हुन्छन्, धुवाँ एक दिन आकाशबाट हराउँछ, भग्नावशेषमाथि फेरि नयाँ घरहरू पनि बन्न सक्छन्; तर विस्थापनले मनमा बनाएको खालीपन, बिछोडले छोडेको शून्यता र हिंसाले जन्माएको मानसिक आघात पुस्तौँसम्म जीवित रहन्छ । यही कारणले युद्धलाई केवल भूगोल परिवर्तन गर्ने घटना भन्न मिल्दैन; यसले मानिसको अस्तित्व, पहिचान र ‘घर’ भन्ने अनुभूतिलाई नै पुनः परिभाषित गरिदिन्छ ।
घर केवल चार वटा पर्खाल र एउटा छानो होइन; त्यो सम्झनाले भरिएको एउटा संसार हो, जहाँ आमाको आवाज बस्छ, बाबुको स्नेह बस्छ, बाल्यकालका हाँसोहरू बस्छन् र आफ्नोपनको अनुभूति बस्छ । जब युद्धले त्यो घर खोस्छ, मानिसले केवल बस्ने ठाउँ गुमाउँदैन, उसले आफ्नो विगतसँगको सम्बन्ध, आफ्नो पहिचान र कहिल्यै नभरिने एउटा भावनात्मक रिक्तता पनि बोकेर हिँड्न थाल्छ ।
यही विस्थापनको पीडालाई निर्देशक इम्तियाज अलीको चलचित्र ‘में वापस आउँगा’ले अत्यन्त मार्मिक ढङ्गले प्रस्तुत गर्न खोजेको छ । चलचित्रको केन्द्रमा केवल भारत विभाजनको ऐतिहासिक घटना छैन; त्यस विभाजनले मानिसको जीवनमा पारेको भावनात्मक प्रभाव छ । एउटा सीमा कोरिँदा केवल नक्सा छुट्टिँदैन, सम्झनाहरू छुट्टिन्छन्, पुस्तौँदेखि सँगै बसेका मानिसहरू छुट्टिन्छन्, भाषा उस्तै हुँदाहुँदै पनि अपनत्व छुट्टिन्छ । त्यसपछि बाँकी रहन्छ केवल एउटा प्रश्न—के मानिस साँच्चै कहिल्यै आफ्नो घर फर्किन सक्छ ? वा ऊ केवल आफ्ना सम्झनाहरूमा मात्र फर्किरहन्छ ? त्यही चलचित्र ‘में वापस आउँगा ’ अर्थात् ‘म फर्केर आउनेछु’ पनि यही गहिरो तृष्णाको प्रतीक हो ।
त्यो फर्किने वाचा कुनै ठाउँमा पुग्ने वाचा होइन; आफूले गुमाएको समय, सम्बन्ध, पहिचान र आफ्नोपनलाई पुनः भेट्ने असम्भव चाहनाको अभिव्यक्ति हो । यही भावनालाई सिरियाली–क्यानेडियन लेखिका जुल्फा कतौहको उपन्यास ‘एज लङ्ग एज द लेमोन ट्रिज ग्रो’ले अझ अर्को दृष्टिबाट उजागर गर्छ । सिरियाली गृहयुद्धको पृष्ठभूमिमा लेखिएको यस कृतिले युद्धको वास्तविक मूल्य सैनिकहरूले मात्र होइन, सामान्य नागरिकहरूले कसरी चुकाउँछन् भन्ने गहिरो प्रश्न उठाउँछ । उपन्यासकी मुख्य पात्र सलामा केवल बाँच्ने संघर्ष गरिरहेकी युवती त हो नै, त्यसभन्दा उनी आफ्नै देश छोडेर जानुपर्ने कि नपर्ने भन्ने द्वन्द्वमा बाँचेकी प्रत्येक विस्थापित मानिसको प्रतिनिधि हो । जब आफ्नै जन्मभूमिमा बाँच्ने अधिकार असुरक्षित हुन्छ, तब देश छोड्नु कायरता होइन, अस्तित्व जोगाउने अन्तिम प्रयास बन्छ । तर शरीरले देश छोडे पनि मनले कहिल्यै छोड्न सक्दैन । यही कारणले विस्थापन केवल भौगोलिक यात्रा होइन; त्यो जीवनभर बोकिने मानसिक यात्रा समेत हो । युद्धले मानिसलाई शरणार्थी बनाउन सक्छ, तर त्योभन्दा पहिले उसलाई आफ्नै स्मृतिको कैदी बनाइदिन्छ ।
The greatest casualty of war is not territory, but humanity itself. युद्धमा भूभागभन्दा सबैभन्दा ठूलो पराजय मानवताको हुन्छ । यही विषयवस्तुमा लेखिएका थुप्रै युद्ध उपन्यासमध्ये एक हो अफगानी रणमैदान, जुन उपन्यासका उपन्यासकारले अहिले आफ्नो नयाँ कथासङ्ग्रह निकालेका छन्, ‘अन्तिम साँझ’ । कथाकार सङ्केत आफैँ पनि एक भूपू सैनिक हुन् । उनी अहिले यूकेमा बसोबास गर्दै आएका छन् । आफ्नो अवकाशप्राप्त जीवन उनले नेपाली साहित्यलाई समर्पित गरेका छन् । आफैँ जलेको देश, एथेन्सको झरी, पैयुँका फूलहरू (सुर्खेत विश्वविद्यालयको पाठ्यक्रममा समावेश गरिएको हाइकू), सङ्केतका कविताहरू, अफिम फुल्ने देशमा, ताँ गो तेकेरे नुङ – (कोइँच सुनुवार भाषाको कविता सङ्ग्रह), बुद्ध ल्यान्ड टु स्विजरल्यान्ड, अफगानी रणमैदान, अन्तिम साँझ, गरी नेपाली साहित्यका विभिन्न विधामा सक्रिय रहेर कलम चलाउने एक उदीयमान स्रष्टाका रूपमा आफ्नो परिचय दिन उनी सफल भएका छन् ।
आफ्नो सङ्घर्ष र भोगाइलाई शब्दमा बुनेर उनी साहित्यको क्यानभासमा विभिन्न चित्र कोर्न सफल भएका छन् । १५ ओटा कथाहरू समावेश यस कथासङ्ग्रहमा उनले मनोविज्ञान, युद्ध, डायस्पोरा र राजनीतिक चिन्तनलाई प्रयोगात्मक शैलीमा प्रस्तुत गरेका छन्, जुन निकै नै उल्लेखनीय छ । नेपालमा प्रयोगात्मक आख्यानका लागि प्रसिद्ध मानिने कुमार नगरकोटीका प्रशंसक रहेका सङ्केतको यस कृतिमा नगरकोटी–इफेक्ट पनि प्रशस्तै देख्न सकिन्छ ।
किताबकै नाममा रहेको कथा ‘अन्तिम साँझ’ वीर सैनिकहरूको कथा हो । एउटा सैनिकको जीवनमा कति बेला कुन क्षण, कुन ढुकढुकी अन्तिम हुन सक्छ भन्ने हेक्का सैनिक आफैँलाई हुँदैन । यद्यपि आफ्नो अन्तिम श्वाससम्म कर्तव्य निष्ठापूर्वक पूरा गर्ने र आफ्नो सैनिकीय धर्म निर्वाह गर्ने वीरभक्तहरूको कथा हो यो । सरल भाषामा लेखिए पनि निकै दार्शनिक र मार्मिक लाग्छ यो कथा । अहिलेको विश्व परिवेश नै त्यस्तै आक्रान्त भएर होला, यस कथाले मलाई निकै छोयो, युद्धको इतिहासबारे बुझ्न बाध्य बनायो, मानवता र मानव सभ्यताबीचको गहिरो दर्शन पनि बुझायो ।
अर्को महत्त्वपूर्ण विषयको उठान यस कृतिमा गरिएको छ, त्यो हो मनोविज्ञान । मलाई व्यक्तिगत रूपमा पनि असाध्यै रोचक लाग्ने विषय हो मनोविज्ञान । हुबहु तथ्य पत्ता लगाउन नसके पनि मनोविज्ञानले को मानिस कस्तो र उसले देखाउने व्यवहार कस्तो हुन्छ भनेर निकै नै बताउँछ । यस सङ्ग्रहका मनोवैज्ञानिक कथाहरू पढ्दै जाँदा एउटा कुरा बारम्बार महसुस हुन्छ—मानिसलाई उसको अनुहार र बोलीवचन मात्र हेरेर बुझ्न सकिँदैन ।
‘फ्रेडको घरको त्यो छाया’, ‘क्याम्पफायर कि दिल फायर’, ‘हनी विथ रम’, ‘डा. राफेलको धन्दा’, आदि कथाहरूमा कथाकारले पात्रहरूलाई न्याय दिँदै उनीहरूको चरित्रलाई स्पटलाइटमा राखेर रचेका छन् । अघि भनेझैँ, सतही रूपमा पढ्ने हो भने कथा साधारण लाग्न सक्छन्, तर शब्द–शब्द केलाएर पढ्ने हो भने यी सामान्य कथा होइनन् । बाहिरबाट हाँसिरहेको देखिने मानिसभित्र कतै गहिरो पीडा लुकेको हुन सक्छ, आत्मविश्वासी देखिने व्यक्तिले आफ्नै असुरक्षासँग निरन्तर सङ्घर्ष गरिरहेको हुन सक्छ, र मौन बस्ने मानिसको मनभित्र अनेक प्रश्न, सम्झना र वेदनाहरूले हलचल मच्चाइरहेका हुन सक्छन् । लेखकले यिनै अदृश्य अनुभूतिहरूलाई कथाका पात्रहरूको जीवनमार्फत निकै स्वाभाविक ढङ्गले अभिव्यक्त गरेका छन् । त्यसैले कथाहरू केवल घटनाको वर्णनमा सीमित छैनन्; यी पात्रहरूको मनभित्र पस्न र उनीहरूको अनुभूतिलाई नजिकबाट महसुस गर्न पाठकलाई बाध्य बनाउँछन् ।
सङ्ग्रहको अर्को विशेषता हो– पात्रहरूलाई कुनै निश्चित सीमामा बाँधिएको छैन । यहाँ कोही पूर्ण रूपमा असल छैन, कोही पूर्ण रूपमा खराब पनि छैन । उनीहरू आफ्नै कमजोरी, इच्छा, द्विविधा र परिस्थितिका बीच निर्णय गर्न बाध्य भएका सामान्य मानिस हुन् । यही मानवीय यथार्थले कथाहरूलाई अझ जीवन्त र विश्वसनीय बनाएको छ । पात्रहरूले गरेका निर्णयसँग पाठक सधैँ सहमत नहुन पनि सक्छन्, तर उनीहरू किन त्यस ठाउँमा पुगे भन्ने कुरा भने सहजै महसुस गर्न सक्छन् । यहीँबाट कथाले पाठकसँग भावनात्मक सम्बन्ध स्थापित गर्छ ।
कथा त पढेर सकिन्छ, तर पात्रहरू भने लामो समयसम्म मनमा बाँचिरहन्छन् । उनीहरूले भोगेका परिस्थिति र मनभित्रका द्वन्द्वले आफ्नै जीवनका केही अनुभव सम्झाइदिन्छन् । यही संवेदनशीलता र मनोवैज्ञानिक गहिराइले यस कथासङ्ग्रहलाई अझ अर्थपूर्ण बनाएको अनुभूति हुन्छ ।
कल्पनाशीलताको हदसम्म पुगेर रचिएका बिम्बात्मक कथाहरूले अहिलेको समाजको चित्रण पनि गरेको पाइन्छ । ‘डाक्टर राफेलको धन्दा’ र ‘नक्कली फिया’ नामक कथाहरूबाट अहिले सामाजिक सञ्जालमार्फत हुने चोरी र ठगीजस्ता विषयको चिरफार गर्दै पाठकलाई सचेत पनि गराएका छन् लेखकले । सामाजिक सञ्जालमा साथी बन्दै, दुःख–सुखका कुरा साटासाट गर्दै नजिकिने, मौका छोपेर फाइदा उठाउने, पैसा माग्ने, ब्ल्याकमेल गर्ने जस्ता साइबर अपराधहरू जुन अहिले बढ्दो क्रममा छन्, त्यस्तै घटनाहरूको प्रतिनिधित्व यी कथाहरूले गरेका छन् । यी कथाहरू पढ्दा सामाजिक सञ्जालको प्रयोग गर्दा सानो लापरबाहीले पनि ठूलो समस्या निम्त्याउन सक्छ भन्ने कुरा सहज रूपमा बुझ्न सकिन्छ । कथाकारले कुनै उपदेशात्मक शैली नअपनाई घटनाक्रम र पात्रका व्यवहारमार्फत यस्तो सन्देश दिएका छन्, जसले पाठकलाई आफैँ सोच्न बाध्य बनाउँछ । अहिले धेरै मानिस, विशेषगरी युवापुस्ता, सामाजिक सञ्जालमार्फत नयाँ सम्बन्ध बनाउने र आफ्ना व्यक्तिगत कुराहरू सहजै साझा गर्ने गर्छन् । यही विश्वासको फाइदा उठाएर हुने ठगी, धम्की र आर्थिक शोषणजस्ता घटनाहरू समाजमा दिनप्रतिदिन बढिरहेका छन् । यथार्थसँग धेरै हदसम्म मेल खान्छन् कथाका घटनाहरू पनि ।
यी कथाहरूको अर्को विशेषता भनेको यिनले आधुनिक प्रविधि र मानवीय व्यवहार बीचको सम्बन्धलाई सरल ढङ्गले देखाएका छन् । प्रविधि आफैँमा समस्या होइन, तर त्यसको गलत प्रयोगले व्यक्तिलाई कति ठूलो समस्यामा पार्न सक्छ भन्ने कुरा कथामा स्पष्ट रूपमा देखिन्छ ।
त्यस्तै अर्को रोचक कथा छ ‘वास्तविक आँगन’ । सिरियल जस्तो लाग्ने यस कथालाई मैले लेयर्ड–कथा भन्न रुचाएँ, किनभने यो सिङ्गै एउटा कथालाई कथाकारले साना–साना उपकथाजस्तो गरी लेखेका छन् । आजकल निकै प्रचलित ६–७ ओटा एपिसोडको सिरिजजस्तै यस कथाभित्र पनि ९ ओटा साना–साना कथा छन् । यो एउटा डायस्पोरिक कथा हो । सपनाको दौडले मानिसलाई आफ्नो जन्मभूमिबाट धेरै टाढासम्म पुर्याउन सक्छ, तर मनको एउटा कुनो भने सधैँ आफू हुर्किएको माटोमै अडिएको हुन्छ । अवसरको खोजीमा हजारौँ नेपालीले आफ्नो गाउँ, परिवार र परिचित परिवेश छोडेर संसारका विभिन्न देशमा नयाँ जीवन शुरू गरेका छन् । उनीहरूले विदेशलाई रहरले भन्दा पनि भविष्यको भरोसाले रोजेका हुन् । आफ्ना सन्तानले आफूले भोगेको अभाव नदेखून्, राम्रो शिक्षा पाऊन् र सुरक्षित जीवन बिताऊन् भन्ने सपना नै उनीहरूको यात्राको सबैभन्दा ठूलो कारण बनेको हुन्छ । तर विदेशमा जीवन शुरू गर्नु सजिलो हुँदैन । भाषा नयाँ हुन्छ, संस्कृति नयाँ हुन्छ, समाज नयाँ हुन्छ । आफ्नोपनको अनुभूति कतै भेटिँदैन । बिहानदेखि रातिसम्मको कठिन परिश्रम, परिवारको जिम्मेवारी, आर्थिक दबाब र मातृभूमिको सम्झनाबीच उनीहरू दिन बिताइरहेका हुन्छन् ।
डायस्पोरा केवल विदेशमा बस्ने नेपालीहरूको कथा होइन । यो त्यागको कथा हो, संघर्षको कथा हो, सम्झनाको कथा हो र घर फर्किने अनन्त आकाङ्क्षाको कथा हो । केही मानिसहरू जीवनभर विदेशमै बस्छन्, केही अन्तिम समय आफ्नै माटोमा बिताउन फर्किन्छन् । तर उनीहरू जहाँ भए पनि एउटा सत्य कहिल्यै बदलिँदैन—जन्मभूमिबाट टाढा बस्न सकिन्छ, तर जन्मभूमिलाई मनबाट टाढा राख्न सकिँदैन ।
प्रा. डा. गोविन्दराज भट्टराईको केही महिनाअघि निस्किएको उपन्यास ‘दोस्रो मुगलान’ले पनि सोही विषयवस्तुको उठान गरेको थियो । विदेशिएका नेपालीहरूको कमाइ मात्र देखिन्छ तर उनीहरूको मजबुरी र विडम्बनालाई समाजले बुझेको हुँदैन । त्यही विषयको उठान कथाकारले मार्मिक ढङ्गले प्रस्तुत गरेका छन् र ती सबै विदेशिएका नेपाली मनलाई न्याय गरेका छन् ।
‘साहित्य सँगालो’ वेबपत्रिकाका प्रधान सम्पादक केदार सङ्केतका साहित्यिक कृतिहरूलाई केवल डायस्पोरा साहित्यको सीमाभित्र मात्र राखेर हेर्न मिल्दैन । उहाँका रचनामा प्रकृति, युद्ध, यात्रा, मानवता तथा राष्ट्रिय चेतनाजस्ता विविध विषयले पनि उत्तिकै स्थान पाएका छन् । तथापि, लामो समयदेखि प्रवासमा रहेर सिर्जना गरिएकाले उहाँका कृतिहरूमा प्रवासी जीवनका अनुभव, मातृभूमिप्रतिको आत्मीयता, आफ्नो पहिचानप्रतिको खोजी तथा सांस्कृतिक सम्बन्धको अनुभूति स्पष्ट रूपमा व्यक्त भएको पाइन्छ । यही कारणले समकालीन नेपाली डायस्पोरा साहित्यको अध्ययन गर्दा सङ्केतलाई महत्वपूर्ण स्रष्टाका रूपमा लिन सकिन्छ । विशेषगरी ‘एथेन्सको झरी’ जस्ता कृतिहरूले प्रवासी नेपालीहरूको जीवन, अनुभव र मनोभावलाई साहित्यिक रूपमा प्रभावकारी ढंगले प्रस्तुत गरेका छन् ।
सङ्केतको साहित्यिक यात्रा प्रेरणादायी देखिन्छ । जीवनको यो लामो सङ्घर्षका हरेक उकाली र ओरालीहरूलाई उनले कवितामा बुनेका छन्, नियात्रामा सँगालेका छन्, हाइकु र काव्यमा वर्णन गरेका छन् भने उपन्यास र कथामा पनि जीवनका केही पलहरूलाई पात्रमार्फत प्रदर्शनमा राखेका छन् ।
यस कथा सङ्ग्रहमा अर्का रमाइलो कुरा के भने, कथाकारले कथासँग मिल्ने चित्र (स्केचहरू) पनि राखेका छन् । चित्रकारिता प्रतिको आफ्नो रुचिलाई पनि साहित्यकार सङ्केतले यसरी थोरै भए पनि दर्शाएका छन् ।
समग्रमा भन्नुपर्दा अन्तिम साँझ कथा सङ्ग्रह पढ्न मज्जा आयो ।


