पोखरा । समुदायमा आधारित संरक्षण अवधारणाका प्रणेता स्वर्गीय डा. चन्द्रप्रसाद गुरुङको चर्चित कृति ‘Caring for the Annapurna’ को नेपाली अनुवाद ‘अन्नपूर्णको स्याहार’ पोखरामा सार्वजनिक गरिएको छ ।
विश्व वातावरण दिवसको अवसरमा पृथ्वी नारायण क्याम्पस परिसरस्थित अन्नपूर्ण सङ्ग्रहालयमा आयोजित समारोहबीच उक्त पुस्तक लोकार्पण गरिएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र व्यवस्थापन समन्वय समितिका अध्यक्ष तथा पूर्वसांसद मनबहादुर गुरुङ, मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङ, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा. रविन कडरिया, संरक्षणविद् डम्मरकुमारी गुरुङ तथा चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानकी अध्यक्ष शिखा गुरुङ खेतानले संयुक्त रूपमा कृति सार्वजनिक गर्नुभएकाे थियाे ।
सन् २००६ सेप्टेम्बर २३ मा ताप्लेजुङको घुन्सामा भएको हेलिकप्टर दुर्घटनामा ज्यान गुमाउनुभएकाे डा. गुरुङको यो कृति उहाँको निधनपछि फेला परेको पाण्डुलिपिमा आधारित रहेको जनाइएको छ । सोही दुर्घटनामा डा. हर्क गुरुङ, मिङ्मा नोर्बु शेर्पालगायतका संरक्षणविद्हरूले ज्यान गुमाउनुभएकाे थियाे ।
साहित्यकार तीर्थ गुरुङद्वारा अनुवादित उक्त कृति चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानले प्रकाशनमा ल्याएको हो । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आर्थिक सहयोगमा प्रकाशित पुस्तकले नेपालको संरक्षण इतिहास र डा. गुरुङको योगदानलाई व्यापक रूपमा परिचित गराउने लक्ष्य राखेको आयोजकले जनाएको छ ।
कार्यक्रममा बोल्दै पूर्वसांसद मनबहादुर गुरुङले अन्नपूर्ण संरक्षण क्षेत्र आदिवासी जनजाति, सीमान्तकृत समुदाय तथा राज्यको पहुँचभन्दा टाढा रहेका नागरिकहरूको बसोबास रहेको विशेष क्षेत्र भएकाले यसको महत्व अत्यधिक रहेको बताउनुभयाे । करिब चार दशकअघि सुरु गरिएको संरक्षण अभियानले प्रकृति, संस्कृति र कृषिको संरक्षणमा महत्वपूर्ण योगदान पुर्याएको उहाँको भनाइ थियो ।
मादी गाउँपालिकाका अध्यक्ष देवीजङ्ग गुरुङले डा. चन्द्र गुरुङको योगदानको चर्चा गर्दै नेपालको पर्यटन र संरक्षण क्षेत्रमा उहाँको भूमिका अतुलनीय भए पनि अझै पर्याप्त पहिचान हुन नसकेको बताउनुभयाे । उहाँले संरक्षण र पर्यटनमार्फत स्थानीय समुदायको जीवनस्तर उकास्न थप पहल आवश्यक रहेको धारणा व्यक्त गर्नुभयाे ।
चन्द्र गुरुङ संरक्षण प्रतिष्ठानका सचिव डा. रोशन शेरचनले डा. गुरुङको योगदान समेटिएको पुस्तक सार्वजनिक गर्न पाउँदा गौरव लागेको बताउनुभयाे । प्रतिष्ठानकी अध्यक्ष शिखा गुरुङ खेतानले नयाँ पुस्तासम्म डा. गुरुङको योगदान पुर्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जानकारी दिनुभयाे ।

