अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) को नवौँ विश्व सम्मेलन अमेरिकाको कोलोराडोमा सम्पन्न भयो । मे महिनाको २२ देखि २५ सम्म सञ्चालित सम्मेलनमा नेपाल, भारत, जापान, बेल्जियम, बेलायत, अष्ट्रेलिया, क्यानडा तथा अमेरिकाका विभिन्न शहरबाट साहित्यकारहरूको सहभागिता रहेको थियो ।
नौजना पूर्व केन्द्रीय अध्यक्षहरू होमनाथ सुवेदी, भीम रेग्मी, पुरु सुवेदी, प्राध्यापक मोहन सिटौला, ज्ञानेन्द्र गदाल, पदम विश्वकर्मा, राधेश्याम लेकाली, गोवर्धन पूजा र सर्वज्ञ वाग्ले एकै ठाउँमा जम्मा भएर सम्पन्न भएको यो नै प्रथम कार्यक्रम हो ।
अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्लेको अध्यक्षता र कोलोराडो च्याप्टरका अध्यक्ष किरण अधिकारीको संयोजकत्वमा कार्यक्रम सम्पन्न भयो । सम्मेलनका प्रमुख अतिथि साहित्यकार डा. नवराज लम्साल हुनुहुन्थ्यो । भारतको बालसाहित्यमा अकादेमी पुरस्कारजस्तो गरिमामय पुरस्कारबाट विभूषित मिना सुब्बा तथा मदन पुरस्कारबाट पुरस्कृत नीलम कार्की निहारिकाको उपस्थिति रहेको थियो ।
अष्ट्रेलिया महादेशबाट योगी आचार्य राजन, युरोपबाट साहित्यकार माया गुरुङ, एसियाबाट प्रा. डा. पुष्पा शर्मा तथा उत्तर अमेरिकाबाट शिव दाहाल र रेखा जोशीले अन्तरसंवादमा भाग लिनुभएको थियो । उक्त प्यानलले ‘विश्व साहित्यमा नेपाली बालसाहित्य र हाम्रो दायित्व’ विषयमा छलफल तथा परिचर्चा गरेको थियो ।
विश्वभरि छरिएर रहेका नेपाली मूलका दोस्रो र तेस्रो पुस्तालाई कसरी नेपाली भाषा, साहित्य, संस्कृति र सम्पदासँग जोड्न सकिन्छ भन्ने विषयमा गहन विमर्श भयो । बालबालिकाहरूलाई मात्र नभई अभिभावकहरूमा समेत नयाँ प्रविधिको अधिक प्रयोग तथा लागूपदार्थको असर परेकाले अधिकतम समय खेलकुद, योग, ध्यान तथा रचनात्मक कार्यमा लगाउने र अन्य सिर्जनात्मक काममा संलग्न गराउनुपर्ने कुरा आचार्य राजन शर्माले राख्नुभएको थियो ।
योगी आचार्य राजनले फिजीमा रहेका नेपाली मूलका मानिसहरूले भाषा, साहित्य र संस्कृति हराइसकेको अवस्था रहेको बताउँदै त्यहाँ नेपाली पाठशाला खोलेर भाषा सिकाउन थालिएको जानकारी पनि दिनुभयो ।
प्रा. डा. पुष्पा शर्माले संयुक्त परिवारमा रहेका बालबालिकाहरूले भाषा, साहित्य र संस्कृति सहज तरिकाले सिक्ने गरेका उदाहरणहरू प्रस्तुत गर्नुभयो ।
बालबालिकाहरूलाई विभिन्न कार्यक्रममा जोडेर लैजाने हो भने भाषा सिक्न सक्ने बताउँदै माया गुरुङले आफ्ना अनुभवहरू प्रस्तुत गर्नुभयो ।
त्यस्तै, शिव दाहालले भाषालाई सिकाउन दबाब दिने होइन, यसको महत्व दर्शाएर सिकाउनुपर्छ भन्नुभयो । “नेपाली भाषा सिकाएनौँ भने भाषा लोप हुने होइन, हामी लोप हुनेछौँ,” भन्दै उहाँले विभिन्न उदाहरण प्रस्तुत गर्नुभयो । त्यसैगरी, रेखा जोशीले बालमनोविज्ञानमा कोभिड–१९ पछि देखिएका मानसिक तनाव र अभिभावकहरूले ध्यान दिनुपर्ने विषयमा धारणा राख्नुभयो ।
केन्द्रीय बाल समितिका संयोजक सुरेन उप्रेतीले सहजीकर्ताको भूमिका निर्वाह गर्नुभएको थियो । “दोस्रो र तेस्रो पुस्ताले भाषा, साहित्य र संस्कृतिको नेतृत्व नलिने हो भने हाम्रो पहिचान गुम्नेछ । हामी समुद्रमा हराएको जहाजजस्तै र लटाइबाट धागो चुडिएको चङ्गाजस्तै बन्नेछौँ ।”, यही कुरालाई मध्यनजर गरी संसारभरका बालबालिकालाई कविता वाचन तथा वक्तृत्वकला प्रतियोगिता गराउँदै आएको उहाँले बताउनुभयो ।
सबै महादेशका एक सय सत्तरीजना बालबालिकाहरूको कविता सङ्कलन गरी नौ देशमा कविता क्यालेन्डर वितरण गरिएको थियो । ‘धराका सितारा’ कविता सङ्ग्रह प्रकाशन गरिएको कुरा पनि जानकारी गराइयो । अष्ट्रेलिया र उत्तर अमेरिकाका ४० जना बालबालिकाहरूले युगकवि सिद्धिचरण विषयक वक्तृत्वकलामा भाग लिएर पुरस्कृत भएको जानकारी दिइयो ।
कार्यक्रममा नेपाली सञ्चारजगतमा लामो समय काम गर्नुभएका सञ्चारकर्मीहरू श्रीओम श्रेष्ठ रोदन, बबिता बस्नेत, नारायण श्रेष्ठ, सुधीर शर्मा, वसन्त बस्नेत, विपुल पोखरेल, दिनेश कार्की, ओम आचार्य, यशोदा तिम्सिना, टीकाराम यात्री, दीर्घराज उपाध्याय आदिको उपस्थिति रहेको थियो ।

