साहित्यपोस्ट-नपढी सुखै छैन...

अनेसासको ३५औँ स्थापना दिवसमा युरोपस्तरीय खुला कविता प्रतियोगिता

अनेसासको ३५औँ स्थापना दिवसमा युरोपस्तरीय खुला कविता प्रतियोगिता

काठमाडौँ। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को ३५औँ स्थापना दिवसको अवसरमा युरोपमा रहेका नेपाली साहित्यिक सर्जकहरूका लागि ‘युरोपस्तरीय खुला कविता प्रतियोगिता–२०२६’ आयोजना गरिने भएको छ।

“साहित्यको संरक्षण, प्रवासमा हाम्रो अभियान” भन्ने मूल नाराका साथ अनेसासका जर्मनी, फ्रान्स र पोल्याण्ड च्याप्टरहरूको संयुक्त आयोजनामा प्रतियोगिता हुन लागेको हो। प्रतियोगिताले युरोपवासी नेपाली सर्जकहरूको सिर्जनालाई अन्तर्राष्ट्रिय नेपाली साहित्यिक वृत्तमा चिनाउने उद्देश्य लिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार प्रतियोगिताका लागि कविता पठाउने अन्तिम मिति ३ फेब्रुअरी २०२६ तोकिएको छ। सहभागीले अधिकतम दुइ सय शब्दसम्मको कविता इमेल europpoem2026@gmail.com मा पठाउनुपर्नेछ। कवितासँगै सर्जकले हालसालै खिचिएको फोटो, ठेगाना तथा सम्पर्क नम्बरसमेत संलग्न गर्नुपर्ने व्यवस्था गरिएको छ।

अनेसास जर्मनी च्याप्टरकी अध्यक्ष सुजाता घिमिरे राउतका अनुसार युरोपमा रहेका नेपाली सर्जकहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। यस्तै, अनेसास पोल्याण्ड च्याप्टरकी अध्यक्ष सुसन बर्देवाले संस्थाको स्थापना दिवसलाई फरक ढंगले मनाउने सोचका साथ कविता प्रतियोगिता आयोजना गरिएको बताउनुभयो।

युरोप क्षेत्रमा रहनुभएका सम्पूर्ण नेपाली साहित्यिक सर्जकहरूलाई यस प्रतियोगितामा सहभागिताका लागि आयोजक संस्थाले आह्वान गरेको छ।

ट्याग: अनेसास
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.