साहित्यपोस्ट डट कम

अनेसास जापानको ८३औँ साहित्य शृङ्खला सम्पन्न

अनेसास जापानको ८३औँ साहित्य शृङ्खला सम्पन्न

टोकियो । अनेसास जापानले टोकियोको सिनओकुबोमा विशेष साहित्यिक कार्यक्रम आयोजना गर्दै आफ्नो ८३औँ नियमित साहित्य शृङ्खला सम्पन्न गरेको छ ।

कार्यक्रममा कवि तथा अनेसास हवाई च्याप्टरकी अध्यक्ष अमृता स्मृतिसँग अन्तर्क्रियात्मक सत्र तथा खुला रचना वाचन कार्यक्रम आयोजना गरिएको थियो ।

संस्थाकी उपाध्यक्ष दीपा घिमिरेको अध्यक्षता तथा एनआरएनए जापानका अध्यक्ष सुभाष लामिछानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा अनेसास जापानका संस्थापक अध्यक्ष डा. कुमार बस्नेत, बिओटी उपसभापति विष्णु प्रसाद घिमिरे तथा पूर्वअध्यक्षहरू दीप पाठक र अरुण पौडेल विशेष अतिथिका रूपमा सहभागी हुनुहुन्थ्याे ।

कार्यक्रमको सुरुवात संस्थाका सदस्य विश्वबन्धु भण्डारीको स्वागत मन्तव्यबाट भएको थियो । त्यसपछि आयोजित अन्तर्क्रियात्मक सत्रमा उपाध्यक्ष शरद पोख्रेलले सहजीकरण गर्नुभएकाे थियाे । सो अवसरमा अमृता स्मृतिले करिब एक दर्जन कविता वाचन गर्दै समसामयिक साहित्यिक विषयमा आफ्ना धारणा प्रस्तुत गर्नुभयाे । उहाँले जापानमा हुने नेपाली भाषा तथा साहित्यसम्बन्धी गतिविधिको प्रशंसा गर्दै यसको विकासमा जापानवासी नेपालीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्नुभयाे ।

कार्यक्रममा सुभाष लामिछाने, डा. कुमार बस्नेत, विष्णु प्रसाद घिमिरे, हारूहितो नोजू, अर्जुन लामिछाने, रामकृष्ण बम मल्ल, समुद्रराज पौडेल र कामना भण्डारीलगायतले मन्तव्य व्यक्त गर्दै अनेसास जापानको साहित्यिक सक्रियताको प्रशंसा गर्नुभएकाे थियाे ।

दोस्रो सत्रअन्तर्गतको खुला रचना वाचन कार्यक्रममा दीप पाठक, अरुण पौडेल, सुजन बैरागी, सुजता शर्मा, मीनराज बास्तोला, हेमन्त गिरी, सविना रेग्मी, लक्ष्मी पौडेल, लक्ष्मण भन्तना ‘शिरीष’, हरिविनोद अधिकारी, मनिषा सुबेदी, संगीता कुँवर, यमलाल कँडेल र विश्वबन्धु भण्डारीलगायत स्रष्टाहरूले आफ्ना रचना प्रस्तुत गर्नुभएकाे थियाे ।

भगवती क्षेत्रीको संयोजकत्वमा सम्पन्न कार्यक्रम महासचिव मनोज मौसम केसीले सञ्चालन गर्नुभएकाे थियाे । कार्यक्रमको अन्त्यमा कवि अमृता स्मृतिलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा टोकियो आसपासबाट ७० भन्दा बढी साहित्यप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.