साहित्यपोस्ट डट कम

आनन्दआश्रममा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न

आनन्दआश्रममा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न

स्याङ्जा । आनन्दआश्रम, आँधीखोला–६ फापरथुम (स्याङ्जा) मा साहित्यिक तथा वैचारिक गोष्ठी सम्पन्न भएको छ। आनन्दआश्रम ज्ञान केन्द्रको आयोजनामा सम्पन्न उक्त कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष टिकाराम ढकालले गर्नुभएको थियो।

कार्यक्रममा उपस्थित प्रमुख अतिथि, अतिथि तथा सहभागीहरूलाई संस्थाका सदस्य हिमलाल पुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो। समारोहमा संस्थाका उपसचिव खेमनारायण लामिछानेले गजल तथा कविता वाचन गर्नुभएको थियो भने हिमलाल पुरी र त्रिलोचन ढकालले आनन्दआश्रमका गतिविधिबारे चर्चा गर्दै आफ्ना कविताहरू प्रस्तुत गर्नुभएको थियो।

यसैगरी, बयोवृद्ध समाजसेवी तथा साहित्यप्रेमी जगन्नाथ सापकोटा र शेरबहादुर शाहीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। विद्यार्थी रिदम ढकालले ब्रह्माण्डमा पृथ्वी तथा ग्रहहरूको उत्पत्तिसम्बन्धी विषयमा प्रकाश पार्नुभएको थियो।

कार्यक्रममा विगत तीन वर्षदेखि स्रष्टाहरूले आफ्ना रचना वाचन गर्दै आएको र तिनमाथि सामान्य समीक्षा हुने गरेको जानकारी दिँदै अब रचनालाई थप गुणस्तरीय बनाउने उद्देश्यले योजनाबद्ध रूपमा कार्यक्रम सञ्चालन गरिने आयोजकले जनाएको छ। आगामी २०८३ वैशाखदेखि कविता, गजल तथा लघुकथा लेखनसम्बन्धी प्रशिक्षणात्मक छलफल सञ्चालन गरिने बताइएको छ। ‘कविता कसरी लेख्ने?’ विषयमा त्रिविका सहप्राध्यापक तथा संस्थाका सदस्य हिमलाल पुरीले विषयवस्तु तयारी गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रमको समापन गर्दै सभापति टिकाराम ढकालले आनन्दआश्रमले साहित्यिक तथा बौद्धिक विकासका गतिविधिलाई निरन्तरता दिँदै ज्येष्ठ नागरिक आवाससम्बन्धी विषयमा समेत ध्यान दिनुपर्ने आवश्यकता औँल्याउनुभयो। कार्यक्रमको सहजीकरण संस्थाका उपसचिव ख्यामनारायण लामिछानेले गर्नुभएको थियो। साथै आगामी कार्यक्रम चैत्र २१ गते, चैत्र महिनाको तेस्रो शनिबार आयोजना हुने जानकारी समेत गराइएको थियो।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.