गत १८ जनवरीमा सिद्धार्थ कला दीर्घामा नवयुवा कलाकार सम्राट जोशीका भावनात्मक कलाहरू प्रदर्शनमा आए । उनको यो एकल कला प्रदर्शनी आगामी फेब्रुअरीको १८ सम्म चल्नेछ । एन अड टु द भेली नामक यो कला प्रदर्शनीमा चित्रहरू चाहिँ आकारमा स–साना छन् । तथापि रमाइला र घतलाग्दा छन् । अनौठो संरचनामा हुँदा पनि यी चित्रहरूले कला कै क्षेत्रमा पनि अलग्गै बिम्बलाई खडा गरेको देखिन्छ । अझ नौलो ढङ्गबाट बनेका यी मूर्तिनुमा चित्रहरूले लोप हुँदै गएको सम्पदालाई सम्बोधन गरेको देखिन्छ । यति मात्र नभएर पुराना सम्पदा नाश हुँदै वा गर्दै गइरहेको सन्देश त दिन्छ नै यसको संरक्षण गर्ने गराउने आवाज पनि उनको कलाले बोकेको देखिन्छ । यसो हुँदा पनि यी कलाहरू अझ महत्त्वपूर्ण रूपमा दृष्टिगोचर भएको देखिन्छ । इँटाहरू अनि इँटाबाट बनेका शहर अनि सामूहिक श्रम आदि इत्यादिका आइडियाहरू उनका कलामा घुस्नु पनि यी कलाहरूको अर्को रहरलाग्दो पक्ष हो । कला–सम्पदामाथि कलाकारको चासो र चिन्ता पनि प्रदर्शनमा आएको सन्दर्भ चाहिँ अझ गजबले देखा परेको छ ।
यसर्थ कलाहरू अर्थपूर्ण थिए । अझ भन्नै पर्दा उनका चित्रहरूले विशेष कथा बोकेका हुँदा पनि आम भावकको लागि यी चित्रहरू रोचक बन्न गएको थियो । हरेकजसो भावकहरूलाई उनी आफ्नो कला बारे व्याख्या गर्दै गर्दा शुरूआती चित्रदेखि नै अर्थ बताउँदै आउँथे । यो एउटा रमाइलो प्रक्रियाले उनका हरेकजसो चित्रहरू जोडिएर देखा पर्ने गर्दथ्यो । यसैले गर्दा पनि सबैजसो कलाहरू थप आकर्षक बनेका हुन् ।
उनको कलामा, उनी आफैँको व्यक्ति विशेषको भावना, समाजको अनि सम्पूर्ण राष्ट्रको भावना यसैमा सङ्गालिए देखा पर्ने गर्दथ्यो । यसो हुँदा पनि यी चित्रहरू उनैले बच्चादेखि देख्दै–भोग्दै आएको यथार्थभन्दा पर थिएन । अर्कोतर्फ सदियौँदेखि चली आएका हाम्रो आफ्नै परम्परागत लोकोक्ति पनि यही कलाभित्र समाहित थियो । लोकोक्ति, धर्म–गाथा वा दन्त्यकथामा उनको बढी रुचि हुनु पनि केटाकेटीदेखि नै अनवरत रूपमा उनीसँगै बस्दै आएको अनुभव हो । अनि यसैमा थाहा पाएर नपाएर अनुसरण हुँदै गर्दै आएको अवस्थाले पनि यो परम्परामाथि उनको आस्था बन्न गएको देखिन्छ । आज पनि दिनरात नभनी समुदायका बुढाबुढी, युवा पुरुष महिला केटाकेटी सबैजसोले जात्रा मनाइरहेको देखिन्छन् । यी आदि अवयवहरू उनको मानसपटलमा अहिले पनि ताजा नै छ । यसर्थ पनि परम्परागत बाजागाजाका साथ उहिलेका चालचलनलाई सम्हालिरहेका परिदृश्यले पनि उनलाई भित्रैबाट समाएको हुन सक्छ । यसैको प्रतिबिम्बलाई सग्लो रूपमा उठाउन उनका कलाहरू लागि परेको देखिन्छ ।
साँचिकै उहिले भन्ने गरेका काँचो इँटाहरू पर्खाल बनेर कलाको पृष्ठभूमिमा बसेर दिनुले पनि यसलाई चरितार्थ गर्दछ । यस्तै गरी परम्परागत न्यारेटिभ आर्टको कलागत संयोजनलाई पनि उनले गजबले फलो गरेका छन् । अनि उहिलेका कथालाई भनिवस्ने चलनलाई पनि उनको कलाले समातेको देखिन्छ । अझ बुवा पनि नाम चलेको पौभा चित्रकार हुँदा पनि उनका कैयौँ चित्रहरू त पौभा कला कै एउटा भागजस्तो भएर पनि देखा परेको छ । उनका कलामा यस्तायस्तै दरिलो पृष्ठभूमि जोडिएकोले गर्दा पनि यो उनको कला स्वयंमा थप आकर्षण बन्न गएको थियो ।
लोकोक्तिमा जीवन बाँचेको हाम्रो तरिका
लोकोक्ति, धर्म–गाथा हामीमा, हाम्रो दिनचर्यामा एउटा अभिन्न अङ्ग भएर गाँसिने परम्परा छ । हामीकहाँ देवी–देवताका मूर्ति, चित्र बनाउने गरेको परम्परा छ । कलाकारले सिर्जना गर्दै गर्दा यो मात्र कला बने पनि यसैलाई विधिवत् जगाएपछि यही कला नै साक्षात् भगवान् बन्छ । यसरी धर्मसँग कला गाँसिने गर्विलो परम्परा पनि हामीसँग छ । अझ विशेष गरेर वास्तुकला अनि यसैभित्र बनाइएका भित्तेचित्र, मठ–मन्दिर आदि समुदायको संलग्नतामा निरन्तर बन्दै आएको देखिन्छ । अझ भक्तपुरमा त नेपाली कला–संस्कृति र परम्परालाई जात्रा र चाडपर्वले यसरी दिनचर्यामा बाँधेको छ । आज पनि आम मान्छेको दैनिकी आधुनिक हुँदै गर्दा पनि परम्परासँग ठोकिँदै अगाडि बढेको देखिन्छ ।
यसको प्रभाव आजको आधुनिक कलामा पनि पर्ने स्वाभाविक नै हो ।
यसैको प्रभाव सम्राटमा पनि परेको देखिन्छ । किनकि उनका पुर्ख्यौली घर पनि भक्तपुर नै हो । उनका बाजे–बराजुको त थातथलो नै भक्तपुर हो । यसर्थ पनि यस्तो संस्कार उनीमा पनि आएको देखिन्छ । अझ उनका बाजे ज्योतिष अनि बुवा चाहिँ नाम कहलिएको पौभा चित्रकार हुँदा पनि कला, धर्म, संस्कृति अनि परम्परा उनको कलामा जोडिनु नौलो पनि भएन । उनका पुर्खाहरू तलेजु भवानीको पुजारी हुनुले पनि देवी–देवता अनि धार्मिक परम्परालाई उनले गहिरो गरी अनुभव गरे । यसकारण पनि आफ्नै परम्परा आफ्नै गौरवमयी इतिहासलाई आफ्ना क्यानभासमा पुनर्मुद्रण हुनु, गर्नु नै यी कलाहरूको मूल विशेषता पनि बन्न पुग्यो । यी आदि इत्यादि उनका कलामा समावेश हुँदा, गरिँदा पनि यो आफैँमा अलौकिक देखिन पुगेको हो ।
वास्तुकला यसैमा बचाउन नसकिएका कैयौँ भित्तेचित्र देख्दै गर्दा टुटी–फुटिसकेको एउटा भित्तेचित्रको सानो भागलाई उनले जतन गरी आफैँसँग राख्छन् । यसको परम्परागत विषय, यसको प्राकृतिक रङहरू आदि इत्यादिमा उनको चाख बढ्दै गएपछि यही भित्तेचित्रको टुक्रासँग उनको मोह बस्यो । अनि यही नै उनको कलाको प्रेरणाको स्रोत पनि बन्यो । यसो हुँदा पनि उनका कलाहरू रङको हिसाबमा फुङ्ग उडेका देखिन्छन् । अनि कला जताततै भित्तेचित्रको रूपमा उदाएको देखिन्छ ।
यस्ता पुराना कलाको अङ्कन पद्धतिमा उनी यति मात्रमा प्रभावमा परे । उनले विषयमा मात्र होइन कला सिर्जनाको प्रक्रियामा समेत परम्परालाई सापटी लिएका देखिन्छन् । यसो हुँदा उनका आजका नितान्त नवीन कलागत एप्रोच परम्परासँग एकदमै नजिकबाट जोडिएको देखिन्छ । अझ उनी काँचो इँटाहरूले बनेको घर अनि यसैमाथि लिपपोत गरी बनेको आ–आफ्नै ढङ्गमा लोककलाहरूमा यतिविघ्न प्रभावित भए । उनको चित्र संरचना पनि यस्तै ससाना माटोबाटै बनेका इँटाका टुक्राहरू प्रशस्तै देखिन्छन् । अनि यसैमाथि लेपन गरी भित्तेचित्र बनाएझैँ परम्परागत मोटिफहरूलाई चित्रण गरेको देखिन्छ । चित्रमा कतै देवी–देवताका मुकुण्ड, परम्परागत बादलका घुमाउरो रूपहरू, पानीका परम्परागत लहरहरू उनका कलामा नबिर्सी बसेका देखिन्छन् । यसर्थ उनका कलालाई झट्ट अवलोकन गर्दा परम्परागत कला आधुनिक फर्ममा देखिन्छन् । यही नै उनको मूल कलागत विशेषता पनि हो ।
लोकगाथामा कला
पुरानो लोकोक्तिअनुसार उपत्यकालाई ढाकी बसेको सुन्दर दह थियो । मुनि पानी नै पानी हुँदा वरिपरिका डाँडाहरूमा आम मान्छेको बसोवास थिए रे । धार्मिक ग्रन्थ अनुसार अनि यही दहको बीचोबीच औधि आकर्षक कमलको फूल फुलेको थियो रे । धर्मगाथा अनुसार यही कमलको फूल आफैँ पनि बौद्धिष्ट परम्पराको प्रतीकात्मक बिम्ब पनि हो । अनि यही दहमाथिको कमलको फूल आध्यात्मिक, धर्मस्थलको रूपमा पनि थियो भन्ने गरिन्छ । जहाँ श्रद्धा–भक्ति चढाउन बुद्ध अनि उनका अनुयायीहरू पनि यहाँ आउँथे भन्ने विश्वास गरिन्छ ।
यही धर्मगाथा नै कलाकार सम्राटको थप आधारभूमि थियो । उनी अलि सानै उमेरका भए पनि उनको श्रद्धा बौद्ध दर्शनमा हुँदा पनि बौद्ध लोकगाथाले उनको कलालाई समाएको देखिन्छ । उहिलेदेखि विकास हुँदै आएको क्रमलाई खोजी गर्ने अनि यसलाई अर्को इतिहास बनाउने, कलागत अभिलेखन राख्ने क्रममा यो उनका कलाको विकास भएको थियो । यसर्थ पनि यही कमलको फूल नै उनको कलाको शुभारम्भ बन्न पुगेको देखिन्छ ।
पुरानो लोकोक्ति अनुसार कमलको फूल आफैँमा प्युोरिटीको द्योतक पनि हो । अनि अनन्त गहिराइबाट अज्ञानतामाथि ज्ञान, बुद्धि–विवेकको प्रक्रियामा समावेश हुँदै प्रबोधनको (ज्ञानोदय) गन्तव्यमा पुग्न यसले मद्दत गर्दछ । बौद्ध दर्शनको यही गहिरो अर्थ कतै न कतै कमलको फूलसँग गाँसिएको देखिन्छ । हुन त कमलको फूल हरेक धर्मको केन्द्रबिन्दुमै रहेको देखिन्छ । अनि लोककला देखि परम्परागत कलामा पनि कमलको फूल सदैव महत्वका साथ बसेका देखिन्छन् । देवी–देवताका आसनमा अनि आयुधको रूपमा पनि यही कमल फूलले शोभा बढाइरहेको देखिन्छ । यसरी कमलको फूललाई धर्मशास्त्रीहरूले एक अलग्ग अर्थ र महत्त्वका साथ उठाएको देखिन्छ । यस अर्थले पनि कमलको फूल उनको कलामा पनि नजिकबाट अटाएको देखिन्छ ।
यसकारण पनि उनका कला मात्र आनन्द हुनु भन्दा धेरै माथि उठेर धेरै कुराहरूको सन्देश दिन पनि लालायित बनेको देखिन्छ । आफ्नो मौलिक परम्परालाई माया र चासो गर्ने एउटा कलाकारका यी कलाहरू साँच्चै राम्रा अनि अब्बल हुन पुगेको देखिन्छ । उनको अलि अचम्म लाग्दो कला त थिए नै । अझ केही भन्न खोजिरहेका स–साना आकृतिहरू चित्रपटमा चलमलाइरहेका देखिन्थे । नितान्त नेपाली परम्परागत अङ्कन पद्धतिले कला सिर्जना हुँदा पनि यो हाम्रो आफ्नै हो भन्ने चाहिँ यथेष्ट बोध हुन्छ । यसो हुँदा पनि भावकहरू यसलाई घोरिएर अवलोकन गर्दै गरेका देखिन्थे ।
अब अलिकता कलाको कुराहरू
नवयुवा कलाकार सम्राट जोशीको यो एकल कला प्रदर्शनी मूलतः काठमाडौं उपत्यका को एउटा गहन कवितात्मक प्रस्तुति हो । भावनात्मक कविता भए पनि मूलतः यसले उपत्यका फारम र नेपालको गौरवमयी गाथालाई क्रमबद्धताका हिसाबले प्रस्तुत गरेका छन् । बोधिसत्त्व मञ्जु श्रीले चोभारको डाँडा खड्गले काटेर उपत्यकामा जम्मा भएको पानी बाहिर फालेपछि मानवको वस्ती बसेको थियो । अनि यही मानव–वस्तीको विकासको क्रमबद्धतालाई उनले चित्रहरू मार्फत प्रस्तुत गरेका छन् । यसकारण पनि उनका कैयौँ चित्रहरू पानीमा गोता खाँदै जीवन निर्वाहको क्रमलाई बढाइरहेको पनि देखिन्छ । यति नै बेला मडारिएको बादलका डफ्फाहरू पनि गतिका साथ देखा पर्दछन् । यी चित्रहरू नितान्त पौभा कलाको शैलीमा देखा परेको छ ।
यसर्थ पनि धेरै चित्रमा घर बनाइरहेका ज्यामीहरू बढो मिहिनेतका साथ सम्लग्न भएका देखिन्छन् । उहिलेका नेपाल एक्लैले बनेनन् होला भन्ने उनको ठम्याइ हो । एक अर्कासँग सद्भाव अनि एक अर्कालाई सहयोग गर्न सदैव तत्पर रहँदा पनि यो सुन्दर नगरी बनेको उनको परिकल्पना छ । यसकारण पनि उनका चित्रहरूले यसैको प्रतिबिम्बलाई स्थापित गर्न कोसिस गरेको देखिन्छ । काम गर्दा गर्दा पनि रमाइलो गरी मिलि मिलि हाँसी–ठट्टाका साथ काम गरिरहेका देखिन्छन् । उनका यी चित्रहरूमा एकमाथि अर्को हुँदै बनेका पिरामिड अनि तल–माथि उल्टो–सुल्टो बनेका काममा दत्तचित्त भई सम्लग्न भएका अनगिन्ती चित्रहरू देखिन्छन् । हरेक चित्रहरू एउटा घटना अनि घटनाहरू मिल्दै गएपछि यसले सिङ्गो कथा जन्म दिएको छ । जसलाई कलाकारले कविताको रूपमा प्रस्तुत गरेका छन् । कविता चाहिँ अक्षरमा छैनन् । माटोबाट बनेका ससाना इँटाहरू अनि माटाका प्लेटहरूमा बनेका आकारमूलक चित्रहरूले यसो भन्न भूमिका खेलेका छन् । यो अनौठो कलागत प्रस्तुति आज देखिँदै गर्दा सर्वनविन कलाको स्वरूप जस्तो पनि देखिन्छ ।
उनले कलालाई विभिन्न सिरीजमा ढालेर प्रस्तुत गरेका छन् । कमल, ज्योतिरुप, मञ्जुश्री, वाटर प्ले जमिन, प्लेफुल विल्डसर्, मेकिङ्ग अफ द भेली, नेवा आर्किटेक्चर आदि । यसबाहेक चेपु, हरी हरी हरी, चन्द्र–सूर्य, पखा, स्वयम्भु आदि चाहिँ एक्लै–एक्लै देखिएका छन् । सबैभन्दा घतलाग्दो पक्ष भनेको चाहिँ उनको कलागत संरचना हो । उनका कलामा मूर्त–अमूर्तता दुवै पक्षले ठाँउ पाएको देखिन्छ । अझ चाखलाग्दो संयोजनमा नेपाली परम्परागत टेक्चरहरू बु्ट्टा बनेर फेन्टासीको सुगन्धका साथ उनका कलामा ओर्लन पुगेका छन् । यसरी कलामा नेपालीपन ल्याउनु अझ घतलाग्दो संरचनाको रूपमा देखिन्छ ।
अर्को चाखलाग्दो कुरा चाहिँ माध्यम पनि हो । अरूभन्दा अलग्ग हुन खोज्दा उनी माटोसँग पनि खेल्छन् । मूर्तिको रूपमा इँटाहरू देखिन्छन् अनि माटोको लेपनमाथि मधुरो धमिलो रङले चित्र पनि बनाउँछन् । यसर्थ पनि यस्ता कलालाई हिजोआज ‘काम’ भन्ने चलन छ । धमिलो हुनुको अर्थ चाहिँ उहिले पहिले बनेका भित्तेचित्रहरू आज खुइलेर धमिलो देखिने सन्दर्भमा उदाएका देखिन्छन् । अर्थात् यसैको प्रत्याभूति दिन पनि उनले यस्ता रङहरू छानेका हुन् । अर्को रमाइलो सन्दर्भमा उनी नेचुरल पिग्मेन्ट अर्थात् प्राकृतिक रङ प्रयोग गर्दछन् । यसो हुनुले गर्दा पनि उनको आफ्नै मौलिकतामा दह्रो गरी जरा गाडेको महसूस हुन्छ ।
उनको एउटा चित्र छ जस्मा इँटाहरू अमूर्ततामा गोलाकार देखिन्छन् । अनि यसकै बीचोबीच भागमा रसिलो माटो सेतो गोलाकारको रूपमा देखिन्छ । कमलको फूलको प्रतिबिम्ब बनेको यो उनको कला अमूर्त हुँदै पनि मूर्त छ । अर्कोमा इँटाको सानो पर्खालमाथि अलिकता माटोको लेपन अनि यसैमाथि कमलको फूल अनौठो प्रकारले अंकित छ । जलको प्रतिबिम्बको रूपमा अनेक लहरहरू कुदेका देखिन्छन् । अनि बादलका परम्परागत ढफ्फाहरू पनि मडारिएर बसेका देखिन्छन् । अर्को चाहिँ इँटाको पर्खालमाथि माटोको लेपन अनि यसैभित्र अनेक आकृतिहरू कमलका फूलसहित श्वैर–काल्पनिकतामा रमाएका देखिन्छन् । अर्को छ यस्तै इँटाको पर्खालमाथि माटोको लेपनमा रंगीविरंगी कमलका पखेटाहरू फैलिएका छन् । नितान्त अमूर्त पारामा । यी यस्तै कमल सिरीजका कामहरू हुन् ।
‘मेकिङ्ग अफ द भेली’ सिरीजमा इँटाका पर्खालमाथि अनौठो प्रकारले घर बनाउँदै गरेको परिदृश्य देखिन्छ । अस्वाभाविक अनि आधुनिक तौर–तरीका अपनाउँदा पनि अलिकता लोककलाको भनक पनि उनका कलामा देख्न सकिन्छ ।
कतै नाचेको, उफ्रेकुदेको अनि जिम्नास्टिक गरेको जस्तो पारामा भएको यो उनको कलागत संरचनाले एउटा अनौठो स्वाद पनि दिएको देखिन्छ । एउटा कलामा मात्र इँटाका पर्खालहरू उभिएका देखिन्छन् । पाँच तहमा विभाजित यी पर्खालहरू सबैजसो पूरा नभएको वा बनाउँदा बनाउँदै भत्किएका देखिन्छन् । कतै पहाडै–पहाड बन्ने गर्दा पनि बीचमा बनेको पोखरी इँटाले बनाएको देखिन्छ । इँटा यसरी सर्वत्र फैलनु वा इँटालाई नै मुख्य पात्र बनाएर चारैतिर उभ्याउनु पनि उनको अनौठो कलागत संरचना देखिन्छ । अर्को तर्फ इँटाहरूलाई मात्र प्रदर्शनमा राखिएका छन् । अर्को तर्फ टुक्रिएको पर्खाल अनि पर्खालमा टाँसिएका भित्तेचित्रलाई समेत अलग्ग प्रदर्शनमा राखिएका छन् । जस्तो कि यी पुराना भित्तेचित्रहरू पर्खालमा वा भित्तामा विग्रँदै–भत्कँदै गर्दा पनि बेवास्ता गरिएको छैन भन्ने पनि यसले भान गराउँछ । यसतायस्तै सर्वत्र इँटाइताले नै घेरेका उनका चित्रहरू मूलतः वास्तुकलाको एउटा रूप अनि भित्तेचित्रको अर्को रूप देखापर्नुले पनि समग्रमा उनका कलाहरूले एउटा अलग्गै आयाम खडा गरेको छ ।

