साहित्यपोस्ट डट कम

अमूर्त चित्रहरूको मेला

अमूर्त चित्रहरूको मेला

गत अप्रिलको २ मा तारागाउँ म्युजियममा मात्र नेपाली अमूर्त चित्रकलाहरूको प्रदर्शन भयो । विशेष योजनाबद्ध रूपमा भएको कला प्रदर्शनीमा काममा सक्रिय भइरहेका नेपाली कलाकारहरूकै कामहरू मात्र समावेश गरिएको थियो । सन् साठीमा नेपालमा आधुनिक कलाको शुभारम्भ भयो । यसै वेला देखि अमूर्त कलाको पनि शुरू भएको इतिहास छ । यसै वेला देखा परेका चार जना कलाकारहरू उर्मिला उपाध्याय गर्ग, लैंनसिह वाङ्देल, उत्तम नेपाली अनि लक्ष्मण श्रेष्ठ थिए । यी चार जनाका कलाहरू भने यो कला प्रदर्शनी मा समावेश भएको देखिँदैन । उर्मिला उपाध्याय अहिले कला सिर्जनामा सक्रिय छैनन् । उनले चित्रकला बनाउन छोडेको वर्षौं भइसक्यो । लक्ष्मण श्रेष्ठ भारतमै बस्दै आएका छन् । यसैले पनि हुन सक्छ यी कलाकारका कलाहरू सम्भवतः प्राप्त हुन सकेन । लैनसिह वाङ्देल अनि उत्तम नेपाली दुवै दिवङ्गत भइसके । दिवङ्गत भइसकेका कलाकारहरूको कला नराख्ने योजना भएको गर्दा पनि यी कलाकारहरूको कला यहाँ देखिँदैन ।

यसपछिका कलाकारका सबैजसोका प्रतिनिधि कलाहरूलाई यो कला प्रदर्शनीमा समेटिएको छ । यसकारण पनि शुभारम्भ देखि आजको दिनसम्मका नेपाली अमूर्त चित्रकलाहरूलाई यो कला प्रदर्शनी मा देख्न सकिन्छ । यसो हुँदा पनि यो ऐतिहासिक नेपाली अमूर्त चित्रकलाको आरोह अवरोहलाई अनेक स्वरूपमा महसूस गर्न सकिन्छ । वस्तु वा प्रकृतिको विरूपणलाई सम्हाल्दै आएका यस्ता चित्रहरूले कसरी पूर्ण अमूर्ततालाई अङ्गाल्न पुगेका छन् । यसलाई प्रतिबिम्बको रूपमा यो कला प्रदर्शनीमा हेर्न सकिन्छ । अर्को महत्त्वपूर्ण कुरा सम्भवतः यो नेपाली कला इतिहासमा मै पहिलो सामूहिक अमूर्त चित्रकला प्रदर्शनीको थियो । यसरी अमूर्त चित्रकलालाई मात्र यो भन्दा पहिले यसरी हेर्न खोजिएको पनि थिएन । यो एउटा नौलो स्वादलाई भावकले यहाँ रसास्वादन गर्न सक्दछन् ।

यो कला प्रदर्शनीका क्यूरेटर चाहिँ कलाकार रोषण मिश्र हुन् । २६ जना अमूर्त चित्रकारहरू समावेश भएको यो कला प्रदर्शनीमा निरन्तर यस्तै प्रवृत्तिमा कला बनाइराख्ने कलाकारहरूलाई मात्र समावेश गर्ने लक्ष राखिएको हुँदा पनि यो प्रदर्शनी अझ रोचक वनेको देखिन्छ । जसले गर्दा यो कला प्रदर्शनी यूनिक मात्र देखा परेको छैन । कला प्रदर्शनी स्वयंको नयाँ रूप देखा परेको छ । विषयवस्तु, कलर स्किम अनि संयोजनको सन्दर्भमा पनि पुराना र अहिले देखा परेका अमूर्त कलाहरू नितान्त फरक देखिन्छन् । उहिले पहिलेका अमूर्त कलाकारले आकारलाई भाँच्ने वा यसको आन्तरिक तत्त्वलाई समात्ने प्रयत्न गर्दथे । आज अमूर्तता माथि सग्लो आकारलाई बिछ्याउने उपक्रम गर्ने गरेको देखिन्छ । पहिले एस्थेटिक्सलाई प्राथमिकतामा राखी सौन्दर्यलाई प्रस्तुत गर्ने गर्दथे । अहिले चाहिँ समसामयिक विचार र अवधारणाहरूलाई अमूर्तताभित्र घुसाउने प्रयत्न गरेको देखिन्छ । झट्ट बाहिरी आँखाले हेर्दा एकै जसो देखिएता पनि उहिलेका यस्ता चित्रहरू कोठाभित्र बसेर बनाउँथे । कल्पनामा रङहरू खेलाउँथे । आज चाहिँ समाजसँग नजिक हुन खोज्दै सामाजिक मुद्दाहरूमा, आकारहरू अमूर्ततामा खेल्ने प्रयास गर्दछन् ।

सामान्यतया आकर विहीनता नै अमूर्तताको परिभाषा हो । अर्थात् आकार भए पनि पहिचान नभएका, अर्थ नखुल्ने यसको स्वभाव हुन्छ । सन् १९१०मा यूरोपको पेरिसमा कान्दस्किले जलरंगमा बनाएको चित्रबाट यो कला–शैलीको शुभारम्भ भएको मानिन्छ । विश्वको कला इतिहासमा यथार्थवादी कलाहरू (आकारमूलक ) बाट कलाको स्वरूपहरू भाँचिँदै, बाङ्गिँदै, यथार्थभन्दा पर अस्वाभाविक रूपमा देखा पर्दा कालान्तरमा पूर्णतः आकारविहीन अवस्थामा पुगेको थियो । जसलाई अमूर्त कला भनियो । यो भाँचिने क्रममा पनि यथार्थबाट, प्रभाववादी, उत्तर–प्रभाववादी हुँदै, फाववाद, घनवाद हुँदै अमूर्ततासम्म आइपुगेका थिए । यही पश्चिमी कलाको प्रवृत्ति, कला–दर्शनलाई आधार मानेर विश्वभरमा कलाका स्कूलहरू खुले । भारतमा उन्नाइसौँ शताब्दीको मध्येतिर मद्रास, मुम्बाइ, कलकत्ता अनि लाहोर ( अहिले पाकिस्थान )मा यस्ता कलाका स्कूलहरू खुले । पछि लखनउ अनि बनारस, लगायत अन्य ठाउँमा पनि यस्ता कलाका स्कूलहरू खोलिएका हुन् । पछि नेपालमा पनि यही पाठ्यक्रममा आधारित भएर कलाका स्कूलहरू क्याम्पस आदि खोलिएको हो । लैनसिह वाङ्देलले कलकत्तामा, लक्ष्मण श्रेष्ठ, उर्मिला उपाध्यायले मुम्बाइ, अनि उत्तम नेपालीले लखनउबाट यही पश्चिमी प्रविधिका कलामा दीक्षित भएका हुन् । जे पढे जे सिके यही नै यी कलाकारहरूले प्रयोग गर्दा नेपालमा पनि यस्ता अमूर्त कलाहरू देखा परेका हुन् ।

तथापि आजको दिनमा अमूर्त कलाकै पनि परिभाषा परिवर्तन हुँदै जाँदा यही अमूर्त स्वरूपमा पनि आकारहरूले प्रवेश पाएको देखिएको छ । आधुनिक कलामा अमूर्त शैली देखि जति पनि कलागत शैलीहरू प्रयोग भए । नेपालमा यी जम्मै शैलीहरू एकै पटक पर्दापण भएको कारणले पनि सबैजसो आधुनिक कलाकारले यी सबै कला शैली अनि प्रवृत्तिलाई प्रयोग गर्न खोजेका छन् । यही कला प्रदर्शनीमा पनि उद्घाटन सत्रमा सुन्दर लामाको पर्फमेन्स कलाबाट कला प्रदर्शनीको शुभारम्भ गरेका थियो । मौन भाषाबाट भागभङ्गिमाका साथ कालो कपडासँग खेल्दै गरेको यही पर्फमेन्स कला मै पनि नितान्त अमूर्त लाग्दथ्यो । यसो हुँदा पनि ठ्याक्कै पश्चिमी कला विकासलाई हेरेर मात्र नेपाली कलालाई विश्लेषण गर्न सकिन्न । किनकि यस्ले नेपाली कला परम्परासँग फ्यूजन हुँदै थोरै अलग्गपनाका साथ आफ्नै मौलिकतालाई पनि समावेश गर्ने कोसिस भएको छ । यी र यस्तायस्तै कलागत प्रवृत्तिलाई वा यो कला प्रदर्शनीमा यसैको प्रतिबिम्ब देख्न सकिन्छ ।

मूलतः अहिले आकारमा खेल्ने अनि भावनात्मक वा विचारहरूलाई आकारबाट अभिव्यक्ति गर्ने प्रचलन नेपालमा रहेको हुँदा अमूर्त कलामा पनि यी आकारहरू अमूर्त रूपमा छिरे । यहाँ पनि दृश्यचित्रहरू बनाइरहेका कलाकारहरू पनि अचानकमा अमूर्तता प्रवेश गरेको देखिन्छ । यसरी आकारहरू आकार विहीनतामा प्रवेश गर्दै गर्दा अमूर्त कलाको स्वरूपमा पनि फरकपना आयो । अनि यसलाई फिगरेटिभ एवस्ट्राक्सन भन्ने पनि चलन चलेको छ । यसकारण पनि यस्तायस्तै चित्रहरूले पनि यो कला प्रदर्शनीमा प्रवेश पाएका देखिन्छन् ।

नेपालमा आधुनिक कलाको शुभारम्भ भए यता अर्थात् सन् साठीको शुरुआतका यस्ता अमूर्त कलाकारहरूमा विजय थापा देखि के. के. कर्मचार्य, कृष्ण मानन्धर समावेश भएका देखिन्छन् भने सन् सत्तरीतिरका वा अस्सीको शुभारम्भदेखि देखा परेका किरण मानन्धर, मुकेश मल्ल, रमेश खनाल आदिका चित्रहरूका साथ यता सन् २००० को उत्तरार्धमा अमूर्त कलाको नौलो अवधारणाका साथ देखा परेका सागर मानन्धरदेखि एन. भी. गुरुङका कलाहरूलाई देख्न सकिन्छ । यसैले गर्दा पनि अमूर्त कलामै पनि यथेष्ट विविधता देख्न सकिन्छ ।

यो कला प्रदर्शनीमा यी कलाकारहरू समावेश भएका थिए । कलाकारहरूमा विजय थापा, कृष्ण मानन्धर, गोविन्द डंगोल, के. के. कर्मचार्य, मदन चित्रकार, किरण मानन्धर, मुकेश मल्ल, रमेश खनाल, शरद रञ्जित, जीवनराज उपाध्याय, लय मैनाली, नविन्द्र मान राजभण्डारी, नविन्द्र लिम्बू, सुनिता राणा, चन्द्रा श्रेष्ठ, रत्नकाजी शाक्य, प्रमिला वज्राचार्य, सुष्मा राजभण्डारी, संगी श्रेष्ठ, रीता मानन्धर, विनोद प्रधान, नेमबहादुर तामाङ, सागर मानन्धर, एन. भी. गुरुङ, विजय महर्जन अनि विधाता केसी थिए ।

अब अलिकता कलाका कुराहरू—

यो कला प्रदर्शनीमा विशेष गरेर अमूर्तताको सन्दर्भमा निरन्तर लामो समयदेखि लागिरहेका कलाकारलाई सम्झनु पर्दा मूलतः कृष्ण मानन्धर, विजय थापा अनि के. के. कर्मचार्यलाई उल्लेख गर्नु पर्ने हुन्छ । अमूर्ततालाई सङ्गालेर चित्र बनाइराख्ने कलाकारको रूपमा हेर्न पर्दा अझ कृष्ण मानन्धरलाई विशेष रूपमा हेर्नु पर्ने हुन्छ । उनी मात्र यस्ता कलाकार हुन् जसले आफ्नो कलाको अमूर्त प्रवृत्तिलाई कसै गरे पनि छोडेको देखिएका छैनन् । उनका कलामा अनेकौँ विषयले प्रवेश गरे तापनि उनका कलामा अमूर्तता शैलीभन्दा अर्को कुनै शैली कहिल्यै देखा परेन । जबकि विजय थापा वा के. के. कर्मचार्य अमूर्त कला सँगसँगै यथार्थवादी व्यक्ति चित्रकारको रूपमा नाम कमाएका कलाकारहरू हुन् । नेपालमा राम्रा घतलाग्दा व्यक्ति चित्रहरूको कुरा उठाउनु पर्दा यी दुई कलाकारको कुरा उठाउनु नै पर्ने हुन्छ । अझ के. के. कर्मचार्य त टिकट डिजाइनर, दृष्टान्तचित्रमा समेत माहिर मानिन्छन् । यसो हुँदा पनि उनको हात यथार्थदेखि अमूर्ततासम्म पुगेको देखिन्छ । यसपल्ट पनि मोसन सिरिजमा देखा परेका उनका चित्रहरूले अमूर्तता हुँदाहुँदै पनि कहिँ न कहिँ यथार्थताको प्रतिबिम्बलाई छाम्न सकिन्छ । उनी चित्रपटको खाली स्पेसहरूलाई स्थापित गरिसकेपछि एउटा वस्तुगत मोटिफले बीचमा वा कुनै कुनातिर लम्कँदै गरेको संयोजनलाई अनुभव गर्न सकिन्छ । कालो, खैरो, खरानी अँध्यारो रंगहरूमाथि हल्का फिका निला, कतै रातो पहेँलो रंगको बाहुल्य रहेको देखिन्छ । उनको चित्र संयोजनमा दृश्य-अदृश्य रूपमा केही न केही आकृतिले भूमिका खेलेको देखिन्छ ।

विजय थापाको अमूर्तताको स्वरूप पनि एउटा अलग्ग ढङ्गले लय समातेको देखिन्छ । यसपल्ट चाहिँ उनले ल्यान्डस्केप सिरिज भनेर दृश्यचित्रको अमूर्त फर्मलाई समात्न खोजेको देखिन्छ । ठूला मोटा उज्याला रंगका खण्डहरू बगेर एउटा प्राकृतिक लयलाई समात्न खोजेको देखिन्छ । सपाटपनाका साथ उज्याला रंगहरूसँग खेल्नु उनको कलागत स्वभाव हो ।

कृष्ण मानन्धर चाहिँ मुम्बईमा कलाको अध्ययन गरेर नेपाल फर्केपछि सत्तरीको शुभारम्भदेखि नै अमूर्त कलामा निमग्न भएर लागेका कलाकार हुन् । हिमाल, जंगल, रूखपात वा टेरेसलाई अमूर्त फर्ममा ढालेर अनेकौँ प्रकारको अमूर्त सिरिजमा उनले काम गरेका छन् । उनका कला मिठा, कमला अनि मुलायम रंगहरू यसरी पोखिएका हुन्छन् । भावकहरू आनन्दका साथ रमाइरहेका देखिन्छन् । यही नै उनको कलागत विशेषता पनि हो ।

यसपछि देखा परेका कलाकारहरूमा थोरै आकारले प्रवेश पाए पनि अमूर्तताको ढाँचामा केही परिवर्तन भएको देखिँदैन, किरण मानन्धर, मुकेश मल्ल, जीवनराज उपाध्याय, शरद रञ्जित अनि रमेश खनालका यस्ता चित्रहरूले पहिले देखि चलिआएको अमूर्तताको शैलीलाई पछ्याएको देखिन्छ । थोरबहुत रेखाहरूलाई पनि प्रयोग गर्ने किरण चाहिँ यसपल्ट नितान्त अमूर्त स्वरूपमा देखा परेको छ । नितान्त आकारविहीन रूपमा टेक्चर अनि चहकिलो रंगले छोप्दै जाँदा एउटा अनौठो स्वाद उनको कलामा प्रस्फुटित भएको देखिन्छ ।

अलि पछिका कलाकार नविन्द्र लिम्बू भने ज्यामितीय फर्ममा देखिन्छन् । कुनै पनि वस्तुको सूक्ष्म इकाइलाई पछ्याउँदै जाँदा जुम गरेर आन्तरिक तत्वलाई निकालेको भान हुन्छ । यसो हुँदा पनि उनका कलामा भावना भन्दा पनि रेखाहरूले बढी भूमिका खेलेको देखिन्छ । प्रभाववादी दृश्यचित्रहरूमा राम्रो पकड बनाइसकेका जीवनराज उपाध्याय अनि एन. भी. गुरुङ यता अमूर्ततामा प्रवेश गर्दै गर्दा पनि दृश्यचित्रलाई सहजै छाम्न सकिन्छ । यसमा पनि एन. भी. गुरुङ पारदर्शी रंगको बहावसँग बग्दै गर्दा एउटा अनौठो अनुभूतिलाई महसूस गर्न सकिन्छ । प्रमिलाले पनि दृश्यचित्रलाई धमिलो गरेर प्रस्तुत गरेका छन्, जहाँ अमूर्तताको पूर्ण एहसास हुन्छ ।

यता हाल देखा परिरहेको अमूर्त कलाको राम्रो नमूनाको रूपमा सागर मानन्धर देखा परेका छन्, जसले रंगका लेयरहरूलाई सफासुग्घर पाराले चित्रपटमा बिछ्याउँदा अमूर्त परिदृश्यलाई राम्रै गरी अनुभव गर्न सकिन्छ । विधाता घरको पर्खालमाथि अमूर्तताको भाव पोख्न तरखर देखिन्छन् । सुनिताको टेक्चरसँग खेल्दै गरेको अमूर्तता, नविन्द्र राजभण्डारीको सपाट चित्रपटमा रेखाहरू दौडिँदै बस्दै बन्न गएको अमूर्तता, लय मैनालीका मात्र गोलाकारमा सीमित भएको अमूर्तता, संगीको क्यूबिक फर्ममा बसेको अनुहार आदि इत्यादिले पनि अमूर्तताको विविधतालाई मज्जाले समात्न सकिन्छ ।

कलाकार, कलासमीक्षक

साझा गर्नुहोस्:
मुकेश मल्ल

लेखकको बारेमा

मुकेश मल्ल

नेपालका वरिष्ठ चित्रकारका रूपमा चिनिनु हुने मुकेश मल्ल कला प्राध्यापन पनि गर्नु हुन्छ । कलासम्बन्धी उहाँका एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.