अवैध बाटो हुँदै अमेरिका जाने नेपाली युवाहरूको त्रासद यात्रामा आधारित उपन्यास ‘डङ्कीः सपनाको कालबाटो’ लोकार्पण गरिएको छ ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा कृतिकार डा. चन्द्र गिरीसहित मदन पुरस्कार विजेता लेखक कृष्ण धरावासी, पत्रकार तथा उपन्यासकार वसन्त बस्नेत, साहित्यकार बिना थिङ र कवि शंकर गिरी ‘पथिक’ले संयुक्त रूपमा उपन्यास सार्वजनिक गर्नुभयो ।
कार्यक्रमका वक्ताहरूले उपन्यासले आप्रवासन, सपनाको खोजी र मानवीय सङ्घर्षको यथार्थ चित्रण गरेको धारणा व्यक्त गर्दै देशको जल्दोबल्दो विषयलाई साहित्यमार्फत प्रभावकारी रूपमा उठाएको बताउनुभयाे । उनीहरूले यस विषयमा राज्यको पनि ध्यान जानुपर्ने आवश्यकता औँल्याउनुभयाे ।
आख्यानकार कृष्ण धरावासीले ‘डङ्कीः सपनाको कालबाटो’ आद्योपान्त पठनीय आख्यान भएको बताउनुभयो । आफ्नो उपन्यास ‘तल्लो बाटो’ र ‘डङ्की’बीच विषयगत समानता रहे पनि कथाशैली र दृष्टिकोण फरक रहेको उल्लेख गर्दै उहाँले डा. गिरीले सम्बन्धित स्थानमै पुगेर अध्ययन–अनुसन्धानका आधारमा लेखेकाले कृति थप प्रामाणिक बनेको धारणा राख्नुभयो ।
पत्रकार तथा उपन्यासकार वसन्त बस्नेतले ‘डङ्की’ साहित्यिक मूल्यसँगै अनुसन्धानात्मक दृष्टिले पनि महत्वपूर्ण कृति भएको बताउनुभयो । आजको नेपाली समाजमा अमेरिका एउटा देश मात्र नभई मानसिक अवस्थाजस्तै बनेको उल्लेख गर्दै उहाँले पर्याप्त अध्ययन र अनुसन्धानपछि तयार पारिएको उपन्यास भएको टिप्पणी गर्नुभयो ।
साहित्यकार बिना थिङले उपन्यासले नेपाली समाजको आर्थिक, सामाजिक र राजनीतिक यथार्थलाई समेट्न सफल भएको बताउनुभयो । कठिन र जोखिमपूर्ण बाटो हुँदै विदेशिन बाध्य नेपालीहरूको समस्याको दीर्घकालीन समाधान खोज्नुपर्ने उहाँको भनाइ थियो ।
समीक्षक राजकुमार बानियाँले ‘डङ्की’लाई सामाजिक यथार्थमा आधारित समकालीन आप्रवासन आख्यानको संज्ञा दिँदै नेपालीको पीडा र विवशतालाई प्रभावकारी रूपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो । उहाँले यस कृतिले डा. चन्द्र गिरीलाई साहित्यिक पहिचान स्थापित गराउन महत्वपूर्ण भूमिका खेलेको धारणा राख्नुभयो ।
कार्यक्रममा कवि उषा शेरचन र प्रह्लाद पोखरेलले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । उपन्यासमा इलामका एक नेपाली युवकले अमेरिका पुग्न रोजेको ‘डङ्की रुट’ र त्यस क्रममा भोगेका अनुभवलाई संस्मरणात्मक शैलीमा प्रस्तुत गरिएको छ ।
लेखक डा. चन्द्र गिरीले ‘डङ्की’ केवल सीमा पार गर्ने यात्राको कथा नभई आशा, साहस, निराशा र आत्मसम्मानको कथा भएको बताउनुभयो। संसारका विभिन्न ठाउँमा भेटिएका नेपाली तथा अन्य आप्रवासीका अनुभवले आफूलाई यो उपन्यास लेख्न प्रेरित गरेको उहाँले उल्लेख गर्नुभयो ।
बुकहिलले प्रकाशन गरेको ‘डङ्कीः सपनाको कालबाटो’ को मूल्य ७ सय १७ रुपैयाँ रहेको छ । अमेरिकालाई कर्मथलो बनाएका वैज्ञानिक डा. गिरीका यसअघि ‘मैले नदेखेको सपना’ (आत्मकथा) र ‘संसारको सेरोफेरो’ (यात्रासंस्मरण) प्रकाशित भइसकेका छन् ।

.jpg)