साहित्यपोस्ट डट कम

अमेरिकी सिनेटरद्वारा अनेसास महिला सम्मेलनको समुद्घाटन

अमेरिकी सिनेटरद्वारा अनेसास महिला सम्मेलनको समुद्घाटन

एटलान्टा, जर्जिया । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)द्वारा आयोजित छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलन तथा ११६औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा दुईदिने कार्यक्रम अमेरिकाको जर्जिया राज्यको एटलान्टामा सम्पन्न भएको छ।

मार्च ७ देखि ८ सम्म सञ्चालन भएको सम्मेलनको उद्घाटन अमेरिकी सिनेटर शेख रहमानले पानसमा दीप प्रज्वलन गरी गर्नुभएकाे थियाे । कार्यक्रममा बोल्दै उहाँले बहुसांस्कृतिक समाजमा आफ्नो भाषा, साहित्य र संस्कृतिलाई जोगाएर राख्नु अत्यन्त आवश्यक रहेको बताउनुभयाे । उहाँले आप्रवासी समुदायले मातृभाषा जोगाउन परिवार र विशेषगरी आमाहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्नुभयाे ।

सम्मेलनको दोस्रो दिनको कार्यक्रम उर्मिला निर्दोसीको अध्यक्षतामा सम्पन्न भएको थियो भने सञ्चालन अनेसास केन्द्रकी कोषाध्यक्ष तारा अधिकारी र केन्द्रीय सदस्य शकुन ज्ञवालीले गर्नुभएकाे थियाे । कार्यक्रमको सुरुवातमा अंशल तिमिल्सिना र कृति तिमिल्सिनाले वैदिक मन्त्रोच्चारण प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले सम्मेलन सफलताको कामना व्यक्त गर्नुभएकाे थियाे । शुभकामना दिनेहरूमा एनआरएनए जर्जिया च्याप्टरका अध्यक्ष कपिल शरण वाग्ले, नेपाली कल्चर सेन्टरका अध्यक्ष राजु थापा, नेपाली एसोसिएसन अफ जर्जियाका अध्यक्ष बिरेन्द्र केसी, मदेशी एसोसिएसन इन अमेरिकाका अध्यक्ष रोविन सिंह, जय नेपाल सामाजिक संस्था एटलान्टाका अध्यक्ष धर्मराज घिमिरे, मेरिएट्टा समाजका अध्यक्ष भविन्द्र बस्नेत लगायत रहनुभएकाे थियाे ।

त्यसैगरी अनेसासका केन्द्रीय अध्यक्ष सर्वज्ञ वाग्ले, वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदी, महासचिव राजु सिटौला, बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा लगायतले पनि कार्यक्रममा मन्तव्य दिनुभएकाे थियाे । विभिन्न देशमा रहेका अनेसासका च्याप्टर अध्यक्षहरूले भिडियो सन्देशमार्फत शुभकामना व्यक्त गर्नुभएकाे थियाे ।

कार्यक्रममा समाजसेवी डा. प्रल्हाद पन्त र बिन्दु पन्तलाई गोल्डेन स्पोन्सरका रूपमा सम्मान गरिएको थियो। साथै अनेसास जर्जिया च्याप्टरका संस्थापक अध्यक्ष चेतनाथ घिमिरे र वर्तमान अध्यक्ष मीरा कोइरालालाई पनि सम्मान गरिएको थियो।

कार्यक्रमका क्रममा विभिन्न पुस्तकहरू लोकार्पण गरिएका थिए। डा. संजीव सापकाेटाकाे पिता हेमराज सापकाेटाको जीवनीमा आधारित Extraordinary Life of a District Administrator तथा अनेसास केन्द्रकी सदस्य तारा उप्रेतीको My Life So Far कृतिको लोकार्पण गरिएको थियो।

दोस्रो चरणमा कविता तथा गजल वाचन कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा अम्बिका लोहनी, शान्ता घिमिरे अधिकारी, लक्ष्मी श्रेष्ठ, तारा अधिकारी, ज्योति अधिकारी, उर्मिला निर्दोसी, भारती गौतम, तारा उप्रेती लगायतले आफ्ना रचनाहरू वाचन गर्नुभएकाे थियाे ।

तेस्रो चरणमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएका थिए। सिक्किमबाट प्रा. डा. कविता लामाले ‘विश्वमञ्चमा नेपाली नारी’ विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे भने तारा उप्रेतीले ‘सृजनामा नेपाली महिला : हिजो र आज तथा नेपाली साहित्यमा पारिजात’ विषयमा प्रस्तुति दिनुभएकाे थियाे । साहित्यकार भारती गौतमले डायस्पोरामा नेपाली नारीको सिर्जनात्मक भूमिका र महत्वबारे कार्यपत्र प्रस्तुत गर्नुभएकाे थियाे ।

कार्यक्रमको अन्तिम सत्रमा सञ्चारकर्मी तथा विश्व साइकलयात्री प्रेम बानियाँसँग सम्बन्धित टोलीद्वारा निर्मित ‘जिरो टु ८८४८ मिटर’ डकुमेन्ट्री प्रदर्शन गरिएको थियो। उक्त फिल्मले पूर्वी नेपालको केचनाकवलदेखि सगरमाथासम्मको यात्रालाई चित्रण गरेको छ।

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को जर्जिया च्याप्टरद्वारा संयोजन गरिएको उक्त सम्मेलनले प्रवासमा नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको सहभागीहरूले बतानुभएकाे छ ।

ट्याग: अनेसास
साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.