वाशिङ्टन डीसी । वाशिङ्टन डीसी क्षेत्रमा साहित्यिक गतिविधिमा सक्रिय अमेरिका नेपाल साहित्य प्रतिष्ठान र साङ्ग्रिला डायलगको संयुक्त आयोजनामा साहित्यकार गीता केशरी र नगेन्द्रराज शर्माको स्मृतिमा श्रद्धाञ्जली सभा आयोजना हुने भएको छ ।
आयोजकका अनुसार कार्यक्रम अगस्ट १ मा गेथर्सबर्ग रिजनल लाइब्रेरीमा हुनेछ । नेपाली आख्यान साहित्यकी सशक्त स्रष्टा गीता केशरीको असार १८ गते काठमाडौंमा निधन भएको थियो । ‘कसिङ्गर’ उपन्यासमार्फत नेपाली उपन्यासमा प्रवेश गर्नुभएकी उहाँका ‘सौगात’, ‘आवाज’, ‘मुक्ति’, ‘खोज’, ‘अन्तिम निम्तो’, ‘विश्वास’, ‘खुला आकाश’, ‘नोकरी’, ‘तरङ्ग’, ‘निष्कर्ष’ र ‘बदलिँदो क्षितिज’ लगायतका उपन्यास प्रकाशित छन् । ‘नेपाली साहित्यका ध्रुवतारा महाकवि देवकोटा’ उहाँको जीवनीपरक कृति हो । उहाँ नेपाल प्रज्ञा–प्रतिष्ठानको सदस्य–सचिव तथा गुञ्जन संस्थाकी अध्यक्षसमेत रहनुभएको थियो ।
त्यस्तै, अग्रज साहित्यिक पत्रकार, कथाकार तथा उपन्यासकार नगेन्द्रराज शर्माको असार ३१ गते निधन भएको थियो । उहाँका ‘महापुरुष’ र ‘दिवास्वप्न’ उपन्यास तथा ‘पीपलको बोटमुनि’ र ‘एकान्तका आफन्तहरू’ कथासङ्ग्रह प्रकाशित छन् । उहाँ लामो समय ‘अभिव्यक्ति’ साहित्यिक पत्रिकाको सम्पादनमा सक्रिय रहनुभएको थियो ।
दुवै संस्थाले नेपाली साहित्यमा उल्लेखनीय योगदान पुर्याएका यी दुई स्रष्टाको साहित्यिक योगदानको स्मरण गर्दै श्रद्धाञ्जली सभामा सहभागिताका लागि साहित्यप्रेमीहरूलाई आग्रह गर्नुभएकाे छ ।

