काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिका अन्तर्गतको नेपाली भाषा, साहित्य समितिले जुममार्फत २१३औँ भानु जयन्ती तथा १०३औँ धर्मराज थापा जयन्ती मनाएको छ ।
समितिका सभापति तथा साहित्यकार राजेन्द्रप्रसाद अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा गायिका ज्ञानु राणा र कवि मदनराज थापा प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो । ज्ञानु राणा र मदनराज थापा जनकविकेशरी धर्मराज थापाका सुपुत्री र सुपुत्र हुनुहुन्छ । मदनराज थापा जनकविकेशरी धर्मराज–सावित्री प्रतिष्ठानका अध्यक्षसमेत हुनुहुन्छ।
कार्यक्रमको शुरूमा समितिका उपाध्यक्ष तथा कवि कृष्ण गिरीले स्वागत मन्तव्य राख्दै प्रमुख अतिथि ज्ञानु राणाको परिचय गराउनुभएको थियो । उहाँले एक मौलिक कविता पनि वाचन गर्नुभएको थियो ।
कार्यक्रममा अमेरिका र नेपालका साहित्यकारहरूले आदिकवि भानुभक्त आचार्य तथा जनकविकेशरी धर्मराज थापाको नेपाली भाषा, साहित्य र लोकसंस्कृतिमा रहेको योगदानको चर्चा गर्दै कविता तथा अन्य साहित्यिक सिर्जना प्रस्तुत गर्नुभएकाे थियाे ।
प्रमुख अतिथि ज्ञानु राणाले भानुभक्त आचार्य र धर्मराज थापाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै आफ्नो सांगीतिक यात्राका अनुभव सुनाउनुभयो । उहाँले भानुभक्तका सिर्जनामा आधारित गीतसहित आफ्ना चर्चित गीतहरू पनि प्रस्तुत गर्नुभएको थियो ।
कवि मदनराज थापाले आदिकवि भानुभक्त र धर्मराज थापाको योगदान स्मरण गर्दै जनकविकेशरी धर्मराज–सावित्री प्रतिष्ठानले नेपाली भाषा, साहित्य र लोकसंस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा गर्दै आएका गतिविधिबारे जानकारी गराउनुभयो।
कार्यक्रममा एनआरएनए अमेरिकाका उपाध्यक्ष डा. गङ्गाधर आचार्य, प्रा. रञ्जुश्री पराजुली, तीर्थराज अधिकारी, विष्णा विरही, डा. शम्भु कँडेल, जीवन निरौला, डमरु पौडेल, गायत्री तिमिल्सिना, पिपलमणि सिग्देल, डा. अमरबहादुर कार्की, डा. निरज श्रेष्ठ, डा. पवित्रा अर्याल, रामचन्द्र अधिकारी, डा. प्रशान्त घिमिरे, डा. छत्रपति दाहाल, सीता अर्याल, डा. रमेश पोखरेल र डा. शरद पराशर मरहट्टालगायतले आफ्ना सिर्जना वाचन गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन साहित्यकार प्रभा पोखरेलले गर्नुभएको थियो । उहाँले भानुभक्त र धर्मराज थापाका सिर्जनासमेत प्रस्तुत गर्नुभएको थियो ।
सभापतिको मन्तव्यमा राजेन्द्रप्रसाद अर्यालले भानुभक्त र धर्मराज थापाले नेपाली भाषा, साहित्य, गीत–सङ्गीत तथा संस्कृतिमा पुर्याएको योगदानको चर्चा गर्दै यस्ता स्रष्टाका नाममा स्थापित संस्थालाई सरकारले आवश्यक सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो । अन्त्यमा उहाँले सहभागी सबैप्रति आभार व्यक्त गर्दै कार्यक्रम समापन गर्नुभएको थियो ।
