साहित्यपोस्ट डट कम

‘अमर ज्योति’ अङ्क ६९ बजारमा

‘अमर ज्योति’ अङ्क ६९ बजारमा

काठमाडौं । नेपाल विद्युत प्राधिकरण अन्तर्गतको विद्युतकर्मी साहित्यिक समाजद्वारा प्रकाशित नियमित त्रैमासिक साहित्यिक पत्रिका ‘अमर ज्योति’ को अङ्क ६९ बजारमा आएको छ ।

यस अङ्कमा साहित्य र राजनीतिलाई केन्द्रमा राखेर आवरण तथा सम्पादकीय प्रस्तुत गरिएको छ । कथा, कविता, गजल, नाटक, संस्मरण, निबन्ध, लेख तथा समालोचना जस्ता विविध विधामा सिर्जनाहरू समेटिएको पत्रिकाले समकालीन साहित्यिक बहसलाई समेट्ने प्रयास गरेको छ ।

कथा तथा लघुकथातर्फ डा. कृष्णराज अधिकारी, डा. पुष्करराज भट्ट, अशोक कुँवर ‘नेत्र’, रीता खत्री र अनिल पौडेलका रचनाहरू समावेश छन्। त्यसैगरी कविता, गीत, गजल तथा मुक्तकतर्फ विष्णु पादुका, मिसन अधिकारी, मणिराज सिंह, कृष्णदेव सिग्देल ‘शब्दसेना’, रमेशप्रसाद ‘सागर’, विष्णु ज्ञवाली लगायतका स्रष्टाहरूका सिर्जना प्रकाशित छन् ।

नाटक, संस्मरण, निबन्ध र लेख विधामा पनि विविध सर्जकहरूको सहभागिता रहेको छ । समालोचना अन्तर्गत महेश पौड्यालद्वारा मनप्रसाद सुब्बाको कृतिमाथि गरिएको समीक्षा पनि समेटिएको छ ।

यसका साथै विद्युतकर्मी साहित्यिक समाजका नियमित साहित्यिक गतिविधिहरू पनि पत्रिकामा समावेश गरिएको छ ।

पत्रिका नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय, रत्नपार्कबाट प्राप्त गर्न सकिनेछ । साथै इच्छुक पाठकहरूले प्राधिकरणको आधिकारिक वेबसाइटमार्फत यसको पीडीएफ संस्करणसमेत अध्ययन गर्न सक्ने जनाइएको छ ।

पत्रिकाका कार्यकारी सम्पादक तथा विद्युतकर्मी साहित्यिक समाजका सचिव युवराज शर्माका अनुसार ‘अमर ज्योति’ले निरन्तर रूपमा साहित्यिक सिर्जनालाई प्रोत्साहन गर्दै आएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.