साहित्यपोस्ट डट कम

अमर बानियाँको ‘सुन्दर म्याग्दी’ लोकार्पित

अमर बानियाँको ‘सुन्दर म्याग्दी’ लोकार्पित

काठमाडौं । पत्रकार अमर बानियाँद्वारा लिखित तथा सम्पादित तस्बिर पुस्तक ‘सुन्दर म्याग्दी’ सार्वजनिक भएको छ । म्याग्दीको इतिहास, प्रकृति, संस्कृति, पर्यटन र जनजीवनलाई समेटिएको उक्त पुस्तक बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा लोकार्पण गरिएको हो ।

धौलागिरि पर्यटन विकास परिषद् र बेनी समाज काठमाडौंको संयुक्त आयोजनामा नेपाल पर्यटन बोर्डको सभाहलमा सम्पन्न कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष सुरकृष्ण वैद्य, पूर्व मुख्यसचिव तथा अमेरिकाका लागि नेपालका पूर्व राजदूत लोकदर्शन रेग्मी, प्रा. डा. प्रेम शर्मा, नेपाल पर्यटन बोर्डका जनसम्पर्क अधिकृत सुनिल शर्मा तथा महासङ्घका केन्द्रीय सदस्य सुबिन श्रेष्ठलगायतले पुस्तक सार्वजनिक गर्नुभएको थियो ।

कार्यक्रममा म्याग्दी उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष राजेश शाक्य, बानियाँ समाजका अध्यक्ष नरबहादुर बानियाँ, बेनी समाजका पूर्व अध्यक्ष याम श्रेष्ठ तथा पर्यटन पत्रकार अमृत भादगाउँलेले ‘सुन्दर म्याग्दी’ लाई म्याग्दी चिन्ने महत्वपूर्ण सन्दर्भ सामग्री तथा सुन्दर उपहारका रूपमा टिप्पणी गर्नुभयो ।

रङ्गीन कलेवरमा प्रकाशित पुस्तकमा नेपाली र अङ्ग्रेजी दुवै भाषामा जानकारी समावेश गरिएको छ । पुस्तकमा म्याग्दीका प्रमुख पर्यटकीय गन्तव्य, पदमार्ग, सांस्कृतिक सम्पदा, चाडपर्व, होमस्टे, जैविक विविधता तथा प्राकृतिक सौन्दर्यलाई तस्बिर र विवरणमार्फत प्रस्तुत गरिएको छ ।

धौलागिरि पर्यटन विकास परिषद्ले प्रकाशन गरेको पुस्तकको मूल्य एक हजार रुपैयाँ निर्धारण गरिएको छ ।

कार्यक्रममा बोल्दै लेखक अमर बानियाँले पत्रकारिता, फोटोग्राफी र सामाजिक सेवामार्फत आफ्नो जन्मभूमि म्याग्दीलाई चिनाउने प्रयास गर्दै आएको उल्लेख गर्नुभयो । ‘सुन्दर म्याग्दी’ त्यही अभियानको एक हिस्सा भएको बताउँदै उहाँले पुस्तक विमोचन कार्यक्रममा प्राप्त सुझाव र हौसलाले आगामी दिनमा पनि जन्मथलोप्रति थप योगदान गर्ने ऊर्जा प्रदान गरेको धारणा व्यक्त गर्नुभयो ।

बेनीमा बसेर चार दशकदेखि फोटोग्राफी र पत्रकारितामा सक्रिय बानियाँको यो कृतिलाई म्याग्दीलाई नजिकबाट चिनाउने ‘आँखीझ्याल’ का रूपमा हेरिएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.