साहित्यपोस्ट डट कम

अल्फन्स दोदेको उत्कृष्ट कथा: अन्तिम पाठ

अल्फन्स दोदेको उत्कृष्ट कथा: अन्तिम पाठ

“मेरो अन्तिम फ्रेन्च पाठ ! म त राम्रोसँग लेख्न पनि सक्दिनँ ! अब कहिल्यै सिक्न पाउने छैन !” मेरो अन्तिम फ्रेन्च कक्षा ! मलाई त राम्ररी लेख्न पनि आउँदैनथ्यो ! अब म कहिल्यै पनि अरू सिक्न पाउने छैन ! अब यहीँ रोकिनु पर्ने भयो ! ओहो, मैले आफ्ना पाठहरू नपढेकोमा कति पछुतो लाग्यो—चराको अण्डा खोज्न गएकोमा, वा सारमा चिप्लेटी खेल्न गएकोमा !

====

अन्तिम पाठ – अल्फन्स दोदे (१८४०-१८९७)

अनुवाद – सोफिया थापा

(Alphonse Daudet (अल्फन्स दोदे) फ्रान्सका प्रसिद्ध कथाकार हुन् । उनले विशेषगरी भावनात्मक र देशप्रेमसम्बन्धी कथाहरू लेखेका छन् । उनका सबैभन्दा प्रसिद्ध कथामध्ये (The Last Lesson ) अन्तिम पाठ एक हो, जुन विद्यालयहरूमा व्यापक रूपमा पढाइन्छ ।

अल्फन्स दोदे द्वारा लिखित ‘अन्तिम पाठ’ को पृष्ठभूमि Franco-Prussian War (१८७०–१८७१) सँग सम्बन्धित छ । यस युद्धमा फ्रान्स पराजित भएपछि फ्रान्सका अल्सास र लोरेन क्षेत्र जर्मनी (प्रसा)को अधीनमा गएका थिए ।

जर्मन शासन आएपछि त्यहाँका विद्यालयहरूमा फ्रेन्च भाषा पढाउन प्रतिबन्ध लगाइयो र त्यसको सट्टा जर्मन भाषा पढाउन अनिवार्य बनाइयो । यसैकारण विद्यालयमा फ्रेन्च भाषाको अन्तिम कक्षा सञ्चालन गरियो, जसलाई ‘अन्तिम पाठ’ भनिएको हो ।)

= = = =

त्यो बिहान म विद्यालय जान ढिलो भएको थिएँ र मलाई गाली खाने डर निकै लागेको थियो, किनकि एम. ह्यमेलले भनेका थिए कि उनी हामीलाई क्रियाविशेषण बारे सोध्नेछन्, र मलाई त्यसबारे केही पनि थाहा थिएन । एकछिन त मलाई भागेर बाहिर दिन बिताउने विचार पनि आयो । मौसम यति न्यानो र उज्यालो थियो ! जङ्गल तथा काठको छेउमा चराहरू कराइरहेका थिए; र मिल पछाडिको खुला खेतमा प्रशियन सैनिकहरू अभ्यास गरिरहेका थिए । त्यो सबै क्रियाविशेषणको नियमभन्दा धेरै आकर्षक लागिरहेको थियो, तर मैले आफूलाई रोकें र विद्यालयतिर दौडिएँ ।

जब म टाउन हल नजिक पुगें, त्यहाँ सूचना पाटी अगाडि भीड देखेँ । पछिल्ला दुई वर्षदेखि सबै खराब समाचार त्यहीँबाट आएको थियो—हामीले हारेका युद्धहरू, भर्ती आदेश, र सेनापतिको आदेशहरू । म हिँडिरहे र मनमनै सोचें – “अब फेरि के भयो होला ?”

त्यसपछि म छिटो हिँडिरहेको बेला त्यहीँ उभिएका ब्ल्याकस्मिथ, वाचरले आफ्नो चेलासँग सूचना पढ्दै मलाई भन्यो, “यति छिटो नजाऊ; तिमीलाई विद्यालय पुग्न अझै प्रशस्त समय छ !”

मलाई लाग्यो ऊ मजाक गरिरहेको छ, र एम.ह्यमेल सरको सानो बगैँचामा पुग्दा सास फेर्नै गाह्रो भइरहेको थियो ।

सामान्यतया विद्यालय सुरु हुँदा निकै हल्ला हुन्थ्यो— डेस्क खोल्ने-बन्द गर्ने आवाज, सबैले एकैपटक पाठ दोहोर्‍याउने, शिक्षकको रूलर टेबलमा बज्ने आवाज पनि । तर त्यो दिन सबै शान्त थियो । म सोचिरहेको थिएँ कि हल्लाको बीचमा चुपचाप आफ्नो सिटमा पुग्छु, तर त्यो दिन आइतबार बिहानजस्तो शान्त थियो । झ्यालबाट हेर्दा साथीहरू आफ्ना ठाउँमा बसेका थिए र एम. ह्यमेल आफ्नो फलामको रूलर लिएर हिँडिरहेका थिए । मलाई ढोका खोलेर सबैको अगाडि पस्नुपर्‍यो । कल्पना गर्नुस् त म कति लजाएँ र डराएँ तर केही भएन । एम.ह्यमेलले मलाई देखेर शान्त स्वरमा भने, “छिटो आफ्नो ठाउँमा जाऊ, सानो फ्रान्ज, हामी तिमी बिना नै सुरु गर्दै थियौँ ।”

म आफ्नो सिटमा बस्न गएँ । त्यसपछि मात्र मैले देखेँ कि सरले आफ्नो हरियो कोट, सुन्दर फ्रिल भएको कमिज, र कालो रेशमी टोपी त्यस्मा पुरै बुट्टा भरेको लगाएका थिए, जुन उनी केवल विशेष दिनमा लगाउँथे । कक्षा पनि असाधारण रूपमा गम्भीर देखिन्थ्यो । अझ अचम्म त के भने पछाडि सधैं खाली रहने बेन्चहरूमा गाउँका मानिसहरू बसेका थिए—बूढा हाउजर, पुराना मेयर, पोस्टमास्टर आदि । सबै उदास देखिन्थे ।

त्यसपछि, एम. ह्यमेल आफ्नो कुर्सीमा चढे र मलाई उस्तै गम्भीर र कोमल स्वरमा भने, “मेरो बच्चाहरू, यो मैले दिने अन्तिम पाठ हो । बर्लिनबाट आदेश आएको छ कि अल्सास र लोरेनका विद्यालयहरूमा अब जर्मन मात्र पढाइनेछ । नयाँ शिक्षक भोलि आउँछन् । यो तिमीहरूको अन्तिम फ्रेन्च पाठ हो । म चाहन्छु कि तिमीहरू धेरै ध्यान दिएर सुन ।”

यी शब्दहरू मेरो लागि बिजुली झैँ झरे !

“मेरो अन्तिम फ्रेन्च पाठ ! म त राम्रोसँग लेख्न पनि सक्दिनँ ! अब कहिल्यै सिक्न पाउने छैन !” मेरो अन्तिम फ्रेन्च कक्षा ! मलाई त राम्ररी लेख्न पनि आउँदैनथ्यो ! अब म कहिल्यै पनि अरू सिक्न पाउने छैन ! अब यहीँ रोकिनु पर्ने भयो ! ओहो, मैले आफ्ना पाठहरू नपढेकोमा कति पछुतो लाग्यो—चराको अण्डा खोज्न गएकोमा, वा सारमा चिप्लेटी खेल्न गएकोमा ! केही समय अघि झन्झट लाग्ने मेरा किताबहरू, बोक्नै गाह्रो लाग्ने मेरो व्याकरणको किताब र सन्तहरूको इतिहास अब त म छोड्न नसक्ने पुराना साथीहरूजस्ता भइसकेका थिए । र एम. ह्यामेल पनि; उनी जाँदैछन्, अब कहिल्यै पनि उनलाई देख्न पाउने छैन भन्ने सोचले, उनको स्केल र उनको चिडचिडे बानी सबै कुरा मैले बिर्से ।

बिचरा उनी ! यो अन्तिम पाठको सम्मानमा नै उनले आफ्ना राम्रो आइतबारका लुगा लगाएका रहेछन्, अनि मैले बुझें किन गाउँका बूढा मानिसहरू कक्षाकोठाको पछाडि बसेका थिए । उनीहरू पनि स्कूलमा धेरै नपढेकोमा दुःखी थिए । त्यो उनीहरूको आफ्नै तरिका थियो हाम्रो गुरुलाई उनका चालीस वर्षको निष्ठापूर्ण सेवाका लागि धन्यवाद दिन र अब उनीहरूको नभइसकेको आफ्नो देशप्रति सम्मान प्रकट गर्न ।

जब म यी सबै कुरा सोचिरहेको थिएँ, त्यत्तिकैमा मेरो नाम बोलाइएको सुनेँ ।

मेरो पाठ सुनाउने पालो आएको थियो । त्यो भयानक क्रियाविशेषणको नियम सुरुदेखि अन्त्यसम्म ठूला स्वरमा, प्रष्ट रूपमा, र एकैचोटि पनि गल्ती नगरी भन्न सकूँ भनेको तर म पहिलो शब्दमै अलमल्ल परेँ र त्यहीँ उभिएँ आफ्नो मेच समातेर, मुटु जोडसँग धड्किरह्यो, र माथि हेर्न पनि आँट आएन ।

एम. ह्यमेलले मलाई यसो भने, “म तिमीलाई गाली गर्ने छैन, सानो फ्रान्ज; तिमीलाई नराम्रो लागिरहेको हुनुपर्छ । हेर, कुरा कस्तो भयो ! हरेक दिन हामीले आफैँलाई भन्थ्यौँ अझै धेरै समय छ । भोलि सिकौँला । अनि अहिले हेर, हामी कहाँ आइपुगेका छौँ । आह, यही त एल्सासको ठूलो समस्या हो; उसले सिकाइलाई सधैँ भोलिका लागि सारिरहन्छ । अब बाहिरका ती मानिसहरूले तिमीहरूलाई यसो भन्न अधिकार हुनेछ—‘के हो यो ? आफूलाई फ्रान्सेली भन्छौ, तर आफ्नै भाषा न त बोल्न सक्छौ, न लेख्न सक्छौ !’”

“तिम्रा आमाबाबु पनि तिमीलाई सिकाउन खासै चिन्तित थिएनन् । उनीहरूले तिमीलाई अलि बढी पैसा कमाउनका लागि खेत वा मिलमा काम गर्न पठाउन नै रुचाए । अनि म ? म पनि दोषी छु । के मैले तिमीहरूलाई पाठ पढ्नुको सट्टा कहिलेकाहीँ आफ्ना फूलहरूमा पानी हाल्न पठाएको थिइनँ र ? अनि जब मलाई माछा मार्न जान मन लाग्थ्यो, के मैले तिमीहरूलाई बिदा दिएको थिइनँ र ?”

त्यसपछि, एउटा विषयबाट अर्को विषयतर्फ सर्दै, एम. हामेलले फ्रेन्च भाषाबारे कुरा गर्न थाले । उनले भने कि फ्रेन्च संसारकै सबैभन्दा सुन्दर भाषा हो, सबैभन्दा स्पष्ट र सबैभन्दा तार्किक । उनले जोड दिए कि हामीले यसलाई जोगाएर राख्नुपर्छ र कहिल्यै बिर्सनु हुँदैन, किनभने जब कुनै राष्ट्र दासत्वमा पर्छ, तब उनीहरूले आफ्नो भाषा मजबुत रूपमा पकडेका छन् भने, त्यो उनीहरूसँग आफ्नो दासत्व हटाउने चाबी भएको जस्तै हो ।

त्यसपछि उनले एउटा व्याकरणको किताब खोलेर हामीलाई पाठ पढाए । म अचम्मित भएँ मैले पैलो पल्ट कति राम्रोसँग बुझेँ । उनले भनेका सबै कुरा यति सजिला, यति बुझ्न सजिला लागे ! मलाई लाग्यो, सायद मैले कहिल्यै यति ध्यान दिएर सुनेको थिइनँ, र उनले पनि कहिल्यै यति धैर्यका साथ सबै कुरा यसरी बुझाएका थिएनन् । यस्तो लाग्थ्यो, मानौँ बिचरा सर जानुभन्दा अघि आफूले जानेका सबै कुरा हामीलाई एकैपटक सिकाउन चाहन्छन् र हाम्रो दिमागमा हाल्न खोजिरहेका छन् ।

व्याकरणपछि, हामीले लेखाइको पाठ गर्‍यौँ । त्यो दिन एम. ह्यमेलले हाम्रो लागि नयाँ कापीहरू ल्याएका थिए, जसमा सुन्दर गोलो अक्षरमा लेखिएको थियो – “ फ्रान्स, अल्सास,फ्रान्स अल्सास !” ती शब्दहरू कक्षाभरि साना झण्डाजस्तै फहराइरहेका जस्ता देखिन्थे, हाम्रो डेस्कको माथि टाँगिएका । त्यहा सबै जना कति मन लगाएर काम गरिरहेका थिए, र कति शान्त थियो वातावरण ! कागजमाथि कलम घस्रिएको आवाज मात्र सुनिन्थ्यो । एकपटक केही किरा फट्यङ्ग्राहरू उडेर आए, तर कसैले पनि तिनीहरूलाई ध्यान दिएनन्, सानातिना बालबालिकाले समेत दिएनन्, उनिहरूले आफ्नो काम निरन्तर गर्दै माछाको काँटाजस्ता आकृतिहरू कोरे, मानौँ त्यो पनि फ्रेन्च नै हो । छानोमाथि परेवा बिस्तारै गुड्गुड गरिरहेका थिए, र मैले मनमनै सोचेँ – “के तिनीहरूले (जर्मन) परेवाहरूलाई पनि जर्मनमा गाउन लगाउनेछन् ?”

जब-जब म लेखाइबाट टाउको उठाएर हेर्थेँ, म एम. ह्यमेललाई आफ्नो कुर्सीमा नहल्लीकन र एकै ठाउँमा हेरिरहेको देख्थेँ । उनी कहिले एकातिर, कहिले अर्कोतिर हेर्दै थिए, मानौँ त्यो सानो कक्षाकोठामा भएका सबै कुराहरूलाई आफ्नो मनमा सधैंका लागि कोर्न चाहिरहेका हुन् । कल्पना गर्नुहोस् ! चालीस वर्षसम्म उनी त्यहीँ एउटै ठाउँमा बसे, झ्यालबाहिर उनको बगैँचा र अगाडि उनका विद्यार्थीहरू र कक्षाकोठा, सधैं जस्तै । फरक यति मात्र थियो कि डेस्क र बेन्चहरू पैले भन्दा चिल्लो भइसकेका थिए; बगैँचाका अखरोटका रूखहरू अझ अग्ला भएका थिए, र उनले आफैं रोपेको हपभाइनको बोट झ्याल हुँदै माथि छानोसम्म बेरिएको थियो । यो सबै छोडेर जानुपर्दा उनको मुटु कति दुखेको होला, बिचरा! माथिल्लो कोठामा उनकी दिदी सामान प्याक गर्दै हिँडिरहेकी आवाज सुनिरहेको थियो किनकि भोलिपल्ट उनीहरूले देश छोड्नै पर्ने थियो ।

तर उनीसँग अन्तिमसम्म प्रत्येक पाठ सुन्ने साहस थियो । लेखाइपछि हामीले इतिहासको पाठ पढ्यौँ, अनि साना बालबालिकाहरूले “बा, बे, बि, बो, बु” भन्दै भन्न थाले । कक्षाकोठाको पछाडिपट्टि वृद्ध हाउजरले आफ्नो चश्मा लगाएका थिए, र दुवै हातले आफ्नो प्रारम्भिक किताब समातेर अक्षरहरू हिज्जे गर्दै थिए । हेर्दा थाहा हुन्थ्यो कि उनी पनि रोइरहेका थिए; उनको आवाज काँपिरहेको थियो, र उनलाई यसरी सुन्नु यति अनौठो लाग्थ्यो कि हामी सबैलाई एकै पटक हाँस्न पनि मन लाग्थ्यो र रुन पनि । ओहो ! त्यो अन्तिम पाठ म कति राम्रोसँग सम्झन्छु !

अचानक चर्चको घडीले बाह्र बजाएको आवाज आयो । त्यसपछि एन्जेलस (प्रार्थनाको घण्टी) बज्यो । त्यही समयमा, अभ्यास सकेर फर्किरहेका प्रशियन सैनिकहरूको बिगुल हाम्रो झ्यालमुनि बज्न थाल्यो । एम. ह्यमेल आफ्नो कुर्सीबाट उठे, निकै फिक्का देखिँदै । मैले उनलाई कहिल्यै यति अग्लो देखेको थिइनँ ।

“मेरा साथीहरू,” उनले भने, “म..म..” तर उनको घाँटीमा केही अड्किए जस्तो भो हिक्का छुटेर उनी अगाडि बोल्न सकेनन् ।

त्यसपछि उनी ब्ल्याकबोर्डतर्फ फर्किए, चकको टुक्रा लिए, र आफ्नो सम्पूर्ण शक्तिले जोड लगाउँदै, सकेसम्म ठूलो अक्षरमा लेखे– “अमर रहोस फ्रान्स !”

त्यसपछि उनी रोकिए, टाउको भित्तामा आडेस लगाए, र कुनै शब्द नबोली, हातले संकेत गरे—

“आजको कक्षा सकियो—तिमीहरू जान सक्छौ ।”

उप- प्राध्यापक

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.