हितेन सह सहितः तस्य भावः साहित्यम् । अर्थात् हितले सहित भएको चिज नै साहित्य हो । सामान्य अर्थमा भन्दा मानिसले बोलेका वा लेखेका सबैभन्दा मीठा अभिव्यक्तिलाई साहित्य भनिन्छ भन्दा फरक नपर्ला । फेरि विरोध, उत्थान, सङ्घर्ष आदि पनि साहित्यका विषय बन्छन् । खैर, जे भए पनि भावना वा मस्तिष्कबाट निःसृत सर्वोत्कृष्ट अभिव्यक्ति साहित्य हो भन्न सकिन्छ ।
साहित्यको इतिहास हेर्दा पूर्वीय तथा पाश्चात्य दुवैतिर निकै अभ्यास र प्रयोग भएको देखिन्छ । वैदिक साहित्य, पौराणिक साहित्य हुँदै काव्यसाहित्यमा आइपुगेको इतिहास केलाउँदा समाजको हितका निम्ति लेखिएको अथवा बोलिएको मीठो अभिव्यक्ति नै काव्य हो । जीवनको कल्याण चाहने शास्त्र नै साहित्य हो । यसमा व्यापकताको चाहना राखेर नयाँ भाव, विचार वा वस्तुको नयाँ–नयाँ स्वरूप भित्री हृदयबाट स्फुरण हुन्छ । स्फुरित भाव शब्द र अर्थको सामञ्जस्यबाट आत्मानुभूतिको सरस अभिव्यक्ति बन्दछ, त्यो नै साहित्य हो । नेपाली साहित्यको कालक्रम त्यति लामो त छैन, तर पनि अन्य साहित्यका दृष्टिमा निकै समृद्ध देखिन्छ । मानव सभ्यतासँगै साहित्य पनि विकसित भएकाले नेपाली साहित्य नेपाली भाषाको विकाससँगै पल्लवित भएको बुझ्न सकिन्छ । हजार वर्षको नेपाली भाषाको इतिहासमा साहित्यको औपचारिक लिखित प्रमाण करिब सात सय वर्षपछि मात्रै देखिए पनि लोकसाहित्यका रूपमा जनमानसमा मौखिक तथा श्रव्य परम्पराद्वारा पहिलेदेखि नै प्रसारित भएको देखिन्छ ।
नेपाली साहित्यमा कविताको स्थान सर्वोपरि छ । लोकगीतलाई छाडेर हेर्दा नेपाली कविताको प्रारम्भ र विकास छन्दकवितामै भएको देखिन्छ । प्राथमिक कालदेखि आधुनिक कालको पूर्वार्धसम्म नेपाली कवितामा छन्दकविताले नै काव्यिक गौरवलाई संवहन गर्दै आएको देखिन्छ । आधुनिक कालको दोस्रो चरणमा गद्यकविताको विकाससँगै छन्दप्रतिको चासो कम भएको देखिए पनि छन्दकविता लेखनशून्य अवस्थामा भने पुगेको देखिँदैन । वि.सं. २०५० सालपछि ओझेलमा परेको छन्दकविताको पुनर्जागरण भएको देखिन्छ । अन्य भाषामा छन्दमा कविता लेख्ने परम्परा लगभग बन्द भइसकेको अवस्थामा नेपाली भाषामा भने सशक्त रूपमा लेखिएको अवस्था छ ।
नेपाली कविताका पर्याय लक्ष्मीप्रसाद देवकोटाले १० वर्षको उमेरदेखि कविता लेख्न शुरु गरे, जसले शास्त्रीयतावादी–परिष्कारवादी धारामा बगेको काव्यपरम्परालाई स्वच्छन्दतावाद हुँदै प्रगतिवादसम्म पुर्याए । नयाँ पुस्तालाई पत्याइहाल्ने परिपाटी आजसम्म पनि नबनेको अवस्थामा तत्कालीन समयमा कविताको धार परिवर्तन गर्न सक्ने खुबी चानचुने भने होइन । कवितालाई नयाँ मोड दिने काम नयाँ पुस्ताबाट नै भएको देखिन्छ । लेखनाथ पौड्यालको समयमा होस् वा मनोज, सुदेशहरूको लेखनकालसम्म आइपुग्दा, कवितामा नयाँ चेतना, नयाँ दृष्टिकोण र नयाँ आयाम थप्ने श्रेय नयाँ पुस्ता, विशेषगरी युवावर्गलाई नै दिन सकिन्छ ।
छन्दकविता केवल भाव भएर मात्रै बन्न सक्दैन । छन्दकविताको आफ्नै नियम हुन्छ । सोही नियमभित्र रहेर कविता लेख्न भाषिक ज्ञान आवश्यक पर्छ । छन्दमा अभ्यास नहुनेहरूका लागि कविता लेख्न गाह्रो हुन्छ । केवल श्लोक भएर मात्रै कविता बन्दैन । प्रतिभा, व्युत्पत्ति र अभ्यास—यी तीनै कुरा भएमा उत्कृष्ट छन्दकविता रचिन्छ । त्यसैले केही क्लिष्टता भए पनि छन्दकविता पढ्दा वा सुन्दा सौन्दर्यको अपरिमित परिधिमा व्यापकताको अनुभूति गर्न सकिन्छ ।
धेरै समकालीन साथीहरू ‘छन्दकविता सुन्न त मजा हुन्छ, तर लेख्न सकिँदैन’ भन्नुहुन्छ । उहाँहरूको कुरा बेठीक भने होइन । छन्दकविता प्रतिभा भएर मात्रै बन्न सक्दैन । नियमबद्ध हुने भएकाले यसको निश्चित परिधि हुन्छ । छन्दको परिधिभित्र केवल शब्द थुपारेर मात्रै कविता बन्दैन । लयको अभ्यासद्वारा स्वस्फूर्त आएका अर्थपूर्ण शब्दहरूले मात्रै कविता बन्ने सामर्थ्य राख्छन् । त्यसका लागि मस्तिष्कभित्र यथेष्ट शब्दभण्डार र त्यसलाई प्रस्तुत गर्ने काव्यशिल्प चाहिन्छ । कसैमा त्यस किसिमको सहज प्रतिभा हुन सक्छ भने कसैमा नहुन पनि सक्छ । छन्दकविता लेखनको रहरलाई अध्ययन र अभ्यासद्वारा अझ निखार्न सकिन्छ ।
अब एउटा आरोपको कुरा । केही अग्रजहरूले छन्दमा नवीनता खासै देखिएको छैन पनि भन्ने गर्नुभएको छ । हुन पनि लेखनाथले अथवा माधवप्रसादले लेखेजस्तै कविता लेख्नुको अर्थ रहँदैन । अलिअलि नीतिचेतनाले भरिएका, राष्ट्रप्रेम, प्रकृतिचित्रण आदि विषयबाहेक अरू नलेख्ने, अनि त्यस्ता कविताका आधाजसो शब्द सबैका साझा हुने प्रवृत्ति पनि देखिएका छन् । यसले छन्दको अभ्यास त अवश्यमेव हुन सक्ला, तर कविता भने बन्न सक्दैन । यसको अर्थ छन्दमा कविता लेख्ने अग्रज एवं समकालीन साथीहरूप्रति खोट देखाउन खोजिएको होइन । उहाँहरूप्रति धेरै सम्मान छ । केवल त्यस्ता प्रवृत्ति पनि छन् भन्न खोजिएको हो । म आफैँ छन्दको परिवेशमा हुर्किएकाले छन्दकविताको शक्तिसँग परिचित छु ।
हाम्रो समाजमा प्रायः सबैले पहिलोचोटि सुनेको कविता छन्दमै हो भन्दा फरक नपर्ला । वार्णिक छन्द नभए पनि लय मिलेका अथवा मात्रा मिलेका मात्रिक कविता नै हुन् । अझ हरेकले कोर्ने पहिलो कविता पनि त्यस्तै किसिमको हुन्छ । शब्दहरू (अनुप्रास) मिलेका, लयमा गाउन मिल्ने कविता नै पहिलोचोटि कोरिन्छन् । अझ शिशु जन्मेदेखि नै लोरी सुनेर वा लयमा ‘हो…’ भन्दै थपथपाएर निदाएको हुन्छ । मान्छेले आफूलाई सहज बनाउन लयमा अथवा छन्दमा स्वतः ढालेको हुन्छ ।
छन्दकविताप्रति जति हुनुपर्ने हो, त्यति चासो भएको देखिँदैन । सङ्ख्यात्मक रूपमा निश्चित परिधिका व्यक्तिहरू मात्रै छन्दतर्फ अग्रसर भएको देखिन्छ । यद्यपि सङ्ख्या ठूलो हुनुले मात्रै छन्दकवितालाई न्याय गर्न सक्दैन । गुणात्मक रूपमा लेखिएका सीमित कविताहरू नै वर्तमानका लागि पर्याप्त छन् । नेपाली भाषाको एकीकरणमा पनि छन्दको महत्त्वपूर्ण भूमिका रहेको छ । भानुभक्तीय रामायणजस्ता कृतिले त्यसमा उल्लेखनीय योगदान दिएका छन् । भाषाको व्यापकतालाई अरू विधाभन्दा छन्दकविताले अलि बढी नै न्याय गर्छ भन्ने मेरो बुझाइ छ ।
अस्तु ।

