साहित्यपोस्ट डट कम

आख्यानकार उमा सुवेदी ‘यस वर्षका ५० प्रतिभाशाली महिला’ सूचीमा

आख्यानकार उमा सुवेदी ‘यस वर्षका ५० प्रतिभाशाली महिला’ सूचीमा

काठमाडौं । नेपाली आख्यान क्षेत्रमा विशिष्ट पहिचान बनाएउनुभएकाे लेखक उमा सुवेदी यस वर्षको ‘५० प्रतिभाशाली महिला’ सूचीमा पर्नुभएकाे छ । साहित्य, समाज र सिर्जनशीलताको त्रिवेणीमार्फत योगदान पुर्‍याउँदै आउनुभएकाे सुवेदीलाई उक्त सूचीमा समावेश गरिएको हो ।

पाँचथरमा जन्मिएर झापामा हुर्किनुभएकाे सुवेदीको जीवनयात्रा संघर्ष, आत्मविश्वास र निरन्तर सिर्जनशीलताको प्रेरक उदाहरणका रूपमा लिइन्छ । बाल्यकालमै रेडियो किन्न ढुंगा बोकेर पैसा कमाएको प्रसंगदेखि लिएर विदेश बसाइ, संगीत, रंगमञ्च र अन्ततः साहित्यमा स्थापित हुने यात्राले उहाँलाई विशिष्ट बनाएको हो ।

उहाँले ‘तोदा’, ‘इति’, ‘सयौं पुतली’ र पछिल्लो कृति ‘परिधि’मार्फत नेपाली आख्यानमा नयाँ संवेदनात्मक भूगोल निर्माण गर्नुभएकाे छ । उहाँका कृतिहरूमा स्मृति, अनुभूति र भित्री जीवनको गहिरो प्रस्तुति पाइन्छ, जसले पाठकलाई फरक स्वाद दिन सफल भएको समीक्षकहरू बताउँछन् ।

सुवेदीको लेखन प्रायः स्त्री अनुभवसँग जोडिए पनि उहाँ आफूलाई कुनै ‘वाद’मा सीमित गर्न नचाहने बताउँनुहुन्छ । उहाँका अनुसार लेखन अनुभवको अभिव्यक्ति हो, जसमा जीवनका देखेका, भोगेका र महसुस गरेका पक्षहरू स्वाभाविक रूपमा अभिव्यक्त हुन्छन् ।

सिर्जनशीलतासँगै सामाजिक क्षेत्रमा पनि सक्रिय सुवेदी ‘आह्वान’ समूहकी सहसंस्थापक हुनुहुन्छ । उक्त संस्थामार्फत महिला, लैंगिक समानता, हिंसा र सामाजिक न्यायका विषयमा बहस तथा संवाद सञ्चालन हुँदै आएको छ ।

इजरायल बसाइका क्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजसँग आवद्ध हुँदै साहित्यिक गतिविधिमा सक्रिय रहनुभएकाे सुवेदीले गीत–गजलदेखि आख्यानसम्म विविध विधामा कलम चलाउनुभएकाे छ ।

विभिन्न राष्ट्रिय पुरस्कारबाट सम्मानित सुवेदी नेपालभित्र र बाहिर हुने साहित्यिक कार्यक्रममा नियमित रूपमा आमन्त्रित वक्ताका रूपमा सहभागी हुँदै आउनुभएकाे छ ।

सुवेदीकाे लागी, “ साहित्य पेनकिलर जस्तै हो, भावनाले निकास पाउँदा जीवन हलुका हुन्छ।” उहाँको यही समर्पण, सिर्जनात्मकता र सामाजिक चेतनालाई मूल्यांकन गर्दै अनलाइन खबरकाे सर्वेक्षणले उत्कृष्ट ‘५० प्रतिभाशाली महिला’ सूचीमा समावेश गरिएको आयोजकले जनाएको छ ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.