साहित्यपोस्ट डट कम

‘आख्यान पुरस्कार– २०८२’ संवादः सत्यम्

‘आख्यान पुरस्कार– २०८२’ संवादः सत्यम्

‘साहित्यपोस्ट आख्यान पुरस्कार – २०८२’ का लागि तीन आख्यान कृतिको अन्तिम सूची घोषणा भइसकेको छ । यो पुरस्कारको प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट तीन कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य “साहित्यपोस्ट आख्यान पुरस्कार”लाई लिएर नवोदित लेखक/कविहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । प्रस्तुत छ, उत्कृष्ट तीनमा छनोट भएको कृति ‘सत्यम्‘का स्रष्टा लक्ष्मण वियोगीसँगको संवाद:

===

वियोगीजी, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’को अन्तिम सूचीमा तपाईंको पहिलो पुस्तक छनोट भयो । कस्तो महसूस गरिरहनुभएको छ ?

साहित्यको बाटो हिँड्छु, कहिल्यै सोचिएन । त्यो परिकल्पनाभन्दा धेरै–धेरै टाढा थियो । नसोचिएको र लक्ष्यबिनाको बाटो हिँड्नुपर्ने रहेछ । म उद्देश्यको भीरबाट खसेर आफैँ बाटो खोज्दै उकालो हिँडिरहेको रहेछु । यो त्यही दुर्घटित हिँडाइको प्रतिफल हो जस्तो लाग्छ; जसले मलाई अपार आनन्द र हर्ष अनुभूति गराएको छ । हृदयको पिँधमा डरले डेरा जमाएको हो कि ! टाउकोमाथि कसैले गह्रुँगो भारी बोकाइदिएको पो हो कि ! यस्तै अनुभूत गरिरहेछु । यिनै असोचनीय, अकल्पित र निरुद्देश्य उपलब्धिको लोभलाग्दो जोड नै जीवनयात्रा रहेछ । यही मृगतृष्णाको लोभमा ‘एक दिन मर्छु भन्ने बिर्सेर’ मान्छे बाँच्दो हो ।

तपाईं लामो समयदेखि पत्रकारिता तथा साहित्य लेखनमा हुनुहुन्छ, तर पुस्तकाकारका रूपमा ढिलो गरी प्रकाशनमा आउनुको कारण के हो ?

मैले केही पृष्ठभूमि माथि उल्लेख गरेँ । पत्रकारतिा पनि मैले सोचेर र जानेर अपनाएको पेशा होइन । सङ्घर्ष गरेर बाँच्ने सम्भावित अनेक विकल्पहरू रोज्दै र छोड्दै हिँड्दा म बेचल्तीको बाटोतिर पुगेको हुँ । लेख्न खोज्नु मभित्रको रहर रहेछ । परिवार, परिवेश, वातावरण र सामाजिक पहरोभित्र त्यो धेरै कालसम्म निर्जन वनमै थिचिएर बसेछ कि ! आज सोच्दैछु– भाषा–साहित्यका गुरुहरूको मार्गनिर्देशन र आर्शीवाद, अग्रज व्यक्तित्वहरूको प्रेरणा एवम् सङ्गीसाथी तथा हितैषीको घच्घच्याइ हुँदैनथ्यो भने मभित्रको सिर्जनशीलता नब्यूँतिकनै खरानी हुने रहेछ ।

म यतिबेला चोला फेरिसक्नु भएका जनकविकेशरी धर्मराज थापा, कृष्णप्रसाद पराजुली र राजेन्द्र पराजुलीको सान्निध्य, प्रेम र प्रेरणा सम्झिरहेको छु । उर्वर उमेरका धेरै पात खसिसकेपछि मात्रै मभित्र ‘लेख्न सक्दो रहेछु’ भन्ने चेत पलाएको हो । त्यसैले साहित्यिक रसको स्वाद थाहा पाउन मलाई समय लाग्यो । त्यसका पछाडि अशोक थापा, महेश पौड्याल, नेत्र एटम, अश्विनी कोइराला, अनिता पन्थी, मिलन समीर, शम्भु अर्याल जस्ता लेखक–साहित्यकारको शुभेच्छा र प्रोत्साहन छ । पत्रकारितामा पनि मलाई हौस्याएर अगाडि धकेल्नेको लामो सूची छ, त्यो यहाँ उतार्न सम्भव छैन । अञ्जना मुवा (भट्टराई) र गोविन्दराज भट्टराई गुरुको साँझ–बिहानको खेदाइ हुँदैनथ्यो भने कृति प्रकाशनमा आउन समयले अझै धेरै वर्ष कुर्नुपथ्यो कि ! मभित्र ‘कृतिकार’ हुन्छु भन्ने आँट र विश्वास नै थिएन । चेतनाको दियो बालेर त्यो स्वरूपाकृति देखाइदिने गुरुजनप्रति नमन गर्छु ।

कथासंग्रहको नामकरण ‘सत्यम्’ नै गर्नुको कारण के हो ? यो शीर्षकले समग्र संग्रहलाई कसरी प्रतिनिधित्व गर्छ ?

जब चेतनाको आलोक धिपधिप गर्दै बल्न थाल्यो, तब मैले आफ्ना कथाहरू समेल्दै गएँ । पुस्तकाकारको मुठो बाँधेर प्रकाशनको दैलोसम्म पुर्याएँ । धेरै गुरु, अग्रज र मित्रहरूले अनेक नाम सुझाउनु भयो । एक दिन मेरो अन्तस्करणबाट झुलुक्क ‘सत्यम्’ शब्द झुल्क्यो । मैले यसलाई अरू–अरू सम्भावित नामसँग दाँज्दै गएँ । अग्रज–साथीसङ्गीसँग साझा गरेँ । एक–दुई बाहेकले त्यति रुचाएको पाइनँ तर मैले रोजिसकेको थिएँ । मनको भित्तामा टाँसिएको सुन्दर शब्द मेटेर हिँड्न सकिनँ । अन्ततः त्यही नाम अन्तिम भयो ।

‘सत्यम्’ले कथासङ्ग्रहलाई न्याय गर्छ कि गर्दैन भन्ने सन्दर्भमा जाऊँ – आज मेरो चेतनाले भन्छ, समयभन्दा पर अर्को सत्य छैन । समयले नै यो जगतको सृष्टि देख्यो, उथलपुथल र करोडौँ, अर्बौँ वर्षको प्रवाह, आँधीहुरी नियाल्यो । वर्तमान चराचर दुनियाँ देखिरहेको छ । भोलि हामी हुँदैनौँ । भविष्यद्रष्टा र भोलिलाई तानेर धराको अन्तिम बिन्दुसम्म पुर्याउने साक्षी समय नै हो । प्रलय भएर जगत शून्यमा हराउँदासम्म समयका आँखा खुलै हुन्छन् । त्यो आफ्नै अक्षमा घुमिरहन्छ । यही थुम्कोमा उभिएर नियाल्दा ठान्छु – मैले समयका कथा लेखेको हुँ ।

‘सत्यम्’मा मैले बाँचेको त्यो कठिन समय अर्थात् विकट गाउँको अर्धशिक्षित एउटा निम्नमध्यमवर्गीय परिवारका साझा व्यथा छन् । शैशवकालीन हरित, बाल्यकालीन गुलाबी र युवाकालीन उमेरका बैजनी रङहरू देखेर लेखेँ । सम्झेर, कल्पेर र कतैँ आँसु झारेर लेखेँ । द्वन्द्व, हिंसा, रगत र आमहत्याको झिल्कोले पोलेका खत कोट्याएँ । समयको पुल तर्दै गरेका असङ्ख्य जिजीविषा हेरेर घोरिएँ । तिनैलाई अक्षरमा उतारेँ । यो सृष्टिको पल्लो धुरी टेक्न बेगिएको पराधुनिकताभित्र बिटुलिएको पञ्चमहाभूत देखेर तर्सिएँ । तिनैको गति र गीत टिप्ने कोसिस गरेँ । यी सबै–सबै समयका कथा हुन्; मेरो दृष्टिदृश्यका सत्य । हेर्ने हजार–हजार आँखा हुन्छन् । मेरो सत्य अरूलाई असत्य पनि लाग्न सक्छ । अन्तिम फैसलाको अदालत ‘पाठक–बेञ्च’ नै हो ।

अन्तिम सूचीमा ‘सत्यम्’सहित नवोदित लेखकका तीन उत्कृष्ट कृति छनौट भएका छन् । तपाईंले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी कथायात्रामा के अर्थ राख्छ ? तपाईंले यो पुरस्कार जित्नुभयो भने प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?

‘सत्यम्’ अन्तिम सूचीमा परिसक्यो । यो नै पुरस्कृत भएको ठोस प्रमाण हो । मलाई यसैमा चरमोत्कर्षको सन्तुष्टि प्राप्त भइसक्यो । यसभन्दा अगाडिको खुड्किलो उक्लिन सक्छ वा सक्दैन त्यो ‘उसका’ पाइला र गतिमै भर पर्छ होला । पुरस्कृत हुने माथिल्लो देउरालीमा पुग्नु केही धनराशि र एक थान प्रमाणपत्र ग्रहण गर्नु मात्र रहेछ । तथापि, यसले सिर्जनशीलताको अझ उपल्लो चुलीमा उक्लिने भर्याङको काम गर्छ होला । पुरस्कार जित्नु वा नजित्नुले मेरो सिर्जनायात्रामा तात्विक असर गर्दैन । मभित्र ‘लेख्नुपर्छ’ भन्ने चेतनाको दियो बलेको छ । म त्यही उज्यालोमा लेखिरहन्छु, त्यसमा तेल नसकिँदासम्म ।

पुरस्कार जित्न सफल भइयो भने अझ हर्ष हुने भइहाल्यो । त्यसले चेतनाको दियोमा तेल थप्दै जाला । प्राप्त ‘पुरस्कार राशि’ सिर्जना र साहित्यमै खर्चिनेछु । मैले आजसम्म साहित्यमार्फत जेजति पुरस्कार प्राप्त गरेको छु । ‘सिर्जना–कोष’को नाममा त्यो जम्मा गरेको छु । अब प्राप्त हुने ‘राशि अङ्क’ पनि त्यसैमा थपिनेछ । सिर्जनाबाटै भएको आम्दानी यही क्षेत्र र यसैको सेवा बाहेक अन्यत्र जाँदैन । अक्षरहरूमा अदभूत शक्ति हुँदो रहेछ भन्ने बल्ल ‘होस्’ आएको छ । आजसम्म कर्मको हलोजुवाले अनुत्पादक बाँझा बारी धेरै जोतिएछ । गोविन्द गुरु भन्नुहुन्छ– पुराना हलोजुवा चिरेर बाल्नुपर्छ भाइ । अब ती हलोजुवा चिरेर आगो बाल्छु र सिर्जनाका फाँटतिर फाल हान्छु भन्ने जाँगर पलाएको छ । एउटा योजना छ– मातापिता वा अन्य प्रतिष्ठित क्षेत्रको नाममा ‘आख्यान पुरस्कार’ स्थापना गर्ने; जसले मजस्तै शिकारु लेखक वा सिर्जनशील चेतना च्यापिएर र थिचिएर मुर्झाएको समूहलाई हौसल र प्रेरणा थपोस् ।

अन्त्यमा, तपाईंका आगामी साहित्यिक योजना के के छन् ? बताइदिनुस् न ।

मसँग योजना नै छैनन् भने पनि हुन्छ । लक्ष्य र गन्तव्यमा हिँड्न सकेको भए आज अर्कै क्षेत्रमा हुन्थेँ होला । साहित्य–सिर्जना भन्ने चरीको नामै चिन्दिनँ थेँ कि ! अब मेरो पहिलो कर्म पढ्नु, पढ्नु र पढ्नु नै हो । त्यसपछि हिम्मत भरियो भने लेख्दै जानु नै हुनेछ । केही संस्मरणात्मक निबन्ध लेखिएका छन् । ती काँचा छन्, एकत्रित गरेर पकाउने ध्याउन्नमा छु । अँ, मनको भित्री कुनामा एउटा रहर भने छ– मर्ने अघिल्लो दिनसम्मै भए पनि बहुसङ्ख्यक पाठकले रुचाउने एउटा उपन्यास लेखेर छोडौँ भन्ने ।

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.