‘साहित्यपोस्ट आख्यान पुरस्कार – २०८२’ का लागि तीन आख्यान कृतिको अन्तिम सूची घोषणा भइसकेको छ । यो पुरस्कारको प्रायोजन साहित्यकार चैतन्य अधिकारीले गर्नुभएको हो । यसै सन्दर्भमा उत्कृष्ट तीन कृतिका स्रष्टाहरूसँग पुरस्कारकै पेरिफेरिमा रहेर संवाद गरिएको छ । यस संवादको मुख्य उदेश्य “साहित्यपोस्ट आख्यान पुरस्कार”लाई लिएर नवोदित लेखक/कविहरूको विचार जान्नु र कृतिको बारेमा पाठकलाई लेखकबाटै थाहा दिनु हो । प्रस्तुत छ, उत्कृष्ट तीनमा छनोट भएको कृति ‘महबी मिका‘का स्रष्टा प्रकाश पन्थीसँगको संवाद:
===
प्रकाशजी, ‘साहित्यपोस्ट आख्यान पुरस्कार’को अन्तिम सूचीमा तपाईंको पुस्तक छनौट भयो । कस्तो महसूस गरिरहनुभएको छ ?
साहित्य स्रष्टाबाट सिर्जित अवश्य हुन्छ, तर सिर्जित भएको साहित्यले आफू प्रकट हुने माध्यम खोज्छ । नेपाली साहित्य जगतको इतिहासमा विभिन्न समयमा विभिन्न माध्यमहरू आए । केही मैले सुनेँ, केही मैले देखें, केही मैले भोगें र केही अहिले पनि देखिरहेको/भोगिरहेको छु । अहिलेको, वा भनौँ हाम्रो समयको त्यो माध्यम साहित्यपोस्टभन्दा अर्को के हुन सक्ला ? साहित्यपोस्टलाई म केवल माध्यम मात्र भनेर उम्किन चाहन्नँ । म यसलाई अहिलेको नेपाली साहित्य जगतको बलियो खम्बा भन्छु, मान्छु । साहित्यपोस्टको लगनशीलता, इमानदारिता र निरन्तरताबाट म कति प्रभावित छु भन्ने कुराको वर्णन अहिले म गर्न नसकुँला कि !
मेरो पुस्तक ‘महबी मिका’ अहिले साहित्यपोस्ट आख्यान पुरस्कारको उत्कृष्ट सूचीमा पुगेको छ । साहित्यपोस्टसम्म किताब पुग्नु नै मेरा लागि गर्वको कुरा थियो । पहिलो कृतिको उत्साह, त्यसमाथि नेपालको प्रतिष्ठित संस्थाले मन पराउनु, निर्णायकहरूले पढ्नु र उत्कृष्ट सूचीसम्म पुर्याउनु मेरा लागि नितान्त नौलो, अनौठो र एक किसिमले खुशीले सीमा नाघेको अनुभव भइरहेको छ ।
यो उत्साहले, यो मायाले मेरो कलम पक्कै बलियो बनाउनेछ, त्यसमा मलाई कुनै द्विविधा छैन । पुरस्कार भलै एउटा गणितीय कुरा हुन सक्ला, तर पुरस्कारले दिने ऊर्जा र आत्मविश्वास भने पक्कै अमूल्य हुन्छ । साहित्यपोस्टसँग ‘महबी मिका’ले गरिरहेको यात्रा मेरा लागि एउटा अमूल्य यात्रा हो ।
तपाईंलाई गजलहरुमा सुनिरहेको भए पनि पहिलो कृतिका रुपमा उपन्यास प्रकाशनमा ल्याउनुभयो । आख्यानको बजारले तानेको हो ? यो तिलस्मी उपन्यासको लेखन र यसका विषयवस्तुका बारेमा छोटोमा बताइदिनुस् न ।
म आफ्नै पाण्डुलिपिहरूको एकान्तमा बाँचेको लेखक हुँ क्यार । प्रकाशित लेखहरू मेरा उति छैनन् । किन छैनन् भन्ने पनि मलाई पटक्कै थाहा छैन । थाहा छैन ? आफ्नै कुरा पनि थाहा नहुने हुन्छ ? अब नभएको कुरालाई कसरी छ भनौँ ?
आक्कलझुक्कल केही कविता वा गजलहरू सुनाएको छु । सुन्नेहरूले ताली पनि बजाए कि जस्तो लाग्छ । तर तालीको आवाज भने अहिले मेरो कानमा ठोक्किरहेको छैन । केही दर्जन कथाहरू मैले अवश्य लेखेको छु । एउटा उपन्यासको पाण्डुलिपि पनि छ क्यार, मेरो बुकसेल्फको सबैभन्दा तलको र्याकमा ।
महबी मिकाको यात्रा भने बडो अनौठो र गज्जबको छ । मैले यो उपन्यास ठ्याक्कै १४ दिनमा लेखिसक्याएको थिएँ । एकदुई जना मित्रहरूले उक्साए, म पनि तात्तिएँ । नआत्ती तात्तिएपछि काम फत्ते हुँदो रहेछ । नेपाली साहित्य जगतमा चिनेजानेको कोही भएन, सोर्स–फोर्स लाग्ने कुरै भएन । त्यही अर्थमा किताब प्रकाशनको यात्रा रोमाञ्चक पक्कै थियो । दुःख पनि थियो, तर मैले त्यसलाई दुःखको नाम दिन चाहन्नँ । उतारचढाव बिनाको यात्रा के यात्रा ? एउटा कुरा मैले के भन्नुपर्छ भने, म लेखकभन्दा पाठक ज्यादा हुँ । पढ्दा–पढ्दै शायद मस्तिष्कमा कथाहरूको एउटा चित्र बन्छ होला । त्यो चित्रले बाहिर आउने बाटो खोज्छ होला । र अन्त्यमा बाहिर निस्किएरै छोड्छ होला । कुनै पूर्वयोजनाबिना महबी मिका त्यसरी नै विस्फोट भयो, बाहिर निस्कियो ।
आख्यानको बजारले तानेको त पटक्कै होइन । बजार भनेको अविरल चल्ने प्रक्रिया हो । बजार सधैं जीवित छ । किन बेचभन्दा के नै छ र संसारमा ? अतियथार्थवादी लेखन र लेखकहरूप्रति मेरो विशेष रुचि रह्यो । शायद त्यसैको बढी प्रभावमा महबी मिकाको बीज मनमा रोपिएको होला । सामाजिक कथा र विसंगतिहरूलाई चलेका/सुनिएका माध्यमभन्दा फरक ढंगले कसरी लेख्न सकिन्छ, वा कसरी कथा भन्न सकिन्छ भन्ने कुरा मेरो मनमा सधैं आइरहन्थ्यो । महबी मिकाको विषयवस्तुमा त्यही कुराको बलियो भूमिका पक्कै छ ।
उपन्यासको नामकरण ‘महबी मिका’ नै गर्नुको कारण के हो ? यो शीर्षकले समग्र उपन्यासलाई कसरी प्रतिनिधित्व गर्छ ?
सृजनशीलता हरेक तरिकाबाट देखाउन सकिन्छ । नामसँग पात्रहरूका कथाको विशेष सम्बन्ध हुन्छ भन्ने लाग्छ मलाई । त्यसै कारणले उपन्यासका सबै पात्रहरूको नाम अलि फरक र चलनचल्तीमा नआएका जस्ता लाग्छन् । जहाँसम्म महबी मिका भन्ने उपन्यासको नामकरणको कुरा छ, त्यो नामले समग्र उपन्यासको प्रतिनिधित्व गर्छ भन्ने कुरामा म ढुक्क छु । महबी मिका, जसको वरिपरि सम्पूर्ण कथा घुम्छ, त्यो पात्रको नामले नै शायद सम्पूर्ण कथा बोल्छ ।अरू एक-दुई नाम नसोचिएको भने होइन, तर अन्ततः यही नामले उपन्यासको मर्मलाई सबैभन्दा राम्रोसँग समेट्छ भन्ने लाग्यो ।
अन्तिम सूचीमा ‘महबी मिका’सहित नवोदित लेखकका तीन उत्कृष्ट कृति छनौट भएका छन् । तपाईंले यो पुरस्कार जित्नु वा नजित्नुले तपाईंको आगामी लेखनयात्रामा के अर्थ राख्छ ? तपाईंले यो पुरस्कार जित्नुभयो भने प्राप्त आर्थिक राशिले के गर्नुहुन्छ ?
सर्वप्रथम त सूचीमा परेका सम्पुर्ण लेखकहरू र कृतिहरूलाई मेरो बधाई र माया छ । म जसरी खुशी भइरहेको छु, त्यसरी नै सबै लेखकहरू खुशी भइरहनुभएको छ भन्ने मेरो अनुमान छ । सबैको आफ्नै कथा होला । लेखनको यात्रा मीठो/नमीठो, सजिलो/अफ्ठ्यारो होला । जे-जस्तो भए पनि साहित्यपोस्टले ऊर्जा भने भरपुर भरिदिएको छ । सबै कृतिहरू उत्तिकै अब्बल छन् र त अन्तिम सूचीसम्म पुगेका छन् । पुरस्कार मैले जिते पनि वा अरू कसैले जिते पनि त्यो नितान्त नेपाली साहित्यकै जित हुनेछ । भलै एक–दुई कुराको मापनले गर्दा पुरस्कारको प्रमाणपत्रमा कसैको नाम लेखिएला, तर त्यो नाम एक सर्जककै हुनेछ ।
प्रश्नअनुसार, यदि मैले यो पुरस्कार जितेँ भने, हम्म… मेरा बा–आमा एकपटक हाँस्नुहोला कि ? मख्ख पर्नुहोला कि ? साहित्यको गन्ध कुनै पुस्ताले नपाएको मेरो परिवार एकपटक जिल्ल पर्ला कि ? मेरो लेखनमा भने यो पुरस्कारले ‘जलिरहेको आगोमा घ्यू थप्ने काम’ अवश्य गर्नेछ । चुप लागेर बस्ने मलाई छुट हुने छैन । यसले मेरो सिर्जनाको कलममा मसी थपिदिनेछ ।
अरू त के भनौँ, म खुशी हुनेछु । खुशी पनि त्यो दुई कौडीको हुने छैन । एउटा विशेष खुशी मिल्नेछ । पुरस्कारको आर्थिक राशिले के गर्छु भन्ने मैले ठ्याक्कै सोचिसकेको छैन । जीविकोपार्जनका लागि मैले काम गरिरहेको छु, त्यसैले यो सम्मानजनक राशिले केही स्मरणयोग्य र सिर्जनशील काम गर्नेछु भन्ने कुरामा म सकारात्मक छु ।
अन्त्यमा, तपाईंका आगामी साहित्यिक योजनाहरु के के छन् ? बताइदिनुस् न ।
लेखिरहेको छु । अर्को उपन्यासमा काम गर्दै छु । महबी मिकाले अथाह उत्साह, साहस र माया दिएकी छिन् । थुप्रै अनुभवहरूसँग साक्षात्कार गर्ने मौका पाएको छु । पाठकहरूको माया—कसरी वर्णन गर्ने यो मायालाई ? मनभरि सँगालेको छु । धेरै रचनात्मक सुझावहरू पनि पाएको छु । केही अग्रज लेखकहरूसँग मित्रता गाँस्ने अवसर पनि मिलेको छ ।
भविष्यका बारेमा धेरै सोचेर हिँड्दिनँ, तर सिर्जना गर्न छोड्ने छैन। साहित्यपोस्ट आख्यान पुरस्कारको ऊर्जाले यत्तिकै बस्न कसरी दिन्छ होला ? अहिलेलाई यत्ति भनौँ क्यार ।

