साहित्यपोस्ट डट कम

आकार अनि आकारविहीन बिम्ब बीचको रमाइलो द्वन्द्व

आकार अनि आकारविहीन बिम्ब बीचको रमाइलो द्वन्द्व

गत फेब्रुअरीको २० मा ‘इन-बिटविन टु वर्ल्ड्स’ नामक दुई जनाको स‌ंयुक्त कला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा भयो । कलाकारहरूमा चिराग वाङ्देल अनि शिभाङ्गिनी राणा थिए । यो प्रदर्शनी २२ फेब्रुअरी सम्म मात्र रहनेछ । दुवै कलाकारहरू स्व–अध्ययनबाटै कलाकारितामा प्रवेश गरेका हुन् । यसो हुँदा पनि यी दुवै कलाकारहरू अलि बढी नै फुक्का भए । आ–आफ्नै पारामा उड्नु एक प्रकारको छुट जस्तो पनि थियो । यसर्थ पनि यी दुवैका भावनाहरू अकासिएर उडेका देखिन्थे ।

एकजनालाई अर्थात् चिरागलाई परम्पराले थोरै बन्धनमा बाँधे । आजको कलालाई इतिहाससँग जोड्ने उनको उपक्रम रह्यो । उनले परम्परागत मोटिफ अनि लोक गाथामाथि अगाथ आशा, श्रद्धा–भाव राखे । एउटा गम्भीर अनि अर्थपूर्ण क्षेत्रमा उनको अभिरुचि बढ्यो । अनि अर्को चाहिँ अर्थात् शिभाङ्गिनीले परम्पराबाट नितान्त अलग्ग बाटोमा हिँड्न रहर गरे । यसो हुँदा रङहरूको आहालमा डुबुल्की मार्दै उछलकुद गरेको पनि देखियो । स्वस्फूर्ततामा रङहरूसँग छताछुल्लमा खेल्न उनी रमाउन पनि थाले । सपनासँग खेल्न उनको रहर पनि देखियो ।

चिरागले शुरूका दिनदेखि नै आकारमा आफ्नो भविष्य देखे । आध्यात्मिक चिन्तनमा मन लगाए अनि गीता–गोविन्द जस्ता पौराणिक कथामा उनको मन बस्यो । मूलतः यसैको सिरिजमा उनका कलाहरू बन्दै गए । शिभाङ्गीनी चाहिँ नितान्त अलग्ग क्षेत्रबाट अचानक कला भित्र प्रवेश गरी कलामा निमग्न भएका कलाकार हुन् । यसकारण पनि यी दुवै कलाकारका कलाहरू नितान्त अलग अलग हुन पुगेको देखिन्छ ।

यी दुवै कलाकारहरूका कलागत स्वभाव अलग अलग हुँदा पनि यसले प्रदर्शन चाहिँ थप आकर्षण बनेको थियो । अर्थात् आकार अनि आकारविहीनताको मिलन अझ भनौँ यी दुई बीचको द्वन्द्व नै यो प्रदर्शनी को विशेष आकर्षण थियो । द्वन्द्व भनौँ या एकाकार भनौँ जे भने पनि यसले आकर्षण चाहिँ यथेष्ट बनाएको थियो । एकातर्फ चहकिलो, चर्को रङसँग खेल्दै गरेको दृश्य देखिन्थ्यो । अनि अर्कातिर सपाट रङ्गीन धरातलमा शान्त मधुर श्वैर अवयवहरू बगेको देखिन्थ्यो । गहिरो काल्पनिकतामा बगिरहनु यसको अझ खास विशेषता थियो । एकातिर चित्रपटमा उग्र रङहरू बढो गतिका साथ उछलकुद गर्दै गरेका देखिन्थे । अर्को चाहिँ शान्त कोमलतामा रङहरू स्थिर भएर बग्दै थिए । यही दुई ध्रुव बीच अनौठो वातावरण बन्न गएको थियो । स्वभावतः यसले कलाको सिर्जन–प्रक्रियामा पनि असर गरेको देखिन्थ्यो । चिराग सोच विचार गरेर लामो समय लिएर बिस्तारै कलाको निर्माण गर्दथे । यति वेला शिभाङ्गिनी चाहिँ तत्काल देखा परेका मनोभावलाई तत्क्षण क्यानभासमा ल्याउन खोज्दथे । यसो हुँदा पनि आधारभूत रङहरू ज्यादा देखिन्थ्यो । अनि उनका क्यानभासमा अमूर्तताका भावहरू बढी मात्रमा परिलक्षित भएका देखिन्थे ।

एउटाको चित्रले नितान्त आध्यात्मिक लोकगाथा बोकेर देखा परेका थिए । परम्परागत पात्रहरू परम्परागत वा लोक भाकामा आधुनिकतामा देखा पर्दै गरेको देखिन्थ्यो । अर्को चाहिँ अमूर्ततामा बगेको आकार भित्र भावक आफैले कथा खोज्नु पर्दथ्यो । मथिङ्गल अलि बेस्सरी घुमाएर अर्थहरू खोज्नु पर्दथ्यो । मूर्त अनि अमूर्तको यो खेलमा भावकले फरक ढंगले आत्मसात् गर्नु पर्दा पनि थोरै असहज त हुन्थ्यो तापनि भावकहरू रमाइलो मानिरहेका चाहिँ देखिन्थे । यही अनौठो फेन्टासी नै यी कलाहरूको थप आकर्षण पनि थियो ।

शिभाङ्गिनीका कलाहरू केही सिरिजको रूपमा अनि बाँकी चाहिँ अलग अलग रूपमा देखा परेका थिए । बटरफ्लाइ, पृथ्वी, यात्रा, आदी साना साना सिरिजमा उनी देखा परे तापनि समग्रतामा सिरिजलाई उनले निरन्तर रूपमा चाहिँ अङ्गालेनन् । यसबाहेक अलग अलग शीर्षकमा उनका अनगिन्ती कलाहरू देखा परे । द क्वाइट करोनेसन, अ थाउजेण्ड जेन्टल मर्निङ्ग, उइन्टर रोज, अमृत धारा, पिकक, स्याक्रेड व्लुम, प्याराडाइज आदी अनेकौँ चित्रहरू यहाँ अवलोकन गर्न पाइन्थ्यो ।

अझ उनले आफ्ना कलाहरूलाई सलहरूमा सोही बुट्टाहरू हानी एक अलग्ग पाराले उपयोगी वस्तुको रूपमा समेत निर्माण गरे । अहिलेको सन्दर्भमा यो चाहिँ नितान्त नौलो प्रयोगको रूपमा देखा पर्यो । उपयोगी कला तर सिर्जनात्मक रूपमा बनेकोले गर्दा यसको मूल्य पनि अलि चर्को नै राखियो । सम्भवतः यसलाई कला कै एक रूप दिएर उनले यसो गरे । यसलाई आम मान्छेले खरिद गरी उनको यो नयाँ प्रयोगलाई स्वीकार्छन् वा स्वीकार्दैन यो त भविष्य नै बताउला । तर यो उनको सोच चाहिँ गजबकै मान्नै पर्छ ।

जहाँसम्म चित्रहरूकै मात्र कुरा छ । उनका चित्रहरू सबै जसो दृश्यचित्रहरू जस्तै नै देखिन्थे तर अमूर्त रूपमा । यो उनको आफ्नै तरिका हुँदो हो । कति ठाउँमा त दृश्यचित्रहरू यथार्थता भन्दा गहिराइमा देखिन्थे । जस्तो कि उनको उइन्टर रोज कै सन्दर्भ उठाऊँ जहाँ गुलाफको फूल देखिँदैन । गुलाफको रङ देखिँदैन तथापि हुस्सुले अचानक ढाक्दै ल्याउँदा महसूस हुने कुरा भनेको कठ्यांग्रिने जाडो नै हो ।

उनका चित्रहरू यथार्थता देखिँदादेखिँदै स्वयंमा अमूर्ततातर्फ उन्मुख हुनु पनि रोचक नै देखिन्थ्यो । अझ यी दृश्यचित्रहरू भावनायुक्त कल्पनामा बग्दै गर्दा श्वैर काल्पनिक दुनियाँमा पुगेको जस्तो पनि देखिन्थ्यो । यथार्थभन्दा पर सपनामा कता हो कता पुगे जस्तो भएर देखा पर्दै गर्दा उनका कलाहरू रहरलाग्दो परिदृश्य देखिन्थ्यो । जस्तो कि अमृत धारामा, कञ्चन स्वच्छ पानीको बहावसँगै अमृतको महसूस हुँदै गर्दा कतैबाट रातो पहेँलो बादलको डफ्फाले ढाकिदिन्छ । वा यथार्थ हुँदाहुँदै अमूर्तताले घेरे जस्तो पनि महसूस हुन्छ । अनि यी दृश्यहरू भौतिक रूपमा हराएर जान्छ । अनि मनबाट महसूस नै गर्नु पर्ने हुन्छ ।

उनको कलामा अचानक आँधी–बेरी आएजस्तो पारामा रङहरू क्यानभासमा छरपस्टिँदा एउटा अलौकिक वातावरण पनि बन्न जान्थ्यो । अनि भावकहरू यसैमा रमाउँदै नजाने के के जाती खोज्दै गरेको पनि देखिन्थ्यो । अमूर्त कलामा हुने पनि यस्तै नै हो । अनि उनको अमूर्तताको यो सबल पक्ष पनि हो । अझ उनी अन्तर्ज्ञान अनि वोल्ड पनि छन् । यसो हुँदा पनि उनीमा अभिव्यञ्जना प्रखर भएर देखिने पनि गर्दथ्यो । उनीमा स्वस्फूर्तता बढी मात्रमा हुने गर्दा पनि उनका कलाहरू सपनामा कल्पना कुदे जस्तो पारामा देखिने गर्दथ्यो । यसकारण पनि उनका चित्रहरू अलग अलग स्वरूपमा देखिने गर्दछन् । अलगअलग शैली र प्रवृत्तिमा देखा पर्ने गर्दछन् । अर्थात् उनको कला एउटा शैलीमा बस्न रुचाएको देखिएन । यसर्थ साँचो रूपमा भन्न पर्दा उनका कलामा विविधता देखिन्छ । यस्तायस्तै विविधता बोकेका उनले पाँच वटा एकल कला प्रदर्शनी चाहिँ गरिसकेका रहेछन् ।

चिराग झन्डै तीन दशक देखि यो कला क्षेत्रमा आफ्नो एक अलग्ग पहिचान बनाएका कलाकार हुन् । उनी स्वयं पनि शान्त गम्भीर स्वभावका छन् । कम बोल्छन् । स्वभावतः यसैको प्रतिबिम्ब उनको क्यानभासमा छाम्न सकिन्छ । उनी चित्रकार मात्र होइनन् । कवि हुन् । कला बारे लेख लेख्छन् । रेडियो प्रोड्युसर हुन् । सिनेमा बनाउँछन् । अनि अरू कुराहरू हुन् । स्वदेश अनि विदेशमा गरी उनका दर्जनौँ एकल कला प्रदर्शनी भइसकेको छ । उनका अङ्ग्रेजी भाषामा चार वटा कविताका सङ्ग्रहहरू पनि प्रकाशनमा आइसकेको छ । यूनाइटेड नेसनको पपुलेसन फन्डबाट प्रकाशन भएको क्यालेन्डरमा उनका त्रिपन्न वटा चित्रहरू राखिनु पनि उनको कलागत गरीमालाई औँल्याउनु सकिन्छ । यसकारण पनि उनी जहाँ कहीँ पनि सक्रिय रूपमा देखा पर्ने गर्दछन् । शिभाङ्गिनी चाहिँ पहिला ग्लास पेन्टिङ गर्ने गर्थिन् । ठूलाठूला होटलहरूमा व्यावसायिक रूपमा व्यवस्थापनको भूमिकामा बस्थिन् । यसो हुँदा पनि उनका कलाहरू प्रयोगात्मक रूपमा देखा पर्‍यो । रङमा भाव–अभिव्यञ्जना बढी मात्रमा देखा पर्‍यो । जसलाई सजिलोको लागि कलाको भाषामा अमूर्त–अभिव्यञ्जना पनि भन्ने गरिन्छ ।

चिरागको जहाँसम्म चित्रकलाको मात्र कुरा छ । त्यहाँ भने उनी नितान्त अनुशासनबद्ध देखा परका छन् । खुल्ला रूपले उड्दै गर्दा पनि उनी एउटा निश्चित गन्तव्य समात्न पुग्दा, उनी एउटा कथामा बाँधिएका देखिन्छन् । यसो हुँदा पनि उनी स्वतह अनुशासनमा बाँधिन पुगेको देखिन्छ । चाहे यता गीता–गोविन्द होस् या तत्त्व सिरिजमा होस् आध्यात्मिक चिन्तन उनीमा यथेष्ट रहेको पाइन्छ । यस प्रकार उनका कामहरू एउटा सिरिजमा देखा पर्दछन् । यसलाई अझ आकर्षक बन्न बनाउन माध्यमको रूपमा उनी कोलाजको पनि प्रयोग गर्दछन् ।

अहिले चाहिँ उनको थप सिर्जनाहरू एक्लाएक्लै भावनात्मक व्यक्तिचित्रको रूपमा पनि देखिन थालेको छ । स–साना यस्ता चित्रहरू राम्रा पनि छन् । मिहिनेत पनि देखिन्छ अनि सस्तो पनि छ । यस्ता चित्रहरू बिक्री पनि बढी नै भएको देखिन्छ । अर्थात् मान्छेहरूले यसलाई मन पराउन थालेछन् भन्ने सङ्केत पनि हो । समग्रमा भन्दा सिरिज कै पात्रहरू पनि कहिलेकाहीँ एक्लाएक्लै पनि देखा पर्दछ । भारतका मुगल वा राजस्थानी अनि हाम्रै लोककलामा देखा पर्ने यस्ता पात्रहरू लाई उनले सापट लिएका छन् । यसो हुँदा पनि उनका पात्रहरू सबैको लागि चिनेजानेका नै हुन् भन्ने पनि लाग्छ । यसो हुँदा पनि एउटा नितान्त अलग्ग कलागत शैली उनको कलागत सिग्नेचर बन्न पुगेको छ । ससाना चित्रहरू बनाउँदा पनि उनी यही शैलीमा काम गर्ने हुँदा पनि उनका कलेक्टरहरू अलि बढी नै छन् ।

यसो हुँदा पनि केही फरकपनाका साथ एक्लाएक्लै देखा परे पनि सिरिजमा काम गर्ने उनको कलागत स्वभाव हो । सिजन अफ होप जस्ता त्यही पोस्चरमा नौलो प्रस्तुति पनि अवलोकन गर्न सकिन्छ । जहाँ दियोको अगाडि गम्भीर मुद्रामा बसेको एउटा मान्छे देखिन्छ । वा ड्रीम अफ द ह्वाइट लोटस, मेटरनल, वा यस्तायस्तै अन्य व्यक्ति चित्रहरू पनि छन् । एउटा अलग्ग डार्क टोनमा खेलिएका यी नितान्त एक्लाएक्लै व्यक्तिका चित्रहरूले उनको एक अलग्ग स्वभावलाई पनि इङ्गित गर्दछ तापनि उनको सिरिजका कामहरू भने एक अलग्गै अर्थका साथ देखा पर्ने गर्दछ ।

अझ भन्नैपर्दा लट्ठ भएका अर्ध नयनहरू उनका विशेष विशेषता हो । अनि कोमल नारीहरू नै उनका मनपर्दा पात्रहरू हुन् । फूलपात वा सेता हाँस, बकुलाहरू, मयूर आदी लयात्मक रूपमा बगिरहनु उनका अर्को कलागत संरचना हो । यस्तायस्तै हरेक जस्ता वस्तुहरूलाई एउटा लयमा बगाउनु पनि उनको अर्को विशेषता हो । अनि गाडा निक्खर रातो सँगै गाडा निलो वा कालो अनि निक्खर सेता अवयवहरू चित्रपटमा देखिनु उनको आफ्नो खास पहिचान पनि हो । रातोमाथि कालो वा सेता रङहरू स्वयंमा सपाट रूपमा सङ्गठित हुनु फेरी अत्याधुनिकताको द्योतक पनि हो । सपाटपनाको हिजोआज कलर स्किम चलनचल्तीका आएको अत्याधुनिक प्रवृत्ति पनि हो । यसैलाई उनले प्रयोगमा ल्याउँदै गर्दा परम्परागत लोककलाको सुगन्धलाई पनि ल्याएको छन् । यसले गर्दा पनि उनको मौलिकता प्रति अगाध आस्था पनि देखिन्छ । यस्तायस्तै संरचनाहरू अनि निश्चित पात्रहरू बारम्बार उनको क्यानभासमा ओर्लिरहन्छ । बारम्बार करीब करीब एउटै भूमिकामा चलखेल गरिबस्छन् । यो उनको कलागत स्वभाव पनि हो ।

हुन त सन् २०००को शुभारम्भतिर कलाले अत्याधुनिक रङ ल्याउँदा यस बखत चिरागका वैकल्पिक कलाहरू पनि निक्कै चर्को रूपमा देखा परेको थियो । सन् २००३मा एउटा विदेशी कलाकारसँग मिलेर गरेको उनको इन्स्टलेसन कला एक्स्पेरीयस रेड त्यसै बखत पनि चर्चामा रहेको काम थियो । तथापि यसले उनको मन लाई धेरै आकर्षक दिन सकेन । अनि उनी क्यानभास मै देखा पर्न थाले ।

दुवै जना एउटै क्यानभासमा

यी कलाकारहरू एउटै क्यानभासमा पनि देखा परिहेरे । यसरी पनि प्रयोग गरी हेरौँ भन्ने यो सोच रहेको हुन पर्छ । यो थप भनेको चाहिँ दुई जना कलाकारले आ–आफ्ना मूर्त अमूर्त पात्रहरूलाई एउटै चित्रपटमा संयोजन गरी हेरे । आकार अनि आकारविहीनतालाई एक ठाउँमा मिलाई थप आकर्षण पैदा गर्ने यो एउटा प्रयोग पनि थियो । वा भनौँ दुवैको अलग अलग आवेगलाई जुराएर हेर्न खोजेका पनि थिए । बर्सादको वेला खण्ड खण्ड वर्षा हुने गर्दछ । अनि आम मान्छे यसलाई रमाइलो मानी हेर्ने गर्दछन् । यस्तायस्तै प्रभाव वटुलेको यो संयुक्त संरचना मा यहाँ पनि भावकले अनौठो स्वाद रसास्वादन गरिरहेको देखिन्थ्यो । एउटा चित्रमा चिरागका पात्रहरू सेतो पहिरनमा कोमल भावका साथ उड्दै देखा पर्दै गर्दा अनि सङ्ख बोकेर धार्मिक यात्रामा भ्रमण गर्दै गर्दा तल्लो भागमा चाहिँ सेता अमूर्त रुखहरू लस्कर राखेर देखा पर्दथ्यो । यी अमूर्त कालो खैरो अनि सेता अमूर्त रुखका जंगल चाहिँ शिभाङ्गीनीको थियो । दुवै अलग अलग याप्रोच हुँदै गर्दा पनि हार्मोनिमा बसेका यी पात्रहरूले समग्रमा मिठो प्रभाव नै दिन्थ्यो । अर्थात् भावकको लागि यसले अलौकिक परिदृश्यको आभास हुन्थ्यो । यो अझ रोमाञ्चक रूपमा देखा प¥यो ।

यो दुवैको होइन । अनि अर्को कसैको हो जस्तो भएर देखा पर्दै जाँदा पनि यो चित्र आफैमा असहज भने देखिँदैनथ्यो । चिरागका यथार्थ पात्रहरूले अस्वाभाविक कौतुहलता जताइरहँदा शिभाङ्गीनीका अमूर्त पहाडहरू ठोस रूपमा देखा पर्दथे । यसले यथेष्ट रूपमा टेक्चरहरू बोकी नजाने अलग संरचनामा सङ्गठित हुँदै जाँदै थिए । खोतल्नै पर्ने परिवेशको जन्म दिए पनि समग्रमा यो स्वाभाविक संरचना भने वनेको देखिन्थ्यो । यसैको नाम राखे इन ‘इन-बिटविन टु वर्ल्ड्स’ । देखापर्ने नपर्ने हिसाबमा यी कलाकारको यो कला प्रदर्शनी नामै पनि यही नै बन्यो ।

साझा गर्नुहोस्:
मुकेश मल्ल

लेखकको बारेमा

मुकेश मल्ल

नेपालका वरिष्ठ चित्रकारका रूपमा चिनिनु हुने मुकेश मल्ल कला प्राध्यापन पनि गर्नु हुन्छ । कलासम्बन्धी उहाँका एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

थप रचनाहरू पढ्नुहोस् →
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.