लैङ्गिक समानताको प्रश्न बृहत् नागरिक सरोकारको विषय बनिरहँदा यो विमर्श ठूल्ठूला, प्राज्ञिक, क्लिष्ट र सैद्धान्तिक उल्झनको गर्तमा अल्झिने वा अल्झाइने सम्भावना पनि उत्तिकै छ । दैनन्दिन जीवनका सानाठूला घटना–परिघटनाबाट प्रारम्भ हुनुपर्ने यो विमर्श सर्वस्पर्शी विमर्श हुनु वा बनाइनुपर्ने विषय हो । फगत प्राज्ञिक आवरणमा अल्झियो भने यसले प्रत्यक्ष प्रभावित वा संलग्न वर्गलाई छुँदैन । फेरि पनि विमर्श अमूर्तताको गर्तमा अल्झने सम्भावना उत्तिकै हुन्छ ।
नेपाली आख्यानका सन्दर्भमा यस सैद्धान्तिक उल्झनलाई तोडेको छ अचर्ना थापाको उपन्यास ‘अग्निगर्भा’ले । उपन्यासका लागि सर्जक थापाले चयन गरेको कार्यपीठिका सहर र गाउँ बीचको विकासशील स्पेस हो जहाँ विकसित, अल्पविकसित र विकासशील — सबै वर्ग र पक्षको कार्यव्यापार सम्भव छ । उनका मूल पात्र र सम्बद्ध अधिकांश पात्र नेपाली समाजको सबैभन्दा ठूलो वर्ग यानि मध्यम वा निम्न–मध्यम वर्गबाट आउँछन् । यसले ‘अग्निगर्भा’ को कथालाई अधिकांश नेपालीको कथा बनाइदिएको छ । कथाको सम्पूर्ण मेहे भान्साघर हो, जो कसैको पनि जीवनबाट टाढा रहन सक्ने कुरै होइन ।
कथा उभ्याउनका लागि थापाले चैत्यनगर, जक्तिसिंह टोलको डुम्री नाउँ गरेको एक काल्पनिक गाउँ खडा गरेकी छिन् । यो आफैँमा एक प्रतीकात्मक चयन हो । यो सब्अर्ब —यानी विकास र अविकासको दोसाँधमा रहेको गाउँ । पुराना र नयाँ मान्यताको घर्षणस्थल । शिक्षा र अशिक्षाको दोभान । परिवर्तन र यथास्थितिको पनि दोभान । आधुनिक पुँजीवाद र पुरातन आत्मनिर्भर ग्राम्य–अर्थव्यवस्थाको सङ्घर्षस्थल । अधिकांश विमर्शमा यस्तो ‘तेस्रो स्पेस’ नेपथ्यमा परिरहेको हुन्छ । विमर्शहरू कि सहरकेन्द्री हुन्छन् कि गाउँकेन्द्री । तर रेमण्ड विलियमले भनेजस्तो प्रभूत्वपूर्ण संस्कृति र उदयीमान संस्कृतिको बीचमा बाँचिरहेका ‘रहल संस्कृति’ यस्तै सङ्क्रमणको अवस्थामा रहेका स्पेसहरूमै पाइन्छ । ती रहल संस्कृतिहरूले नै अवशेषमा बचाइरहेका हुन्छन् पुराना र त्याज्य मूल्यहरू । त्यसैले, अर्धपारदर्शी काँठको चयन यस उपन्यसको मूल विमर्शका लागि सर्वथा उपयुक्त छ ।
काँठको चयनका बारेमा थप केही कुरा भन्नु आवश्यक छ । डुम्रीमा आरोग्य नर्सिङ कलेज खुल्दैछ । सङ्गत अपार्टमेन्ट भर्खरै खुलेको छ । एकाध रेष्टुराँ र कफी हाउस पनि देखिन थालेका छन् । गाडीको घुइँचो बढ्दो छ । विकास र अविकासको दोसाँधमा रहेको यस्तो स्पेस बढो भ्रामक हुन्छ । यो परिवर्तनकामी जस्तो पनि देखिन्छ, तर पूर्णतामा त्यस्तो हुँदैन । यो सजग, चेतनशील र शिक्षित जस्तो पनि देखिन्छ । तर त्यस्तो पनि हुँदैन । यस्तोमा बाँचिरहेका तर अन्यायमा परेका पात्रहरूले भोगेको अन्याय पारदर्शी रूपमा देखिने पनि हुँदैन । त्यस अन्यायलाई कुन भाषा, कुन विम्ब वा कुन प्रतीक मार्फत् अभिव्यक्त गर्ने — त्यसमा पनि उनीहरू अलमल अलमल देखिन्छन् ।
कथाकी मूल पात्र तेजश्री अति थोरै बोल्ने पात्र हुन् । उनमा वाचाल भाषाको अभावलाई यसै घुर्मैलो स्पेसले सिर्जना गरेको ऊहापोहको रूपमा सैद्धान्तिकृत गर्न सकिन्छ ।
आवरणमा तेजश्रीका अगाडि के नै समस्या छ र ? श्रीमान् अमेरिकामा छन् । पढेलेखेका छन् र अझै पढाइतिरै अग्रसर छन् । घरमा सुन्दरी छोरी छे, जो अब कलेज जाने भइसकेकी छे । सासूससुराको इज्जत हिमालजस्तै उच्च छ । जायजेथोको कमी छैन । खानलाउनको कुनै समस्या छैन । बाहिर केही काम नगरे पनि चल्छ । घरैमा पनि सुसारेहरू छन् । सासूआमा कुँवरी सिंह क्रोनिक डिप्रेसनबाट ग्रसित छिन् । उनको किचकिच सुन्नु पर्दैन । भनौँ, सासूबुहारीको बहुचर्चित ‘दन्तबझान’ को कुनै गुञ्जायस छैन । के नै समस्या छ र ?
यही ‘के नै समस्या छ र ?’ भनेर बडार्दिने आचरणभित्रै छ ‘अग्निगर्भा’ को समस्त समस्याको महात्म्य ।
कथा तेजश्रीको हो । ऐँसेलुखर्कमा जन्मेकी उनी जक्तिसिंहका नाति, दिग्विजय सिंहका पुत्र अमन सिंहसँग मागी बिहे गर्न पुग्छिन् । बिहेपछि एक छोरी जन्मिएपछि अमन अमेरिकातिर जान्छन् । कथाको अवधिभरि उनी फर्किएका छैनन् । हल्ला छ, उनी उतै मायासँग प्रेममा छन् । खुल्न आएको यो कुरा पनि छ कि उनको सम्बन्ध अमेरिकी युवती सिमोनसँग पनि छ र सिमोन उनीसँगैको संसर्गबाट गर्भवती छिन् ।
यता, साहेबज्यू निवासको नियम छ : सम्पन्न परिवारकी बुहारीले बाहिर जागिर खानु हुँदैन, परिवारको इज्जत जान्छ । घरमा के नपुग्दो छ र अर्काको जागिर खानलाई ?
एकाध प्रश्न यहाँनिर सोधिनुपर्छ । पहिलो — बिहे भएको केही महिनामै श्रीमान् अमेरिका गए । उनका उता सम्बन्धहरू छन् । यता तेजश्रीलाई प्रेमको न्यास्रो हुन्छ कि हुन्न ? यौनको तृष्णा नि ? ससुराको तथाकथित सम्पन्नताले उनको तृष्णा मेट्छ ? दोस्रो – श्रीमान् करिब करिब फर्किंदैनन् र फर्के पनि उनको हुँदैन भन्ने थाहा पाएकी तेजश्रीले ससुराकी आश्रित भएर बसिरहनुपर्ने बाध्यता छ र ? उनी कतै हिँडिहाल्न सक्दिनन् । कारण साथमा छोरी छे । अशक्त सासूको हेरचाहको प्रश्न छ । वार्धक्यतिर उन्मुख ससुराको पनि वर्तमान र भविष्यको प्रश्न छ । हुन त स्वयं छोरा अमनलाई वा उसको भाइ चमनलाई यस्ता कुराको कुनै खाँचो छैन भने उनी त नामविहीन ‘ब्वारी’ — उनलाई चाहिँ केको खाँचो छ र ? तैपनि, उनी तेजश्री हुन्, अमन होइनन् । उनी आत्मनिर्भर हुन्छु, केही गर्छु र आफ्नो परिचय वर्तमानका यिनै भग्नावशेषबिच खोज्छु भनेर उभिनु गलत हो ? उनी त्यति शिक्षित छैनन् । हातमा थोरै सीप छन् । आमाबाट खाना पकाउने सीप धेरथोर सिकेकी छिन् । उनका अगाडि उपलब्ध सीमित अवसरहरूले सिकाएको यत्ति नै हो । उनैले ससुराको घर र विरादरीको इज्जतको ख्याल राखिदिनुपर्ने ? छोराले चाहिँ बुढेसकालका बाआमालाई बिर्सेर, अमेरिकामै दुईदुईवटी परस्त्रीसँग सम्बन्ध गाँसेर बस्दा इज्जत नजाने । तेजश्रीले जागिर खाँदा वा आफ्नै व्यापार शुरु गर्दा जाने, कस्तो समीकरण ? यता ससुरा भन्नु पनि विविध व्यापारिक दाउपेचमा ऋणैऋणमा फसेका छन् । त्यसमाथि, पीपल पारिकी जेठी कप्ताननी आमैलाई गोप्य रूपमा भेटिरहन्छन् । यस्तो परिवार, यस्तो लोग्ने र यस्ता ससुराको इज्जत, मानौँ तेजश्रीले थामिदिनुपरेको छ ।
प्रश्न फेरि पनि सोधिनुपर्छ — यस्ता कति तेजश्री छन् नेपाली समाजमा जसले अरूकै इच्जत बचाइदिनका खातिर अतृप्तिको घुट्को पिइरहनुपर्छ दिनदिन ? परनिर्भर भइरहनुपर्छ दिनदिन ? आफूभित्रको स्वाभिमान र स्वावलम्वनको उभारलाई थिचिरहनुपर्छ दिनदिन ? सीमित अवसरले सिकाएका सीमित सीपलाई पनि पितृयज्ञमा समिधा बनाएर जलाइरहनुपर्छ दिनदिन ? यी प्रश्नको उत्तर न व्यवस्थामा छ, न विधिविधानमा छ । पुरुषले बलात् घिस्याइरहेको समाजसँग त छँदै छैन ।
प्रकृतिको वरण स्वतन्त्रतालाई पनि ‘समस्या’ को अर्को जड मानिएको छ — तेजश्रीले छोरो पाइनन्, छोरी पाइन् । हजुरी महिला भए पनि पितृसत्ताले भरेको क्यासेट बजाउन पछि पर्दिनन्— “कुकुर बिरालासम्मले स्याउँस्याउँती छाउरा पाउँछन्…तर यसले एउटा नाति पनि जन्माउन सकिन ।” (२३)
कथाकी एक पात्र शुभ्राले कुनै दिन तेजश्रीलाई भनेका कुरामा समस्याको थप शृङ्खला पढ्न पाइन्छ— “छोरीलाई सोमत नसिकाएको कुरा के तिमीले मात्रै खप्नुपरेको हो र ? मलाई हेर, म पनि त दुई छोरीकी आमा हुँ…के मैले यस्ता लाञ्छना सहिनँ होला ? तिमी र म मात्र होइन यस्ता आरोप सुन्ने । हाम्रा आमा, हजुरआमा र उनका पनि आमाहरूले छोरीलाई तह नलगाएको आरोप पक्कै सुन्न परेको थियो होला । छोरी जन्माउने आमालाई अपराधी मानिने समाजमा सबै छोरीका आमाले यस्ता लाञ्छना सुनेकै हुन्छन् ।” (२४३)
यस्तै अनर्गल अपेक्षा र पावन्दीकै जगमा विकसित भएका र पुस्ता दर पुस्ता बग्दै आएका कतिपय लिङ्गविभेदी उखान र आहानलाई पनि बिर्सनु भएन :
— छोरा पाल्नु सहरमा, छोरी पाल्नु कहरमा । (४४)
— पानी पकाएर बाक्लो हुँदैन, लोग्ने फकाएर आफ्नो हुँदैन । (५१)
— नहुनेकी छोरी हुनेमा परी, नुनको फाँको हाली भुतुक्कै मरी । (१०१)
— नौली दुल्हैको नौपुला गाँस, रहँदा बस्दा जगल्टाको नास । (१०५)
— तीनवटी स्वास्नीको पाइ, रोजी रोजी…सोई । (१०७)
— पाँच पैसाको ल्वाङ छैन, दस पैसाको स्वाङ । (११३)
‘अग्निगर्भा’ मा ससाना घटनापरिघटनाका थुप्रै फेहरिस्त भए पनि यहाँ मूलतः दुईवटा घटना छन् र दुवै तेजश्रीसँग सम्बन्धित छन् । पहिलो तेजश्री भान्सामा जल्नु र दोस्रो, तेजश्रीको भान्साघरमा आगो लगाइनु । दुवै आगो, यानि अग्निसँग सम्बन्धित छन् र दुवैको सम्बन्ध भान्साघरसँग छ, जहाँ तेजश्री आफूलाई खोज्न अभिशप्त छिन् । उनले आमाबाट विरासतमा पाएको सीप भन्नु नै पाककला हो र त्यसको प्रदर्शनीस्थत नै भान्साघर हो । त्यसैले, भान्साघर उनको स्वाभाविक स्पेस भएको छ । यहाँ उनी पकाउँछिन्, पस्किन्छिन् र धेरैका भोक मेटाउँछिन् । आफैँ पनि पाक्छिन् । उनको आफ्नै भोकचाहिँ मेटिन्छ मेटिन्न, कसैले सोधेको छैन । अथवा, उनको भोक भोजनले मेटिने प्रकृतिको हो वा होइन, कसैले सोधेको छैन ।
सारमा भन्दा, तेजश्रीको अवस्था समाख्यताकै शब्दमा यसरी भन्न सकिएला— “कोठाको निरस एकान्त, मायाको मायाजालमा परेको लोग्नेको चिन्ता, छोरीको उपेक्षा, कान्छी दिज्यूको असामयिक निधन, आमैको सम्झना, बाको चिन्ता र आफ्नो भविष्यको अन्योलताले उसलाई चिथोर्न थाल्थे ।” (९६)
कथाको मूल फैलावट, माथि उल्लेखित दुई घटनाहरूबीच उभिएको छ । शिटकट्टा पर्वको दिन, साँझपख, ससुराको घरमा भेला भएका पाहुनाको घुइँचो खाइपिई सकेर हिँडेपछि तेजश्री आफैँले आफ्नो ज्यानमा आगो लगाउँछिन् । घरकाले दुर्घटना भनेर बुझ्छन् । अस्पताल लगिन्छ र बचाइन्छ । कथाको प्रारम्भ यहीँबाट हुन्छ । दोस्रो घटना कथाको अन्त्यमा घट्छ । तेजश्रीले परिवारको इच्छा विपरित एउटा भान्साघर खोलेकी छिन् । नामविहीन बनाएर ‘ब्वारी’ मा सीमित उनी त्यस भान्साघरको नाम ‘तेजश्री भान्साघर’ राखेर आफ्नो नामविहीनतालाई मात्रै होइन परिवारको तथाकथित इज्जतलाई पनि चुनौती दिइरहेकी छिन् । तर, खोलेको केही दिनमै उनको भान्साघरमा आक्रमण हुन्छ, आगजनी हुन्छ । आवरणमा, आगजनीको कारण भने उनले भान्साघरमा राखेकी सहयोगी भँगेरी गन्धर्वकी छोरी हो, अछुत हो भन्ने कारण देखिन्छ । तर, अन्तर्यमा कारण अरू पनि छन् । जेलिएका छन् प्रश्नहरू — प्रश्न परिवारको तथाकथित इज्जतको । तेजश्रीको भान्साघर वरिपरि गाउँका पुराना मूल्यविधानलाई ‘इस्’ भन्ने पात्रहरूको एकजुटताको । प्रश्न, उक्त भान्साघरमा नचिनेका मान्छेहरूको बढ्दो आवतजावतको । त्यहाँ यदाकदा पिइने मदिराको र त्यसबाट उब्जिएको रँडाकोको । त्यहाँ ठोकिन पुगेको परिवर्तित समयको परिवर्तित व्यवस्थाको । अर्थात्, भान्साघरमा थुर्रिन पुगेको नयाँ, आधुनिक र नागर संस्कृतिको ।
पछिल्लो आगजनीमा तेजश्रीको भान्साघर पूरापूर जलेको छ । उनी घाइते छिन् । उनका श्रीमान् अमनकी धाई आमा हजुरी पनि घाइते छिन् । हिजोसम्म उनका विरुद्ध उभिएका ससुरा दिग्विजयको अहम् अहिले आएर मर्म घाइते छ । हिजोसम्म कतिपय पूर्वाग्रहका कारण आमासँग नमिलेकी छारी अनुश्रीको चेतना र आत्मसाक्षात्कार पनि घाइते छ । गोठीको मर्म पनि उत्तिकै घाइते छ । भनौँ, एउटा सभ्यता घाइते छ । ग्लानिग्रस्त छ । तेजश्रीप्रतिको सहानुभूतिले द्रवीभूत छ ।
भान्साघर परिपरि मूल रूपमा घुमेको यस कथानकको औचित्य महिला र पुरुषका लागि चलाइएका फरक फरक नियमको उच्छेदन गर्नु हो र त्यसका लागि यहाँ अपनाइएको सबैभन्दा प्रभावशाली उपकरण भनेको ‘किचन पोलिटिक्स’ हो । लैङ्गिक समानता र न्यायको प्रश्न समाजमा, चोकमा, चौतारामा पुग्नुपूर्व भान्साघरमा परीक्षित हुनु आवश्यक छ । भनाइ र गराइबीचको सामन्जस्यको जाँचस्थल पनि भान्साघर हो । दिइएका अवसरले कसैलाई भान्सामै सीमित पारेको छ, अथवा अर्को अर्थमा उनीहरूको सामर्थ्यको स्थल नै भान्साघर बनाइएको छ भने मुद्दाको निसाफ अन्यत्र खोज्नु पनि असमानताको नयाँ संस्करणलाई जन्म दिनु हो । यस्तोमा, सम्बन्धको अग्निपरीक्षाको मूल अग्नि चुल्होको अग्नि हो । बाँकी आगो बौद्धिक विलासको बहाना हो ।
विवेचनाको अर्को एउटा पक्ष पनि महत्त्वपूर्ण लाग्छ । उपन्यासमा देखा परेका अधिकांश पुरुष पात्र द्वैध चरित्रका देखिन्छन् । तेजश्रीका बुवा बटुकृष्ण डुलन्ते हुन्, आमालाई घरमा पर्खाएर सधैँ बाहिर हुन्छन्, यद्यपि घरमा भएको पैसामा उनैको हैकम छ । तेजश्रीका श्रीमान् अमेरिका छन् र दुई अन्य स्त्रीसँग सम्बन्धमा छन् । अनुश्रीका ससुरा दिग्विजय ऋणमा डुबेका छन् तर कप्तान्नीलाई लुकीलुकी प्रेम गर्छन् । श्रीमान् हीरकको प्रताडनाका कारण गौरी सम्बन्धविच्छेद गरेर बसेकी छिन् । बम्बई गएको रामलाल एड्स लिएर फर्केको छ । लवशेर मामाका पानी दुलही कम्तीमा तीनवटी, बाँकी अदृश्य कति कति । छिमेकी बेनुप लागू पर्दाथको अम्मली । कम्युनिष्ट पर्टीका कार्यकर्ता चेतप्रकास पूरै पुँजीवादी । थोरै पुरुष पात्र जो तेजश्रीको समर्थनमा छन्, ती पनि पितृसत्ताको जाँतोले वा नियति पिसेका पात्र हुन् । अथवा, आफैँ सहयोगका आकांक्षी छन् । यसबाट पुरुषवर्गले सोच्नुपर्छ — सबै पुरुष यस्तै द्वैध चरित्रका त हुँदैनन् तर उनीहरूलाई यसरी चित्रण गर्नुपर्ने अवस्था केले वा कसले निर्माण गर्यो ? बरु, तेजश्रीको सहयोगमा महिला पात्र छन् — उनकी आमा वैद्यनी आमै, सुसारे भँगेरी, हजुरी, गोठी आमै, शर्मिला दिज्यू, नर्स सत्या, शिक्षिका शुभ्रा, आदि । शुरुमा विरोधीजस्ता देखिए पनि हजुर, गोठी र अनु पनि कथाको अन्त्यमा तेजश्रीसँग छन् । गायत्री स्पिभाकको भाषामा भन्ने हो भने, समान प्रयोजनले जोडेका तर असङ्गणित पात्रहरू यदाकदा साथ आउँछन् र एउटा ‘स्ट्रेटजिक एसेन्यिसालिज्म’ यानि रणनैतिक ऐक्यले आकाल लिन्छ । कहिलेकाहीँ त्यो पनि सङ्गणित समूहजत्तिकै प्रभावशाली हुन्छ ।
यिनै मूल द्वन्द्वका वरिपरि विचरित ‘अग्निगर्भा’ भान्साघरकै वरिपरि उभिएको छ र यस आख्यानलाई हाँकिरहेको मूल ऊर्जा आगो हो । अन्तर्यमा आगो बोकेर बाँचेकी तेजश्री नै अग्निगर्भा हुन् । उनको गर्भमा हुर्किरहेको आगोलाई हामी कसरी चिन्छौँ, व्यवस्थापन गर्छौं वा उपेक्षा गर्छौं, त्यसैले हामी बाँचिरहेको समाजको आगामी दिशा तय गर्छ । वास्तवमा, त्यसैले मानवीय सम्बन्ध र परिवार–संस्कृतिको भविष्यको मूल दिशा पनि तय गर्छ ।
भान्साको आगो र गर्भको आगोलाई उपन्यासले अनेक अर्थमा प्रस्तुत गर्न खोजेको छ । यो एउटा बलियो प्रतीक हो – बृहत् राजनीतिको घरेलु संस्करणको । भौतिक भोक र मनोवैज्ञानिक अतृप्तिमा जल्नुको । विभेदले दन्काएको ज्वालाको । परनिर्भरताको । आत्मदाहको । अथवा, आत्मनिर्भरताको शुरुवातको । आदि आदि
।
उपन्यासमा प्रयुक्त शैलीका केही कुरा गरौँ । कतिपय शीर्षकको चयनमा आकर्षक अनुप्रास प्रयोग गरिएको छ । उदाहरणका लागि — साङ्ला संहारको सकस, हजुरीको हैकम, अनादि अनन्त, सङ्घर्षको सौन्दर्य, आदि । पुस्तौँदेखि सङ्कथन निर्माणमा सक्रिय विभेदवाची किंवदन्तीलाई कथाखण्डको अघिल्तिर राखिएको छ । यिनमा मरुभूमिकी कुप्री बढी घिउकुमारीको कथा एक हो । मरुभूमिमा दबाइएकी उनै घिउकुमारी सङ्कटमा मानवताकी सहारा हुन् । हातमा जुनकिरी बोकेर गाउँ डुल्ने मर्यादाको कथा, तथा राजवल्लभले अभयामाथि हिंसा गरेको किंवदन्ती, र यसैबाट शिरकट्टा पर्वको थालनीका प्रसङ्ग पनि उल्लेखनीय छन् । कथामा कहिल्यै बन्न नसकेको र मान्छे मारिरहेको काल्पनिक काठेपुल, साहेबज्यू निवासको जङ्गे कुकुर, तेजश्रीको भान्साघर, टहराको साँचो, दिती र अदितिको आलिङ्गन आदिलाई प्रभावशाली विम्बको रूपमा प्रयोग गरिएको छ । तेजश्रीको अतृप्ति, र अमनप्रतिको उनको चाहनालाई सपनामा पिङ खेलेको प्रसङ्गबाट चित्रित गरिएको छ । पात्रका मनभित्रको मनोवैज्ञानिक मौसम र बाहिरको मौसमका बीच गजबको तादम्य स्थापित गरिएको छ । उदाहरणका लागि, पृ. ३९ मा तेजश्रीको ऊहापोहलाई चित्रित गर्दै भनिएको छ, “एकाएक कोठाभित्र ऊ निस्सास्सिएजस्तो भई । बाहिरको आकाश जून तारा रहित थियो ।” अमनसँगको विछोडबाट तेजश्रीमा परेको विषादलाई यसरी दर्साइएको छ— “अमन टाढिएको सन्तापले उसलाई दुखाएजस्तै आकाशले पनि सायद धर्तीसित बिछोडको पीडा सहेको हुँदो हो । एकैछिनमा मेघगर्जनसँगै शोक अर्केष्ट्रा बजाउँदै झरी दर्किन थाल्यो । बिछोड–दाहले पिल्सिएकी ऊ शीतलता खोज्दै रुझ्न थाली । आकाशे झरी र नयन झरी एकाकार भएर बस्न थाले ।” (९७)
पात्रअनुसारको भाषाको प्रयोग यस उपन्यासको शैलीपक्षको अर्को अनुकरणयोग्य पाटो हो । उदाहरणका लागि यो विवरण हेरौँ— हजुरी बर्बराउन थालिन् “कलियुग भनेको यै हो । नहुनेकी छोरी हुनेमा परी, नुनको फाँको हाली भतुक्कै परी । अब सँगुरले अङ्गुरको रहर गर्ने भए । अब यिनले रहर गर्नेबित्तिकै असर्फीको थैली ट्याक्क झिकेर दिनुपर्ने । नरखा पनि कति हो । जुनकिरीको पिलिक्क पिलिक्कले स्वर्ग झिलिक्क झिलिक्क पार्दैन क्यारे ।” (१०१)
विरोधाभासहरूको बाहुल्य पनि यस उपन्यासको शक्तिशाली पक्ष हो । सिमोनले फोटोमा देखेको सुन्दर नेपाल र आँखेले देखेको वास्तविक नेपालबिचको फरक, अरूको पेट भर्न सधैँ भान्साघरमै रुमल्लिने तेजश्री सधैँ अतृप्त रहेको प्रसङ्ग, आगोमै खेल्नेको जीवन आगैले पिसोल्ने कुरा, बाहिर रखेल राख्नेले इज्जतको कुरा उठाउने कुरा, छोरा कहाँ पुगे बुहारीले सासूससुराको स्याहार गर्नुपर्ने बाध्यता तथा सम्पत्तिको मालिक ऋणको पिरले हृदयाघातको सिकार हुनुपर्ने कुरा यसका उदाहरण हुन् ।
उपन्यासका पाठकहरूलाई केही कुरा खड्किन पनि सक्छन् । कथामा पात्र यति धेरै छन् कि सबैलाई स्मरणमा राख्न सकिँदैन । कतिपय पात्र दम्पतीका कथा र अनुभव उस्तैउस्तै लाग्छन् । अधिकांश पुरुष अविश्वासिला छन् । अधिकांश नारी पात्र कि त असल छन्, कि त पुरुषसत्ताले गलत तुल्याएका, अथवा असहिष्णु व्यवहारका लागि दीक्षित गरिएका छन् । स्वभावैले दुष्ट वा गलत नारीचाहिँ त्यति पाइँदैन उपन्यासमा । यो थोरै अतिरञ्जना पो भयो कि ? काँठमा खुलेको एउटा सामान्य कफी हाउसको उद्घाटन देशका गृहमन्त्रीले गरेको कुरा पनि अमिल्दो लाग्छ, यद्यपि राजनीतिक पहुँच भयो भने कतिसम्म सम्भव छ भन्ने दर्साउन यसो गरिएको हुन सक्छ । शहरीकरणले करिब करिब बेरिसकेको गाउँको कुनै एक रातका बरेमा भनिएको छ— “टाढा मन्दिरमा मधुरो बत्तीको उज्यालोबाहेक अरूतिर अँध्यारो थियो ।” यति मात्रै बत्ती थियो होला र ? सोध्नुपर्छ । सबैभन्दा अहं प्रश्न यद्यपि बाँकी छ । कथाको अन्त्यतिर तेजश्री भन्छिन्— “म खरानीबाट उठछु ।” तर कसैले खरानी नै बन्नु नपर्ने र खरानीबाट उठ्नुपर्ने अवस्था नै आउनु नपर्ने दिन कहिले र कसरी आउला ? यो छलफलबाट खरानी कहिले गायब भएर जाला ?
यी प्रश्न हालसम्मलाई अनुत्तरित छन् । यिनको उत्तरको खोजी केवल अर्चना थापाको मात्रै जिम्मेवारी पनि होइन । यो एउटा सामूहिक वैचारिक आन्दोलनको मूल एजेन्डा हुनुपर्छ ।
उपन्यास : अग्निगर्भा
लेखक : अर्चना थापा
प्रकाशक : अक्षर क्रिएसन्स नेपाल
मूल्य : रु ५९० —

