“कथा-किंवदन्तीमा सत्यको अंश कति होला ? किंवदन्ती केवल कल्पना मात्र होला त ? किंवदन्तीहरू नहुँदा हुन् त कल्पना पनि रङ्हिन हुँदो हो ! किंवदन्तीबिनाका कथाहरू कति निरस हुँदा हुन् । कथा नहुनु र जीवन हुनु कति सम्भव होला !”— किंवदन्ती-१ मा उपन्यास शुरु हुनु अघि लेखक अर्चना थापाले छोडेको यो जिज्ञासा हो । यो जिज्ञासा मात्र नभएर जीवन र यथार्थ बीचको गहिरो द्वन्द्व हो । जहाँ जीवन छ, त्यहाँ कथा अवश्य हुन्छ तर सबै कथा लेखिएको छैन, धेरै कथा मौनतामै बाँचिरहेका छन् ।
नेपाली महिलाका असङ्ख्य कथा लेखिन बाँकी छन् जुन अव्यक्त, अधुरा र अदृश्य रूपमा रहेका छन् । त्यसको पहिचान गरी नयाँ ढङ्गमा लेखिन बाँकी छ, त्यही लेखन अघि बढाउनु भएको छ लेखक अर्चना थापाले ‘अग्निगर्भा’मार्फत । किंवदन्तीहरू वास्तवमा कल्पना मात्र हुँदैनन्; त्यो कतै न कतै यथार्थमै गाडिएको हुन्छ । किंवदन्ती जीवनकै यथार्थ आयामहरूबाट परिकल्पित हुन्छन् भन्ने कुरा प्रसिद्ध मनोचिकित्सक कार्ल जङ्ले भनेका छन् । समयसँगै मानिसहरूको स्मृति, विश्वास, र भावनाले ती घटनालाई घटाउँदै, थप्दै, कहिलेकाहीँ अतिरञ्जित गर्दै लैजान्छन् । त्यसैले किंवदन्ती सत्य र कल्पनाको सङ्गम हो । किंवदन्ती नै नहुँदा, हाम्रो कल्पनाशक्ति शायद यति व्यापक र जीवन्त हुदैन्थ्यो कि ! किंवदन्तीले समाजको चेतना, संस्कृति, र सामाजिक संरचनाका कथा मात्र सुनाउँदैनन्; कुनै समय, परिवेश, र मानव सभ्यताको इतिहाससमेत बोकेका हुन्छन् ।
नेपाली समाजमा महिलाको पहिचान उसको आफ्नै नाम र व्यक्तित्वभन्दा बढी सम्बन्धका घेराभित्र परिभाषित हुन्छ । ऊ कसैकी छोरी, कसैकी श्रीमती, कसैकी बुहारी भइरहँदा – ऊ स्वयं ‘को हो ?’ भन्ने प्रश्न ओझेलमै पर्छ । यही ओझेल र विडम्बनाभित्र लुकेको पीडा, दबिएको स्वर र मौन विद्रोहलाई उद्घाटन गर्ने शक्तिशाली प्रतीक हो ‘अग्निगर्भा’ ।
यस कृतिमा, तीनवटा किंवदन्तीमार्फत महिलाको साहस, निर्णय र विद्रोहका सशक्त रूप प्रस्तुत गरिएको छ । ती केवल पुराना विश्वास होइनन्; समाजका संरचनात्मक ढाँचा हुन् । यही ढाँचाभित्र महिलाले आफ्नो शक्ति खोज्ने, त्यसलाई पहिचान गर्ने र प्रयोग गर्ने सम्भावना पनि देखिन्छ । यी तीनवटै किंवदन्तीको आफ्नै महत्त्व छ । पहिलोले महिलालाई जगत् जननी आमाको रूपमा देखाउँछ, दोस्रोले स्वतन्त्रता र संघर्षको रूप उजागर गर्छ, र अन्तिमले महिला स्वयंलाई संहारकर्ता अर्थात् परिवर्तनकारी शक्तिको रूपमा स्थापित गर्छ । यसरी महिला केवल सृष्टिकर्ता मात्र होइन, रूपान्तरणको संवाहक शक्ति हो भन्ने दृष्टिकोण लेखकले प्रस्तुत गर्नुभएको छ ।
पहिलो शीर्षक ‘साङ्ला संहारको सकस´ आफैंमा अत्यन्त प्रतीकात्मक छ । यसले केवल कथाको आरम्भ मात्र गर्दैन, बरु कथाको मुख्य पात्र तेजश्रीको अस्तित्वको विघटनलाई अग्रपृष्ठमा ल्याउँछ । यो ‘फोरग्राउन्डिङ’ (forgrounding) ले पाठकलाई शुरुमै कठोर यथार्थसँग साक्षात्कार गराउँछ । यहीँबाट उपन्यासको यात्रा शुरु हुन्छ— तेजश्रीलाई कसरी सामाजिक र सांस्कृतिक संरचनाले जलेर खरानी बनायो, र त्यही खरानीबाट उनी कसरी पुनः उठिन् भन्ने कथा । तेजश्रीलाई “फिनिक्स चरा”सँग तुलना गरिएको छ । फिनिक्स जस्तै, जो आफैँ जल्छ र आफ्नै खरानीबाट पुनः जन्मिन्छ, तेजश्री पनि पीडा, दमन र संघर्षको आगोबाट गुज्रिएर नयाँ चेतना र शक्तिसहित उठेकी छिन् ।
आज पनि समाजमा “छोरा नपाए वंश नासिन्छ” भन्ने सोच गहिरो छ । महिलालाई अझै पनि सन्तान उत्पादनको साधनका रूपमा हेरिन्छ । विवाहपछि “बुहारी कस्ती ?” भन्ने प्रश्नको उत्तर प्रायः उसको लोग्ने रिझाउने क्षमतामा मापन गरिन्छ । यदि त्यो पूरा भएन भने दोष महिलामाथि नै थोपरिन्छ । यसले पितृसत्तात्मक सोचको गहिरो जरा उजागर गर्छ । “कुकुर बिरालासम्मले आफ्ना सन्तान जन्माउन सक्छन् तर यसले एउटा नाति पनि जन्माउन सकिन… अमनलाई छोराको बाबु बनाउन नसक्नु बुहारीको दोष थियो”— पृष्ठ २३ । यसले नै बताउँछ, महिलाको स्थान हाम्रो पितृसत्तात्मक समाजमा कस्तो छ । उपन्यासभित्र ‘अमन’ पुरुष पात्र प्रत्यक्ष रूपमा उपस्थित नभए पनि उसको प्रभाव गहिरो रूपमा महसूस उपन्यासभरि नै हुन्छ । पुरुष अर्थात् बाबाको अनुपस्थितिमा पनि उसको प्रभाव कति व्यापक रहन्छ भन्ने कुरा पितृसत्तात्मक संरचनामा हुर्केकी तेजश्रीकै छोरीको सोचले देखाउँछ । हाम्रो समाजमा अझै पनि महिलाको भाग्य उसको श्रीमानको घरसँग जोडिन्छ । “भाग्यमानी महिला” को परिभाषा उसको आफ्नै पहिचानले होइन, उसले पाएको सम्बन्धले निर्धारण गर्छ । जस्तो; “भाग्यमानी रहेछौ अनि त यस्तो घर पाएकी छौ…!” (पृष्ठ ११)
“धान फलाउने खेत” र “नफलाउने प्लटिङ” को रूप मार्फत पूँजीवादी सोचको आगमनको कुरा पनि उल्लेख गरिएको छ, जहाँ मूल्यको मापन केवल उत्पादन र आर्थिक हिसाबले गरिन्छ । अनि यसले महिलाको श्रम, शरीर र अस्तित्वलाई वस्तुमा रूपान्तरण गर्ने प्रवृत्तिलाई उजागर गर्छ । पुरुषले अनेकौं सम्बन्ध बनाइरहँदा तेजश्री जस्ता महिला भने केवल श्रीमान् कुरेर बसिरहेकी छन् र उनको श्रम, मूल्य, मान्यताको शुरुमा कुनै कदर छैन । पितृसत्तात्मक संरचनाले नारीलाई निर्भर, कमजोर र निर्णयहीन बनाउने प्रयास गर्छ । उसका सपना र आकांक्षाहरूलाई “परिवारको मर्यादा”को नाममा दबाइन्छ । तर मौनता सधैं निष्क्रिय हुँदैन । मौन ऊर्जा एकदिन प्रतिरोधमा परिणत हुन्छ भन्ने कुरा कथाकी पात्र तेजश्रीबाट देखिएको छ ।
यस कृतिमा पात्रहरूको विविधता पनि महत्त्वपूर्ण छ । केही महिला पात्रहरू स्वयं पितृसत्तात्मक संरचना बोकेर हिँडिरहेका छन्, जात व्यवस्थादेखि दमनका मुद्दासम्म अप्रत्यक्ष रूपमा उठाइएको छ । तेजश्रीकी छोरीजस्ता पात्रहरूले नयाँ पुस्ताको आक्रोश, चेतना, प्रश्न गर्ने क्षमता र परिवर्तनको सम्भावना बोकेर आउन सक्ने झल्को पनि दिएको छ । कथामा सिमोन तथा अन्य केही चरित्रले भने उल्लेख्य तथा पूर्ण भूमिका पाएको जस्तो भने लाग्दैन ।
लेखकले कथालाई बन्द अन्त्य (close end) गरे पनि “डट्स (…)” को प्रयोगले खुला अन्त्य (open ended) को सङ्केत गर्छ । तेजश्रीको मौनता, तनाव, यौन आकांक्षा र अन्तर्मनका अनेक तहहरू पाठककै व्याख्याका लागि छोडिएको छ ।
यो केवल एक पात्रको कथा होइन; महिलाको आत्मसङ्घर्ष, स्वतन्त्रता, पुनर्जन्म र सङ्कल्पको उद्घोष हो । यहाँ लेखकको आशय महिलाहरू अब उठ्नुपर्छ, समस्यासँग जुध्नुपर्छ, र आफ्नो अस्तित्वका लागि आफैँ लड्नुपर्छ भन्ने देखिन्छ । तेजश्रीलाई यहाँ लेखकले उठाउनु भएको छ । यही सन्दर्भमा एउटा प्रश्न उठ्छ— के महिला साँच्चिकै यसरी उठ्न सकेका छन् हाम्रो समाजमा ? सक्नुपर्छ, यो आशय लेखकको हो । तेजश्रीजस्ता महिलाहरू आफैँ उठ्नु पर्छ । लेखकले देखाउन खोज्नुभएको सन्देश यही हो— उद्धार बाहिरबाट कोही आएर गर्दैन, आफ्नो उद्धार आफैँले गर्ने हो । अब महिलाले आफ्नो कथा आफैँ लेख्नुपर्छ; किनकि अरूले लेखिदिएको कथा सधैं अपूर्ण रहन सक्छ ।
हाम्रो समाजमा तेजश्रीजस्ता कति महिलाहरू उठ्न सकेका छन् ? कति अझै मौनतामै सीमित छन् ? कति महिलाहरूको अस्तित्वले पूर्ण पहिचान पाउन सकेको छैन ? कतिपय अवस्थामा त उनीहरूको अस्तित्व नै नष्ट पारिएको छ । तर यही यथार्थभित्र पनि एउटा सन्देश स्पष्ट रूपमा निस्कन्छ—अस्तित्व निर्माणका लागि आगोको ताप सहेर पनि उठ्नुपर्छ भन्ने पाठ तेजश्रीको पात्रले सिकाउँछ । कतिपयका जीवन आगोमै बित्छ, कतिपय घरभित्रै जलाइन्छन् । उनीहरूको पीडा व्यक्तिगत मात्र होइन, संरचनागत यथार्थ हो । अस्तित्वको संघर्ष त्यतिबेला मात्र सम्भव हुन्छ, जब अस्तित्व बाँकी रहन्छ; तर जब अस्तित्व नै मेटिँदै जान्छ, त्यहाँ संघर्षको अर्थ नै हराउँछ अनि संघर्षको सौन्दर्य कथा कसरी भन्ने महिलाले ? तर यो साँचो हो— अधिकांश नेपाली महिला अझै पनि आफ्नो अस्तित्व जोगाउने खडेरीमा उभिएकी छिन् ।
हामी नेपाली महिला अब अस्तित्व निर्माणकै कथा लेखिरहन बाध्य हुने कि समयसापेक्ष अन्तर्राष्ट्रिय जगतमा नेपाली महिलाको स्वाभिमान र बराबरीको कथालाई साहित्यमार्फत भन्न सक्ने हुन पाउने ? किंवदन्तीहरूलाई अन्धविश्वासका रूपमा मात्र हेर्ने कि तिनमा सत्य खोज्ने प्रयास गर्ने ? अन्तर्राष्ट्रिय साहित्यमा अतिमानवतावाद (Transhumanism) को पनि विकसित रूप साहित्यमा आइरहँदा हाम्रो नेपाली महिलालाई कहिलेसम्म अस्तित्वसँग मात्र जोडेर साहित्य लेखिनु पर्ने बाध्यता ? हामीकहाँ महिलाको कथा कसले लेखिरहेको छ ? महिला आफैंले, कि अझै पनि अरू कसैले ? के महिलाले महिलाकै कथा लेख्नु पर्छ भन्ने भाष्य स्थापित भइरहेको अवस्थामा महिलाले नै महिलाको सही प्रतिनिधित्व गरिरहेको छ त ?

