काठमाडौं । नियात्राकार पवन आलोकको नाममा २०७७ सालमा श्रीमती रेखा कँडेलद्वारा स्थापना गरिएको ‘पवन आलोक नियात्रा पुरस्कार’को नगद राशि वृद्धि गरिएको छ। हालसम्म २५ हजार रुपैयाँ नगद राशिको रहेको उक्त पुरस्कार आगामी पाँचौँ संस्करणदेखि ५० हजार रुपैयाँ पुर्याइने भएको छ।
नियात्रा समाज नेपालको व्यवस्थापनमा सञ्चालन हुँदै आएको यस पुरस्कारको सञ्चालन विनियमावली संशोधन गर्दै २०८२ पुस २५ गते संस्थापक श्रीमती रेखा कँडेल र नियात्रा समाज नेपालका अध्यक्ष मोहन चापागाईंले हस्ताक्षर गर्नुभएको हो।
यसअघि प्रत्येक वर्ष प्रकाशित नियात्रा कृतिमध्येबाट मूल्याङ्कन समितिको सिफारिसका आधारमा उत्कृष्ट कृतिलाई प्रदान गरिँदै आएको पुरस्कार अब नियात्रा विधाको उन्नयनमा नियात्राकारले पुर्याएको समग्र योगदानका आधारमा प्रदान गरिने भएको छ।
विनियमावली हस्ताक्षर कार्यक्रममा नियात्राकार पवन आलोक, साहित्यकार राधेश्याम लेकाली तथा नियात्रा समाज नेपालकाे महासचिव भवानी खतिवडाको उपस्थिति रहेको थियो।
पवन आलोक नियात्रा पुरस्कार–२०७७ ‘हिमाल शेर्पा र यती’ कृतिका लागि भीष्म उप्रेतीलाई, दोस्रो संस्करण (२०७८) ‘ग्रीष्मको नीलो बतास’ का लागि डा. दामोदर पुडासैनी ‘किशोर’लाई, तेस्रो संस्करण (२०७९) ‘मिसर’ कृतिका लागि इल्या भट्टराईलाई, चौथो संस्करण (२०८०) ‘गंगचुलीको हिउँ’ कृतिका लागि तेजप्रकाश श्रेष्ठलाई प्रदान गरिएको थियो।
आगामी संस्करणदेखि यस पुरस्कारलाई ‘पवन आलोक नियात्रा सम्मान’का रूपमा प्रदान गर्ने निर्णय भएको जानकारी नियात्रा समाज नेपालकी महासचिव भवानी खतिवडाले दिनुभएको छ।

