साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।

आद्यविम्बः विचारहरू बोकेका देवी–देवताहरू

आद्यविम्बः विचारहरू बोकेका देवी–देवताहरू

गत जुनको ११ तारिखका दिन ग्यालरी १०८ मा कृष्णगोपाल श्रेष्ठको पहिलो एकल कला प्रदर्शनी भयो । यो कला प्रदर्शनी आगामी जुलाईको १३ सम्म चल्नेछ । आकिटाइप अर्थात् आद्यविम्ब नामक यो कला प्रदर्शनीमा नेपाली परम्परागत कला–सम्पदा, देवी–देवता अनि सामाजिक परम्परालाई कलाभित्र गजबले समेटिएको देखिन्छ । सँगसँगै भौतिक–अभौतिक संस्कृतिका कैयौँ अवयवहरूलाई उनी आजको सन्दर्भमा जोड्छन्, पुनर्व्याख्या गर्दछन् । अनि यसैको परिणतिमा उनका कलाहरू देखा पर्ने गर्दछन् । यसो हुँदा स्वाभाविकतः परम्परागत जस्ता देखिने यी कलाहरू समसामयिक कलाका रूपमा स्पष्ट प्रकटन भएको देखिन्छ ।

चित्रपटमा स्पष्ट देवी–देवता देखिन्छन् । यसर्थ यी चित्रहरू धर्मसँग आबद्ध छन् । तथापि यो धार्मिक चित्र होइन । लोकगाथा, धर्मगाथाहरू प्रशस्त रूपमा छन् । यसर्थ उनको कलामा आध्यात्मिक चेत पनि छ । भित्तेचित्रको मर्म पनि छ । अनि सौन्दर्यता पनि यथेष्ट मात्रामा यसैमा समाहित छ । भक्तजनहरू देवी–देवतासँगै एउटै चित्रपटमा देखिन्छन् । यति मात्र होइन, देवी–देवता अनि मानवबीचको अन्योन्याश्रित सम्बन्धहरू पनि चित्रपटमा देखिन्छन् । काल्पनिकता अनि यथार्थता दुवै एकै ठाउँमा दृश्यावलोकन हुनु पनि यसको विशेष लक्षण देखिन्छ । यसर्थ यी कलाहरू हिजो र आजको मिश्रित प्रतिबिम्बका रूपमा पनि अवलोकन गर्न सकिन्छ ।

मूलतः शब्दकोषमा आकिटाइपको (Archetype) अर्थ धेरै शब्दहरूमा व्याख्या गरिएको छ । जस्तै कि आद्यरूप, आदिरूप आदि । जसले लक्षित गर्ने आसय भनेको परापूर्वकाल हो । आद्य वा आदि भन्नाले हजारौँ वर्ष पूर्व कलाका रूपमा देखा परेको हाम्रो मौलिक कला–सम्पदा हो, भन्ने अर्थ दिन्छ । यसले अर्को उठाउन खोजेको सन्दर्भ भनेको उहिले पहिले जुन आफ्नो मौलिकताका साथ कायम भएको कलात्मक वस्तु थियो । यो, यसैको निरन्तरताको प्रतिध्वनि पनि हो । अर्थात् यसबारे प्रचलनमा रहेका लोकोक्तिको भाष्य पनि हो । जुन समयअनुसार परिवर्तन भइरहन्छ । अनि भाष्यमा पनि नयाँपन आउँछ । तथापि यसको मूल तत्त्व, यसको मौलिक लक्षण, विशेषताहरू वा यसको मौलिक गुण आदि इत्यादि चाहिँ मर्दैन, भन्ने आजको अर्को भाष्य पनि यसैमा समावेश छ । यसैको सेरोफेरोमा कृष्णका चित्रहरू बनेका देखिन्छन् ।

आद्यविम्ब आफैँ स्वयं पनि आद्यकलाकै अर्को रूप हो । वा यसले लोक–परम्परागत कलाको पनि अर्थ दिन्छ । लोककलाको स्वरूप अलि अलग्ग भए तापनि यसमा संस्कारका क्रियाकलापहरूमात्र गाँसिएका हुँदैनन् । देव–देवीहरू पनि एउटा निश्चित भूमिकामा देखा पर्ने गर्दछन् । लोक वा समुदायको मर्म यसैमा निहित हुने हुँदा पनि यसको मर्मलाई पनि उनको कलाले बोकेको देखिन्छ । यी आदि इत्यादिका सन्दर्भले यसलाई आफ्नै निजी मौलिक धरोहरको प्रतिबिम्बका रूपमा पुनः सिर्जना गर्नु भन्ने पनि अर्थ निकाल्न सकिन्छ । पुराना ग्रन्थहरू अनि पत्थरमा कुँदिएका शिलालेखका अक्षरहरूलाई उनका आफ्ना बलिया पात्रका रूपमा उभ्याउनु नै हाम्रो आफ्नै मौलिकताको प्रतिबिम्बमात्र होइन, यसले आजलाई परम्परासँग गहकिलो पाराले जोड्ने काम पनि गर्दछ ।

chitra-naran
chitra-naran

अर्को पाटो चाहिँ यही मौलिकताको निरन्तरताको द्योतकका रूपमा रहेको नितान्त मौलिक पहिचानका साथ बग्दै आएको बहावको प्रतिबिम्बका रूपमा पनि उनका कामहरू देखापरेका छन् । यसैले गर्दा पनि उनका चित्रपटमा आफ्नै निजी विशेषताका साथ ग्रन्थचित्र पनि देखिन्छन् । शिलामूर्ति, धातुमूर्ति पनि देखिन्छ भने यतिनै बेला आधुनिक दृश्यचित्रहरूलाई पनि अवलोकन गर्न सकिन्छ । एउटै चित्रपटमा चित्र, मूर्ति अनि काठमाडौं सहर–बजारको काल्पनिक दृश्य देखिनु अलि अनौठो संयोजन लागे पनि यसले भावकलाई रोमाञ्चित नै गर्दछ । काठमाडौं उपत्यकालाई कल्पनामा बुन्नु चाहिँ आजको प्रतीकात्मक बिम्ब हो रे, उनैकै भनाइअनुसार पनि । यसले एक अलग्ग आसयलाई पनि इंगित गर्दछ ।

अझ अर्को महत्वपूर्ण सन्दर्भ भनेको एउटै उनका क्यानभासमा दुई अलग–अलग शैली, प्रवृत्ति पनि देखिन्छन् । दोस्रो अनि तेस्रो आयामिक धरातल एकै ठाउँमा घुलमिल हुनु पनि अलि अचम्म लाग्दो संरचना देखिन्छ । यो आफैँमा पूर्वीय अनि पश्चिमका कलागत शैलीको मिलन पनि हो । अनि नितान्त विपरीत रङ (कलर स्किमको सन्दर्भमा) र रेखाका संयोजन पनि एकमुष्ट अवलोकन गर्दा स्वाभाविकतः यसले भावकमा यथेष्ट अलौकिकताको महसुस पनि गराउँछ । यही नै कृष्णको मूल कलागत विशेषता पनि हो । विषय, शैली, प्रस्तुति अनि आफ्नै निजी विचारहरू पनि सगोलमा देखिनुले पनि उनका कलाहरू विशेष खालका देखिन्छन् ।

नेपाली कलामा मिथकको प्रवेश दुई प्रकारले भएको देखिन्छ । एउटा परम्परागत अनि अर्को चाहिँ आधुनिक रूपमा । दुवैमा देवी–देवताहरूलाई मूल पात्रका रूपमा प्रस्तुत भएको देखिन्छ । तथापि यसको तात्पर्य, उद्देश्य चाहिँ अलग–अलग हुने गर्दछ । नेपाली आधुनिक कलामा मिथकको प्रवेश सन् साठीको अन्त्यतिर अनि ७० को शुभारम्भतिर भएको मानिन्छ । त्यसबेला थोरै कलाकारले यसलाई प्रयोगात्मक रूपमा प्रयोग गरेका थिए । अहिले चाहिँ हरेकजसो युवा कलाकारहरूलाई यो मनपर्ने विषय बनेको छ । अहिलेका युवा कलाकारहरू पौभा वा थाङ्का कला वा हिन्दू–बौद्ध धर्मका आराध्य देव–देवीलाई कुनै न कुनै रूपमा प्रयोग गरिरहेका देखिन्छन् । यसै कलागत प्रवृत्तिमा थोरै नौलो ढङ्गबाट कृष्णको प्रवेश भएको मान्नुपर्छ ।

नेपाली समसामयिक कलामा देवी–देवतालाई विशेष गरेर युवा कलाकारले आ–आफ्नै ढङ्गले प्रयोग गरेका छन् भने कृष्णले चाहिँ एघारौँ शताब्दीका कलालाई सम्झन पुग्दै आदरभावका साथ आजको कलामा नितान्त आधुनिक रूपमा उतार्न खोजेका देखिन्छन् । त्यसबेलाका ग्रन्थचित्रमा, मूर्तिमा देखा परेका कलाको प्रवृत्तिलाई जस्ताको तस्तै चित्रपटमा उतारिसकेपछि उनी आजको अवस्था आजकै कलागत प्रवृत्तिका साथ फ्युजन गर्दै कलाको समायोजन गर्दछन् । यसो हुँदा उनका कला सर्वथा अलग्ग रूपमा दृश्यावलोकन हुन जान्छ ।

chitra
chitra

प्राचीन कालमा जीविकोपार्जनका लागि प्रयोग हुने हातहतियारहरू, वस्त्र वा माटाका भाडाकुँडाहरू जो आफैँमा आज कला–सम्पदाका रूपमा व्याख्या–विश्लेषण गरिन्छ । अझ पछिका दिनमा यसैलाई पनि थप सौन्दर्य प्रदान गर्न वस्त्र–आभूषणदेखि, लयात्मक शारीरिक संरचनाहरू आदि चित्र वा मूर्तिका रूपमा बन्दै गर्दा यसले भक्तिभावको मात्र विकास भएन । एउटा अलौकिक कलाको पनि जन्म भयो । यसैलाई संस्कार र संस्कृतिसँग जोड्दै गर्दा कला स्वयं पनि मानवको जीवनको एक भाग बन्न गएको देखिन्छ । तत्पश्चात् यसको निरन्तरता कायम भई आजको दिनसम्म पनि यही प्रचलन कलाका रूपमा जीवन्त बन्दै आयो । यही मौलिक कलागत परम्परालाई पुनः सम्झनु, समयसान्दर्भिक बनाउनु कृष्णको मूल अभिष्ट रहेको देखिन्छ । यही क्रममा वा यसैको प्रतिबिम्बहरू जीवन्त रूपमा देखा पर्दै गर्दा पनि यो कला प्रदर्शनी आद्यविम्ब विशेष रूपमा दृश्यावलोकन हुन पुगेको हो भन्दा अतिशयोक्ति हुँदैन ।

उहिले–पहिलेका हाम्रा मठ–मन्दिर, वास्तुकला, मूर्तिकला वा चित्रकलाको मौलिक स्वरूप धर्मको अभिन्न अङ्ग बन्न पुग्यो । यसैसँग गाँसिँदै आएको संस्कृति–परम्परा आज पनि जीवन्त बनेर बसेको आभास दिन पनि यी कलाहरू सिर्जना भएका देखिन्छन् । यसर्थ पनि भौतिक रूपमा, सत् प्रमाणसहित करिब एघारौँ शताब्दीदेखि देखा परेका ग्रन्थचित्रहरू अनि अझ यसभन्दा अघि दोस्रो शताब्दीदेखि अनवरत रूपमा सत् प्रमाणसहित देखा पर्दै आएका मूर्तिकलाहरू आजका कलाकारले पटक–पटक प्रयोग गर्ने देखिएको छ । यसैको अघिल्लो पाइलाका रूपमा कृष्णको कलापटमा पनि देवी–देवताहरू ओर्लन भ्याएका हुन् ।

काठमाडौं नजिकै सानो गाउँ साँखुमा जन्मे–हुर्केका कृष्णले पश्चिमी कला प्रवृत्तिमा स्नातकोत्तर गरे । उनको विशेष चाख इलस्ट्रेसनमा रह्यो । यसैले उनी लामो समयसम्म कान्तिपुर दैनिकमा आबद्ध हुन पुगे । अनि हाल चाहिँ उनी सिर्जना कलेज अफ आर्टमा अध्यापन गर्न व्यस्त भएका देखिन्छन् । तापनि उनले बच्चाकै बेलादेखि देख्दै–भोग्दै आएको मठ–मन्दिर, संस्कार र संस्कृति, परम्परा आदि इत्यादिले उनलाई यसरी प्रभावमा पारे कि उनको कलाको मूल स्रोत नै यही बन्यो । देवी–देवतामाथिको आस्था–विश्वास अनि यसैमा घुलमिल भई बढेको जीवन, वा नेवा संस्कृति, संस्कारमा उनी प्रभावित मात्र बनेका होइन, आफैँ पनि यसैको एक भाग भइदिँदा पनि उनीभित्र देवी–देवताका इमेजहरू जरा गाडेर बसेको देखिन्छ । यसैको प्रतिफलका रूपमा पनि यी कलाहरू देखा परेका हुन् ।

---

अब अलिकता कलाको कुराहरू

यो कला प्रदर्शनीमा उनका जम्मा १२ वटा कामहरूलाई प्रदर्शनमा राखिएका छन् । भैरव, नारायण, कालियादमन, इन्द्र, पञ्चरक्षा पाटन, पञ्चरक्षा काठमाडौं, पञ्चरक्षा भक्तपुर, शाक्यमुनि बुद्ध पञ्चरक्षा, चिलाङ्को विहार, माराविजय, गणेश, जलमानस, शिव आदि रहेका छन् । सबै नै देवी–देवताकै चित्रहरू छन् । तापनि यी चित्रहरूले आधुनिकताको कलेवर बोकेको चाहिँ खास विशेषता देखिन्छ । देवी–देवताकै विषय रहेको भए तापनि यसैको महत्त्व, उद्देश्यका साथ काठमाडौं उपत्यकालाई जोड्नुले यी कलाहरूले विशेष अर्थ राखेको देखिन्छ । किनकि कलाकारले मात्र देवी–देवतालाई पस्कन खोजेका छैनन् । देवी–देवतामार्फत उनी केही भन्न खोजिरहेका छन् ।

kala-chitra3
kala-chitra3

सबैजसो चित्रहरू कलागत एप्रोच समान रहे तापनि अलि गहिरिएर हेर्दा भने संयोजन र प्रस्तुतिको सन्दर्भमा फरकपनाको महसुस हुन्छ । भैरवकै सन्दर्भ निकालौँ । जहाँ कलाकारले देव भैरवको भित्तेचित्रलाई मूल विषय बनाएका छन् । हेर्दै पनि रेखाहरूको बाहुल्य लाग्ने, आधुनिक लाग्ने यी देव बनेपाको चण्डेश्वरी टेम्पलको हो । देव भैरवलाई (चित्रकला) केन्द्रमा राखेर संयोजन गरिएको यो चित्रमा अग्रभागमा अलि अलग्ग रूपमा काठको भैरव (मूर्तिकलाको प्रतिबिम्ब) छ । चित्रपटको मुनिको अग्रभागमा आजका मान्छेहरू ढोलक र झ्यालीसहित भजन गरिरहेको मुद्रामा देखिन्छन् । पृष्ठभूमिमा निलो आकाश देखिन्छ । अनि बादलहरू दौडिरहेका देखिन्छन् । यी आराध्य देवलाई कसरी आज पनि भक्तिभावका साथ मान्ने गरिन्छ भन्ने अवस्थाको बिम्ब पनि हो । अझ समग्रमा भन्दा चाहिँ हिजो र आजको मिलनको यो उत्कृष्ट नमूना हो ।

उनको अर्को नारायण भन्ने चित्रमा पनि चित्रपटको बिचोबिच भागमा बुढानीलकण्ठको देव नारायणको शिलामूर्तिलाई चित्रण गरिएको छ । पृष्ठभूमिमा निलो आकाश अनि पहेँला बादलहरू कुदिरहेका देखिन्छन् । चित्रपटको माथिल्लो भागमा १२ जना देवी–देवताहरू नितान्त परम्परागत चित्रशैलीमा देखिन्छन् । यो एउटा ग्रन्थचित्र हो । उनैका अनुसार पनि निलो रङ आध्यात्मिकता अनि बादलहरू गतिको प्रतीकात्मक बिम्ब हो रे ।

कालियादमनमा पनि झण्डै यस्तै संयोजन छ । सेतो–कालो बादलको थुप्रोमा कालियादमनको परम्परागत शैलीमा रेखाङ्कनको प्रयोग भएको देखिन्छ । चित्रपटको अघिल्लो भागमा यही पोस्चरलाई मूर्तिको स्वरूपमा चित्रण गरिएको छ । इन्द्र भन्ने चित्रमा चाहिँ निलो आकाश अनि सुनौला बादलहरूको पृष्ठभूमिमा मन्दिरै–मन्दिरले भरिभराउ काठमाडौं भ्याली देखिन्छ । अग्रभागमा आरामदायी पोस्चरमा देव इन्द्र विराजमान भएको देखिन्छ । धातु मूर्तिको यो गजबको चित्रणलाई चित्रको केन्द्रबिन्दुमा राखिएको छ । चित्रमा बिचोबिच भागमा नितान्त गाढा रातो गरम रङको वातावरणमा देव इन्द्र हात्तीमाथि सवार भएका देखिन्छन् ।

कलात्मक धार्मिक परम्पराको बिम्बलाई प्रस्तुत गर्नु पनि यसको आसय देखिन्छ । पञ्चरक्षा पाटन, पञ्चरक्षा भक्तपुर अनि पञ्चरक्षा काठमाडौंको एकैजसो कलागत संरचना रहेको देखिन्छ । माथिल्लो भागमा देवी–देवताले सजिएको ग्रन्थचित्र देखिन्छ । बादलले डम्म भरिएको निलो आकाश अनि तलतिर काठमाडौं उपत्यकाको दृश्यचित्रहरू देखिन्छन् । भ्यालीभित्रका घरहरूबीच तीनवटै चित्रमा ठूलो स्तूप देखिन्छ । यस्तै–यस्तै कलागत संरचनाले गर्दा पनि उनका कलाले एक अलग्ग धार समातेको हो भन्नै पर्छ ।

कलाकार/कला समीक्षक

 

साझा गर्नुहोस्:
मुकेश मल्ल

लेखकको बारेमा

मुकेश मल्ल

थप रचनाहरू पढ्नुहोस् →

नेपालका वरिष्ठ चित्रकारका रूपमा चिनिनु हुने मुकेश मल्ल कला प्राध्यापन पनि गर्नुहुन्छ । कलासम्बन्धी उहाँका एक दर्जन पुस्तकहरू प्रकाशित छन् ।

साहित्यपोस्ट - भाषा र साहित्यको सम्पूर्ण अनलाइन दैनिक पत्रिका। साहित्य, सिर्जना, समालोचना, विचार, अन्तर्वार्ता, समाचार र सांस्कृतिक गतिविधिका विश्वसनीय सामग्रीसहित नेपाली भाषाको अग्रणी डिजिटल साहित्यिक मञ्च।
शब्द मिडिया प्रा. लि. काैसलटार चाेक, भक्तपुर
( वडा नम्बर ३ काे कार्यालयसँगै )
सञ्चार रजिष्टरको कार्यालय दर्ता नं. ०००३६
प्रेस काउन्सिल दर्ता नं. ००७१४
फोन नंः: ९८५१०९७८८८
अश्विनी कोइराला
प्रधानसम्पादक
कृष्ण ढुङ्गेल
सम्पादक
प्रकाश पौडेल "माइला"
सर्वज्ञ वाग्ले
संरक्षक

लेख रचना पठाउन : यहाँबाट पठाउनुहोस् · sahityapost2020@gmail.com

सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.