न्युजिल्यान्डको अकल्यान्डमा आयोजित नेपथ्य ब्यान्डको कन्सर्टले आदिवासी भूमिमा लोकरकको अद्भुत जादु छरेको छ । कार्यक्रमअघि माओरी समुदायले परम्परागत ‘पाउहिरी’ शैलीमा नेपथ्य टोलीलाई स्वागत गर्दै सांस्कृतिक आत्मीयता प्रकट गरेका थिए।
आइतबार बेलुकी ‘ ड्यु ड्रप इभेन्ट्स सेन्टर’ मा आयोजित कन्सर्टमा दुई हजारभन्दा बढी दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो । नेपाली र विदेशी दर्शकबीच समान उत्साह देखिएको उक्त कन्सर्टलाई सहभागीहरूले अविस्मरणीय अनुभवका रूपमा वर्णन गरेका छन् ।
नेपाली समुदायसँग जोडिएकी इलिन तुराङ्गाले आफूले अहिलेसम्म देखेका नेपाली कार्यक्रममध्ये यो उत्कृष्ट रहेको प्रतिक्रिया दिनुभयाे । दर्शक र कलाकारबीचको भावनात्मक सम्बन्धले कार्यक्रमलाई अझ प्रभावशाली बनाएको उहाँले बताउनुभयाे ।
कन्सर्टको सुरुआत ‘कोशीको पानी यो जिन्दगानी’ गीतबाट गरिएको थियो । गायक अमृत गुरुङले दर्शकसँग प्रत्यक्ष संवाद गर्दै प्रस्तुतिलाई अझ जीवन्त बनाउनुभएकाे थियाे । दर्शकहरू गीतसँगै गाउने, नाच्ने र भावुक हुने दृश्यले हल गुन्जायमान बनेको थियो ।
नेपथ्यको प्रस्तुतिमा लोकधुन र आधुनिक रक सङ्गीतको संयोजन, उच्चस्तरीय ध्वनि, प्रकाश र दृश्य व्यवस्थापनले अन्तर्राष्ट्रिय स्तरको अनुभूति दिलाएको प्राविधिकहरूले बताएका छन् । न्युजिल्यान्डको ‘एभिएल ल्याब’ मा आबद्ध प्राविधिक ग्रान्ट सिभिलिचले नेपथ्यको प्रस्तुति अत्यन्त व्यावसायिक रहेको टिप्पणी गर्नुभयाे ।
कन्सर्टका लागि फ्लोर टिकटहरू केही दिनअघि नै सकिएका थिए भने सीमित सिट मात्र अन्तिमसम्म उपलब्ध थिए । स्थानीय आयोजक लाखे इभेन्ट्सले महिनौँको तयारीपछि कार्यक्रम सफल भएको जनाएको छ ।
यसपटक न्युजिल्यान्डमा एकमात्र कन्सर्ट सम्पन्न गरेको नेपथ्य अब मलेसियाको क्वालालम्पुरमा जुन १ मा प्रस्तुति दिने तयारीमा रहेको छ ।
प्रवासमा रहेका नेपालीहरूका लागि सांगीतिक ऊर्जा र मातृभूमिको अनुभूति दिलाएको यो कन्सर्टले नेपथ्यको अन्तर्राष्ट्रिय लोकप्रियतालाई थप मजबुत बनाएको छ ।

