उनले नेपालका पत्रपत्रिकाको अनुगमन–निरीक्षण तथा वर्गीकरण गर्ने एक मात्र निकाय प्रेस काउन्सिल नेपालको उपल्लो तहमा रही काम गरे । पत्रकारिताका विषयमा संस्था नै खोलेर उनले दुर्गम क्षेत्रहरूमा तालिम प्रशिक्षण पनि दिए, दिलाए । उनी नेपालका आठ हजार मिटरमाथिका आठै हिमालका आधार शिविर पैदलयात्राबाट पुगिसकेका छन् । ताप्लेजुङको कञ्चनजङ्घादेखि हुम्लाको हिल्सा अर्थात् हिमाली उपल्लो क्षेत्रमा पुगिसकेका उनी मुलुकका ७७ जिल्ला पुग्ने कमै व्यक्तिमध्येमा पनि पर्छन् । अनि काठमाडौँका पहाड, डाँडा, चुली नजाने त कुरै भएन । जागिरेकालसम्म जति यात्रा गरे पनि त्यसबारे लेख्दै नलेखेका उनी साहित्यकाहरूको प्रेरणाबाट अवकाशपछि भने यात्रा गर्दै लेख्दै प्रकाशन गर्दै जानेमा दरिन थाले ।
दर्शनसम्बन्धी अध्ययनअनुसन्धान र लेखनमा पनि उनलाई रुचि छ र यस क्षेत्रमा स्थापित पनि भइसकेका छन् । यस क्रममा उनले आफू पुगेका स्थानको यात्रा विवरण, नियात्रा र दार्शनिक पक्षसमेत समेटेर नेपाली र अङ्ग्रेजीमा गद्य कृति दिइसकेका छन् । उनको यात्रा लेखनमा सूक्ष्मता, मिहिनता र प्रवाहका साथै यथेष्ट तथ्यतथ्याङ्कलगायत सूचनाहरू पाइन्छ ।
भारतको मिजोरममा उच्च शिक्षा लिँदै गर्दा उनले ठिटौले प्रेम, राष्ट्रप्रेम, देशभक्तिका कविता र आख्यान लेख्न शुरु गरिसकेका थिए । त्यतिबेलाका कविताहरू त उनीसँग अहिले छैन तर मातृभूमि फर्केर राजधानीमा स्नातकोत्तर तहमा पढ्दै गर्दा पुनः कविता लेख्न र छपाउन थालिहाले । पर्वत, बिहादीबाट आएर हाल राजधानीको बुढानीलकण्ठ, कपनमा स्थायी बसोबास गर्दै यात्रा, नियात्रा र दर्शनका पुस्तक प्रकाशन गरिसकेका उनले एक नयाँ पद्य कृति ल्याएका छन्–‘आधा बाँचेको मान्छे’ । सुन्दैमा अनौठो लाग्ने भुँडीपुराण प्रकाशनबाट प्रकाशित यस शीर्षकको कृति (विसं २०८२ जेठ) मा उनै विष्णुप्रसाद शर्मा पराजुलीले आफूले पदयात्रा गरेका स्थलको प्रकृति, रुखविरुवा, फूल, वनस्पति, जङ्गली जनावर, विशेष स्थानको उल्लेखका साथ देशभक्ति, राष्ट्रप्रेम, राष्ट्रिय एकता, मानवीय प्रेमसमेतलाई अटाएर आफू कवि हुनाको परिचय दिन सफल भएका छन् । यसरी उनले अहिलेको पर्यावरणीय साहित्य भनिने उपविधालाई पनि गीत र कविताका माध्यमबाट समृद्ध पारेका छन् । एउटा यात्री, पदयात्री, नियात्राकारको कलमबाट निःसृत जम्मा ३८ कविता र ६ टुक्राटाक्री/गीत सङ्गृहीत यस काव्यसङ्ग्रहमा बेग्लै स्वाद र मिठास पाइने अनुभूति हरेक पाठकले गर्न सक्छ ।
उनी घुमिरहने स्रष्टा भएकाले सङ्ग्रहको श्रीगणेश नै स्थानकेन्द्रित शीर्षक ‘म झुलाघाट हाँस्छु’ बाट गरिएको छ । झुलाघाट महाकाली नदीका सिमाना नेपालको बैतडी र भारतको पिथौरागढ जिल्लामा पर्ने डाँडाकाँडाले भरिएको र नदी उपत्यका रहेको दुवै देशका पहाडी क्षेत्रको व्यापार र यात्रा विन्दु हो । त्यहीँ रहँदा उनले त्यहाँको नेपाली सांसदले सिंहदरबार यात्रा गरेर मोजमस्ती गरेको तर साधारण नेपाली भरियाले पाएको दुःख समेटिएको सो कविता बैतडीमै रहँदा लेखेका हुन् ।
‘लाङ्टाङ खोला’, ‘म त मुगु, तिमी को नि’, ‘मेरो प्यारो अपि हिमाल रुँदा’, ‘तिलाठी तिमीलाई सलाम’, ‘घन्टाघर र टुँडिखेल’ स्थानविशेष केन्द्रित कविता हुन् तापनि यिनमा प्रकृति, राष्ट्रियता, मातृभूमिप्रतिको प्रेम, सीमा संरक्षण र सहअस्तित्वको भाव सँगसँगै घोलिएका छन् । नेपालको रसुवा जिल्लामा पर्ने लाङ्टाङ खोलालाई उनी कतै सहयात्रीहरूको अस्तित्व स्विकार्ने नेल्सन मन्डेला देख्छन् भने कतै सहभागिता, समानता र संरक्षणको सन्देश फुक्ने दूतका रूपमा पाउँछन् । यसमा मुगु र रारालाई गरीब बनाउनेप्रति कठोर व्यङ्ग्य पनि गरिएको छ । उनी कालापानी, लिम्पियाधुरामा पराइको बुटले कुल्चिएको देखेर, सुस्ता–दोधारा–चाँदनी बिर्सिएको मानेर र पूर्वजको गौरवगाथामा आगो झोस्न लागेको ठानेर सुदूरपश्चिमको गौरव अपि हिमाल रोएको पाउँछन् । राजनीतिक दलका नेताहरू एकापसमा झगडा गरेका बखत पनि आफ्नो सीमा रक्षाका लागि लडिरहेका राष्ट्रभक्त सप्तरी, तिलाठीवासीलाई उनी सलाम गर्छन्, हैकमवादको विरोध गर्छन् ।
‘अब बुकी फुल्दैन’, ‘बुकी फुल्दा’, ‘चमेली भएर फुल्नैपर्छ’, ‘म एक्लै फुल्न चाहन्छु’, ‘सुनाखरी’ जस्ता शीर्षक सबैमा फूलको विम्ब लिएर उनले प्रेम, सौन्दर्य, सत्य, इमान, ज्ञान, मुस्कान, सम्भावनाको सन्देश दिएका छन् । यी फूल पनि उनले यात्राकै क्रममा भेटेका हुन् । प्रकृति र प्राकृतिक सौन्दर्यका त उनी पुजारी नै हुन् । टहटह जुन लागेको पूर्णिमाको जुनेली रात निकै मन पराउने उनी ‘बर्खाको जून’ प्रति हुरुक्कै हुन्छन् ।
कतै नेपाल आमाको प्रतीक बनेर आफू र कतै उनलाई प्रतीक बनाएर तथा कतै आफ्नै आमामार्फत उनी प्रतिस्पर्धामा श्रेष्ठता पाउनका लागि दक्ष बन्न, उन्नति र प्रगति गर्न, समृद्ध र आत्मनिर्भर बन्न, विदेशीको लोभलालचबाट बच्न र मुलुकलाई बचाउनका लागि एकताको आह्वान पनि गर्छन् । उनी आफ्नी प्रेमिकासँग पनि मुलुक खान खोज्ने ब्वाँसा, गिद्धहरूलाई परास्त गर्नका लागि प्रेमको याचना गर्छन् । शीर्षक कविता ‘आधा बाँचेको मान्छे’ जसले बहुसङ्ख्यक निम्न, मध्यमवर्गीय नेपालीको प्रतिनिधित्व गर्छ, साहसी छ र सदैव अथक रूपमा नेपाल र नेपालीको, आमाको गीत गाउँदै मुलुकभरि राष्ट्रियताको सन्देश छर्छ । यसैले कृतिको समग्र नाम उपयुक्त नै मान्नुपर्छ जुन मौलिक पनि छ ।
उनका कविताको एउटा प्रमुख विशेषता के हो भने प्रायः प्रत्येक कवितामा नेपालका हिमाल, नदी, ताल, फूल, स्थान आएकै हुन्छन् । देशाटनबाट पाएको अनुभवलाई आफ्ना अभिव्यक्तिमा पोखेर उनले मनग्गेसँग देशभक्ति र राष्ट्रप्रेमको गीत गाएका छन् । दुःखी, गरीब, निम्न वर्गको पक्षधरताका साथ कविताहरू आएकाले प्रगतिशील कोटिमा नै यी कवि र सङ्ग्रहलाई राख्न सकिन्छ । भूमिका लेखनमा रोचक घिमिरे र प्रा डा हेमनाथ पौडेल तथा ब्लर्बमा प्रल्हाद पोखरेल र त्रिलोचन आचार्यले यात्राका साथ राष्ट्रभक्तिमा चुर्लुम्म डुबेका कविले समाज रूपान्तरणको चेतना बोकेका कविता पस्केर मर्मज्ञहरूलाई छुन सकेको बताएका छन् ।
उनका कतिपय कविता आख्यानात्मक छन्, संवादात्मक छन् । अन्य पर्यावरणीय साहित्यअन्तर्गतका काव्यमा कविहरूले यात्रानुभव नभई कल्पना मात्र पोखेका हुन सक्छन्, तर यस सङ्ग्रहमा नेपालका विविध स्थान, जीवजन्तु र वनस्पतिसँग साक्षात्कार हुने मौका पाइन्छ । यसअर्थमा यसलाई बिल्कुल ‘अर्गानिक’ स्वादका कविताहरूको सङ्ग्रह मान्न सकिन्छ जसको तुलना अन्यसँग कदापि हुन सक्दैन ।
केही कवितामा शीर्षकसँगै देशवासीसँग आह्वान गरिएका भावका साथ नारा पनि भेटिन्छ । जुन पद्य भागलाई उनले गीत भनेका छन्, त्यसमा अनुप्रास वा लय त्यति मिले जस्तो लाग्दैन । केही कविताका पद्यांश सङ्ग्रहकै अन्य कविताहरूमा दोहोरिए जस्तो पनि लाग्छ । वर्णविन्यासका सामान्य कमजोरी छन् नै । पुस्तकावरण अमूर्त बनाएको भए बेस हुने थियो ।
काव्य, गैरआख्यानका साथ आख्यानमा पनि संलग्न कवि पराजुलीका कथासङ्ग्रह पनि आउन त बाँकी नै भएकाले त्यसको प्रतीक्षा गर्नु छँदै छ । काव्य विधामा भने यस्तै प्राङ्गारिक कविता अझ कलात्मकताका साथ कोर्ने सामर्थ्य प्रशस्त सम्भावना भएकाले उनले यस विधालाई अझ अगाडि बढाउने नै छन् भन्ने विश्वास गर्न सकिन्छ ।

