विक्रम संवत २०२७ सालका त्रिचन्द्र कलेजमा आइएस्सी अध्ययन गर्ने मेरा समकालीन सहपाठी मित्रहरूले काठमाडौंमा दोस्रो पटक भेटघाटको आयोजनाको तस्वीर फेसबुकमा टाँसेर ल्याए । यो पटक पनि मित्रहरूसँग भेट गर्न नपाएको गुनासो आफ्नै मनको कुनोमा थन्क्याएँ ! लागेथ्यो– यस पटक नेपाल जान्छु । पचास वर्ष अघिका मेरा कलेजका सहपाठीहरूलाई भेट्नेछु ।
आफ्ना कुरा, अरूका कुरा, विगत र वर्तमानका सबै हाल बुझ्नेछु । प्राय मेरो विचारमा सबै सहपाठी मित्रहरू अवकाशका सुनौला दिन गन्दै बिताइरहेका होलान् । कोही त आफ्नै धन्दामा अझै पनि व्यस्त नै होलान् । कस्तो रमाइलो हुन्थ्यो होला ? मनमा कस्तो मीठा भावनाहरू तरङ्गित हुन्थे होला । अरूका कुरा सुन्दा सुन्दा आफ्ना अनुभवहरू साट्न नपाइने पो हुन्थ्यो कि समयको अभावले ? पाँच दशकको अवधि कहाँ छोटो हो र ? समय परिस्थिति, देशको विदेशको राजनीतिले कति कोल्टे परि सक्यो । खै कसरी हाम्रो कुराकानी शुरु हुन्थ्यो होला है ? तरङ्गित हुन्छु आफै भित्र । आफ्नै भावना भित्र चुर्लुम्म डुब्छु !
हरेक वर्ष नेपाल जाने योजना नै बनेको थिएँ । प्रत्येक वर्ष नेपाली साहित्य लाई आफ्नो एक थान सिर्जना अर्पण गर्ने नै छु । एउटा बाचा र संकल्प जस्तै पो थियो । साहित्यिक सिर्जना पनि करिब करिब तयारी अवस्था मै पो थिए । तर आफूले भने जस्तो र सोचे जस्तो कहाँ हुँदो रहेछ र ? हाम्रो अन्न पानीको शरीर न हो । एक छिनमा के हुने र अर्को छिनमा जीवन पनि नरहन पनि सक्ने । कस्तो जटिल हाम्रो शरीर संरचना पनि ! यही नै विशेष कारण र स्वास्थ्य स्थितिको कारण जान सकिएन । यस पटक नेपाल जाने सपना सिर्फ सपना नै रह्यो । अधुरो बन्यो । जीवन भरिको अधुरो पो बन्ने हो कि शंकै लाग्छ !
आत्मीय मित्र ज्योति अधिकारीले आफ्नो फेसबुकमा साह पाठी मित्रहरूको भेटको तस्वीरले एक पटक भवविभोर पो बनेँ । यस पटक किन हो थाहा छैन । निकै बेर, पहिले झैं निकै बेर टोलाएँ । फेरि एक पटक सम्झनामा आइरह्यो सत्ताइस सालकै सेरोफेरो र कलेजका ती अबोध दिनहरू । सहपाठी मित्रहरूको अनुहार आँखामा झल्झली आयो । भर्खर भर्खर जवान बन्दै गएको बेला विद्यार्थीजीवन कसरी बिताएका थियौं सम्झनामा आइरह्यो ।
( बायाँ बाट खोम दाहाल, हरिश्चन्द्र शाह, सूर्य जोशी, वटु कृष्ण उप्रेती, ज्योति अधिकारी, नारायण बजाज, ज्ञानेन्द्र गिरी र युवराज घिमिरे )
विसं २०२७ सालमा जन्मस्थान तेह्रथुम म्याङ्लुङ बजारबाट पहिलो पटक काठमाडौं पसेको । एक प्रकारले गाउँबाट शहर पसेको । चालचलन रहनसहन हरेक कुरामा शहरीया कुरा देख्न र सुन्न र बुझ्न समय लाग्ने । कलेज जानु अघि कृष्ण पाउरोटी र एक कप दूध खाने र कलेज पछि न्यू रोडको आर सी मम पसलमा मम खाने एक प्रकारले नियमित जस्तै थियो । अलिक पछि त सन्देश गृह बाट भारतीय अखबार भीड छिचोल्दै खरिद गरेर पढ्ने पनि गर्न थालियो ।
त्रिचन्द्र कलेजमा त्यस बखत हाम्रो विज्ञान कक्षाहरू सरस्वती सदन भएकै पट्टि थियो । कक्षा र प्रयोगशालाहरू सबै त्यही भवनमा थियो । गणित कक्षा लिन घण्टाघर भएतिर जानु पर्थ्यो । गणित कक्षाका शिक्षक थिए मित्रप्रसाद देवकोटा । जो महाकवि लक्ष्मी प्रसाद देवकोटाका भाइ थिए । भौतिक शास्त्रका शिक्षक – सुरेश राज शर्मा, रसायन शास्त्र – उमाप्रसाद श्रेष्ठ, नेपालीका शिक्षक थिए – जगन्नाथ त्रिपाठी र केही समय ध्रुवचन्द्र गौतमले पनि अध्यापन गरे । सम्झनामा आएका यी नै हुन् अहिले !
कलेजको सरस्वती सदन र घण्टाघरको बुर्जा भन्ने बित्तिकै मैले महाकवि लक्ष्मीप्रसाद देवकोटालाई सम्झन पुगें । नेपाली साहित्यको पहिलो महाकाव्य ‘शाकुन्तल’ महाकाव्यको प्रसव र प्रकाशनको केही कुरा मेरो मानसपटलमा आइरह्यो ।
विसं. २००२ सालमा कलेजको सोही सरस्वती सदनमा नेपाली भाषानुवाद परिषद्का अध्यक्ष कट्टर व्याकरण र प्रसिद्ध कोषकार पुष्कर शमशेरको कार्यालय थियो । उनको कार्यालय खड्गमान मल्ल, सागरमणि आदी, श्यामदाश वैष्णव, देववीर पाण्डे, पूर्णमान विद्या र बाबुराम आचार्यको प्रायजसो उपस्थिति हुने गर्ने स्थान ।
बालकृष्ण समको महाकाव्य ‘आर्यघाट’ प्रकाशित हुने तरखरमा । महाकवि देवकोटाको ‘शाकुन्तल’ महाकाव्यलाई वार्णिक छन्दमा या शिखरिणी छन्दमा नलेखिएको कारण प्रकाशन हुन नपाएको अवस्था थियो ।
महाकविले आफ्ना कुरा राख्दै भनेछन्, “लेखकले स्वतन्त्रपूर्वक लेख्न पाउनुपर्छ । म पुरानै कुरामा जमिरहन चाहन्न । म नयाँ नयाँ शब्दको सृष्टि गर्न चाहन्छु । गोबरले लिपेको नभनेर ‘गोबरी’ र मान्द्रोले बेरेको नभनेर ‘मान्द्रिलो’ भने त मैले के बिगारें” । यसो भन्दै जिकिर गरे पनि पुष्कर शमशेरलाई विश्वस्त पार्न सकेनछन् ।
तत्काल नै महाकवि त्यस सदनबाट अघिल्तिरको घण्टाघरको बुर्जामा गएर केही लेख्न बसेछन् । सिर्फ दुई घण्टामा साठी श्लोकको शिखरिणी छन्दमा
“देख्यो सुग्रीवले तथापि मनमा शंका फेरी रह्यो
सक्छन् क्या तब बाली मार्नकन ता ठुलो छ भन्या भयो”
लेखेछन् । यस श्लोकमा बारम्बार ‘कसरी बिर्सेको’ भनेर आउँदा पुष्कर शमशेर धुरुधुरु रोएका थिए रे ।
करीब दुई घण्टामा साठी श्लोकको छन्द लेखेर ल्याएकोमा धेरैले शंका गरेछन् । घरमै लेखेर ल्याएको तर यहाँ बहाना गरेको आरोप लाएछन् । यो आरोप सुनेपछि लक्ष्मी प्रसाद देवकोटाले “यस्तो महाकाव्य त दश दिनमै लेख्न सक्छु” भनेर हाँक दिएछन् । त्यसैको फलस्वरूप उनको ‘सुलोचना’ महाकाव्य हामीले पढ्न पाएका छौं ।
म फेरि फर्कन्छु मेरो २७ सालको त्रिचन्द्र कलेजमा अध्ययन गर्दाको समयमा !
कक्षा नभएको समयमा हामी राष्ट्रिय नाचघर भएतिर टहलिन जाने गर्थ्यौं । रानी पोखरी र जमलको यस ठाउँमा बस, टेम्पोको बिसौनी भएको कारण निकै चहलपहल हुने गर्थ्यो ।
एक पटक हाम्रो कक्षामा गाइँगुइँ हल्ला चल्यो । हल्ला ल्याउने कोही नभएर पूर्ण सिंह नै थिए । उसको टिममा शान्त पुन र अरू एक दुई पनि थिए । हल्ला थियो एउटा विदेशीले एउटा विशेष प्रकारको चश्मा लाएर आएको छ । त्यो चश्माले सबै मान्छे सर्वाङ्ग देखिन्छन् ।
उनीहरू भन्थे– हामीले त हेरेर आएका हौँ । कस्तो अद्भुत र प्रष्ट पो देखिन्छ । उकास्न थाले । तिमीहरू पनि जाने भए जाऊ । उनीहरूको कुरा सुनेर मेरा साथमा केही मित्रहरू पनि त्यो अद्भुत चश्मा लाएर नौलो अनुभव गर्न हतारियौं । हामी गयौं । भनेको ठाउँमा सो विदेशीलाई खोज्यौं । निकै समय लायौँ । भेटिए त मरिजाऊँ । भेटिएनन् । भए पो भेटिनु त । निराश अनुहार लाएर कक्षा कोठामा फर्कँदा सबै मरीमरी हाँस्न थाले । हाम्रो त्यस बेलाको हाम्रो अबोधपनामा मित्रहरूले राम्रैसँग फाइदा उठाए ।
हाम्रो नेपाली शिक्षक थिए – जगन्नाथ त्रिपाठी ! एक पटक उनी कक्षामा आउँदा अलिक फरक वातावरण उनले पाए । सबै चुपचाप । एक विद्यार्थीले कक्षा कोठाको ब्ल्याक बोर्डमा पहिले नै केही लेखेका थिए । सर सरासर आए । पहिला त उनले देखेनन् । जब फर्केर ब्ल्याक बोर्डमा केही लेख्न फर्के । तब हाम्रा नेपाली शिक्षक गज्जबले हाँस्न पो थाले । हामी सबै छक्क पर्यौं । सर रिसाउलान् भनेको उल्टै अनुहारमा मुस्कान पो देखा पर्यो । सरले सोधे, “कसले लेखेको ?” सब चुपचाप । बोल्ने कसको आँट । जसले लेखेको थियो उसको विरुद्धमा बोल्ने आँट कसैले गरेनन् ।
ब्ल्याक बोर्डमा लेखिएको थियो, शिक्षकको थर ‘त्रिपाठी’ लाई यस प्रकारले – एक पाठी + दुई पाठी + तीन पाठी = त्रिपाठी !
सरले अनुहार खुम्चाएनन् । बरु हाँसेर जसले लेखे ठीक लेखे भनेर भने । बरु लेख्ने विद्यार्थीको अनुहार हेर्न लायकको थियो । तर सरले आफ्नो आँखी भौं समेत खुम्चाएनन् । आफ्नो कक्षा सुचारु रूपले चलाए । यो अर्को हाम्रो विद्यार्थी मित्रको र हामी सबैको अबोधपन नै थियो ।
प्रख्यात साहित्यकार तथा आख्यान पुरुष ध्रुवचन्द्र गौतमले हामीलाई नेपाली कक्षा केही समय पढाए । उनको कक्षामा म निकै रमाउने या भनौँ रमाइलो लाग्ने गर्थ्यो । त्यसकारण गौतम सरले उनको नवीनतम साहित्यिक सिर्जनाका बारेमा कक्षालाई जानकारी मात्र होइन केही संक्षिप्त चर्चा पनि गर्ने गर्थे । नेपाली साहित्यका बारेमा धेरै जानकारी दिने गर्थे । मलाई जहाँसम्म याद छ उनले त्यस बेला लेख्दै गरेको उपन्यास ‘बालुवा माथि’को रचना गर्भको र सो उपन्यासको बारेमा हामीलाई धेरै जानकारी गराएका थिए ।
त्रिचन्द्र कलेजको हाम्रो विज्ञान भवनको अगाडि नै विश्व ज्योति सिनेमा हल थियो । कक्षा नभएको बेला या पढ्नु मन नलागेको बेला केही विद्यार्थी फिल्म हेर्न बरोबर जाने गर्दथे । नयाँ चलचित्र लागेको बेलामा त प्राय त्रिचन्द्रका विद्यार्थीहरू प्रायः जाने गर्दथे । त्यसका दुई कारण थियो । एक कलेजका विद्यार्थी भने पछि प्रायले सित्तैमा फिल्म हेर्ने गर्थे । अर्को नजिक भएको कारणले समय बचत पनि हुने गर्दथ्यो ।
त्यस समयमा त्रिचन्द्र कलेज देशकै नामुद र चर्चित कलेज थियो । विद्यार्थी राजनीतिको चरम केन्द्र बिन्दु नै यही कलेज थियो । विद्यार्थी राजनीतिको अगुवा कलेज बनेको थियो । देशमा घटित कुनै पनि राजनीतिक आवाजको उठान गर्ने विद्यार्थीको बिन्दु नै त्रिचन्द्र कलेज थियो । नारा, जुलुस र बन्द प्राय भै नै रहन्थ्यो ।
विद्यार्थी राजनीतिले मलाई पनि छोडेन । आइएस्सी स्तरको विद्यार्थी प्रतिनिधिको रूपमा मैले पनि चुनावमा उठेको हुँ । सो चुनावमा प्रजातान्त्रिक पक्षधरका धेरै मित्रले मलाई सहयोग गरेको अझै सम्झन्छु । देशमा दल प्रतिबन्धित भएको समयमा भारतको बैरगानियामा भएको कांग्रेसको अधिवेशनमा सहपाठी मित्र नेवज गुरुङसँग छद्मभेषमा गएको पनि सम्झन्छु । साहित्यिक पत्रिका ‘पूर्वेली धुन’ पत्रिकाको सम्पादन र प्रकाशक भएर प्रकाशित पनि गरियो ।
कक्षामा मेरो सबैसँग मित्रवत् व्यवहार नै थियो । तर कक्षा समयबाहिर पनि धेरै जसो भेटघाट भैरहने मित्रहरूमा झापाका ज्योति अधिकारी र इलामका नेवज गुरुङ नै थिए । गुरुङको डेरा लैनचौर दुग्ध विकास संस्थानको पछाडि पट्टिको घरमा थियो । सो घर कवि शिरोमणि लेखनाथ पौड्यालका भाइ कवि डमरु पौड्यालको थियो । सो घरमा कहिलेकहीं माधवप्रसाद घिमिरे आएको पनि देखेको हुँ ।
सो घर अन्य मित्रहरूसँग पनि भेटघाट गर्ने थलो भएको थियो । साहित्य र संगीतमा नेवजको राम्रो पकड भएको कारण उनको गीत सुन्न उनको डेरामा हामी भेला हुने गर्दथ्यौं । ज्योति अधिकारी र मेरो केमेस्ट्री हर कुरामा एकै थियो । हाम्रो लहडको एक नमूना हामीले एक पटक एकै प्रकारको सर्ट लाएर नयाँ सडक पनि घुमेका छौं । त्यो अबोधपना सो समयको । निकै रोचक छैन त अहिले सम्झँदा !
फेरि पनि बाचा गर्छु । अर्को पटकको भेटघाटमा अवश्य नै उपस्थित हुनेछु । सबै सहपाठी मित्रहरूलाई भेट्ने नै छु । अहिले नै बाचा गर्नु के गलत हुन्छ र ? सपना नदेखी के कसैको सपना पूरा भएका छन् र ? त्यसैले मैले पनि मित्रहरूलाई भेट्ने सपना देखेको छु । जो एक दिन अवश्य भेट्ने नै छु । तब सम्मलाई अलबिदा !!!
भर्जिनिया, अमेरिका

