काठमाडौं । ११ वर्षीय कक्षा ५ मा अध्ययनरत विद्यार्थी अभिक गौतमद्वारा लिखित पहिलो उपन्यास ‘द वाइल्ड्स एन्ड वन्डर्स अफ भेनुआ आइल्याण्ड’ विशेष समारोहबीच लोकार्पण गरिएको छ। शनिबार ललितपुरमा आयोजित कार्यक्रममा अग्रणी साहित्यकार श्रीओम श्रेष्ठ ‘रोदन’, प्रमोद प्रधान, छविरमण सिलवाल तथा स्रष्टा गौतमले संयुक्त रूपमा कृतिको सार्वजनिक गर्नुभएकाे हाे ।
कार्यक्रमका प्रमुख अतिथि नेपाल स्रष्टा समाजका अध्यक्ष तथा अग्रणी निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ले नौ वर्षकै उमेरमा उपन्यास तयार पार्नु उल्लेखनीय उपलब्धि भएको बताउनुभयाे । उहाँले नेपाली पाठक र साहित्यिक समुदायका लागि यो गर्वको विषय भएको उल्लेख गर्दै गौतमबाट आगामी दिनमा थप कृतिको अपेक्षा व्यक्त गर्नुभयाे ।
विशिष्ट अतिथि साहित्यकार एवं समालोचक प्रमोद प्रधानले कृतिमाथि चर्चा गर्दै उपन्यासमा यात्रा, रोमाञ्च र साहसिक तत्व समेटिएको बताउनुभयाे । बालबालिकाको मनोविज्ञानअनुसार रचना गरिएको यस कृतिले बालपाठकको रुचि र साहित्यिक आवश्यकताको संकेत गर्ने उहाँले उल्लेख गर्नुभयाे । साथै, कम उमेरमै देखिएको सृजनात्मक क्षमता, कथाको संरचना र कल्पनाशील प्रस्तुति प्रशंसनीय रहेको उहाँको भनाइ थियो।
सञ्चारकर्मी विन्देश दहालले उपन्यासमा विचित्र जनावर र फरक संसारको निर्माणमार्फत साहसिक कथा प्रस्तुत गरिएको तथा आमाप्रतिको सम्मानभाव समेत अभिव्यक्त भएको बताउनुभयाे । सुनकोसी वाङ्मय प्रतिष्ठानका अध्यक्ष छविरमण सिलवालले बालस्रष्टाको सिर्जनालाई प्रोत्साहन गर्ने विद्यालय र परिवारप्रति आभार व्यक्त गर्नुभयाे ।
कृतिकार अभिक गौतमले आफूले पाएको माया र उत्साहप्रति धन्यवाद व्यक्त गर्दै भविष्यमा थप सिर्जनात्मक काम गर्ने प्रतिबद्धता जनाउनुभयाे । कार्यक्रममा निसर्ग वाटिका विद्यालयका प्रधानाध्यापक मोनिका प्रधान र साहित्यकार भारद्धाज मित्रले शुभकामना मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।
नियात्राकार प्रदीप सापकोटाको सञ्चालन तथा भुँडीपुराण प्रकाशनका केशव पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा साहित्यकार, परिवारजन, शिक्षक–विद्यार्थी तथा साहित्यप्रेमीको उल्लेख्य उपस्थिति रहेको थियो।
भुँडीपुराण प्रकाशनद्वारा प्रकाशित उक्त उपन्यास अभिकले नौ वर्षको उमेरदेखि लेख्न सुरु गर्नुभएकाे थियाे भने सन् २०२५ जुनमा प्रारम्भिक मस्यौदा पूरा गर्नुभएकाे थियाे । साहसिक तथा कल्पनाशील कथामा आधारित कृतिले जिज्ञासा, साहस र अनपेक्षित यात्रामार्फत जीवन रूपान्तरणका विषयलाई प्रस्तुत गरेको जनाइएको छ।

