साहित्यपोस्ट डट कम

‘अब उप्रान्त’मा समाजको विद्रूप चित्र

‘अब उप्रान्त’मा समाजको विद्रूप चित्र

नवराज रिजाल, सरल र मृदुभाषी छन् । साहित्यका प्रायः विधामा उनका कृति छापिएका छन् । बालकथा, बालकविता, बालउपन्यास, लघुकथा, कथा, गजल, भाषा व्याकरण लगायतका पुस्तक गरी झण्डै डेढ दर्जन कृति आइसकेका छन् । तर उनी शान्त छन् हिउँदको खोला जस्तै । कुनै तडकभडक छैन । लामोसमयदेखि साहित्यिक पत्रकारितामा अविछिन्न रूपमा सक्रिय छन् । पुरस्कार र सम्मानको ओइरो लागेको छ ।

उनको कथा बुन्ने शैली पनि गजब छ । परम्परागत शैलीलाई भत्काएर नवीन शैलीमा कथा सिर्जना गर्ने उनको क्षमता छ । समाजका अवयवहरूका यावत विषयमाथि घोत्लिएर उनी कथा लेख्छन् । उनी कथामा नयाँ प्रयोग गर्न पनि रुचाउँछन् । उनका धेरै कृति त मैले पढ्न पाएको छैन । उनका कतिपय कथाहरूले नेपालको तराईको अन्तरकुन्तरका कथाहरू उजागर गरेका छन् । राजनीतिका विकृत कुराहरू कथाका विषयवस्तु बनेका छन् । कथाको आधारभूमि वर्गीय लाग्छ । समाजका राजनीति, आर्थिक, सामाजिक, सांस्कृतिक लगायतका यावत क्षेत्रमा हुने वा भएका विकृति र विसङ्गतिलाई कथाहरूले उधिनेका छन् ।

प्रस्तुत कृति ‘अब उप्रान्त’भित्र यस्तै विषयगत विविधताका सत्र थान कथाहरू समावेश गरिएको छ । उनी देखेको कुरा सिधासिधि कथामा ल्याउँछन् । भोगेको कुरामा कथानक बुन्छन् । नजिकबाट निहालेर अनुभूतिको चास्नीमा समेत घुलेका स्वादिला कथाहरू पाठकलाई चखाउँछन् । उनको यो खुबीको फ्यान हुँ म । कथामार्फत् मानवीय सकारात्मक सन्देश प्रवाह पनि उतिक्कै गर्छन् । नवराजको यो कथाकारिताभित्र हामी बाँचेको समस्त समाज छ । हाम्रो वर्तमान दैनिकीले कथाहरू आएका छन् । हाम्रा यन्त्रवत् जिन्दगीका भोगाइहरू कथाले चित्रण गरेका छन् । समाजको वास्तविकता झल्काउँछन् रिजालका कथाले । यति भएपछि भन्न सकियो–रिजालका कथाहरू सामाजिक यथार्थभावको प्रकटीकरण गर्न सक्षम छन् ।

उनी अनाहकमा कसैप्रति प्रश्नरूपी औँला तेर्स्याउँदैनन् । बरु मान्छेका संवेदित मनभित्र खुसुक्क पस्छन् । गहिरो चेतसहितका दृष्टिगोचर गर्छन् र कथानक बुनोट गर्छन् । उनले कथमा विवेक प्रयोग गरेका छन् । मज्जैले हाम्रो शल्यक्रिया गरेका छन् । मान्छेका संवेदना र वेदनाका गीतहरू गाएका छन् । समयक्रममा हामी पछि परेका वा पारिएका सन्दर्भप्रति सचेत र सावधान पनि गराएका छन् । इतिहास सम्झाएका छन् । समयको गतिमा हिँड्न सिकाएका छन् ।

पहिलो कथा ‘बस्ती’ हेरौँ–त्यहाँ सुलोचना छ भट्टीवाल्नी । उता खाजा पसले भगुल । हाम्रै गाउँबस्तीको परिवेशको कथा छ । अविरल नामको पात्रले विक्रमलाई सुनाएको कथा । जहाँ किसानका यावत समस्या छन् । कर्मचारीका पीडा व्यक्तिएका छन् । चियाको सुरप होस् या रक्सीको नशा, दुवैमा आफ्ना वेदना पोखिएका छन् । राजनीतिक दलका स्थानीय कार्यकर्ताका आफ्नै कुरा छन् । असफलता मात्र हात पारेका हरिस र सन्तोषको पीडा पनि छताछुल्ल पोखिएको छ । तर एउटा समानता छ, त्यो बस्तीमा जातीय रूपमा जो जे भए पनि पर्दा साथ सहयोग छ । लाग्छ, मेरो गाउँबस्तीको कथालाई उतारिएको छ । तर यो तराई परिवेशको कथा हो ।

‘सम्मोहन’ कथामा लोकतन्त्रले सर्वसाधारणलाई दिएको अदृश्य पीडा, समाजमा व्याप्त बेथिति पोखिएको छ । महोत्सवमा अक्रम, जम्बु, रामनरेश, संजय जस्ता दर्जनौँ पात्रहरू जोडिएर उनीहरूबिचको संवादमार्फत् कथा अगाडि बढ्दै गएर संवादमै टुङ्गिएको छ । एक पात्रले देशप्रेम र देशप्रतिको चिन्ता गरेको कुरा चित्रण पनि कथाले गरेको छ । यसैगरी ‘आश्वस्त’ कथाले पनि देशप्रेमबारे बोलेको छ । माटोको मूल्यको बोलेको छ । यस कथामा अमूक पात्रहरू छन्, जो आफ्नो भविष्यप्रति अलिकति पनि आशावादी हुनसकेका छैनन् ।

राजनीतिप्रतिको निराशा, राजनीतिक कारणले जनतामा परेका पीर, मर्का कथाहरूले उजागर गरेका छन् । लाग्छ, कथाहरू समाजको यथार्थ दर्पण हुन् । लोकतन्त्रको आभास भुइँमान्छेमा छैन । उनीहरूका दैनिक समस्या ज्यूँका त्यूँ छन् । जनताहरू नेताका भाषणमा रमाउनुपर्ने परिस्थितिको अन्त्य भएको छैन । चाकरी प्रथा टरेको छैन । कुनै दलको सदस्यले अवसर पाउने र नपाउने कुराको भर गर्छ । ‘परिवृत्त’ जस्ता कथा यसैतर्फ लक्षित छन । शास्वत् सत्यको नजिक छन् । राजनीतिक योगदान गरेका पात्र पनि आफ्नो पीडा पोख्छ । निराशावादी भाव व्यक्त भएको यस्तै पात्र सौरभ र विमलको कथा हो ‘उकालो’ । ‘ताप’मा पनि राजनीतिक विकृति कोट्याइएको छ । वर्तमान परिवेश मिल्दोजुल्दो कथा छ । राजनीतिको नमिठो हरक पाइन्छ कथामा ।

सामाजिक रूपमा लैङ्गिक विभेद अहिले पनि कायमै छ । यही विषयको कथा हो ‘सपना’ । छोरीछोरी जन्मिएपछि छोराको चाहमा श्रीमानलाई अर्को विवाह गर्न सल्लाह दिने शिक्षिका वमला र उनका श्रीमान् विजनलालको कथा । प्रत्येक घरको कथा हो ‘घर’ । जहाँ यावत् समस्याहरू चित्रण गरिएका छन् । गुम्दै गएको राष्टिूयता, हराउँदै गएको देशप्रेम, गणतन्त्रको अनुभूति साँचो अर्थमा गर्न नसक्ने जनता भएको देशमा यी विषयहरूमा शिक्षित व्यक्तिहरूको घोत्ल्याई ‘एकान्त’मा पढ्न पाइन्छ ।

शैक्षिक क्षेत्रमा देखिएको विकृति र विसङ्गतिको कथा लाग्छ ‘मास्टर’ । नीजि तथा सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोणका बारेमा स्पष्ट पारेको छ कथाले । हिजोको द्वन्द्वकालीन कथा ‘सीमान्त’ले हाम्रा गाउँसमाजका यावत कुराहरू उठाउन खोजेको छ । बेरोजगारीको पीडा, रोजगारीमा हुने राजनीतिक हस्तक्षेपको तीतो यथार्थ, शिक्षकहरूबाट बेलाबेलामा उठाइने गरेका तत्कालीन द्वन्द्वको समयका महिनावारी चन्दा र शिक्षकहरूले उतिबेला पाएका दुःख जस्ता कुराहरू चित्रित छन् । यस कथाले उतिखेरको सशस्त्र द्वन्द्वका नकारात्मक प्रभावहरूको सूक्ष्म विश्लेषण पनि गरेको छ ।

एउटा कम्युनिष्ट पार्टीको बफादार कार्यकर्ताको कथा लाग्छ ‘सिफारिस’ । जिम्मेवारी मागेर होइन, आवश्यकताका आधारमा दिनुपर्छ भन्ने स्पष्ट अडान भएको वीरध्वजको कथा । तर चाकरी गर्नेले जिम्मेवारी हात पार्ने वर्तमान कम्युनिष्ट पार्टीभित्र हुर्किँदै गएको गलत प्रवृत्तिको यथार्थ चित्रण गरिएको कथा हो यो ।

सर्सर्ती कथाहरू हेर्दा प्रायःमा पात्रहरूको सीमित प्रयोग गरिएको छ । संवादात्मक शैलीले पनि कथामा स्थान पाएको छ । भाषिक सरलता कथाका विशेषता लाग्छन् । दूरुह छैनन् कथाहरू । वर्तमान नेपाली समाजका ज्यूँदा जाग्दा विषयवस्तुहरू टिपेर कथानक बुनिएको छ । सामाजिक र राजनीतिक परिवेश र तिनले पारेका आम सर्वसाधारणका दैनिकीका जटिलताहरूमा कथाहरू सम्प्रेष्य भएका छन् । विभेदका कुराहरू पनि कथाका विषय बनेर आएका छन् । पात्रका संवेदनाहरू पनि कथाकारले केलाएका छन् । केही कथा राजधानी सन्निकट लेखिएको छ । कतिपय कथा तराई र पहाडका आम भुइँमान्छेका दैनिकीसँग निकट भएर आएका छन् । साहित्य समाजोपयोगी हुनुपर्छ भन्ने मान्यताका आधारमा कथाकारले कथाहरू बुनेका छन् । परम्परागत मूल्य र मान्यतामा आएको ह्रासलाई ‘आकाङ्क्षा’ले स्पष्ट देखाएको छ । यसमा नयाँपुस्ता अध्ययनको बहानामा विदेश पलायन हुने र यसरी पलायन हुँदा जोडी बाँधेर जाने वर्तमान समयको यथार्थ, कथामा पढ्न सकिन्छ । ‘मनोद्वन्द्व’, ‘चाचाजी’ पनि यही समाजका उपज हुन् ।

कथामा धेरै बिम्ब र प्रतीक प्रयोग नभए पनि आवश्यकता अनुरूप केही प्रयोग भएको छ । प्रायः पात्रहरूको असन्तुष्टि कथामा पाइन्छ । आयतनको हिसाबले कथा लामा लाग्छन् । कथामा संवाद शैली व्यापक छ । समाजपरक छन् । कतिपय कथाले प्रतीकात्मकता सिर्जना गरेका छन् । पात्रहरूको चरित्र निर्माण गर्ने उनको तरिका फरक लाग्छ । केही कथाहरूले बितेका दिनहरू स्मरण गराउँछन्, नत्र प्रायः कथा अहिलेको हामी बाँचेको समाजका अवयवहरू लाग्छन् ।

रिजालका सबै कथा परिपुष्ट छन् भन्ने मेरो विचार होइन । तर उनी कुनै पनि विषयमा घोत्लिएर आख्यानीकरण गर्न सिपालु आख्यानकार हुन् भन्ने कुरामा म स्पष्ट भएको छु । कतिपय कथाहरू भने विषयान्तर भएर निष्कर्षमा मात्र शीर्षकीकरणको सार्थकतातिर लागेको पाइन्छ । धेरै लम्बेतान शब्द, संवाद नराखेको भए अझ सुन माथि सुगन्ध हुने थियो । समाजका यत्रतत्रका मसिना घटना र कथानक टिपेर यसैको केन्द्रीयतामा कथा बुन्नु स्तुत्य कुरा हो ।

साझा गर्नुहोस्:
सर्वाधिकार © २०७७-२०८३, शब्द मिडिया प्रा. लि.